धीरशमशेरसम्बन्धी अशुद्धि

आइतबार, ०९ साउन २०७३, ०१ : १६ प्रा. दिनेशराज पन्त , Kathmandu
धीरशमशेरसम्बन्धी अशुद्धि

काठमाडौँबाट यज्ञराज न्यौपानेद्वारा प्रकाशित वि.सं. २०७३ आषाढ २८ गतेको ताजा खबर १४ वर्ष १३ अङ्कका १, ७ पृष्ठमा छापिएको लोकसेवा आयोग विशेष सामग्रीमा यस्तो लेखिएको छ– राणा प्रधानमन्त्री धीरसमशेरका १७ भाइ छोराको नाम क्रमशः लेख्नुहोस्, धीरसमशेरका १७ भाइ छोरामध्ये पाँच छोरा त नेपालका प्रम नै भए, उमेरका हिसाबमा उनका १७ भाइ छोराहरू क्रमशः यसप्रकार थिए– १. वीरसमशेर २. खड्गसमशेर ३. रणसमशेर ४. देवसमशेर ५. चन्द्रसमशेर ६. भीमसमशेर ७. फत्तेसमशेर ८. ललितसमशेर ९. जीतसमशेर १०. जुद्धसमशेर ११. डम्बरसमशेर १२. पूर्णसमशेर १३. यदुसमशेर १४. खम्बसमशेर १५. दुर्गासमशेर १६. शेरसमशेर १७. हर्षसमशेर (१ पृ.) । १. वीरशमशेरको जन्म वि.सं. १९०९ मार्ग २७ गते २. डम्बरशमशेरको जन्म वि.सं. १९१५ फाल्गुन ६ गते ३. खड्गशमशेरको जन्म वि.सं. १९१७ माघ १ गते ४. रणशमशेरको जन्म वि.सं. १९१८ मार्ग १० गते ५. देवशमशेरको जन्म वि.सं. १९१९ श्रावण ४ गते ६. चन्द्रशमशेरको जन्म वि.सं.  १९२० आषाढ २६ गते ७. भीमशमशेरको जन्म वि.सं. १९२२ वैशाख ६ गते ८. फत्तेशमशेरको जन्म वि.सं. १९२४ वैशाख १४ गते ९. ललितशमशेरको जन्म वि.सं. १९२४ पौष १४ गते १०. जीतशमशेरको जन्म वि.सं. १९२५ ज्येष्ठ २८ गते ११. पूर्णशमशेरको जन्म वि.सं. १९२८ ज्येष्ठ १७ गते १२. यदुशमशेरको जन्म वि.सं. १९२९ फाल्गुन १२ गते १३. दुर्गाशमशेरको जन्म वि.सं. १९३१ ज्येष्ठ २७ गते १४. शेरशमशेरको जन्म वि.सं. १९३१ आश्विन ७ गते १५. जुद्धशमशेरको जन्म वि.सं. १९३२ वैशाख १३ गते १६. खम्बशमशेरको जन्म वि.सं. १९३२ भाद्र २८ गते १७. हर्षशमशेरको जन्म वि.सं. १९३८ वैशाख २३ गते भएको हो । वि.सं. २०३१ मा काठमाडौँबाट बालमुकुन्ददेव पाण्डे र उत्तम कुँवरद्वारा प्रकाशित रूपरेखा १५७ पूर्णाङ्कका ९–४० पृष्ठमा छापिएको नयराज पन्त (सहायक दिनेशराज पन्त) को सेतो बाघको ऐतिहासिक परीक्षा भन्ने लेखमा तथा वि.सं. २०७० मा काठमाडौँबाट ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा प्रकाशित महेशराज पन्तको नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणाका ७७–७९ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसकारण ताजा खबरमा दिइएको धीरशमशेरका छोराहरूको जन्मक्रम अशुद्ध छ भन्ने स्पष्ट छ । २ सङ्ख्याका डम्बरशमशेर ११ सङ्ख्यामा, ३ सङ्ख्याका खड्गशमशेर २ सङ्ख्यामा, ४ सङ्ख्याका रणशमशेर ३ सङ्ख्यामा, ५ सङ्ख्याका देवशमशेर ४ सङ्ख्यामा, ६ सङ्ख्याका चन्द्रशमशेर ५ सङ्ख्यामा, ७ सङ्ख्याका भीमशमशेर ६ सङ्ख्यामा, ८ सङ्ख्याका फत्तेशमशेर ७ सङ्ख्यामा, ९ सङ्ख्याका ललितशमशेर ८ सङ्ख्यामा, १० सङ्ख्याका जीतशमशेर ९ सङ्ख्यामा, ११ सङ्ख्याका पूर्णशमशेर १२ सङ्ख्यामा, १२ सङ्ख्याका यदुशमशेर १३ सङ्ख्यामा, १३ सङ्ख्याका दुर्गाशमशेर १५ सङ्ख्यामा, १४ सङ्ख्याका शेरशमशेर १६ सङ्ख्यामा, १५ सङ्ख्याका जुद्धशमशेर १० सङ्ख्यामा, १६ सङ्ख्याका खम्बशमशेर १४ सङ्ख्यामा पारी ताजा खबरमा अशुद्धि गरिएको छ । १ स्ख्याका वीरशमशेर र १७ सङ्ख्याका हर्षशमशेरलाई ताजा खबरले ठीक ठाउँमा राखी शुद्ध गरेको छ । अर्काे कुरा, ताजा खबरले प्रधानमन्त्री धीरशमशेर भनी लेखे तापनि उनी प्रधानमन्त्री भएनन् । दाजु रणोद्दीपसिंह प्रधानमन्त्री भएको बेलामा कम्याण्डर इन–चिफ रहँदैमा वि.सं. १९४१ आश्विन ३० गते धीरशमशेरको मृत्यु भएको हो । वि.सं. २०१७ मा काठमाडौँबाट नयराज पन्तद्वारा प्रकाशित नयराज पन्तको विद्या–रक्षा ४ सङ्ख्यामा, वि.सं. २०२८ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा २५ पूर्णाङ्कमा छापिएको नयराज पन्तको श्री ३ महाराज रणोद्दीपसिंह भन्ने लेखमा (त्यस पूर्णाङ्कका ४४–४५ पृष्ठमा) तथा नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणाका १०८–१०९ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यस्ता अशुद्ध कुराले लोकसेवा आयोगमा उत्तीर्ण भई देशसेवा गर्न चाहनेहरूलाई कति मद्दत गर्ला र ? इतिहासको विद्यार्थी भएको नाताले साँच्चिकै यसको प्रयोग गर्नेहरूले कस्तो अशुद्धिको भुमरीमा पर्नुपर्ला भन्ने चिन्ता भने मलाई लागिरहन्छ ।  
 

 

 

Leave A Comment