दृश्य १
सेड्रिनाः यो के भयो मलाई, किन मेरो आँखाले उसलाई खोज्छ ?
किन मेरो मनले उसैलाई रोज्छ ?
किन उसलाई देखाउन राम्री बन्न मन लाग्छ ?
सेड्रिनाकी साथीः तँलाई माया बस्यो अन्जना ।
सेड्रिनाः यो उमेरमा पनि त्यस्तो हुन्छ र ?
सेड्रिनाको साथीः मायाले उमेर हेर्दैन ।
दृश्य २
सेड्रिना : तिमीलाई इलाममा के मनप¥यो ?
अनुभव : मलाई त इलाम भन्दा पनि तिमी मनप¥यो ।
सेड्रिना : अब आँखा बन्द गर, तिम्रो दिलमा बसेको मान्छेको आकृति तिम्रो अगाडि आउँछ ।
दृश्य ३
सेड्रिना : मानिसहरु भन्छन्, भेटिनु छुटिनु समयको खेल हो तर भेटिएको मान्छेसँग निकट हुनु पूर्वजन्मको मेल हो ।
आज त लाहुरेले मलाई देखेर ढल्ने नै भयो ।
०००
माथिका तीन संवाद तथा दृश्य प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ५’को ट्रेलर र गीतका हुन् । बाल कलाकारद्वय अनुभव रेग्मी र सेड्रिना शर्माले एकअर्काबीच प्रेम अभिव्यक्त गर्न बोलेको संवाद हुन् यी । यस्ता संवाद कलिलो मष्तिस्कका बालबालिकाबीच हुनै सक्दैन । यो बालसुलभ प्रेम हैन । वयष्क उमेरका भाव हुन् ।
कलाकार बालक हुन् तर उनीहरुले अभिव्यक्त गर्ने संवाद भर्खर यौवनमा प्रवेश गरेका प्रेमजोडीको भन्दा कम छैन ।
पछिल्लो समय नेपाली फिल्ममा बच्चाबच्चीको अस्वभाविक प्रेम देखाउने प्रवृत्ति बढिरहेको छ । त्यसैले अभिभावकहरु चिन्तित छन्, ‘कतै मेरा बच्चाबच्चीले यस्तै लभ गर्न सिक्ने हो कि ?’
प्रेमको परिभाषासमेत नबुझेका बालबालिकाका मुखबाट यस्ता संवाद प्रयोग गर्नु कति सान्दर्भिक होला ? फिल्म समीक्षक दीपेन्द्र लामाका अनुसार बाल मष्तिस्कमै बालसुलभ प्रेमलाई जीवनसाथीका रुपमा प्रस्तुत गरिनु अस्वभाविक हो । ‘पात्र चाहीँ आठ–नौ वर्षको अनि संवाद भने अठार–उन्नाइसको जस्तो ! यो त नेपाली मात्रै हैन, कुनै पनि फिल्मका लागि अपाच्य कुरा हो,’ उनको तर्क छ ।
यस्ता अपाच्य र अप्राकृतिक पात्रहरुले बालपात्रको रियल कथा आउन नदिने उनको भनाइ छ । ‘यो त फिल्म मेकरको अपरिपक्वता हो, यसले बालमनोविज्ञानमा समेत गम्भीर असर पार्छ,’ उनले भने ।
लामाको कुरामा सहमति जनाउँछिन् बाल मनोविज्ञ गंगा पाठक पनि । ‘फरक उमेर समूहमा फरक फरक रसहरु, फरक भावनाहरु उत्पन्न हुन्छन्,’ उनले भनिन्, ‘बालसुलभ मनोविज्ञानले प्रेम भन्ने शब्दलाई छुट्टै तरिकाले बुझेको हुन्छ तर यसरी फिल्ममा एडल्ट पात्रको प्रेम भावनालाई बाल पात्रको तौरतरिकाले देखाउँदा उनीहरु पनि कन्फ्युजमा पर्छन् ।’
यसले आमाबुबा, दिदीबहिनी, दाजुभाइ र आफन्तहरुसँग हुने प्रेमको समेत नामोनिसान मेटिने पाठक बताउँछिन् । उनले थपिन्, ‘यति मात्रै होइन, फिल्ममा भएका आमाबाबुजस्तो आफ्नो आमाबाबु किन बनेनन् भन्ने पनि उनीहरुको दिमागमा पर्छ ।’
‘पात्र चाहीँ आठ–नौ वर्षको अनि संवाद भने अठार–उन्नाइसको जस्तो, यो नेपाली मात्रै हैन, कुनै पनि फिल्मका लागि अपाच्य कुरा हो ।’
– समीक्षक दीपेन्द्र लामा‘फिल्ममा एडल्ट पात्रको प्रेम भावनालाई बाल पात्रको तौरतरिकाले देखाउँदा उनीहरु पनि कन्फ्युजमा पर्छन् ।’
मनोविज्ञ गंगा पाठक‘अहिलेको पुस्ता प्रविधिका कारण हामीले सोचेभन्दा परिपक्व भइसकेका छन् ।’
निर्माता विकासराज आचार्य
यता फिल्म निर्माताहरु भने बच्चाबच्चीको प्रेम पर्दामा हिट हुनुलाई आफ्नो सफलता ठानिरहेका छन् । ‘नाइँ नभन्नु ल–२’को सफलतापछि यसको सिरिजमा लगातार बाल कलाकारहरु लिड रोलमा छन् । फिल्मले बाल बालबालिकाको चरित्र चित्रणलाई लिएर आलोचना पनि पाइरहेको छ । तर यसका निर्माता तथा निर्देशक विकासराज आचार्य आफूले जे गरिरहेको हो, त्यो ठीक ठानिरहेका छन् । ‘अहिलेको पुस्ता प्रविधिका कारण हामीले सोचेभन्दा परिपक्व भइसकेका छन्, त्यसैले त्यस्तो आपत्ति जनाउनुपर्ने केही छैन,’ उनको तर्क छ ।
यस्ता दृश्य र संवादले बाल मनोविज्ञानमा गम्भीर असर गर्दैन र ? उनको जवाफ थियो, ‘रमेश विकलको नाटक ‘मधुमालती’मा पनि बच्चा बेलामै बिहे गरिदिएको छ र पछि प्रेम भएको कुरा उल्लेख गरिएको छ । यो पनि त्यस्तै हो । फिल्मका दृश्य र संवादमा त्यस्तो बाल मनोविज्ञानमा असर पार्ने केही कुरा छैन ।’
उनले विकलको कथाको प्रसंग निकाल्दा नेपालमा कुनै समय बाल विवाहको विकृति पनि थियो भन्ने बिर्सिए ।
बाल मनोविज्ञ बालबालिकालाई वयष्कझैँ व्यवहारमा देखाउनु गम्भीर विषय रहेको टिप्पणी गर्छन् तर आचार्य यो स्वीकार गर्ने पक्षमा देखिएनन् । उनले सबैको जीवनमा घटिरहने घटनालाई आधार बनाएर फिल्म बनाएको ढिपी गरिरहे ।
बच्चा बेलामा पनि क्रस भइरहेको हुने र बेस्ट फ्रेन्डसँग त झनै बढी घनिष्टता हुने तर्क गर्दै उनले आफ्नो फिल्मका बाल कलाकारबाट बोलाएको वयष्क संवाद स्वभाविक भएको तर्क गरिरहे । जुन पक्कै स्वीकार्य विषय हैन ।
‘हामी हाम्रो बालबालिकाले कार्टुन या बाल कलाकारले खेलिरहेको फिल्म त हेरिरहेका छन् नि भनेर छाड्छौं र त्यहाँ केटाकेटी देख्नेबित्तिकै आकर्षण पैदा हुने जस्ता दृश्यहरु देखाइएको हुन्छ,’ बाल मनोविज्ञ पाठकले भनिन्, ‘यसले उनीहरुको सोच्ने तरिकामै फरक पार्छ, जो केटी देखे पनि वा केटा देखे पनि प्रेमीप्रेमिकाको नजरले हेर्न थाल्छन् । उनीहरुको दिमागमा यस्ता विकृति फिल्मले भरिदिन्छ । पछि प्रेम भनेको नै भावनात्मक होइन, शारीरिक सम्बन्ध मात्रै हो भन्ने भावना उनीहरुमा पैदा गराउँछ ।’
Leave A Comment