सेमेस्टरमा दशमलवको खेल

बुधबार, २० भदौ २०७५, ०१ : २० प्रजु पन्त
सेमेस्टरमा दशमलवको खेल

मानविकी संकायमा सेमेस्टर प्रणाली लागू भएपछि २ दशमलव ७ ल्याएका केही विद्यार्थीले ट्रान्सक्रिप्ट मात्रै लिएनन् त्रिभुवन विश्वविद्यालयबाट दीक्षितसमेत भए । तर अहिले उनीहरु विश्वविद्यालयको लिस्टमा अयोग्यको सूचीमा छन् । अब २ दशमलव ७ प्राप्ताङ्क भएको शैक्षिक योग्यता काम लाग्ने भएन । सेमेस्टर प्रणालीमा फेल–पास भन्ने नहुने हुँदा उनीहरु अनुत्तीर्ण त मानिन्नन् तर डिग्री पासको सूचीमा भने नपर्ने भए ।


तर यो नयाँ भने हैन । २०७१ बाट सेमेस्टर प्रणाली लागू हुँदा नै कार्यविधिमा २ दशमलव ७ जिपिए ल्याउने विषयगत व्यक्तिगत उत्तीर्ण मानिने तर तर डिग्रीको मान्यता पाउन एग्रिगेटमा जिपिए ३ ल्याउनुपर्ने व्यवस्था थियो । 


तर यो व्यवस्थाबारे समयमै पत्राचार हुन नसक्दा २ दशमलव ७ जिपिए आउनेले पनि आफू डिग्रीका लागि योग्य सम्झिए । तर कार्यविधिले विषयगत व्यक्तिगत मात्र उत्तीर्ण मानिने खुलेपछि अहिले विद्यार्थीहरु तनावमा छन् ।


समस्या कहाँबाट आयो त ? शुक्रवारको खोजीमा डिन कार्यालयले परीक्षा नियन्त्रक कार्यालयमा सेमेस्टर प्रणालीको कार्यविधिको चिठी समयमा नपठाउँदा सेमेस्टरको मार्कसिटमा समस्या देखिएको खुल्यो । 


मार्कसिटमा समस्या आएपछि छानबिन गर्न बनेको समितिको संयोजक प्राडा. ऋदिसकुमार पोखरेलले भने, ‘समस्या आउनुमा डिन कार्यालयले समयमै चिठी नदिनु बुझिएको छ । यस्तो गम्भीर कुरामा किन गम्भीरता आएन भन्न गाह्रो छ । के रहेछ हामी अनुसन्धानकै सिलसिलामा छाँै ।’ डिन कार्यालयमा यसबारे जिज्ञासा राख्न सम्पर्क गर्न खोज्दा फोन उठेन । 

 प्राध्यापक पि खरेलका अनुसार हचुवाको भरमा लागू भएको सेमेस्टर प्रणालीले देखिएको समस्या हो । उनले भने, ‘पहिले एनुअल पढाइएका विषयलाई ६÷६ महिना गरेर पढाउने निर्णय भयो, कस्तो बन्ने के बन्ने भन्नेबारे कुनै पनि कार्यविधि बनेको थिएन । हचुवाको भरमा सेमेस्टर प्रणाली लागू गरेर समस्या निम्तिएको हो ।

‘उनका अनुसार पास भएका भनिएका तर अहिले आएर फेल भनिएका विद्यार्थीलाई त्रिविले केही न केही प्रावधान राख्नेछ । त्रिविको नालायकीपनको पराकाष्ठाकै कारण शैक्षिक संस्था नै बदनाम भइरहेको छ ।’

के भन्छन् उपकुलपति ?
त्रिवि उपकुलपति तीर्थ खनियाले ‘२.७ ल्याउने विषयगत इण्डिभिज्युअल पास हुने तर डिग्री लिनका लागि ३ ल्याउनैपर्ने प्रावधान पहिलेबाटै रहेको बताए । मानविकी पत्रकारिताको विषयमा समस्या देखिएपछि के गर्ने भन्ने निर्णयका लागि समिति बनेको उनले जानकारी दिए । त्रिविले किन समयमै सर्कुलर नगरेको भन्ने प्रश्नमा उपकुलपति खनियाँले पहिलो वर्ष केही कमजोरी भएको स्विकारे । 


‘पहिलो वर्ष लागू भएको हो । केही कमी कमजोरी भए होलान् तर यसमा एकले अर्कालाई आरोप लगाउने भन्दा समितिले जे जसरी निर्णय गर्छ उहीअनुसार अगाडि बढ्ने काम हुन्छ ।’ 

 अब के हुन्छ ?
 प्राडा. ऋदिसकुमार पोखरेलको नेतृत्वमा यसबारे समस्या सुल्झाउन समिति बनेको छ । यस समितिले के रहेछ, कसो गर्ने भन्नेबारे अध्ययन अनुसन्धान गर्ने पोखरेलले बताए । 


केही हप्तामै यसबारे टुंगो लाग्ने पोखरेलले बताए । उनले भने, ‘ यो विशेष गरी समस्या देखिएका मानविकीको पत्रकारिताको विषयमा हो । के गर्ने भन्नेबारे अन्तर्राष्ट्रिय प्राक्टिसहरुको अध्ययन पनि गरिन्छ भर्खरै समिति बनेको कारण यसै गर्ने भन्ने टुंगो लागिसकेको छैन । ‘यसबारे अन्तर्राष्ट्रिय प्राक्टिस हेर्दा टर्म पेपर दिएर जिपिए ३ ल्याउने व्यवस्था रहेछ ।

यस विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । दीक्षित भइसकेका विद्यार्थीको हकमा के गर्ने अनि ट्रान्सक्रिप्ट नलगेका विद्यार्थीको हकमा के गर्ने भन्ने कुरा समितिले निर्णय गर्ने पोखरेलले बताए । भदौ १२ गते छानबिन समितिमा बसेको बैठकले इन्टरनेसनल प्राक्टिस के छ त्योअनुसार कार्य गर्ने र विभागीय डिनहरु बसेर कसरी समस्या समाधान गर्ने दीक्षित भइसकेको विद्यार्थीको हकमा के गर्ने निर्णय हुने पोखरेलले बताए ।


 

Leave A Comment