सार्वजनिक बसमा कण्डम

बिहिबार, ३१ साउन २०७५, ०५ : ४१ रेणु त्वानाबासु
सार्वजनिक बसमा कण्डम

टेलिभिजनमा परिवार नियोजनसम्बन्धी एउटा विज्ञापन खुबै चलेको थियो

‘झिल्के दाइ छ छैन कण्डम’ भन्दै केटा र केटी जंगलमा नाच्थे त्यसमा । शिक्षित वर्ग बस्ने मानिने सहरी क्षेत्रमा समेत त्यो विज्ञापन बजेपछि परिवारका सदस्य अप्ठ्यारो मान्थे । 

उमेरदार युवा र युवतीको मुहार रातो हुन्थ्यो । परिवार नियोजनका अस्थायी साधनबारे जनचेतना जगाउन सरकारी र गैरसरकारी संस्थाले सहरीसँगै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा देखिने गरी बक्स राखेर निःशुल्क कण्डमको सुविधा दिए पनि प्रायः बक्स भरिएकै हुन्थ्यो ।

मेडिकल पसलहरुमा विभिन्न ब्रान्डका कण्डमहरु पाइन्छ शुल्कसहित । तर अहिले पनि खुलमखुला ‘मलाई कण्डम दिनुस् त’ भनेर माग्न सक्ने ग्राहकको संख्या निक्कै कम छ ।’

पुरुषसमेत किन्न हिच्किचाउँछन् अस्थायी साधन । यसमा महिलाको संख्या कम हुने नै भयो । अस्थायी साधनप्रति समाजको सोचाइ संकुचितै भए पनि एक संस्थाले सचेतना बढाउन नौलो अभ्यास गरेको छ– सार्वजनिक बसमै कण्डम बक्स राख्ने ।

अहिले यो काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका केही सार्वजनिक बस र माइक्रोमा अभ्यास गरिएको छ । प्रारम्भिक प्रभाव सकारात्मक देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको रुटमा चल्ने केही सार्वजनिक सवारीसाधनमा ‘वि फर चेन्ज’ नामक संस्थाले कण्डम बक्स राखेको हो । 

बसकोे पहिलो ढोकासँगै बक्स देखिन्छ जहाँ कण्डम राखिएको हुन्छ । जुन कण्डमको पैसा लाग्दैन । यात्रुले चाहेमा बक्सबाट चाहेजति कण्डम लिन सक्छन् ।

संस्थाकी कार्यक्रम व्यवस्थापक दीपिका बडालका अनुसार अस्पताल, स्वास्थ्य चौकी लगायतका सार्वजनिक स्थानमा कण्डम बक्स राख्ने गर्दै आएकोमा पछिल्लो समय सार्वजनिक यातायात रोजिएको बताइन् । सुरुमा बक्स सहितको कण्डम राख्ने र पछि कण्डम मात्रै राखिदिने गरेको उनले जानकारी दिइन् । 
‘पहिला–पहिला त गाडीका चालक, सहचालकले कण्डम बक्स राख्नै दिएनन्,’ उनले भनिन्, ‘सम्झाएपछि बल्ल राख्न दिए ।’

सम्झाएपछि अहिलेलाई एउटा माइक्रोबस र दुई वटा बसमा यस्तो कण्डम राखिएको र यो पहिलो चरणको प्रयास भएको बडालले बताइन् । रत्नपार्क बसपार्कबाट काठमाडौं, ललितपुर र भक्तपुर जाने बस र रत्नपार्क–ललितपुर रुटमा चल्ने एउटा माइक्रोबसमा कण्डम राखिएको हो ।

सार्वजनिक गाडीमै कण्डम पाएपछि केटाहरु दंग छन् । विशेषगरी उनीहरु साँझको समयमा कण्डम खुसुक्क उठाउने गरेका छन् । पाका उमेरका विशेष गरी महिलाले भने अप्ठेरो मान्ने गरेका छन् । 

कार्यक्रम संयोजक बडालले साँझको समयमा केटाहरुले कण्डम हारालुछ नै गर्ने गरेको चालकले बताउने गरेको सुनाइन् । 

‘एउटा बक्समा ६ सय वटा कण्डम हुन्छ,’ उनले भनिन्, ‘एकसाँंझ बस चढेका केटाहरु मिलेर सबै कण्डम बोकेर लगेछन् ।’

कण्डम बक्स राखेको गाडीमा कण्डम सकिएपछि संस्थाका प्रतिनिधि आएर आफैं राखिदिन्छन् । 
उनका अनुसार सामान्यतः दुई तीन महिनाको फरकमा कण्डम सकिने गर्छ । कण्डम सकिएको खबर सम्बन्धित गाडीका चालक, सहचालकले गर्ने गर्छन् । 

कण्डम बक्स राखिएको गाडीका चालक रमेश मानन्धरले गाडीमै निःशुल्क कण्डम पाएपछि केटाहरु खुसी हुने गरेको बताए । उनका अनुसार केही यात्रु कण्डम पाउने बस छानेर चढ्ने गरेका छन् ।

‘कोहीकोही त कण्डम लिनकै लागि कण्डम बक्स राखिएको गाडी छानेर चढ्छन् अनि ओर्लिने बेला सुटुक कण्डम लिएर हिँड्छन्,’ उनले भने ।

एकजना युवा न्यूटन श्रेष्ठले अरु ठाउँंतिरबाट भन्दा दैनिक चढ्ने बसबाट कण्डम लिन पाउँदा खुसी लागेको बताए । 

‘बक्स नजिकै केटीहरु भएनन् भने त लिन खासै अप्ठेरो छैन, तर केटी नै अगाडि भएको बेला लिन भने अलि अप्ठेरो लाग्छ,’ उनले सुनाए । 

यस्तो कण्डम अन्य गाडीमा राख्ने पहल पनि भइरहेको तर अधिकांश चालक तथा सहचालकले असहयोग गरेका कारण विस्तारमा ढिलाइ भइरहेको पनि बडालले बताइन् । उनले थपिन्, ‘तर सुरुवातमै पनि यत्तिको सफलता हाम्रालागि ठूलो कुरा हो ।’

Leave A Comment