टंकको चतुर्याइँ

आइतबार, २० साउन २०७५, ०६ : ५३ पुष्पा थपलिया
टंकको चतुर्याइँ

घुमाउरो बाटो प्रयोग गरेर संगीतकार तथा गायक टंक बुढाथोकीले युट्युबमा भाइरल भएका बालगायक अशोक दर्जीको जिम्मेवारी लिएका छन् । 

झापामा रहेको विद्यालयको जिम्मामा रहेका दर्जीलाई उनले उनका बाबुको माध्यमबाट आफ्नो जिम्मेवारीमा ल्याएका हुन् । एक दिनका लागि भनेर काठमाडौं ल्याइएका दर्जी विद्यालय नफर्किएपछि विद्यालयका प्रिन्सिपल दीपक न्यौपानेले जिल्ला प्रहरी कार्यालय झापा र वडा कार्यालयमा दर्जी हराएको भन्दै निवेदन दर्ता गराएका थिए ।

निवेदनपछि प्रशासनले टंक, दर्जीका बाबु र दीपकलाई बोलाएर सामूहिक छलफल गराउँदा दर्जीका बाबुले आफ्नो छोरा आफैंले जिम्मा लिने बताएपछि स्थानीयले न्यौपानेलाई १० वर्ष अशोकको जिम्मेवारी लिने गरी गरेको कागज निस्क्रिय बनाएको थियो । 

छलफल कार्यक्रममा दर्जीका बाबुले अब आफ्नो छोरा आफैंले जिम्मेवारी लिने र काठमाडौं लगेर पढाउने बताएका थिए । उनले आफैंले जिम्मेवारी लिने बताए पनि पछि टंकलाई जिम्मा दिने खुलाएका थिए ।
स्थानीय प्रशासनका अधिकारीले उनलाई कागज गराएर टंकलाई जिम्मेवारी दिनुपर्छ कि आफैं जिम्मा लिएर दिने हो भन्दा उनले कागज गराए राम्रो भनेपछि प्रशासनले उनको बाबुलाई दर्जीको जिम्मेवारी तोकेर छलफल टुङ्ग्याएको थियो । झापाको विद्यालयसँग गरेकोे कागज निस्क्रिय बनाएर स्थानीय प्रशासनले दर्जीको जिम्मेवारी उनकै बाबुलाई दिए ।  

उता झापामा छलफल चल्दा अशोक दर्जी भने काठमाडौंमा टंकको घरमै थिए । अशोकको बाबुले आफ्नो छोरा आफैं पढाउने भन्दै जिम्मेवारी लिए पनि अशोक टंकको घरमै छन् । 

१० वर्षका लागि अशोक, उनको बहिनी र अन्य दुई बालबालिकालाई १० वर्ष पढाउने जिम्मेवारी लिएका बेथेल एजुकेसन एकेडेमीका प्रिन्सिपल दीपक न्यौपानेले सहमतिअनुसार अशोक दर्जी र उनको बहिनीको जिम्मेवारी उनकै बाबुले लिएको र उनीहरुसँगै विद्यालयले जिम्मेवारी पाएको अन्य दुई जनालाई भने आफूले नै पढाइरहेको जानकारी दिए । 

‘जे होस्, जस्तो होस् अशोकले राम्रो शिक्षा पाऊन्, मेरै स्कुलमा पढ्नुपर्छ भन्ने छैन,’ अशोकको बहिनी पनि टंकले नै पढाउने छन् । अन्य दुई जना मेरो जिम्मामा छन्,’ दीपकले शुक्रवारलाई बताए ।

के हो लफडा
अशोक दर्जी एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि बेथेल एकेडेमीले १० वर्षसम्म पढाउने जिम्मेवारी लिएको थियो । उनको गायकीपन देखेर काठमाडौंमा रहेका टंक बुढाथोकीले उनलाई संगीत सिकाउने जिम्मेवारी लिएका थिए । टंकले दर्जीसँग गाएको ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ बोलको गीत चर्चित भएपछि उनको माग ह्वात्तै बढेको थियो ।

युट्युबमा दर्जी जोडिएका हरेक भिडियोले राम्रो भ्युज पाउन थाल्यो । अशोकका लागि घर बनाउने अभियान सुरु भयो । विद्यालयको नियमित पढाई नै बिगारेर टंकले अशोकलाई सांगीतिक कार्यक्रममा हिँडाउन थालेपछि विवाद सुरु भएको थियो ।

विवाद बढेर अशोकको घर बनाउन आएको पैसा, उनको कार्यक्रमबाट आएको पैसा र युट्युबको आम्दानी पारदर्शी नभएकाले आर्थिक विवाद सुरु भएपछि अशोकको जिम्मेवारी लिएका बुढाथोकी र न्यौपानेबीच विवाद बढेको थियो । 

यसैबीच टंकका दाइ टीकाराम बुढाथोकीले सब प्लानअनुसार काम गर्नुपर्ने, अशोकलाई युरोप टुरमा लैजाने र विद्यालय नपढाए पनि क्लास टप बनाउनुपर्ने जस्ता अडियो रेकर्ड सार्वजनिक भएपछि एक बालकलाई देखाएर पैसा कमाउने मेलो गरेको भन्दै टंकको आलोचना भएको थियो । आर्थिक स्रोतको विवादसँगै स्वामित्वको समेत विवाद सुरु भयो तर अन्त्यमा टंकले अशोक दर्जीको बाबुलाई उपयोग गर्दै चतुर्याइँपूर्वक अशोकको स्वामित्व आफैँमा ल्याए । 

अशोक आफ्नो स्वामित्वमा ल्याएसँगै टंकले उनलाई विद्यालय भर्ना गराएर अध्ययन अगाडि बढाउनुको साटो पुनः सांगितिक गतिविधि अगाडि बढाउन केन्द्रित भएका छन् ।अहिले युट्युबमा टंक र अशोक स्विमिङ गरिरहेको अनि पोखरामा यी दुवैले गीत गाइरहेको तस्बिर र भिडियो आउन थालिसकेका छन् । 

अशोकको बाबुलाई उपयोग गरेर यो विवादमा टंक पानीमाथिको ओभानो बने । यसबारे जिज्ञासा राख्दा पहिला टंक बोल्न चाहेनन् । बल्ल बल्ल उनले भने, ‘म पानीमाथि ओभानो भएको हैन, गल्ती नगरेकाले फैसला मेरो पोल्टामा परेको हो ।’ 

अशोकसँगै विद्यालयले जिम्मेवारी लिएका अन्यको वास्तै नगरी अशोकप्रति मात्र केन्द्रित हुने टंकको व्यवहारले उनी समाजसेवामा केन्द्रित छन् कि एक बालकको प्रतिभाको उपयोग गर्दै आफू पनि अगाडि बढ्ने दाउमा छन्, त्यो प्रस्ट भएको छ । उनले वास्तवमै अशोकको अभिभावक बनेर उनको शिक्षादीक्षामा सघाउँछन् या चलेसम्म उपयोग गर्छन् त्यो भावि दिनले नै देखाउनेछ ।
 

Leave A Comment