फिल्म दृष्टि
धेरैको अपेक्षा थियो, ओरालो लाग्दै गरेको आर्यन सिग्देलको करिअरग्राफ उकास्न ‘कायरा’ले भूमिका खेल्ला तर फिल्म हेरिसकेपछि धारणा बदलियो, यस्तै फिल्म खेल्ने हो भने अब उनी कहिल्यै नउक्लने गरी आरोलो झर्ने पक्का छ ।
आर्यनले यो फिल्ममा नयाँ पुस्तामा चलेकी हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहलाई आफ्नो जोडी त बनाए तर दर्शकमाझ प्रेम अनुभूत गराउन चुके । फिल्म हेरेपछि पछिल्लो समय लगातार फ्लपको स्वाद चाखिरहेकी साम्राज्ञीबाट हात पर्ने भनेको पनि निराशा मात्रै हो ।
यो फिल्ममा त्यस्तो नयाँ केही छैन, सिवाय जय (आर्यन) र कायरा (साम्राज्ञी) को फिक्का प्रेम । कहिल्यै नछुट्टिने वाचासहित जय र कायराको प्रेममा ब्रेक लाग्छ । त्यसपछि कायराबाट टाढा हुन जयले फिलिपिन्सको बाटो तय गर्छन् । समयले त्यही फिलिपिन्स उनीहरुको प्रेम गन्तव्य बनाइदिन्छ । त्यहाँ जय र कायराको पुनर्मिलन हुन्छ । त्यसपछि उनीहरुको प्रेममा आउने उतारचढाव नै फिल्मको कथा हो ।
फिल्मको पटकथा र प्रस्तुतिमा नयाँपन त छैन नै, फिल्म पूरै फितलो पनि छ । न पटकथाकार केदार भुषालको पटकथा कसिलो छ, न निर्देशक लक्ष्मण रिजालको निर्देशन । कमजोरीले भरिभराउ छ । पर्दामा आर्यन र साम्राज्ञी ग्वाँग्वाँ रुन्छन्, पर्दाबाहिर दर्शक खितिती हाँस्छन् ।
पर्दाभित्र देखिने उनीहरु बीचको प्रेमले दर्शकको संवेदनालाई एक रत्ति पनि हुँडल्न सक्दैन । अनुमान गर्नुस्, त्यो कस्तो प्रेम होला जसले दर्शकको मन छुन सक्दैन ! अधिकांश प्रेमकथामाथि बन्ने फिल्महरुमा प्रेमजोडीले भोग्ने समस्या के हुन्छन् ? कहिले आर्थिक द्वन्द्व त कहिले शारीरिक समस्या (रोग) । कहिले विविध भेदभाव त कहिले मनोवैज्ञानिक तथा पारिवारिक अवरोध ।
‘कायरा’मा पनि योभन्दा नयाँ समस्या छैन । साम्राज्ञी आर्यनबाट टाढा हुन खोज्छिन्, कारण उनलाई लागेको कहिल्यै निको नहुने रोग । फिल्ममा जब साम्राज्ञीमाथि बिसञ्चोको लक्षण देखिन्छ, त्यतिबेलै दर्शकले अनुमान लाउन सक्छन्, उनी कुनै रोगबाट ग्रसित छिन् । यो कुरा आर्यनलाई उनले लुकाइरहेकी छिन् । निर्देशकले दर्शकको संवेदनामाथि खेल्न साम्राज्ञीको रोगलाई प्रेमको द्वन्द्व बनाएर उभ्याउन त खोजेका छन् तर विडम्बना दर्शकलाई त्यसले छुँदैन । लभस्टोरी फिल्ममा योे फर्मुला कति हदसम्म बासी हो, त्यो त भनिरहनु नपर्ला ।
फिल्मभित्र निर्देशकले दर्शकको मन लुट्ने त्यस्तो कुनै नयाँ दृश्य राख्न सकेका छैनन्, सिवाय फिलिपिन्स । फिलिपिन्सका केही लोकेसन दर्शकलाई ‘आइ–क्याचिङ’ लाग्न सक्छ । फिल्म हेर्दै गर्दा विभिन्न लभस्टोरी फिल्मका दृश्य दिमागमा घुमिरहन्छ । कारण, फिल्मको कथा र प्रस्तुति (कथा भन्ने शैली)मा केही नयाँपन छैन । स–साना कमजोरी छन् जहाँ निर्देशको ध्यान पुगेको पाइँदैन । फिल्ममा निर्देशकले लाजिम्पाट (काठमाडौं)को सिटी होटललाई फिलिपिन्सको देखाएर दर्शक त झुक्याएका छन् तर आर्यनको घाँटीमा लागेको चोट एक दिन नबित्दै बिलाएकोचाँही दर्शकले सजिलै देख्छन् । र, यो दर्शकलाई विश्वसनीय लाग्दैन ।
फिल्म हेर्दै गर्दा पटक–पटक अनुभूति हुन्छ, फिल्म कहिले सकिएला ? जब फिल्म सकिन्छ त्यसपछि लाग्छ, निर्देशकले जबरजस्ती फिल्म लम्ब्याएछन् । उनले देखाउन खोजेको प्रेम र अन्त्यका लागि दुई घण्टा २२ मिनेट साँच्चै लामो लाग्छ । फिल्ममा देखाइएको साम्राज्ञीप्रति आर्यनको प्रेम संघर्षले दर्शकमा कुनै दया जगाउन सक्दैन ।
पहिलोपल्ट पर्दामा देखिएको आर्यन–साम्राज्ञीको जोडी फिल्ममा असुहाउँदो त लाग्दैन तैपनि सन्तुष्टि मिल्दैन । अभिनय पनि ‘वाउ’ भन्न लायक छैन । यसअघि दर्शकले जसरी हेर्दै आएका थिए त्यस्तै छ, त्योभन्दा बढी छैन । र, अभिनयमा विविधता पस्किन नसक्नु एउटा असल र सफल कलाकारको लक्षण होइन ।
फिल्मभित्र देखिने जय र पसलको फुच्चेबीचको सम्बन्धले भने दर्शकलाई छुन्छ । जय र गीतारको सम्बन्ध उस्तै प्रिय लाग्छ । गीतहरु सुन्दा मात्रै समुधुर लाग्दैनन्, हेर्दा झन् प्रिय लाग्छन् । सिनेमाटोग्राफी ठीकै लाग्छ । सम्पादन परिपक्व छैन ।
‘कायरा’भित्र छिनछिनमा साम्राज्ञीको लिपस्टिकको रङ परिवर्तन हुन्छ तर विडम्बना उनको अभिनयमा कुनै परिवर्तन देखिएन, न त कथा छनोटमा नै देखियो । आर्यनको करिअर त ओरालो लागेकै थियो, यस्तै फिल्म खेल्ने हो भने साम्राज्ञी पनि खतरामा छिन् ।
दर्शकमाझ आर्यनको छवि ‘रोमान्टिक हिरो’ हो तर यो फिल्म भने बोरिङ छ । तपाईं आर्यन र साम्राज्ञीको जबरजस्त फ्यान हो र उनीहरुको कमजोरीलाई पनि प्रेम गर्ने सामथ्र्य राख्नुहुन्छ भने फिल्म हेर्दा हुन्छ नत्र नहेरे पनि पछुतो नहोला ।
Leave A Comment