‘मलाई नेपालको इमरान हाश्मी भनिरहेका छन्’

सोमबार, २८ साउन २०७५, ०१ : ०६ शुक्रवार
‘मलाई नेपालको इमरान हाश्मी भनिरहेका छन्’

अभिनेता प्रमोद अग्रहरीको अभिनय यात्राले १० वर्ष पार गरिसक्यो तर १० वर्षमा पनि नभएको चर्चा अहिले उनलाई एउटै गीतबाट भइरहेको छ । भर्खरै रिलिज भएको ‘कथा काठमाडौं’को ‘रातको कुरा’ गीतमा उनले प्रियंका कार्कीसँग दिएको अन्तरंग दृश्यले अहिले बजार गर्माएको छ । सँगसँगै उनले अर्थमन्त्रीको चरित्रमा अभिनय गरिरहेको ‘सिंहदरबार’ टेलिसिरियल पनि चर्चामा छ । यसै सेरोफेरोमा उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः 

के छ हालखबर ? 
ठीकै छु । साउन लागिरा’को छ । झरि परिरा’को छ । यस्तै त हो ।  

तपाईंलाई पनि साउन लाग्छ ? (हाँस्दै) 
त्यो त जसलाई पनि लाग्छ नि, होइन र ? फुर्सद मिलाएर बेलुकातिर पशुपतिनाथ जान्छु । आरती हेर्छु । आफ्नै दुनियाँमा रमाउँछु । मेरो साउन मनाउने तरिका यस्तै छ (हाँस्दै) । 

बाहिर त्यसरी हिँड्दा मान्छेहरुले कत्तिको चिन्छन् ?
चिन्दैनन् हौ, त्यति धेरै । चिनिने हिसाबले मलाई हिँड्न पनि मन लाग्दैन । 

कथा काठमाडौं’को गीत चर्चामा छ । धेरैले चिन्नुपर्ने हो ! 
(हाँस्दै) लुक्सले गर्दा कन्फ्युजन हुन्छ । त्यहाँ देखाइएको जस्तो लुक्सभन्दा फरक छु नि रियलमा । 

गीत हेर्नेहरुको प्रतिक्रिया कस्तो छ त ?
रमाइलो छ । केहीले नेगेटिभ कमेन्ट्स पनि गर्नुभयो । केहीले पोजिटिभ पनि गर्नुभयो । हरेक कुरामा दुइटा पक्ष त हुन्छ नै । मैले दुवैखाले कमेन्ट्सलाई नेपाली फिल्म र कलाकारप्रति दर्शकले देखाउनुभएको चासोको रुपमा लिएको छ । दर्शकहरु अझै नजिक भइरहेको महसुस भइरहेको छ । 

कतिपयले बेड सिनलाई भल्गर र अति भयो भनेर कमेन्ट गरिरहेका छन् । यस्ता प्रतिक्रियालाई कसरी लिइरहनुभएको छ ? 
भल्गर भनेको के हो ? यसको ठ्याक्कै व्याख्या त पक्कै छैन । यो त मान्छेको दृष्टिकोणमा भरपर्ने कुरा हो । फरक–फरक मान्छेको फरक–फरक विचार हुन्छ । हेर्ने नजरको कुरा हो । मलाई त त्यस्तो बढी केही गरेको छ जस्तो लाग्दैन । कथाको फ्लोअनुसार समाजमा भइरहेको कालो कर्तुतलाई बाहिर ल्याउने प्रयत्न मात्रै हो । मलाई भन्न मन लागेको कुरा, धेरैले त्यो गीतमा बेड सिन मात्रै देखे तर त्यहाँ देखाइएको कथा हेरेनन् । पात्रहरु बीचको द्वन्द्व, मनोविज्ञान, सम्बन्ध, विवशता, अवस्था केहीको ख्याल गरेनन् । कति कलात्मक ढंगले त्यो दृश्य खिचिएको छ,  त्यसको समीक्षा गर्न चाहेनन् । म दर्शकलाई अनुरोध गर्छु, प्लिज त्यसरी नसोच्नुस् । ‘ल यत्तिकै एउटा बेड सिन राख्दिऊँ न, फिल्मलाई फाइदा पुग्छ’ भनेर हामीले त्यस्तो दृश्य गरेका होइनौं । त्यो सिन राखिनुपछाडि लजिक छ । जुन फिल्म हेरेपछि प्रस्ट भइन्छ । यही समाजको कुरुप यथार्थ । 

भनेपछि त्यो दृश्य नराखी कथा प्रस्टसँग भन्ने अवस्था थिएन ?
मलाई लाग्छ, फिल्म भनेको भिज्युअल मिडियम हो । संवादभन्दा पनि दृश्यको सहारा कथा भन्दा राम्रो हुन्छ । फेरि मलाई रियालिज्मसँग नजिक भएर काम गर्न मनपर्छ । त्यसैले दृश्यमा विश्वास गरियो । 

नढाँटी भन्नुस् त, गीत हेरेर परिवारबाट कस्तो रेस्पोन्स आयो ?
बुबा हलमा जानुहुन्न त्यसैले प्रतिक्रिया छैन । दाइहरुले हेर्नुभयो तर प्रतिक्रिया राम्रै आयो । 

प्रियंकासँग त्यस्तो बेड सिन गर्न तपाईं कसरी कन्भिन्सड हुनुभयो ?
मेरालागि त्यो बेडसिन भन्दा पनि एउटा स्टोरी हो । घटना त्यसरी घट्छ तर हामीले त्यहाँ एउटा कथा भन्न खोजिरहेका छौं । त्यो कुरा बुझेर नै हामी दुवै त्यस्तो दृश्यका लागि तयार भएका हौं । निर्देशकले मलाई यो फिल्मको लागि अफर गर्दा म गया (भारत)मा थिएँ । फर्केपछि उहाँले मलाई यो भूमिका र कास्टिङ डाइरेक्टरका रुपमा एकैपल्ट अप्रोच गर्नुभयो । धेरैजसो तरार्ईको क्यारेक्टरमा अफर आइरहेको बेला फरकखालको यो 'हटकेट' क्यारेक्टरमा अफर आयो । मैले गरेँ । 

अनि त्यो क्यारेक्टरका लागि प्रियंकालाई नै कास्टिङ गर्नुको कारण ?
किनभने ऊ  त्यो क्यारेक्टरका लागि फिट थियो । गीत रिलिज भएपछि पक्कै पुष्टि भयो । उसको हिम्मतलाई म सम्मान गर्छु । अरु कसैले आँट्न सक्दैन क्या ! म भन्छु, एउटा एक्टर भएपछि हरेक खालको क्यारेक्टर गर्न सक्नुपर्छ । किनभने एक्टर भनेको काँचो माटो हो । कहिले कचौरा बन्नुपर्ने हुन्छ, कहिले अर्कै के ! 

प्रियंकासँग सुटिङ सेटमा त्यो सिन गर्दा कतिको अप्ठेरो महुसस भयो ? 
हामी दुवै प्रोफेसनल कलाकार हौं । त्यस्तो अप्ठेरो महसुस गरेनौं । किनभने सेटमा हामी दुवै अर्कै क्यारेक्टर थियौं, प्रियंका र प्रमोद थिएनौं । 

गीतको भिडियो हेरेपछि प्रियंकालाई त धेरै गाली गरिरहेका छन्, थाहा छ ?
पछिल्लो समय गाली गर्नेहरुले पनि राम्रो कमेन्ट गरिरहेका छन् । सायद उहाँहरुलाई दोहो¥याई–तेहो¥याई हेर्नुभयो । अर्को कुरा, यदि प्रियंकालाई गाली हो भने त्यो मलाई पनि हो । किनभने गीतमा हामी दुईजना नै संलग्न छौं । अर्को कुरा, गीत हेरेर सामाजिक संजालमा कमेन्ट गर्नेहरु धेरै फेक अकाउन्टबाट छन् । उनीहरु रियल कमेन्ट गर्ने नहुन पनि सक्छन् । अहिले कतिपयले मलाई नेपालको इमरान हाश्मी भनिरहेका छन् । कतिपयले इमरान भन्दा कडा पनि भनेको भेटियो तर त्यसरी कमेन्ट गर्नेहरुले इमरानको फिल्म नहेरी त गरेका होइनन् होला । भनेपछि उहाँहरु त्यस्तो सिन पचाउँदै आइरहनुभएको रैछ, अहिले हाम्रो गीत पचाउन गाह्रो नहुनुपर्ने ! 

गीतको बेडसिन त पोर्न हबसम्म पुगेछ नि, है ?
खोई, मैले पनि सुनेँ तर त्यसमा त हामीले केही भन्न मिल्दैन । यत्ति हो, नहालेको भए राम्रो हुन्थ्यो । 

गीत रिलिज भएपछि बजारमा यसले यस्तो चर्चा पाउला भन्ने लागेको थियो ?
थिएन । हामीले हल्ला गराउनलाई त्यस्तो दृश्य दिएका पनि थिएनौं ।

यो फिल्ममा तपाईंको क्यारेक्टर कस्तो छ ?
भिडियो हेर्दै थाहा हुन्छ ।  ट्रेलर रिलिज भएपछि अझ प्रस्ट हुन्छ । त्यहाँबाट पनि प्रस्ट नभाको त फिल्म हेरेपछि नै थाहा हुन्छ (हाँस्दै) । 

गीत हेरेर गलफ्रेन्डलेको प्रतिक्रिया कस्तो आयो ?
गलफ्रेन्ड फेरि कहाँबाट ल्याउनु ? भए पो रेस्पोन्स आउनु !

सिंगल छु भन्न खोजेको ?
अफकोर्स । कुनै शंका ? 

सिंगल भन्दा मैले त पत्याउँला तर दर्शकले पत्याउलान् !
त्यो त थाहा भएन । सर्टिफकेट बनाउन नमिल्ने, नत्र देखाइदिन्थेँ ।  

कस्तो पार्टनरको खोजीमा हुनुहुन्छ ? 
यसमा सबै कलाकारको जवाफ एउटै होला । जसले आफूलाई बुझोस्, आफ्नो कामलाई बुझोस्, मलाई प्रेम गरोस्, सबैलाई सम्मान गरोस् । 

अहिलेसम्म भेटिएको छैन र ?
सायद नखाजेर पनि होला ! फेरि भिलेनजस्तो मान्छेसँग को आउलान् र हौ ? (हाँस्दै) । 

प्रसंग मोडौं । अरु सिरियलबाट फिल्मतिर आइरहेका बेला तपाईं सिरियलतिर लाग्नुभएको छ । यो त ठीक उल्टो हिँडेजस्तो भएन र ?
मैले अहिले गरिरहेको ‘सिंहदरबार’ पोलिटिकल ड्रामा हो । मलाई लाग्छ, टिभीले मलाई मेरो दर्शकसँग अझ नजिक हुन मद्दत गरेको छ । टिभीमार्फत म अहिले दर्शकको घरघरमा पुगिरहेको छु । यो त राम्रै कुरा होइन र ? फेरि म माध्यमभन्दा पनि काममा विश्वास राख्छु । मैले गरेको अभिनयबाट समाजमा केही फाइदा पुग्छ भने चाहे टिभी होस् या फिल्म, म काम गर्छु । 

‘सिंहदरबार’मा तपाईं अर्थमन्त्री युवराजको भूमिकामा हुनुहुन्छ । यो अर्थमन्त्री र देशको रियल अर्थमन्त्रीबीच के फरक छ ?
फरक त नभनौं । यत्ति भन्छु, सिरियलको यो अर्थमन्त्री देशले देख्न चाहेजस्तो राजनीतिज्ञ हो । 

सिरियलमै भएपनि अर्थमन्त्री हुँदा कस्तो लाग्ने रहेछ ?
भोलि के थाहा, प्रधानमन्त्री पनि भइन्छ कि, सिरियलमै ! (हाँस्दैं) 

रियलमै राजनीति गर्ने सोच छैन र ?
त्यस्तो छैन । मेरो सामथ्र्यको कुरा पनि होइन । बरु मैले पर्दामा गरेको भूमिकाले समाजमा केही परिवर्तन हुन सक्यो भने त्यो नै मेरा लागि ठूलो उपलब्धि हुनेछ । 

आफ्नो १० वर्षे अभिनय यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ?
म २००७ सालमा अभिनय सिक्न भनेर दिल्ली पुगेँ । २००९ मा काठमाडौं छिर्नुअघि नै ‘गुडबाई काठमाडौं’ फिल्ममा काम गर्ने मौका पाएँ । २०१२ बाट म काठमाडौं आएर एक्टिभ्ली अभिनय थालेको हुँ । त्यसयता म कुनै महिना पनि खाली भइनँ । काम गरेकोग¥यै छु । यो १० वर्षे यात्राप्रति म खुसी छु । हिजोको दिनमा ‘गुडबाइ काठमाडौं’मा काम गर्दैगर्दा म बागबजारमा राहुल केसीको डबिङ/एडिटङ स्टुडियोमा हरियो कार्पेट बिछ्याइएको भुइँमा सुत्थे भने आज मसँग बेड छ । आफ्नै गाडी छ । र, मेरो जिन्दगीमा यो सब परिवर्तन फिल्मकै कारण भएको हो । हिजोका दिनमा मसँग आजजस्तो आत्मविश्वास थिएन । अडिसन दिन जाँदा फिल्म पाउँछु/पाउँदिन भन्ने डर हुन्थ्यो । तर अहिले समय फरक छ, मसँग फिल्मको चाङ छ । पुस २० सम्ममात्र ५–६ वटा फिल्म रिलिज हुँदैछन्–सुश्री सम्पत्ती, जायरा, एक लगायत । 

फिल्मको चाङ जति भयो, चर्चा भने त्यति भएन है तपाईंको ?
मैले निर्वाह गर्ने क्यारेक्टरको चर्चा त प्रायः भयो तर एक्टरको हिसाबले मेरो जति चर्चा हुनुपर्ने हो, त्यति भएको छैन । म यो कुरा स्वीकार्छु । कहिलेकाहीँ यो ठीक होजस्तो पनि लाग्छ किनभने यसले एक्टरलाई सधैँ अनुशासनमा राख्छ । 

तपाईंका लागि सफलता के हो ?
फिल्म इन्डस्ट्रीमा रहेर निरन्तर काम गर्नु पाउनु नै मेरा लागि सफलता हो । जुन दिन म फिल्म पाउन छाड्छु, त्यो दिन म आफूलाई असफल भएको ठान्नेछु । 

फिल्मको अफर मात्रै बढेको छ कि पारिश्रमिक पनि ?
पारिश्रमिकमा त मैले ‘उमा’ फिल्म खेल्दादेखि नै ध्यान दिएको हो ।  पहिलोबाट दोस्रो फिल्मखेल्दा मेरो पारिश्रमिक बढेर ५ गुणा बढी भएको थियो । त्यो पनि मैले नबोलिकन । 

अहिले कति लिनुहुन्छ, भन्न मिल्छ ?
रेट नै त नभनौँ तर राम्रै छ । जे होस्, आई एम ह्याप्पी । 

फिल्म कत्तिको रिजेक्ट गर्नुहुन्छ ?
सकेसम्म गर्छु । नढाँटी भन्दा यहाँ फिल्म रिजेक्ट गर्न पनि गाह्रो छ हौ । कतिपय स्क्रिप्ट चित्त बुझिरहेको हुँदैन तर खेल्दिनँ भन्यो भने सिधै स्टार भएछ, भाउ खोज्न थालेछ भनेर टिप्पणी गर्छन् । खेल्यो भने, आफैँलाई लाज लाग्ने फिल्म हुन्छ । म फिल्म खेल्दा समाजलाई प्रभाव पार्ने कथा र क्यारेक्टरको खोजीमा हुन्छ । जुन कमै पाइन्छ । 

आफूले पाएको क्यारेक्टरलाई जीवन्त बनाउन कत्तिको मिहिनेत गरिन्छ ?
सकेसम्म गर्छु । एक्टरको काम नै क्यारेक्टर खोज्ने हो । एउटी आमासँग बच्चा जन्माउन नौ महिनाको समय हुन्छ तर हामीसँग मुस्किलले २–३ महिना हुन्छ । त्यो समयभित्र हामीले एउटा क्यारेक्टरलाई जन्माएर ३०–४० वर्षको बनाइसक्नु पर्छ । उसको रहनसहन, बोलिचाली, समाजसँगको सम्बन्ध, साथीभाइसँगको सम्बन्ध सबै अध्ययन गर्नुपर्छ, कल्पना गर्नुपर्छ । २ महिनाभित्र ३० वर्षको मान्छे जन्माउनु चानचुने कुरा होइन । फेरि कथामा मात्रै होइन, क्यारेक्टरको पनि अर्को कथा हुन्छ । म आफूले पाएको क्यारेक्टरलाई चुस्त बनाउने काम प्रायः आफैँ गर्छु । 

त्यसरी क्यारेक्टरमा हस्तक्षेप गर्दा निर्देशक रिसाउँदैनन् ?
अहिलेसम्म त पाएको क्यारेक्टरमा सुधार गर्ने र हुर्काउने स्वतन्त्रता मैले पाइरहेको छु । कतिपय फिल्ममा त ‘कमा’ धरी मेरो आफ्नै हुन्छ तर म निर्देशकलाई हस्तक्षेप गर्नेभन्दा पनि उनीहरुलाई चित्त बुझाउनेगरी नै काम गर्छु । 

तपाईंलाई यो फिल्म इन्डस्ट्रीको चित्त दुख्ने कुरा के हो ?
अझै पनि हामी मुम्बइया (बलिउड) ह्याङबाट उत्रिन सकेका छैनौं ।  उतैका फिल्महरु हेरेर यता फिल्म बन्ने प्रचलन रोकिएको छैन । हामीसँग भएका लोकल स्टोरीमा अझै ध्यान पुग्न सकेको छैन । हाम्रै वरिपरि यति धेरै कथा छन्, जसलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ । तर त्यहाँ मेकर्सहरुको ध्यान नपुग्दा दुःख लाग्छ । 
 

Leave A Comment