बदलिँदो तिज : श्रीमतीको नाममा व्रत

बुधबार, २७ भदौ २०७५, ०४ : ३६ पुष्पा थपलिया
बदलिँदो तिज : श्रीमतीको नाममा व्रत


श्रीमान्को आयु बढाउन तिजमा कति महिला मात्रै व्रत बस्ने ? श्रीमतीको आयु बढाउन श्रीमान् पनि व्रत बसे हुन्न र ?

तिजमा पुरुषले पनि व्रत बसे हुन्न र ? भनी प्रश्न गर्न थालिएको र बहस सुरु भएको एकाध वर्ष भयो । कतिले सह–अस्तित्वको सवाल उठाउँदै त कतिले सहप्रेमलाई जोडेर महिला मात्रै किन व्रत बस्ने भन्ने सवाल उठाइरहेका छन् । तिजमा पुरुष व्रत बस्नै हुन्न त ?

संस्कृतिविद्का अनुसार तिजमा पुरुष व्रत बस्नुपर्ने भनी कुनै शास्त्रमा उल्लेख छैन । शिवलाई श्रीमान्को रुपमा पाउन पार्वतीले व्रत बस्दा मनोकामना पूरा भएको धार्मिक मान्यताका आधारमा महिलाले जीवनसाथीको सुस्वास्थ्यको कामना गर्दै व्रत बस्ने गरेको देखिन्छ ।

‘जताततै महिलाको मात्रै कुरा आयो, महिलाले पुरुषलाई पाउन व्रत बसेका कथा सर्वव्यापी भएकाले महिलाले मात्रै व्रत बस्नुपर्छ भन्ने मान्यता हामी आफैँले बसाल्यौं,’ संस्कृतिविद् विणा पौडेलले भनिन्, ‘शास्त्रमा पुरुषले तिजको व्रत बस्नु हुँदैन भनेर लेखेको छैन ।’

बाल्मिकी विद्यापिठकी सह प्राध्यापक प्रियंवदा काफ्लेको मत पनि उस्तै छ । प्रराणाचार्य समेत रहेकी उनी पनि तीजमा महिला र पुरुष दुबै ब्रत सक्ने बताउँछिन् । शास्त्रमा महिलाले मात्र ब्रत बस्ने भनेर नलेखेको उनले बताइन् ।

शास्त्रले रोकतोक गरेको छैन भने कहीँकतै श्रीमतीको सुस्वास्थ्यको कामना गर्दै तिजमा व्रत बस्ने श्रीमान् पनि छन् कि ?

यही जिज्ञासा मेटाउने प्रयासका क्रममा शुक्रवारले केही श्रीमान् भेट्यो जो श्रीमतीको सुस्वास्थ्यको कामना गर्दै तिजमा व्रत बस्छन् । तर समाजसँग भने हल्का लजाउने रहेछन् उनीहरु अझै । त्यसैले तस्बिर सार्वजनिक गर्न मानेन् तीनै जोडिले । तर आफ्नो तीजको ब्रत यात्रा भने मन खोलेर बाँडे । 

शिवले जुराएको जोडी 
दोलखाका विक्रम सिग्देल काठमाडौंमा बस्छन् । उनी सानैदेखि धार्मिक वातावरणमा हुर्किए । प्रारम्भिक शिक्षाबाहेक नेपालको स्कुलमा पढ्न पाएनन्  । बाबुले सानो उमेरमा भारतको बनारसमा संस्कृत पढ्न पठाए । पढाइ सकेर नेपाल फर्किएका उनी अहिले पुरेत्याईँ गर्छन् ।  

उमेरले २८ वर्ष पुगेका सिग्देलको बिहे भएको तीन वर्ष भयो । यी तीन वर्ष उनी पनि श्रीमतीसँगै तिजमा ब्रत बसे ।

‘श्रीमतीको स्वास्थ्य र शिव र पार्वतीलाई धन्यवाद दिन हरेक तिजमा पानी पनि नपिएर व्रत बस्ने गरेको छु,’ उनले भने । 
उनले व्रत सुरु गर्नुका पछाडि रोचक प्रेम कहानी पनि जोडिएको रहेछ ।

उनी अविवाहित नै थिए । काठमाडौंको असनको भिडमा उनले एउटी युवती देखे । पहिलो हेराइमै प्रेममा परे उनी तर ती युवतीको उनलाई न नाम थाहा थियो न ठेगाना नै ।

‘अब बाटोमा त कति बटुवा भेट हुन्छन् तर खै किन हो, मलाई उनी नै मनप¥यो,’ फिल्मी शैलीको प्रेम कहानी खोल्दै विक्रमले भने, ‘मन त प¥यो तर नचिनेको मानिसलाई कसरी भेट्नु ?’ 

भेट भइहाल्छ कि भनेर उनले धेरै पटक असन चहारे तर भेट भएन । तिजको दिन उनी पशुपति मन्दिर क्षेत्रमा भक्तजनलाई टीका र डोरो लगाइदिन बसेका थिए । कतै उनी पनि आएकी छन् कि भनेर भिडमा आँखा गइरहन्थ्यो । 

‘अचानक असनमा देखिएकी युवती साथीहरुसँगै मै बसेको ठाउँमा टीका लगाउन पो आइन् !’ उत्साहित हुँदै उनले शुक्रवारसँग भने, ‘एक छिन त सपना देखेझैँ भयो । उनको हात समातेर डोरो बाँधिदिएँ र भगवानसँग उनलाई मागेँ । माग पूरा भयो ।’

विवाह नभएसम्म उनले ती युवतीलाई पाऊँ भन्दै तिजमा व्रत बसेका रहेछन् । आखिर दुवैको जोडी जु¥यो । उनै युवती कविता अहिले उनकी पत्नी भएकी छन् ।

‘भगवान्ले मेरो कामना पूरा गरिदिए, मेरो व्रत सफल भयो,’ उनले भने, ‘त्यसैले प्रत्येक तिजमा शिवपार्वतीलाई धन्यवाद दिन र कविताको सुस्वास्थ्यका लागि व्रत बस्ने गरेको छु ।’

लुकीलुकी व्रत
काठमाडौं ट्यांग्लाफाँट निवासी सन्तोष, प्रत्येक तिजमा श्रीमतीको सु–स्वास्थ्यको कामना गर्दै व्रत बस्छन् तर उनी व्रत बसेको श्रीमतीबाहेक परिवारका अन्य सदस्यले थाहा पाउँदैनन् । 

‘म पहिले निकै बिग्रिएको थिएँ, मेरी श्रीमतीले नै मलाई ठीक बाटोमा ल्याइन्,’ उनले भने, ‘उनी बिरामी छिन्, व्रत बस्न सक्दिनन् । त्यसैले उनको सुस्वास्थ्यको कामना गर्दै म नै व्रत बस्ने गर्छु ।’

उमेरले पचास पुग्न लागेका सन्तोषले तिजको व्रत बस्न थालेको चार वर्ष जति भयो ।  उनको श्रीमतीलाई छारे रोगले गाँजेपछि उनले व्रत बस्न थालेका हुन् । घरमा दाजुका परिवार पनि छन् । भाउजू दाजुका लागि व्रत बस्छिन्, उनी भने श्रीमतीका लागि व्रत बस्छन् तर गुपचुप ।
लुकीलुकी किन व्रत बस्नुप¥यो त ?

‘दाइ अलि कडा स्वभावका छन्,’ सन्तोषले खुलाउँदै भने, ‘यस्तो गरेको दाइले मन पराउँदैनन् ।’ तिजमा जब सबै जना सुत्न जाँदा सन्तोष भने एकान्तको फाइदा उठाउँछन् । उनी एकान्तमा शिव–पार्वतीको पूजा गर्छन्, श्रीमतीलाई टीका लगाइदिन्छन् । पत्नीको हातले दिएको फलफूल खाएर व्रत तोड्छन् ।
उनकी पत्नी भने आफूले लिनुपर्ने व्रत पतिले लिएकामा लाज मान्दै आउँदो साल यस्तो नगर्न चेताउँछिन् । हिजोआज भने सन्तोष र उनकी पत्नी दुवै बानी परिसके । न सन्तोषलाई व्रत नबसिरहन चित्त बुझ्छ न पत्नीले फलफूल नखुवाई व्रत छुटाएको मन पर्छ ।

व्रतको रहर, समाजको डर

कोटेश्वर बस्ने कमल खनाल तिजमा व्रत बस्छन्, बेलुकी चोखो खान्छन् तर पूजा भने गर्दैनन् । समाजको पुरुषवादी सोचका कारण पूजा नगरेको उनको तर्क छ । साथीभाइसँग आज मेरो व्रत हो नि भनेर सेयर गर्दा खिसी गर्दै हाँस्ने गरेको तीतो अनुभव छ उनको । खिसीटिउरी सुनेर मन अमिलो बनाउनु भन्दा कसैलाई थाहै नदिई व्रत बस्नु राम्रो भनेर पूजा नगर्ने गरेको उनले बताए । तिजमा व्रत बसेको सुनेर युवतीहरु पनि हाँस्छन् रे !

‘एकपटक मिल्ने केटी साथीलाई म पनि तिजको व्रत बस्छु नि, भनेको थिएँ, उनीहरुले खिसी गर्दै हाँसे,’ कमलले भने, ‘त्यसो भए त तँलाई मेकअप गर्न पनि मनपर्छ होला है ! अनि तैँले केटीसित किन बिहे गरेको त पो भने ।’ 

‘महिलाका लागि वा महिलासँग झुक्दा कमजोर भइन्छ भन्ने सोच समाजमा छ,’ उनले भने, ‘त्यसैले अनावश्यक बहस गर्नु भन्दा कसैलाई थाहै नदिई ब्रत बस्यो, आनन्दै ।’
यस्तो हुँदाहुँदै व्रत चैँ किन बस्नुप¥यो त भन्ने जिज्ञासामा उनले भने, ‘मेरो जीवनभर साथ दिन्छु भनेर आएकी श्रीमतीको स्वास्थ्यको कामना गर्न मन लाग्यो ।’ 

......................

तस्विर : कृष्षा श्रेष्ठ

कभर माेडल : सनम कठायत र अञ्जली अधिकारी

लाेकेशन ः नागरिक नेटवर्क स्टुडियाे
 

Leave A Comment