भागेर डिस्को जाँदा फसे विमल

आइतबार, २० साउन २०७५, ०५ : ०७ शुक्रवार
भागेर डिस्को जाँदा फसे विमल

एसियन गेम्स र साफ गेम्सको तयारीमा प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल टिमका केही खेलाडीले डिस्कोमा गएर बबाल मच्याएका छन् । यसरी बबाल मच्याउनेमा चर्चित फुटबलर विमल घर्ती मगरसमेत छन् ।
सातादोबाटोमा रहेको एन्फा टेक्निकल सेन्टरमा राखेर अखिल नेपाल फुटबल संघले अहिले २० सदस्यीय टोलीलाई नियमित प्रशिक्षण दिइरहेको छ । सातदोबाटोमा रहेको होस्टेलमा उनीहरु बस्दै आएका छन् ।

यसरी प्रशिक्षणमा रहेकै बेला केही खेलाडीहरु भागेर गुड फ्राइडे मनाउन ठमेल र दरबारमार्ग पुगेका थिए विमल घर्ती मगर, अन्जन विष्ट, छिरिङ गुरुङ, विशाल राई र हेमन्त थापा मगर । बेलुका ९ बजेतिर होस्टलबाट भागेर दरबारमार्ग आएका उनीहरु रातभर बारमा बसेर बिहान एन्फा परिसरमा रहेको होस्टल पुगेका थिए ।

होस्टल पुगेर लुसुक्क सुतेको भए उनीहरुको बदमासी कसैलाई पत्तै हुने थिएन । तर मदिराको मातको सुरमा होस्टलमा पुगेर होहल्ला गरेपछि उनीहरुको पोल खुल्यो । अनुशासनमा बस्नुपर्ने राष्ट्रिय टोलीका सदस्यले बदमासी गरेको सार्वजनिक भएपछि एन्फा अनुशासनको कारबाही गर्न तातेको छ । 

राष्ट्रिय टिममा रहेका खेलाडीहरुले पटक–पटक अनुशासनहीन व्यवहार गर्ने गरे पनि एन्फा पदाधिकारीले ढाकछोप गर्दै आएका थिए । तर यो पटक घटना सार्वजनिक भएपछि भने उनीहरुले ढाकछोप गर्न सकेनन् । एन्फाका अधिकारी बैठक नै बसेर खेलाडीलाई प्रष्टीकरण सोध्ने र चित्त नबुझे कारबाही गर्ने निर्णय गर्न बाध्य भएका हुन् ।
 

Leave A Comment