‘डान्सरको पनि ब्वाइफ्रेन्ड, ग्राहकको पनि ब्वाइफ्रेन्ड’

आइतबार, १० भदौ २०७५, ०३ : ३३ भोला अधिकारी
‘डान्सरको पनि ब्वाइफ्रेन्ड, ग्राहकको पनि ब्वाइफ्रेन्ड’

हास्य कलाकार महादेव त्रिपाठी जादुगर मात्र होइनन्, सिरियल र फिल्ममा चलेका पनि कलाकार हुन् । उनी चलचित्रमा आउनुअघि थुप्रै डान्सबारमा नाचे । उनले डान्सबारमा १२ वर्ष बिताएका छन् । उनीसँग डान्सबारको अनुभवबारे शुक्रबारकर्मी भोला अधिकारीले गरेको कुराकानी :

भाँडा माझ्दामाझ्दै डान्सर 
म  सानै हुँदा बुबाको हत्या भयो । घरको आर्थिक अवस्था नाजुक थियो । समस्या बढेपछि काठमाडौँ आएँ । बस्ने ठाउँ थिएन । गौशालामा रेलिमाई भन्ने डान्सबार थियो । त्यहाँ भाँडा माझ्ने काम पाए । सानो फुच्चे सबैले हेप्ने । काम त गर्नै पर्यो । राम्रा केटीहरु नाच्दा मलाई पनि नाच्न रहर लाग्थ्यो । म पनि नाच्छु भनेर साहुलाई भनेको त हप्काए ।

मेरो भाग्य भनुँ या डान्सबारमा नाच्ने डान्सरको दुर्दशा । डान्सबार आउँदै गर्दा बाटोमा बाइक एक्सिडेन्ट भएछ । ऊ आउन सकेन । नसकेपछि डान्सबारमा नाच्नका लागि केटाको कमी भयो । यसैबेला मैले साहुलाई फेरि भनेँ ‘म नाच्छु’ । साहुले अन्कनाउँदै नाच्छस् त ? अलिक सफा भएर लु नाच्न भन्नुभयो । मेरो नाच सबैले मन पराइदिनुभयो । अरुको भन्दा धेरै टिप्स पाए । त्यो देखेर साहुले भाँडा पनि माझ्, नाच्न पनि आइज भन्न थाले । करिब ८ महिना भाँडा पनि माझेँ, डान्स पनि गरेँ । 
नाचेको र माझेको ८ सय 

भाँडा माझेको र नाचेको ८ सय रुपैयाँ तलब आयो । पहिलो तलब आउने बित्तिक्कै  पेन्ट सर्ट किनेँ । नाच्दा टिप्स राम्रै आउन थाल्यो । पैसाको कमी भएन । डेरामा चैँ बसिनँ । डान्सबारमै बसेँ । चलचित्रमा चलेकी नायिका उषा पौडेल दिदी र म एउटै डान्सबारमा नाच्ने गर्थौं । उहाँको डान्स हेर्नका लागि धेरै मान्छेहरु आउँथे । मलाई भने कमेडी डान्स गर्न लगाउँथे । मैले त्यो समयमा क्यारिकेचर गर्न थालेको थिएँ । नाच्न थालेपछि सबैको प्रिय भएँ । 

डान्सबारमा सबैकोे ब्वाइफ्रेन्ड
डान्सबारमा मलाई ब्वाइफ्रेन्ड भनेर बोलाउँथे । डान्सबारमा छिरेपछि डान्सर पनि ब्वाइफ्रेन्ड, आउने ग्राहक पनि ब्वाइफ्रेन्ड । सुरुमा गहिरो लभमा परियो जस्तो लाग्थ्यो । डान्सबारमा १ हप्ते, १५ दिने एउटाको मायामा परियो । बिहे गर्यो । अर्को हप्ता अर्कैको हुन्थेँ । मसँग पनि यस्ता घटना धेरै भए । यस्तो बिहे त कति गरियो गरियो ! अझ बाइक हुनुपथ्र्यो । त्यो त हिरो हुन्थ्यो । सबै केटी उसैको पछि लाग्थे । 
एचआइभी लागेकालाई आफैँले जलाएँ 

डान्सबारमा त्यस समय कतिपय केटीलाई एचआइभी एड्ससमेत लागेको थियो । एक जना युवतीलाई एचआइभी भएको रहेछ । उनले रोग लागेको थाहा पाएपछि आत्महत्या गरिन् । मैले पशुपति आर्यघाटमा लगेर दागबत्ती दिएँ । अर्की एक जनालाई कसले पेट बोकाइदिएछ । उनले पनि आत्महत्या गरिन् । यस्तो घटना धेरै हुन्थ्यो डान्सबारमा काम गर्दाताका । 

सोझा केटी डान्सबारमा बाङ्गा 
गाउँबाट आएका केटीहरु २÷४ दिनसम्म ठीकै हुने गर्थे । ५ दिन पछि त पूरा चुरोट तान्ने, रक्सी पिउने, तमास गर्नेसम्म भेट्टाएँ । यो मान्छे यस्तो होली र भन्ने लाग्थ्यो । सोझी कुर्था सुरुवाल लगाएकी, डान्सबारमा नाच्न थालेसी त पूरा टु–पिसमा देखिन थाल्थे अनि म त छक्क ! 
गेस्टले केटी मिलाऊ भन्थे

ठमेलमा नाच्दा धेरै खाले ग्राहक आउँथे । प्रायः नेपाली र भारतीय । कतिपय गेस्टले ‘भाइ यता आऊ त’ भनेर बोलाउँदै केटी मिलाइदेऊ न भन्थे । बोलाइदिन्छु तपाईं आफैँ कुरा गर्नुस् भनेर डान्सर केटी बोलाइदिन्थेँ । मेरो काम बोलाउने हो भनेर म हिँडिहाल्थेँ । 

केटीको निहुँमा गेस्टहरुबीच फाइट 

ठमेलमा नाच्ने डान्सबारमा एक दिन ठूलो  झगडा पर्यो । एक जना गेस्टले डान्सर केटीलाई जे–जे मागे पनि किनिदियो । खुवायो र केटी नि निकै झ्याप भएकी थिई । त्यति बेला त मेरो ब्वाइफ्रेन्ड त मेरो गल्फ्रेन्ड भनेर कुरा भएछ । त्यही बेलामा अर्कोले बोलाएछ र त्यो केटी अर्को ग्राहकतिर लागिछ । उता गएपछि यता खर्च गरेको गेस्टले ओई यता आइज भनेर केटीलाई बोलायो । त्यो केटीले म किन आउने भनेर निहुँ खोज्न थाली । डान्सबारभित्रै गेस्टहरुबीच हानाहान भयो । पुलिस आएर सबैलाई समाएर लग्यो । म भने भान्सातिर लुकेर बसेँ अनि जोगिएँ । 
 

Leave A Comment