आँचलको तिकडम

आइतबार, २० साउन २०७५, ०६ : २६ शुक्रवार
आँचलको तिकडम

आफूले अभिनय गरेको फिल्म हिट हुँदा निर्मातालाई जति फाइदा हुन्छ, कलाकारलाई त्योभन्दा कम हुन्न । अझ अनमोल केसीले जस्तो स्टारडमको भ्रम छर्न सकिरह्यो भने त भाउ बढेर दोब्बर तेब्बर हुन्छ । तर नेपालमा कलाकारलाई फिल्म खेल्न पाए पुग्यो, हिट होस् कि फ्लप होस्, मतलब नै छैन ।

प्रचार–प्रसारमा समय दिनु उनीहरुका लागि समयको बर्बादी हो । यस्तो सोच्नेमा आँचल शर्माको पनि नाम आउन थालेको छ । भदौ १ मा रिलिज हुन लागेको फिल्म ‘ब्ल्याक’लाई आँचलले प्रमोसनमा मतलबै गरेकी छैनन् । 


‘जोनी जेन्टलमेन’ र ‘शत्रु गते’को समयमा दिनदिनै फिल्मको सामग्रीलाई फेसबुकमा पोस्ट तथा सेयर गर्ने आँचलले यो फिल्मको  खास प्रचार गरेको देखिएको छैन । योसँगै धेरैले ‘ब्ल्याक’को प्रमोसन नगर्नमा पल शाह कारक रहेको अनुमान गर्न थालेका छन् । कारण, आकाश श्रेष्ठ ।

उद्योगमा अनमोल, प्रदिप खड्कापछि पललाई बिकाउ हिरो मानिन्छ । यसपछि आउँछन् आकाश । यदि ‘ब्ल्याक’ हिट भइहाल्यो भने आकाशले पललाई उछिनेर अगाडि बढ्नेछन् । पलको भाउ घट्नुको मतलब आँचलको पनि भाउ घट्नु हो । त्यसैले आँचल मेडम ‘ब्ल्याक’ फिल्मलाई पूरै ‘ब्ल्याक आउट’ गर्ने मुडमा छिन् । प्रेम निभाउन त कसैले आँचल मेडमसँग सिकोस् !
 

Leave A Comment