अझै आँसुकै बजारीकरण [फिल्म दृष्टि- नाई नभन्नु ल ५]

बिहिबार, १४ भदौ २०७५, ०२ : ४५ अनिल यादव
अझै आँसुकै बजारीकरण [फिल्म दृष्टि- नाई नभन्नु ल ५]

केही दिनअघि युट्युबमा ‘नाई नभन्नु ल ५’को ट्रेलरले त्यत्ति छोएन तर त्यसमुनि आएको एउटा प्रतिक्रियाले भने मस्तिष्कमा मज्जाले बास गर्यो।  लेखिएको थियो, ‘फेरि रुने दिन आएजस्तो छ, तेस्का बाजे ! यसपालि चैँ एक झोला रुमाल लिएर जानुपर्यो हलमा ।’

प्रतिक्रिया निकै व्यंग्यात्मक थियो । प्रतिक्रियाले ‘नाइँ नभन्नु ल’ ब्रान्डप्रति दर्शकमाझ रहेको रुन्चे मनोविज्ञान झल्काएको थियो । 

तैपनि फिल्मको प्रस्तुति यसअघिका चार संस्करणभन्दा केही नयाँ, नौलो र रचनात्मक होला कि भन्ने हल्का आश भने थियो तर फिल्म हेरेपछि निराश भइयो । 

फिल्म निर्देशक विकासराज आचार्यले यसमा पनि आँसुको सेफजोन छाड्न सकेनछन् । उनी त्यसै पनि नेपाली फिल्ममा आँसुको बजारीकरण गर्न माहिर खेलाडी हुन् । यो सिलसिला अझै जारी देखियो । 

‘नाइँ नभन्नु ल’को पाँचौँ संस्करणमा पनि उनले सबै निर्देशकीय बल दर्शकको आँसुको मूल फुटाउनमै खर्चिएका छन् । फिल्मको सुरुवातदेखि अन्त्यसम्म पात्रको रुवाई निरन्तर चलिरहन्छ । 

यसपालि भने उनको संस्करणले दर्शकको आँसुको मूल भने मज्जाले फुटाउन सक्दैन, छिपछिपेसम्म भने गराउँछ । दर्शकलाई यसपालि रुमाल चाहिन्न । आफ्ना औँलाले नै छिपछिपे आँसु पुछ्न सक्छन् । 

पाँचौँ सिक्वेल पनि अरु संस्करणकै ह्याङले भरिएको छ । कथ्य शैलीमा केही नयाँपन दिने प्रयास गरिए पनि कथा र पात्रको चरित्र चित्रणमा नवीनता देखिन्न । फ्ल्यासब्याक कथा भन्ने शैलीले कथालाई एकै डोरीमा डो¥याउन सकेको छैन । कन्टिन्युटी जर्क प्रशस्तै देखिन्छ ।

फिल्ममा नीर (अनुभव रेग्मी) र अन्जना (सेड्रिना शर्मा)को प्रेमकथा छ । चरित्र चित्रणअनुसार उनीहरु किशोर उमेर प्रवेशको विन्दुमा छन् । बिदा मनाउन दिदीको घर इलाम आएका बेला नीरको भेट अन्जनासँग हुन्छ । त्यसपछि दुई बालकबीच पलाउने वयष्कजस्तो प्रेम नै फिल्मको कथा हो । उनीहरुको प्रेमले लिने गति, परिस्थिति र परिवारमा आउने उतारचढाव नै फिल्मको सार हो ।

निर्देशक आचार्यले ‘नाइँ नभन्नु ल’ सिरिजबाट बच्चाबच्चीलाई वयष्क शैलीको प्रेम गर्न सिकाएको आरोप खेप्दै आइरहेका छन् । यो फिल्ममा प्रयोग गरिएका वयष्क प्रेमी–प्रेमिकाकोझैँ संवादले त्यो आरोपलाई थप बलियो आधार दिएको छ । यसले उनमा बाल कलाकारमार्फत व्यक्त गराइएको वयष्क संवादप्रति पछुतो देखिएन ।

नीर र अन्जना बीचको प्रेम संवाद अस्वभाविक मात्र हैन, अपाच्य नै सुनिन्छ । बाल कलाकारलाई वयष्क शैलीको प्रेम गराइएको छ । कतिपय प्रेम संवाद त वयष्कका लागि समेत भारी हुने खालका छन् । 

अन्जनाले ‘तिमीलाई इलाममा के मनपर्यो ?’ भन्दा नीरले जवाफ दिन्छन्, ‘मलाई इलामभन्दा तिमी मनपर्यो ।’ बालापनमा हुर्किरहेकी अन्जनाले उसकी दिदीसँग जिज्ञासा राख्छे, ‘यो के भयो मलाई, किन मेरो आँखाले उसलाई खोज्छ ? किन मेरो मनले उसैलाई रोज्छ ? किन उसलाई देखाउन राम्री बन्न मन लाग्छ ?’ 

बालसुलभ मनोविज्ञानले प्रेमलाई यसरी बुझेको हुन्छ र ? १२–१३ वर्षका किशोर–किशोरीले यस्तो प्रेम भाव अभिव्यक्त गर्छन् त ? बालपात्रका लागि वयष्कको जस्तो संवाद लेख्नुले यसका पटकथाकारद्वय निर्देशक आचार्य र सामीप्यराज तिमल्सिनाको अपरिपक्ता देखाउँछ । 

बाल्यकालको उमेरमा मिल्ने साथीहरुबीच आ–आफ्ना छोराछोरी ठूला भएपछि विवाह गरिदिने ठट्टा चल्नु सामान्य हो तर फिल्ममा बाल्यकालको प्रेम ठट्टाको रुपमा छैन । गहिरो छ, वयष्क उमेरमा हुने प्रेमझैँ । फिल्मका अभिभावकले बाल्यकालको वयष्करुपी प्रेमलाई निरुत्साहित हैन, उल्टो प्रोत्साहित गरेको दृश्यले बाल कलाकारको फिल्म भन्दै उही उमेरका सन्तान बोकेर फिल्म हल पुगेका अभिभावक आफैँ लजाउँछन् ।

कानुनले प्रेमको उमेर त तोकेको छैन तर विवाहको उमेर तोकेको छ । तै पनि बाल विवाह नियन्त्रण भइसकेको छैन । यो फिल्मको प्रभावमा पर्ने कच्चा उमेरका बालबालिका सानै उमेरमा विवाह गर्न प्रोत्साहित हुने सम्भावना बढी नै छ ।

अन्य संस्करणमा जस्तै पाँचौँमा पनि निर्देशकले दृश्यभन्दा बढी संवादकै भर गरेका छन् । दर्शकमाझ पात्रहरुको प्रेम अनुभूत पनि दृश्यले भन्दा बढी संवादले गराउँछ । यो असल निर्देशकको क्षमता हुने कुरै भएन । 

कमजोरीका बाबजुद आमा–छोराको प्रेमिल सम्बन्ध, स्वस्तिमा खड्का र अभिषेक नेपालको क्लाइमेक्स पछिको प्रेमिल दृश्यले दर्शकको मन हुँडल्छ । 

पहिलो हाफभन्दा कम बोरिङ छ, दोस्रो हाफ । अन्जनाले सधैँ खुट्टामा बुट लगाइरहनुको रहस्य पनि मनछुने छ । पहिलो हाफ अगाडि गुन्युचोलीमा अन्जनाले किन बुट लगाई भन्ने कुतुहल फिल्मको अन्त्यतिरसम्म कायम राख्न सक्नु फिल्मको बलियो पाटो हो ।

फिल्ममा वसन्त सापकोटाले भरेका दुई गीतले राहत त दिन्छन् तर यसअघिका सिरिजमा हिट भएका संगीतको प्रयोग अलि बढी सुनिन्छ । यो दर्शकलाई भुलाउन निर्देशकले अपनाएको चतुर्याईँबाहेक केही लाग्दैन । 

फिल्मका पटक पटक ‘नाइ नभन्नु ल २’ को पोस्टर देखाएर दर्शकलाई यो त्यसैको सिक्वेल हो है भनेर सम्झाउने असफल प्रयास मात्र गरिएको छ । यसले यसका निर्देशकमा पाँचौँ भागलाई पहिलोकै निरन्तरताको रुपमा दर्शकले स्वीकार गर्छन् भन्नेमा दुविधा रहेको देखाउँछ । 

फिल्मको कलरिङमा कता–कता समस्या देखिए पनि सिनेमाटोग्राफी लोभलाग्दो छ । पुरुषोत्तम प्रधानको क्यामेराले इलाम र झापाको सुन्दरतालाई न्याय गरेको छ । ड्रोन सटहरु उम्दा छन् ।

अन्जनाको भूमिका निभाएकी सेड्रिना शर्मा फिल्ममा सुन्दर देखिएकी छन् । उनको अभिनय र लुक्स दुवैले लोभ्याउँछ । नेपाली फिल्मकी नयाँ अभिनेत्रीका रुपमा उनको सम्भावना बलियो छ । 

अनुभवको अभिनय भने यस अघिका श्रृंखलाभन्दा परिमार्जित छैन । प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, स्वस्तिमा खड्का, दिलिप रायमाझी, अभिषेक नेपाल सबै आ–आफ्नो भूमिकामा स्वभाविक देखिएका छन् । 

पुरानो संस्करणसँग जोड्न केही चरित्र भने जबर्जस्ती थोपरिएको देखिन्छ । जस्तो ज्योतिष र पुजारीको ह्याङ पाँचौँ सिक्वेलसम्म जारी छ तर पहिलोझैँ चाखलाग्दो छैन । खाली ठाउँ भर्नका लागि मात्र प्रयोग भएको छ, तिनको चरित्र । पुजारीको भूमिकामा रहेका बुद्धि तामाङ र अर्का कलाकार जयनन्द लामालाई हास्यरसका लागि प्रयोग गरिए पनि बोरिङ छ ।

निर्देशकले यो फिल्मलाई फ्यामिली ड्रामा दाबी गरेका छन् तर बच्चाबच्ची लिएर हल जानुअघि अभिभावकले सोचे राम्रो । कारण फिल्मले बाल मनोविज्ञानमा पार्ने नकारात्मक असर नै हो । 

रुवाबासीले भरिएको ‘नाइँ नभन्नु ल’का चार श्रृंखलामा रमाउने दर्शकलाई यो श्रृंखलाले त्यत्ति निराश नबनाउला तर विषयवस्तु र प्रस्तुतिमा नयाँपन र सिर्जनशीलता खोज्नेहरु भने निरास हुनेछन् । 

फिल्मलाई व्यवसाय मात्रै नभई कलाको माध्यम पनि मान्ने हो र आफूलाई असल निर्देशकका रुपमा चिनाउने हो भने अब निर्देशक आचार्यले ‘नाइँ नभन्नु ल’ र आँसुको ह्याङओभरबाट मुक्त हुन जरुरी छ । 

Leave A Comment