हठी बडी बिल्डरको अमेरिकी सपना

बुधबार, २० भदौ २०७५, ०१ : १७ प्रकाश जंग थापा
हठी बडी बिल्डरको अमेरिकी सपना

आर्नोल्ड स्वेजनेगर दोस्रो विश्वयुद्ध पछिको अस्ट्रियामा हुर्के बढेका हुन् । देशमा अवसाद र आर्थिक संकटका कारण जनजीवन कष्टकर थियो । अहिले हरेक नेपाली देशबाहिर आफ्नो भविष्य सुरक्षित बनाउन चाहन्छन्, उसरी नै उनी पनि त्यो बेलाको निराशापूर्ण अस्ट्रियाबाट बाहिरिन चाहन्थे ।

एक दिन उनको स्कुलमा अमेरिकाबारे डकुमेन्ट्री देखाइयो । अब के चाहियो ? उनको मनमा अमेरिकी सपनाले जन्म लियो । एक दिन संयोगवश उनको हातमा बडी बिल्डिङ म्यागेजिनमा लेखिएको ‘मिस्टर युनिभर्स’माथि लेखिएको लेखले उनको ध्यान खिँच्यो । आर्टिकल रेज पार्कका बारेमा थियो ।

पार्क कसरी मिस्टर ग्रेट ब्रिटेन भए र तीन पटक मिस्टर युनिभर्स जितिसकेपछि पनि हलिउड चलचित्रमा ब्रेक पाए भन्ने सङ्घर्षकथा थियो । यस कथाले आर्नोल्डलाई जीवनको उद्देश्य पहिल्याउने स्पष्ट मार्गचित्र दियो । उनी पनि पार्कजस्तै महानतम् बडी बिल्डर बन्ने र त्यही उपलब्धिको जगमा हलिउडको टिकट सुरक्षित गर्ने लक्ष्यमा लागे ।


आर्नोल्डले यही हलिउड सपना साथीहरुलाई सुनाउँदा उनीहरुले हाँसेर उडाँउँथे र भन्थे, ‘यस्तो लुरे केटोले बडी बिल्डिङ विजेता हुने सपना पो देख्दोरहेछ !’ यस्ता टिप्पणीले उनलाई खासै असर गरेन । बरु उनले आफ्नो रोल मोडल रेज पार्कको टे«निङ रुटिन र डाइट प्लान अनुसरण गर्न थाले ।

आफ्नो टार्गेटअनुसार हरेक दिन एकदेखि तीन घण्टा तालिम गर्न थाले । उनी त्यो बेला जम्मा १५ वर्षका थिए र साथीहरुले भन्थे, ‘कलिलो छौ, यति कडा व्यायाम गर्ने बेला भएको छैन । चोट पटक लाग्न सक्छ ।’ उनका बुबाले पनि छोरोको बडी बिल्डिङमा खासै भविष्य देखेका थिएनन् । अरु कुनै अस्ट्रियन खेलमा करियर बनाउन सल्लाह दिएका थिए । उनले न त साथीका सुझाव सुने न त बुबाकै । उनको लक्ष्य के हो र त्यो कसरी हासिल गर्न सकिन्छ, उनलाई थाहा थियो । उनले दिनको चारदेखि पाँच घण्टाको दरले हप्ताको ६ दिन कठिन तालिम गर्न थाले । 


उनको बडी बिल्डिङप्रतिको अनावश्यक मोह हटाउन मनोवैज्ञानिक चिकित्सकसामू परामर्शका लागि लगियो । चिकित्सकले आर्नोल्डको अवस्था सामान्य रहेको र युवा अवस्थामा यस्तो सोच आउनु स्वाभाविक रहेको र पछि उनी आफ्नो धरातलमा आउने कुरा बाबुआमालाई सम्झाए । यसपछि उनलाई हप्ताको तीन पटक भन्दा बढी जिम गर्न रोक लगाइयो ।

उनले घरमै हप्ताको ६ दिन तालिम गर्ने वातावरण सिर्जना गरे । घरमा जे भेटिन्छ, त्यसलाई तालिमका लागि प्रयोग गरे । उनको यो पागलपन देखेर उनको बुबाले रेगुलर जिम गर्ने छुट दिए ।


तीन वर्षभित्रै आर्नोल्डको जिउडाल ठूलो भइसकेको थियो । उनले देशको संविधानअनुसार सैनिक सेवामा एक वर्ष पूरा गर्नुपथ्र्यो । त्यही बेला जुनियर मिस्टर युरोप प्रतियोगिता आयोजना गरिने भयो । उनी यसलाई आफ्नो क्षमता  पुष्टि गर्ने सुनौलो अवसर भएको र कुनै पनि हालतमा भाग लिने अड्डी कसे ।

उनी सैन्य सेवामा थिए र हाई कमान्डबाट अनुमति पाएनन् । आर्मी क्वार्टरबाट भागेर प्रतियोगितामा भाग लिए । जुनियर मिस्टर युरोप टाइटल जितेर फर्के पनि हाई कमान्ड भने खुसी थिएनन् । अनुशासन तोडेको हुनाले उनलाई १५ दिन थुनामा राखियो । सजायको भागिदार भए पनि उनले साथीभाइ लगायत सिनियरबाट सम्मान र प्रोत्साहन पाए । केही सिनियर अफिसरहरु नयाँ भर्ती हुने सिपाहीलाई आर्नोल्डजस्तै आफ्नो कामप्रति केन्द्रित हुन आग्रह गर्थे । जुनियर मिस्टर युरोप भएपछि उनी १९६६ को मिस्टर युरोप बन्न सफल भए । 


यसपछि भने उनले पछाडि फर्केर हेनु परेन । थप मिहिनेत गर्दै गए । फलस्वरुप उनी चार पटक मिस्टर युनिभर्स र सात पटक मिस्टर ओलम्पिया हुन सफल भए । विश्वको महानतम् बडी बिल्डरको रुपमा स्थापित भएपछि उनले संन्यास लिने निर्णय गरे । संन्यास घोषणा गर्ने प्रेस कन्फ्रेन्समा उनलाई सोधियो, ‘तपाईंको करियर त सकियो ! अझै जवान हुनुहुन्छ । भावि योजना के छ ?’


उनको जवाफ थियो, ‘अब म हलिउडको सबैभन्दा बढी पारिश्रमिक लिने सफल कलाकार बन्छु ।’ उपस्थित पत्रकारहरुले हाँसो रोक्न सकेनन् । उनीहरुले फेरि प्रश्न गरे, ‘तपाईंलाई अंग्रेजी बोल्न आउँदैन । एक्टिङको कुनै ज्ञान छैन । कसरी महँगो कलाकार बन्न सम्भव छ ?’

उनले सामान्य रुपमा भने, ‘जसरी म महान् बडी बिल्डर बन्न सफल भएँ, त्यसैगरी सफल कलाकार बन्ने छु ।’ 

यसपछि उनी हलिउड चलचित्रमा बे्रक पाउन धेरै एजेन्ट र म्यानेजरसँग भेट्न थाले । सबैको प्रतिक्रिया हुन्थ्यो, ‘तिमी कलाकार बन्नुजस्तो भद्दा मजाक के हुनसक्छ ? तिम्रो ज्यान भीमकाय छ, हेर्दा राक्षसजस्तै देखिन्छौ । तिम्रो लवज पनि ठीक छैन । यो हुनै  सक्दैन । भुलिदेउ फिल्मको हिरो बन्ने सपना ।’


यस्तो नकारात्मक टिप्पणीले उनलाई निरुत्साहित गरेन । झन् थप मिहिनेत गर्ने ऊर्जा दियो । उनले अभिनय र अंग्रेजी उच्चारणको कक्षा लिए । पछि त उनले स–साना काम पाउन थाले । टिभी गेम सो र च्याट सो पाउन थाले । यसले उनलाई न्युजमा रहिरहन र निर्माताको नजरमा पर्न सहयोग ग¥यो । कुनै चलचित्रका लागि मस्कुलर कलाकार चाहिए आफू उपयुक्त व्यक्ति भएको देखाउन चाहन्थे । उनी पाँच वर्ष संघर्षरत् रहे । 


सन् १९८० मा उनले ठूलै ब्रेक पाए । हलिउड निर्देशक जोन माइलसले मेगा प्रोजेक्ट ‘कोनान, द बार्बरियन’ बनाउने तयारीमा थिए । त्यस चलचित्रको लागि उनलाई मस्कुलर व्यक्ति आवश्यक थियो । जोनले आर्नोल्डलाई अडिसनका लागि बोलाए । उनी चुनौतीका लागि पूर्ण रुपमा तयार थिए ।

उनलाई रोल अफर गरियो । डेढ वर्षपछि चलचित्र प्रदर्शन हुँदा फिल्म हिट मात्र भएन, उनी स्टार नै बने । सन् १९८४ मा ‘द टर्मिनेटर’ प्रदर्शनपछि त उनी अन्तर्राष्ट्रिय मेगा स्टार बन्न सफल भए । त्यसपछि त फिल्मी करियरमा उनले कहिल्यै ब्याक गियर लगाउनु परेन । एकपछि अर्को सफल चलचित्र दिँदै गए । ९० को दशकमा उनी सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारका रुपमा दरिए । 

फिल्ममा महँगा कलाकारको कीर्तिमान बनाएपछि उनी राजनीतिमा छिरे । उनमा राजनीतिक अनुभव बिल्कुलै थिएन । उनले कसरी अमेरिकाको क्यालिफोर्निया राज्यको गभर्नर भएर चलाउलान् भनेर सबैले चासोपूर्वक हेरे । यस पटक पनि सबै आलोचकलाई गलत साबित गर्दै उनी दुई पटकसम्म गभर्नर चुनिए । 

उनीबाट हामीले के शिक्षा लिने ?

एक, आफ्नो मनको आवाज सुन्नुपर्छ र आफ्नो भविष्य कस्तो बनाउने भन्ने भिजन प्रस्ट बनाउनु पर्छ ।

दुई, कहिल्यै सानो सोच राख्नु हुँदैन ।

तीन, आलोचकले तपाईंलाई जुनसुकै बेला तपाईंको क्षमतालाई होच्याइरहन्छन् । त्यसैले तिनको भनाइलाइ महङ्खव दिनुहुँदैन र लक्ष्य प्राप्तिका लागि निरन्तर डटिरहनुपर्छ । 
 

Leave A Comment