क्रिकेटर शक्तिकाे नजरमा ‘पुबुदु सर नै बेस्ट’

शुक्रबार, ०१ भदौ २०७५, ०४ : ५० सुजन श्रेष्ठ
क्रिकेटर शक्तिकाे नजरमा ‘पुबुदु सर नै बेस्ट’

नेपाली टिमका लागि शक्ति गौचन नामझैँ शक्ति नै थिए । जब–जब विपक्षी ब्याट्सम्यानले नेपाली बलरलाई जमेर पिटिरहेका हुन्थे, कप्तानका लागि उनी विकल्प बन्थे । उनी त्यस्ता खेलाडी हुन् जसले नेपाली क्रिकेटको अघिल्लो पुस्तादेखि अहिलेको नयाँ पुस्तासँग समेत ड्रेसिङ रूम सेयर गरे । झन्डै दुई दशक टोलीमा सहभागी रहेका उनको साथ छुट्यो अब । दुई साताअघि नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय खेल नै उनको अन्तिम खेल बन्यो । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिए । १७ वर्षभन्दा बढी समय नेपाली क्रिकेटलाई समय दिएका उनै शक्तिसँग खेल र व्यक्तिगत जीवनको आरोह–अवरोहबारे सुजन श्रेष्ठले गरेको  अन्तरंग कुराकानीः

यति लामो समय बिताएको खेलसँग छुट्टिएर बस्दा कस्तो लाग्ने रहेछ ?
अहिलेसम्म त खासै त्यस्तो केही लागेको छैन । आजबाट एसिया कप छनोटका लागि क्याम्प सुरु भयो । अब भने मिस हुन्छ होला । केटाहरुले कस्तो गरिरहेका छन्, कस्तो खेलिरहेका छन् भन्ने खुल्दुली हुन्छ अब । उनीहरुले अन्य टोलीविरुद्ध खेल्दा आफू त्यहाँ भएको भए केही गर्न सकिन्थ्यो कि भन्ने लाग्छ होला ।

अब कसरी अगाडि बढ्ने योजना छ त ?
खेलको प्रेसरले परिवारसँग समय बिताउनै पाएको थिइनँ । संन्यासको समय परिवारलाई दिन्छु । घुम्छु । रमाउँछु । मेरो आफ्नै क्रिकेट एकेडेमी पनि छ । त्यसमा पनि समय दिनै पाएको थिइनँ । अब भने त्यता पनि केन्द्रित हुन्छु । एकेडमीबाट नयाँ खेलाडी खोज्ने, शाखा बिस्तार गर्ने वा कलेज वा स्कुलहरुसँगको सहकार्य गरेर हुन्छ कि कसरी हुन्छ यसलाई बिस्तार गर्ने र ट्यालेन्ट हन्ट गर्ने योजनामा छु ।  

क्रिकेटसँग नाता चैँ कसरी जोडियो ?
मेरो बाबा इन्डियन आर्मीमा हुनुहुन्थ्यो । उहाँसँगै हामी पनि भारत गएका थियौँ । उतै क्रिकेट खेल्न सिकेको हुँ । विशेष गरी मुम्बईमा ५÷६ वर्ष बस्दा मैले धेरै सिक्ने मौका पाएँ । मुम्बईमा उमेर समूहमा पनि खेलेँ । पछि नेपाल फर्किएँ । २००१ तिर होला, यु–१७ टोली बनाउने तयारी भइरहेको थियो । किन प्रयास नगर्ने भन्ने भयो । छनोट पनि भएँ र नेपालमा मेरो क्रिकेट यात्रा सुरु भयो । 
 
त्यस बेलाको र अहिलेको नेपाली क्रिकेटको तुलना गर्दा कस्तो लाग्छ ? केही अन्तर छ र ?
धेरै फरक छ । १७÷१८ वर्ष अगाडि १० प्रतिशतलाई मात्र नेपालमा क्रिकेट छ भन्ने थाहा थियो होला । आज नेपालका ९० प्रतिशत भन्दा धेरैलाई क्रिकेटबारे थाहा छ । अहिले क्रिकेट नेपालकै नम्बर एक खेल जस्तो भएको छ । 

अनि स्तर नि ?
सुविधा या प्रशिक्षण दुवै हिसाबमा फरक छ । पहिला क्याम्पमा बस्दा राम्रो सुविधा हुँदैनथ्यो । ट्रेनिङमा जाँदा खानाहरु प्लास्टिकमा पोको पारेर लैजान्थ्यौं । चौरमै बसेर त्यही प्लास्टिकमा दाल, भात, तरकारी हालेर खानुपर्ने स्थिति थियो । अहिले त्यो अवस्था छैन । अहिले न्युट्रिसियनको सुझावअनुसार डाइट खानसक्ने स्थिति छ । खेलाडीको भत्ता बढेको छ । फिजिसियन छ । ब्याटिङ, बलिङ प्रशिक्षक आएका छन् । खेलको स्तर बढेको छ ।

यसो पछाडि फर्केर हेर्दा कस्तो लाग्छ ?
अद्भूत लाग्छ नि ! 

सपना पूरा भयो त तपाईंको ?
करियरमा जुन सपना बोकेको थिएँ, त्यो ९० प्रतिशत पूरा भयो भन्ने लागेको छ । मैले खेल्न सुरु गर्दा विश्वकप खेल्ने कुरा गर्याे भने हाँसोको पात्र भइन्थ्यो । नेपाललाई ५० औँ वर्ष लाग्छ भन्थे  । लर्डसमा खेल्ने कुरा गर्दा मुर्ख भन्थे तर हामीले यो छोटो समयमा विश्वकप पनि खेल्यौँ, लर्डसमा दुई पटक खेलिसक्यौं । आज एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि पाइसक्यौँ । 

कुनै सपना नै छैन त अब ?
छ नि । टेस्ट राष्ट्र बनेको हेर्ने इच्छा छ । 

खेल यात्रामा कति जना प्रशिक्षकसँग प्रशिक्षण लिनुभयो ?
अफताब बाजुल, रोय डायस, पुबुदु दासानायके लगायत थुप्रै प्रशिक्षकसँग प्रशिक्षण गरेँ । 

यीमध्ये मनपर्ने कोही ?
नेपालको अवस्थाअनुसार मलाई पुबुदु सर बेस्ट लागेको हो । उहाँले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिनुभयो ।

हल्का खेल राजनीतिको कुरा गरौँ है त ! क्यान विवादले नेपाली क्रिकेटलाई कहाँ पुरयायो जस्तो लाग्छ ?
नेपाली क्रिकेटलाई ठूलै क्षति पु¥यायो नि ! अहिले नेपाली क्रिकेट ३०÷४० जना खेलाडीले धानिरहेका छन् । क्यानमा राजनीति नभएको भए थुप्रै नयाँ खेलाडी जन्मिन्थे । एक दिवसीय मान्यता पाउँदा हामीसँग टोलीमा पर्नका लागि कम्तिमा पनि दुई चार सय जना खेलाडीबीच प्रतिस्पर्धा हुन सक्थ्यो तर अहिले त्यो अवस्था छैन । यो सबै विवादकै कारण हो ।

खेलाडीले पनि राजनीति गरे भन्छन् नि ? 
त्यस्तो होइन । क्यान र आइसिसी बीचको कुरा स्पष्ट हुनुपर्छ । हामीले भनेर क्यान बन्ने र नभनेर नबन्ने होइन नि ! खेलाडी त अहिले पर्ख र हेरको स्थितिमा छन् ।

विवाहित हुनुहुन्छ । परम्परागत बा–आमाले खोजेकोसँग विवाह गरेको हो कि आफैंले रोजेको ?
लभ–एरेन्ज भन्दा हुन्छ । 

अलि बताउन मिल्ला ?
उनको घर पनि भैरहवा नै हो । हाम्रो घरबाट धेरै टाढा छैन । त्यहीँ देखेको हो । मलाई मन पथ्र्यो । पछि मागेर विवाह गरियो । 

प्रतियोगिता र प्रशिक्षणका लागि विदेशमा पनि बस्नु भयो । परिवार कत्तिको मिस हुन्थ्यो ?
धेरै मिस हुन्थ्यो । पछिल्लो समय बच्चा भएपछि अझ धेरै मिस हुन्थ्यो । पहिला बाबा हुनुहुन्थ्यो । घरमा कसैलाई केही भइहाल्यो भने पनि उहाँले हेर्नुहुन्छ भनेर ढुक्क हुन्थ्यो तर पछि श्रीमतीले हेर्नुपर्ने भयो । आमा बिरामी भइराख्नु हुन्छ । केही भइहाल्यो भने उसले कसरी सम्हाल्छे भन्ने पीर लागिरहन्थ्यो । 
 

Leave A Comment