‘फिल्म घाटामा, कर बुझाउँदा नाफामा’

शुक्रबार, ०१ भदौ २०७५, ०५ : १७ अनिल यादव
‘फिल्म घाटामा, कर बुझाउँदा नाफामा’

‘मेरो फिल्म सोलुखुम्बुको गाउँमा सुटिङ भयो । जहाँ भ्याट र प्यान बिलको त के कुरा,सामान्य बिलकै प्रचलन छैन । सुत्ने ठाउँको बिल पाइएन । खानेकुराको बिल पाइएन । लोकेसनलाई तिरेको रकमको बिल पाइएन । मेरो फिल्म सक्दासम्म २ करोड खर्च होला तर मसँग २५ लाखको भन्दा बढी आधिकारिक बिल छैन । यस्तो अवस्थामा मैले के गर्नु ?’

आइतबार राजधानीमा आयोजित ‘नेपाली फिल्म उद्योगको कर तथा राजस्व संकलनसम्बन्धी प्रावधान’ विषयक अन्तरक्रियामा चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले गुनासो राखे । 
बिलको अभावमा फिल्मकर्मीले चाहेर पनि कर प्रक्रियामा सहभागी हुन गाह्रो भएको उदाहरण दिएका हुन् उनले । 

‘लगानी बराबरको बिल संकलन गर्न नसक्दा लाखौं घाटा  हुँदाहुँदै पनि निर्माताहरु इनकम ट्याक्समा जान बाध्य भइरहेका छन्,’ उनको दुःखमनाउ थियो । 

उद्योग वाणिज्य महासंघ अन्र्तगतको चलचित्र एवम् मनोरञ्जन समितिले फिल्मकर्मीका गुनासा सुन्न राखेको अन्तक्र्रियामा आन्तरिक राजस्व विभागका निर्देशक रमेश गौतम उपस्थित थिए । 
कार्यक्रममा सहभागी अधिकांश फिल्मकर्मीको अनुरोध थियो– फिल्मकर्मीका लागि कर तथा राजश्वका विषयमा सरकारले बेग्लै हिसाबले सोचोस्, सुटिङ गर्ने सबै ठाउँमा प्यान वा भ्याट बिल नपाउँदा कर प्रक्रियामा सामेल हुन अप्ठ्यारो छ । 

कार्यक्रममा सहभागीहरुको कुरा सुन्दा गत साउन १ देखि बक्स अफिस लागु भइसकेपछि फिल्मकर्मीमा करलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अन्योल सुरु भएको देखियो । 

बक्सअफिस लागू हुनुअघिसम्म फिल्मको लगानी र आम्दानी पारदर्शी ढंगले बाहिर आउन सकेको थिएन । बक्स अफिस कार्यान्वयनमा आएसँगै फिल्मको नेट आम्दानीबाट सरकारले पाउने करको हिस्सा सफ्टवेयरले स्वतः छुट्याउँछ । खर्च गरेको सबैको आधिकारिक बिल नहुँदा घाटामा गएको फिल्मले पनि आम्दानी कर तिर्नु परिरहेको भन्दै फिल्मकर्मीले आफ्नो समस्यालाई सम्बोधन गरिदिन राजश्व विभागसँग आग्रह गरे । 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि सिनेमामा गरेको लगानी हुबहु देखाउन गाह्रो परिरहेको समस्या राखे ।

‘फिल्म उद्योग वार्षिक दुई खर्बको भइसक्यो । यहाँ निर्माताहरु पारदर्शी बन्न उत्सुक छन् । पारदर्शी हुन तयार भएरै बक्सअफिसमा जोड दियौं । अब सरकारले यसबापत् कहाँ कसरी सहुलियत दिन सकिन्छ भन्ने सोच्न पर्छ,’ उनको आग्रह थियो । 

अन्तरक्रियामा अधिकारीले बुँदागत रुपमा करसम्बन्धी समस्या राखेका थिए । प्यान तथा भ्याट बिलको अनुपलब्धता, फिल्मले घाटा खाँदाको अवस्था र करमा इन्ट्री गर्दा हुने गल्ती सच्याउन पाउनुपर्नेमा उनको जोड थियो । 

चलचित्र नृत्य निर्देशक समाजका अध्यक्ष तथा निर्देशक दिनेश पाख्रिनले समेत कर सहजताका लागि अनुरोध गरे । ‘फिल्म बनाएर रिलिज गर्दासम्म निर्माताको मासु, कलेजो, हड््डीमात्रै निस्किदैन, करङ्गसमेत भाँच्चिन्छ । अवस्था बेहाल छ । यस्तो अवस्थामा आफूले घाँटा खाँदाखाँदै राजश्वमा आम्दानी गरेको रेकर्ड पठाउनुपर्दा दुःखी छौं । यो समस्याको समाधान गर्नुप¥यो,’ उनको अनुनय थियो ।  उनी निर्देशित फिल्म ‘टिनएज’ अघिल्लो साता प्रदर्शनमा आएको थियो । 

फिल्मकर्मीले आ–आफ्ना कुरा राखेपछि अन्त्यमा राजश्व विभागबाट आएका निर्देशक रमेश गौतमले जवाफ दिए । 

‘तपाईंहरुले उठाउनुभएका धेरैजसो समस्या नीतिगत रुपमा सम्बोधन हुनुपर्ने खालको छ । यो मैले गर्दिन्छु भनेर पनि हुँदैन,’ उनको जवाफ थियो, ‘अहिलेसम्म सरकारले फिल्मकर्मीका लागि मात्र भनेर बेग्लै व्यवस्था या कानुन बनाएको छैन । त्यसैले अहिले फिल्मकर्मीका लागि मात्रै यसो गर्न सकिन्छ भन्ने अवस्था छैन । तपाईंहरुको समस्या हामीले व्यवहारिक रुपमा बुझौँला तर ऐन नियमले बुझ्दैनन् । तपाईंहरूलाई मर्का नै परेको हो भने राजस्वसँग बृहत् रुपमा बसौं । संस्थागत रुपमा आउनुस् , छलफल गरौं ।’
 

Leave A Comment