बलात्कारीका सहयोगी डिएसपी नै 'पुरस्कृत' !

शुक्रबार, ०१ भदौ २०७५, ०५ : ०७ शुक्रवार
बलात्कारीका सहयोगी डिएसपी नै 'पुरस्कृत' !

 

घटना राजधानी काठमाडौं कमलादीको थियोे, जसमा एक युवतीलाई उनका प्रेमीले एकछिन भेट्न आऊ न भन्दै बोलाएर होटल ल्याण्डमार्कमा लगेर बलात्कार गरेका थिए । २०७४ माघ ७ को घटना बलात्कार मात्रै थिएन, सामुहिक बलात्कार थियो ।

सो घटना सार्वजनिक भएपछि कार्यक्षेत्र पर्ने महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रमुख डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र मुद्दाका सई चन्द्रबहादुर भण्डारीले आरोपीको खोजी र पक्राउको साटो पीडक र पीडित परिवारलाई कार्यालयमा बोलाएर मिलेमतोको प्रयास गरेका थिए ।

प्रहरीभित्रै कुरा नमिल्दा घटना सार्वजनिक भयो र दुवै पक्षबीच आर्थिक लेनदेनको आधारमा केस ढिसमिस बनाउने सहमति भएर एक किस्ता रकम पीडितको आमाको खातामा पुगिसकेको खुलेको थियो ।

राजधानीको केन्द्रमा रहेको प्रहरी कार्यालयले बलात्कार जस्तो गम्भीर घटनाको केस मिलाएर आरोपीलाई उन्मुक्ति दिएको सार्वजनिक भएपछि प्रहरी दबाबमा आयो र अनुसन्धान अगाडि बढायो । 

अनुसन्धानमा विकास गौतम, दीपक श्रेष्ठ, रवि पौडेल र शैलेश कार्की पीडक देखिए । प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढायो । केस मिलाउन संलग्न देखिएका कसैको सरुवा भयो, कोही प्रहरीको आन्तरिक हिरासतमा पुगे । 

प्रहरी आयुक्तको कार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति गठन ग¥यो । महानगरीय प्रहरी परिसर काठमाडौंले बलात्कार घटनाको अनुसन्धान अगाडि बढायो । पीडित खोज्यो, जाहेरी लियो र केस अदालतसम्म पुर्यायो । घटनामा जोडिएका शैलेश पक्राउ परे र पुर्पक्षका लागि थुनामा पुगे । अन्य तीन अभियुक्त अझै पक्राउ परेका छैनन् ।

तर प्रहरीमाथि के कारवाही भो ? लामो समय खुलेन ।

महानगरीय प्रहरी कार्यालयले बनाएको एसएसपी पूर्णचन्द्र जोशी नेतृत्वको समितिले प्रहरी कर्मचारीको दोष ठहर्याउँदै ‘आरोपी प्रहरी अधिकारीलाई फौजदारी अभियोगमा कारबाही सिफारिस’ सहितको प्रतिवेदन बुझाएको खुल्यो ।

बलात्कारसम्बन्धी विद्यमान कानुनअनुसार घटना मिलेमतोमा टुंग्याउने प्रहरी कर्मचारीमाथि बलात्कारीको सहयोगीको रुपमा मुद्दा प्रक्रिया अदालतसम्म लैजान सकिने भए पनि यसो भएन । ग्रेड र सुरु स्केल घटुवाको निर्णय भयो । कारबाही यत्तिमै टुंगियो ।

प्रायः गम्भीर अपराधको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई एकाध वर्ष अर्को महङ्खवपूर्ण स्थानको जिम्मेवारी दिइन्न तर प्रहरी प्रधान कार्यालयले घटनाको सात महिनामै बलात्कार जस्तो घटना मिलाउन सक्रिय हुने डिएसपी भारतीलाई बर्दियाको एक महङ्खवपूर्ण कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको छ ।

प्रहरी ऐन र नियमावलीअनुसार एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकमा हुन्छ । भारतीको पद डिएसपी भएकाले सरुवाको निर्णयमा हस्ताक्षर गर्ने अधिकारी प्रहरी महानिरीक्षक नै हुन् । 

गत साता निस्किएको सरुवामा डिएसपी भारती इलाका प्रहरी कार्यालय राजापुर बर्दियाको कमाण्डर भए र उनी कार्यक्षेत्रमा समेत पुगिसकेका छन् । 

बलात्कारीका आरोपीलाई उन्मुक्ति दिन सक्रिय भारतीलाई प्रधान कार्यालयले पुरस्कृत ग¥यो । अर्कातिर बलात्कार घटनाका अन्य तीन आरोपी खोज्न प्रहरीले कुनै चासो दिएको छैन । 

मुख्य अभियुक्त शैलेशलाई प्रहरीले खोजेर पक्राउ गरेको थिएन, उनी आफैँले सरेन्डर गरेका थिए । प्रभावशाली ठेकेदारका छोरा विकास र अन्यको खोजीमा प्रहरीको कुनै युनिटले चासोसमेत देखाएको छैन । 
 

Leave A Comment