‘मन्त्रालयले कन्सल्टेन्सीलाई नियमन गर्न आवश्यक’

आइतबार, २७ साउन २०७५, ०६ : १० शुक्रवार
‘मन्त्रालयले कन्सल्टेन्सीलाई नियमन गर्न आवश्यक’

एक दसकदेखि शैक्षिक परामर्श व्यवसायमा संलग्न रुपेश खड्का एक्सल एजुकेसनल कन्सल्टेन्सी, काठमाडौंका प्रबन्ध निर्देशक हुन् । सन् २००९ देखि कन्सल्टेन्सी सञ्चालन गरिरहेका खड्काले युएस, युके, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड लगायत मुलुकका करिब ५० कलेज तथा विश्वविद्यालयसँग सहकार्य गरेर काम गरिरहेका छन् । विदेश जान चाहने विद्यार्थीलाई परामर्शसहित भर्ना तथा भिसा प्रक्रिया सहजीकरण गर्दै आएका खड्कासँग शुक्रबारको लागि गरिएको कुराकानी :

यहाँको कन्सल्टेन्सीले कस्तो सेवा दिइरहेको छ ?
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीको भर्ना तथा भिसा प्रक्रियामा सघाउँछौं । त्यसका लागि चाहिने आधारभूत विषयको बारेमा तयारी गराउँछौं । देशअनुसार फरक हुने भएकाले सम्बन्धित देशमा विद्यार्थीले पाउने सेवा, त्यहाँको पोलिसी, कलेज तथा विश्वविद्यालको फी, छात्रवृत्ति पाउने नपाउने विषयमा पनि परामर्श दिन्छौं । पढ्न जाँदा गनुपर्ने पूर्व तयारी, भिसा प्रक्रियामा चाहिने आवश्यक कागजातमा गाइड गर्ने काम गर्छौं । विद्यार्थीका लागि अंग्रेजीको टेस्ट, टोफेल, आइएलटीएस, पिटी, स्याट, जिहारी, जिम्याटको तयारी कक्षा सञ्चालन गरिरहेका छौं । 

विद्यार्थी तपाइकै कन्सल्टेन्सीमा किन आउने ?
हामी नम्बरमा भन्दा गुणस्तरमा विश्वास गर्छौं । विद्यार्थीलाई गुणस्तरीय परामर्श सेवा दिने हाम्रो दायित्व हो । हामी कहाँ आउने विद्यार्थीलाई सही परामर्श दिन्छौं । जसले विद्यार्थीले आफ्नो करिअरको बारेमा सही निर्णय लिन पनि सक्छन् । विद्यार्थीलाई यहाँमात्र नभएर विदेश गएपछि पनि सघाउनु पर्ने हुन्छ । सम्बन्धित देशमा विद्यार्थीलाई अप्ठ्यारो पर्न नदिने विषयमा पनि सचेत छौं । हामीसँग जोडिन आउने विद्यार्थीलाई पर्सनल्ली केयर गर्छौं । विद्यार्थीले गर्नु पर्ने सबै काम (जिरोदेखि हन्ड्रेडसम्म)मा सघाउँछौं । हामीसँग तालिम प्राप्त, टिआइटिआई सर्टिफाइड परामर्शदाता छन् ।

विद्यार्थीले विषय र विश्वविद्यालय कसरी छनोट गर्ने ?
हरेक विद्यार्थीको आफ्नै सोच हुन्छ । उनीहरुको पृष्ठभूमिअनुसार फरक—फरक विषयमा रुचि हुन्छ । साइन्स पढेका विद्यार्थी आइटी फिल्ड, कोही नर्सिङमा, मेनेजमेन्ट पढेका अकाउन्टिङ, बिजनेसमा जान सक्छन् । विद्यार्थीको शैक्षिक, आर्थिक क्षमताअनुसार विभिन्न देश अप्सन दिन्छौं । विद्यार्थीलाई पाएको प्रतिशतको आधारमा इलिजिबल छ÷छैन हेरेर निर्णयमा पुग्छौं ।

विदेश पढ्न जाने विद्यार्थीले के—के कुरामा ध्यान दिनुपर्छ ?
देश र युनिभर्सिटी छनोट गर्दा विस्तृतमा रिसर्च गर्नुपर्छ । त्यहाँको विभिन्न पक्षको जानकारी लिनुपर्छ । सही मार्ग नपाउँदा पछि कठिनाई हुनसक्छ । त्यहाँको कलेजको रिक्वायरमेन्ट, छात्रवृत्ति, काम गर्ने हो भने पार्ट टाइम जागिर अवसर छ कि छैन ? अध्ययन गर्नु जरुरी हुन्छ । विद्यार्थी र अभिभावकले यी विषयलाई गहन अध्ययन गरेर मात्र निर्णय लिनुपर्छ । 

छात्रवृत्तिको अवसर के छ ?
हरेक देश र विश्वविद्यालयका आफ्नै नीति–नियम छन् । आज अस्टे«लियाको कुरा गर्दा विद्यार्थीको शैक्षिक योग्यताको प्रतिशत, आइएलटिएसका आधारमा छात्रवृत्ति प्रदान गर्छ । युएसमा मेरिटबेस, स्पाउस स्कलरसीप लगायतका अप्सन रहेका छन् । 

विद्यार्थीको आकर्षण र उपयुक्त गन्तव्य कुन देश हो ?
नेपालबाट पहिलो छनोट अस्ट्रेलिया भएको छ । त्यहाँ भिसा पाउने सम्भावना पनि अन्य देशको तुलनामा राम्रो छ । अध्ययनपछि पनि राम्रो अवसर पाउन सकिन्छ । त्यहाँ पिआर पाउने भएकाले नेपाली विद्यार्थीमा आकर्षण छ । पढेपछि ग्लोबल मार्केटमा कम्पिट गर्न सक्षम जनशक्ति पनि तयार हुन्छन् । शैक्षिक, आर्थिक क्षमताअनुसार युएस लगायतका अन्य मुलुकमा पनि अवसर छ ।

विद्यार्थीको रेस्पोन्स कस्तो पाउनु भएको छ ?
हामीमार्फत अस्ट्रेलिया, युएस लगायतका देशमा गएका विद्यार्थी सन्तुष्ट छन् । अहिलेसम्म कुनै गुनासो आएको छैन । 

अध्ययनका लागि विदेश गएका विद्यार्थी स्वदेश फर्किने रेसियो निकै कम छ । किन ?
विदेशमा जुन लेभलको शिक्षा प्राप्त हुन्छ त्यसअनुसारको अवसर नेपालमा नपाइएला कि भन्ने डर देखिन्छ । त्यसका लागि देशको अवस्था राम्रो हुनुपर्छ । सरकारले यहाँ अवसर र रोजगारी सिर्जना गर्नुपर्छ । 

कहिलेसम्म नेपाली विद्यार्थी विदेश गैरहने ?
स्वदेशमा अवसर कम भएकाले नै अध्ययनका लागि विदेशिएका हुन् । नेपालको शैक्षिक प्रणाली पनि समयसापेक्ष बनाउनु पर्छ । विदेश गएर अन्तर्राष्ट्रिय डिग्री लिनु राम्रो हो । तर, त्यहाँ सिकेको शिक्षालाई यहाँ उपयोगमा ल्याउने सरकारले योजना बनाउनु पर्छ । यहाँको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको भए जाने रेसियो कम होला । 

शैक्षिक परामर्श व्यवसायलाई अझै व्यवस्थित बनाउन के गर्नुपर्छ ?
शिक्षा मन्त्रालयले कन्सल्टेन्सीलाई हरेक वर्ष नियमन गर्नु आवश्यक छ । केही प्रयास भए पनि पर्याप्त छैन । विद्यार्थीको तथ्यांक राख्ने र कमजोरी भएका ठाउँमा सच्याउन निर्देशन दिनु आवश्यक छ ।
 

Leave A Comment