-प्राडा. चैतन्य मिश्र
कसैकसैले संस्कृतिलाई प्रधान भन्छन् । संस्कृतिको वरिपरि अन्य कुरालाई गोलबन्द गर्न खोज्छन् । समाज व्यापक हो । यसभित्र संस्कृतिसँगै अर्थतन्त्र, राजनीति विचारधारा पनि अटाउँछ भन्ने एउटा दृष्टिकोण छ । म यही दृष्टिकोण बोक्छु ।
प्रायः व्यक्तिले सामाजिक संरचना भन्ने सोचाइ आउनेबित्तिकै एक प्रकारले परिकल्पना गरेको हुन्छ । जस्तो समाज भनेको ठूलो ढक्क परेको पहाड जस्तो, हिमश्रृंखला जस्तो स्थिर छ, ठूलो छ अनि चिरा परेको छैन भन्ने बुझेका हुन्छन् । तर यो होइन ।
कुनै पनि विषय यही र यस्तै हुनुपर्छ भन्ने छैन र हुन्न पनि । संस्कृतिलाई व्यक्तिले स्थिर रुपमा बुझेका हुन्छन् । तर यो भ्रम मात्र हो । समाज, संस्कृति सबै चिरा परेका हुन्छन्, विभेदसहितका हुन्छन् र परिवर्तनशील हुन्छन् । मानिसले परिकल्पना गरेका सामाजिक संरचनाका पहाड क्षय हुन्छ । क्षय नहुने चिजै छैन ।
त्यसकारण समाज र संस्कृतिमा पनि परिवर्तन भएको हुन्छ । केही थपिएका हुन्छन्, केही क्षय भएका हुन्छन् । त्यसैले समाजभित्रै पर्ने संस्कृति पनि क्षय हुँदै जाने र थपिँदै जाने हुन्छन् ।
यसमा सबैको एक मत भने छैन । संस्कृतिमा परिवर्तन आउँछ अनि समाज परिवर्तन हुन्छ भन्ने एकथरिको मत पनि छ । तर म सामाजिक सम्बन्धमा आएको परिवर्तनले सांस्कृतिक परिवर्तन हुन्छ भन्ने मान्छु ।
अहिले लगाउने कुरामा आमूल परिवर्तन आएको छ । पहिरन परिवर्तन हुनुलाई सामाजिक संरचनामा आएको परिवर्तन मान्छु म । किनकि पहिरन पनि संस्कृतिको अंग हो ।
अहिलेको समाज हेर्दा सुस्त गतिमा भए पनि परिवर्तन हुन खोजेको देखिन्छ । सामाजिक कुरीतिले बाँधिएका महिला, दलित, जनजाति जति पनि थिए उनीहरु बिस्तारै स्वतन्त्र हुँदैछन् र आत्मनिर्भर हुँदैछन् । अरुले के भन्लान् भनेर टिकेको नियम तोडिँदै छ । उनीहरु के लगाउने, के खाने कसरी आफ्नो आर्थिक गतिविधि चलाउने भन्ने कुरा आफँैमा भर पर्न थालेका छन् ।
बसाइसराइले पनि संस्कार मान्ने तरिकामा फरक पार्छ । कतिपय पर्वहरु बसाइ सरेर अन्यत्र पुग्दा नियममा बाँधिदैन । फरक हुन सक्छ ।
संस्कृति र विभेद
एक समय थियो संसारभरि नै व्यक्ति जुन कुल, जुन जातमा जन्मियो स्थायी त्यही हुन्छ भन्ने बुझिन्थ्यो । त्यहाँबाट उम्किन खोज्दैनथेँ । प्रयत्न पनि गर्दैनथेँ । किनकि हर चिज परिवर्तनशील छ भन्ने बुझाइ अलि पछि आएको हो । त्यतिबेला परम्परा हावी थियो । परम्परा भन्नेबित्तिकै जातको कुरा आइहाल्छ । एकाथरिले संस्कृति मास्न लाग्यो भन्छन् नि त्यो जात मास्न लाग्यो भन्न खोजिएको हो ।
एउटा कालसम्म परम्परा, जात, धर्ममा जन्मियो जिन्दगीभर उम्किन सक्ने सम्भावना थिएन तर अहिले केही रूपमा भए पनि परिवर्तन भएको छ । तर पूरै परिवर्तन भयो भन्न खोजिएको भने होइन ।
२ सय वर्षअगाडिजस्तो महिलाको परिकल्पना गरिन्थ्यो । २ सय वर्ष पछाडि त्यो परिकल्पना ढल्मलाएको छ । महिला भएपछि यस्तै हुनुपर्छ भन्ने मान्यता कम हुँदै गएको छ ।
पहिले समाजको बिर्को ट्याम्म लगाएको थियो । अहिले त्यो बिर्को खुकुलो हुँदै गइरहेको छ । जुन परम्परा स्थापित थियो त्यसमा प्वाल पर्दै गएको छ । भवाङ प¥यो त नभनांै तर धेरैवटा प्वाल भने परेको छ । जो परम्पराको जञ्जालमा थिए, उनीहरु बिस्तारै त्यो जञ्जालबाट मुक्त हुँदैछन् । जसले सकेका छैनन्, उनीहरु उम्कन खोज्दैछन् ।
अहिले जातको परिधि तथा लैङ्गिक परिधि पनि नाग्न सकिन्छ भन्ने मूल्य मान्यता स्थापित हुँदै छ । विश्व परिवेशलाई हेर्ने हो भने यसमा छिटो–छिटो परिवर्तन भइरहेको छ तर त्यसको तुलनामा हाम्रो समाजमा अलि ढिलो परिवर्तन भएको छ । गति ढिलो भए पनि परिवर्तन भने भइरहेको छ । यसरी आएको परिवर्तनले जात र लैङ्गिक संस्कृतिलाई परिवर्तन गर्दैछ ।
पर्व मान्ने तरिका परिवर्तन हुन्छ
चाडपर्व मान्ने तरिका फरक हुँदै जान्छन् । मैले सानोमा देखेको तीज मान्ने तरिका र अहिले देखेको तीज मान्ने तरिका व्यापक फरक छ । पहिले पहिलेका महिलाले महिला भएर जन्मेपछि यो गर्नै पर्छ भन्ने अर्थमा बुझ्थे । ३०÷३५ सालबाट केही राजनीतिक महिलाले यसको औचित्यमाथि प्रश्न उठाएका हुन् ।
श्रीमान्, श्रीमतीको सम्बन्ध, अधिकारको सम्बन्ध राजनीतिक संरचनासँगको सम्बन्धबारेमा सचेत महिलाले अरु समाजसँग दाँजेर आफूलाई हेर्न थालेपछि आफ्नो समाज त्योभन्दा पछि परेको, आफू पीडित भएकोे ज्ञान पस्यो । यसबाट तीजको विरोध सुरु भएको हो जस्तो लाग्छ । तर मनाउने तरिका गीत संगीतमा आएको परिवर्तन सामाजिक संरचनामा आएको परिवर्तन नै कारण हो ।
तीजको विरोध हुनु पनि सामाजिक संरचनामा आएको परिवर्तन हो । महिला हुने बित्तिकै अरुकै मान्यतामा हिँड्नुपर्छ र ? भन्ने प्रश्न सुरु भयो । आफ्नो अस्तित्व खोज्न थालेपछि बनाइएका मान्यताहरु ढलपल हुन्छन् ।
तसर्थ परम्परा जे हो त्यो नै सत्य होइन । परम्परा पनि बनाइएको हो । देव देवताको बोली हो भनेर मान्ने एकथरि छन् अनि शास्त्रहरुमा जे लेखिएको छ त्यहीअनुसार मान्नुपर्छ भन्ने मान्यता बोक्नेहरु पनि छन् । तर म त्यो मान्दिन । ती पनि मान्छेले लेखेका हुन् । सामाजिक संरचनामा आएको परिवर्तनसँगै संस्कृति पनि परिवर्तन हुँदै जान्छन् जुन स्वाभाविक हो ।
(प्रजु पन्तसँगको कुराकानीमा आधारित)
Leave A Comment