४० वर्षमै देशको काया कसरी फेर्ने ?

बुधबार, २० भदौ २०७५, ०१ : ११ शुक्रवार
४० वर्षमै देशको काया कसरी फेर्ने ?

युकोन हुआङ
चीनमा माओ जेदोङपछि त्यहाँ आर्थिक क्रान्ति ल्याउने श्रेय देङ स्याओफिङलाई जान्छ । देङले सन् १९७८ मा आर्थिक क्रान्तिको सुरुवात गरेका थिए र यसै वर्ष अर्थात् २०१८ मा ४० वर्ष पूरा भयो । देङले आर्थिक सुधारको कार्यक्रमलाई चीनको अर्को क्रान्ति भन्थे । यही आर्थिक सुधारपछि चीनले संसारका अन्य ठूला अर्थव्यवस्थाहरुलाई आफू पनि सोही बाटोमा हिँडेको सम्झायो । 

चीनसँग अहिले संसारकै बढी विदेशी मुद्रा भण्डार (३.१२ खर्ब डलर) छ । यसको जिडिपी ११ खर्ब डलरका हिसाबले संसारकै दोस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक बनेको छ । चीन संसारकै बढी प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने देशमध्ये तेस्रो नम्बरमा छ ।

सन् १९७८ मा देङले आर्थिक सुधार गर्दा संसारको अर्थव्यवस्थामा चीनको अंश जम्माजम्मी १.८ प्रतिशत छ । सन् २०१७ सम्म आइपुग्दा उसको हिस्सेदारी १८.२ प्रतिशत पुगेको छ ।

चीन प्रगतिशील अर्थव्यवस्थामा सीमित रहेन बरु ऊ त १५ औँ–१६ औँ शताब्दीताका उसको अर्थव्यवस्थामा जुन हिस्सा थियो, त्यो तहमा लम्कँदैछ । त्यो बेला चीनको अर्थव्यवस्था विश्वकै ३० प्रतिशत हाराहारीमा थियो ।

चीनलाई यति शक्तिशाली बनाउने काम कसले ग¥यो त ? चिनियाँहरुले त्यसको श्रेय तीन नेतालाई दिन्छन् । माओ जेदोङ, देङ स्योआफिङ र वर्तमान राष्ट्रपति सि जिनफिङ । आर्थिक क्रान्तिको ४० वर्षपछि एक पटक पुनः सि जिनफिङजस्ता सशक्त नेताको अगुवाईमा चीन अघि बढिरहेको छ ।

देशको अर्थव्यवस्थालाई अझै बढी प्रभावशाली बनाउनका लागि सि जिनफिङ चीनलाई म्यानुफ्याक्चरिङको सुपरपावर बनाउन चाहन्छन् । यसका लागि उनले देङकै नीतिलाई अघि बढाइरहेका छन् । देशलाई आर्थिक रुपमा खुला गर्नु र आर्थिक सुधार गर्नु देङको प्रमुख योगदान थियो । चीनको आर्थिक सफलता र त्यहाँको कम्युनिस्ट राजनीतिबीच उति मिल्दो मोडल लागू गरिएको भने होइन । बेलाबेलामा कम्युनिस्ट नीति र त्यहाँको आर्थिक नीतिबीच टक्करको अवस्था आइरहन्छ ।

चीनको अर्थव्यवस्थामा जुन उछाल देखिन्छ, त्यसका लागि सरकारी योजनालाई श्रेय दिने कि त्यहाँका निजी उद्यमीलाई ? कि स्वतन्त्र बजारलाई दिने ? यो बडो गम्भीर प्रश्न छ र यही प्रश्नमा हार्वर्डदेखि संसारका बुद्धिजीवी सबैको आफ्नो माथा गरम गरिरहेका छन् ।

सि जिनफिङको हातमा चीनको पूरै राजनीतिक शक्ति छ । यस्तो अवस्थामा प्रश्न के उठ्छ भने यहाँका नेता अर्थव्यवस्थालाई कुन हदसम्म नियन्त्रणमा राख्न चाहन्छन् ?

देङ र अर्थव्यवस्थाको कायापलट
चीनको विकासका पछाडिको कथा, दोस्रो विश्वयुद्धपछि एउटा देशले गरेको अद्भूत विकासको कथा मात्र होइन । यो त एउटा नियन्त्रित अर्थव्यवस्थाबाट स्वतन्त्र अर्थव्यवस्थामा परिवर्तन भएको गतिलो उदाहरण पनि हो ।

संसारका कयौँ देशले चीनले अपनाएका परिवर्तनलाई आत्मसात गर्ने प्रयास गरे तर यसमा चीनले जसरी क्रमिक रुपमा सफलता पायो, त्यो अन्यको मामिलामा हात परेन । त्यसैले चीन एउटा ‘पोस्टर ब्वाई’ बन्न पुग्यो । चीनले आफ्नो विकासको मोडललाई संसारलाई देखाउनलायक चिज बनाएको छ ।

चीनले घरेलु अर्थव्यवस्थामा क्रमिक सुधार गरेको थियो । उसले बजारलाई जेसुकै गर भनेर छाडा छाडेको थिएन । चीनले आफ्नो अर्थव्यवस्थामा सुधार ल्याउनका लागि कहाँ विदेशी लगानी चाहिन्छ र कहाँ चाहिँदैन भनी सुनिश्चित गरेको थियो ।

यसका लागि उसले विशेष आर्थिक क्षेत्र निर्माण ग¥यो । विशेष आर्थिक क्षेत्रका लागि चीनले दक्षिणी सामुद्रिक संरचना भएको तटीय प्रान्तलाई चुन्यो ।

देङले कम्युनिस्ट समाजवादी राजनीतिक वातावरणमा ठोस परिवर्तन गर्न आधार बनाए । यसका लागि उनले सुरुमा सोभियत आर्थिक मोडलको काँचुली निकालेर फ्याँके । त्यसपछि अर्थव्यवस्थामा आधुनिकीकरणको प्रक्रियालाई चीनको आवश्यकता र तानाबानाका हिसाबले मात्र समाजवाद सुरु गरे ।
चिनियाँ लेखक युकोन हुआङले आफ्नो पुस्तक ‘क्र्याकिङ द चाइना कन्ड्रमः ह्वाई कन्भेन्सनल इकोनमिज विज्डम इज रङ’मा लेख्छन्, ‘देङ महान् सुधारक मात्र होइन, उनी अधैर्य पनि थिए ।’

देङले जुन सामाजिक आर्थिक सुधार गरेका थिए, त्यसको उदाहरण मानवीय इतिहासमा कहीँकतै पाइँदैन । जुन छलाङ मार्ने आधारशीला उनले राखे, त्यो उदाहरण इतिहास पढेर पाइँदैन । चीनले सन् १९७८ देखि २०१६ सम्म आफ्नो जिडिपी ३,२३० प्रतिशत बढाएको थियो । यस्तो उदाहरण अन्तकतै देख्न पाइँदैन । यस अवधिमा चीनमा ७० करोड मानिस गरिबीको रेखाभन्दा माथि आए भने साढे ३८ करोड मानिसहरु मध्यमवर्गीय परिवारमा परिणत भए ।

यस अवधिमा चीनको विदेशी व्यापार १७,५०० प्रतिशत बढ्यो भने २०१५ सम्म चीन विदेशी व्यापारमा संसारकै अगुवा बन्यो । सन् १९७८ मा चीनले पूरै वर्षभरि जति व्यापार गरेको थियो, त्यति व्यापार त चीनले हिजोआज दुई दिनमा गर्न थालेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी)को सामूहिक नेतृत्वको आडमा देङले चीनमा सामाजिक–आर्थिक परिवर्तनलाई तीव्र गतिमा अघि बढाएका थिए । सन् १९६० र ७० को दसकमा चीनले केही यस्ता झट्का व्यहोरेको थियो, जसका कारण देङले माओको एकल शासनशैली खतरनाक छ भन्ने बुझेका थिए र यस किसिमको शासनशैलीलाई लिएर सतर्क थिए ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर देङका केही निजी विश्वास र सिद्धान्त थिए । उनी आफूलाई ‘लो प्रोफाइल’मा राख्न चाहन्थे र राख्थे पनि । देङको एक्लो उद्देश्य भन्नु नै चिनियाँ अर्थव्यवस्थामा तीव्र परिवर्तन ल्याउनु नै थियो ।

हार्वर्ड विश्वविद्यालयका सोसल साइन्सका प्राध्यक्ष एज्रा भोजेलले देङको जीवनी लेखेका छन् । उनको धारणामा देङ यस्ता महान् नेता हुन्, जसले देशको अस्थिरतालाई स्थिरतामा परिवर्तन गरे । त्यो क्षमता अन्यमा देखिएको छैन ।

चीनको आर्थिक कायापलटले चिनियाँ नागरिकबीच आर्थिक सम्पन्नता त आयो नै चिनियाँ कम्युनिस्ट पार्टीको सत्तामाथिको पकड अझ सशक्त बन्यो । देङको आर्थिक उदारीकरणलाई चीनको राजनीतिक उदारीकरण पनि भनिन्छ ।

सि र नयाँ चीन
देङले प्रायः ‘दुई बिरालोको सिद्धान्त’ बताउने गर्थे । उनको भनाइ हुन्थ्यो, ‘बिरालोको काम भनेको मुसा पक्डनु हो, चाहे त्यो बिरालो कालो होस् या सेतो !’

यस्तै प्रकारले सि जिनफिङले पनि अबको नयाँ चीनले ‘औद्योगिक लिडरसिप’ लिनुपर्ने प्रस्ताव राखे । यसका लागि उनले ‘दुई पक्षीको सिद्धान्त’ प्रतिपादन गरेका छन् । सन् २०१४ मा भएको १२ औँ राष्ट्रिय कंग्रेसलाई सम्बोधन गर्दै सिले भनेका थिए, ‘हामीले अब पिँजडा खोल्नुपर्ने भएको छ । त्यस पिँजडामा बूढा पक्षी (अन्तिम श्वास लिइरहेका औद्योगिक संस्थानहरु)लाई बन्दी बनाउनुपर्ने भएको छ ।’

अन्तिम श्वास लिन लागेका बूढा पक्षीलाई पिँजडामा कैद गर्न सकिएको खण्डमा चीनले निर्वाण प्राप्त गर्नेछ । यस निर्वाणको प्रक्रियामा सि जिनफिङको जोड भनेको मौलिक प्रविधि र पर्यावरणको रक्षा गर्नु र विकासलाई निरन्तरता दिनु हो ।

चीनमा अहिले के प्रश्न उठिरहेको छ भने निर्वाणसम्म पु¥याउन सि सक्षम हुन्छन् कि हुँदैनन् ? हुँदैनन् भने निर्वाणसम्म पु¥याउने अर्को नायक को बन्ला त ? गएको वर्ष मार्चमा राष्ट्रिय जनकंग्रेसले राष्ट्रपतिको कार्यकाल सीमा नै रद्द गरेको थियो । यससँगै चीनको कम्युनिस्ट पार्टीमा उनको नियन्त्रण बढेको छ र उनी चीनका सर्वशक्तिमान नेता बन्न पुगेका छन् । साथै उनले आफ्ना विरोधीलाई जरैबाट उखेलेर फ्याँकिदिएका छन् । उनका विरोधी अब लामो समयसम्म परिदृश्यमा देखिने छैनन् ।

सिले सरकारी उद्योगहरुमा आफ्नो पञ्जा करप्प पारेर कसेका छन् । उदाहरणका रुपमा कम्युनिस्ट पार्टीको नियन्त्रणबाट सरकारी कम्पनीलाई हटाएका छन् र पूर्ण रुपमा व्यवस्थापनको हातमा जिम्मेवारी सुम्पिएका छन् । उनले एनजिओका नङ्ग्रा काटिदिएका छन् भने कयौँ मानवाधिकार कार्यकर्तालाई जेलमा ठुँसेका छन् ।

केहीको धारणामा सि आफ्ना पिताजस्तै उदार होलान् भन्ने अड्कल काट्थे । पिता चोङसुन १९७८ ताका ग्वाङदोङ प्रान्तका गर्भनर थिए । उनी देङको आर्थिक क्रान्तिलाई कार्यान्वयन गराउनेमध्येका थिए ।
सन् २०१२ को सुरुवातमा सि जिनफिङले आफ्नो पहिलो आधिकारिक भ्रमण ग्वाङदोङमै गरेका थिए । यस भ्रमणबाट स्पष्ट रुपमा उनले के सन्देश दिए भने देङको सुधारमा कुनै बाधा आउने छैन । गएका पाँच वर्षमा उनले त्यही गरेर पनि देखाएका छन् ।

उदारीकरणको सीमा
चीनले उदारीकरणका लागि पूरा नक्सा तयार पारेको थियो । चीनका नेताले केन्द्रीय नियन्त्रणयुक्त नेतृत्वमा जोड दिएका थिए तर स्थानीय सरकार, निजी कम्पनी र विदेशी लगानीकर्ताका बीचमा गज्जबको सामञ्जस्य कायम राखेका थिए । विदेशी लगानीलाई चीनले स्वायत्तता दियो । पहिलेका नेताको तुलनामा सि जिनफिङले पब्लिक–प्राइभेट–प्रार्टनरसीपमा बढी जोड दिएको पाइन्छ ।

सन् २०१४ पछि चीनमा निजी लगानी तीव्र गतिमा बढ्यो । सि जिनफिङले व्यापारको दायरा संसारभरि फैलाए । वन बेल्ट वन रोड परियोजनामार्फत भौतिक निर्माण र ट्रेड नेटवर्कलाई एसिया, युरोप र अफ्रिकासँग जोड्ने महङ्खवाकांक्षा देखाए ।

त्यसो त बेल्ट एन्ड रोड परियोजनामा चीनको मनसाय के हो भन्ने विषयमा प्रश्न उठिरहेको छ । उदाहरणका रुपमा ठूला परियोजनाका लागि चीनले ऋण दिने र त्यो ऋण चुक्ता गर्न नसके त्यसैलाई लिजका रुपमा लिने गरेको देखिएको छ ।

खासगरी श्रीलंकामा बनेको हम्बन्टोटा पोर्टलाई श्रीलंको ऋण तिर्न नसकेपछि आफैँले बनाएको पोर्ट आफैँ ९९ वर्षे लिजमा लिएर चलाइरहेको छ । कतै चीनले अन्य देशको विकासका नाममा आफ्नो विस्तारको पाटो फैलाउँदै त छैन ! अन्य देशको कोणबाट हेर्दा चीनको विस्तारवादी नीति देखिए पनि चीनको कोणबाट हेर्दा उसको यो विस्तार १५ औँ–१६ औँ शताब्दीको पुनर्जागरण मात्र हो ।
 

Leave A Comment