अब तीज सबैको

बुधबार, २७ भदौ २०७५, ०४ : ५७ मनोज घर्तीमगर
अब तीज सबैको

हिजो खस, बाहुन र क्षेत्री समुदायको मात्र पर्व मानिने तीन समयअनुसार बदलिँदैछ । जनजाति, मधेसी सबै समुदायले सहज रुपमा स्वीकार गर्दैछन् यो पर्वलाई । रातो सारीमा सजिने अनि तीजे भाकामा छमछम नाच्न सबै समुदायका महिला उत्तिकै हौसिएका देखिन्छन् अहिले । 


यस्तै एक पात्र हुन् युवा नेतृ सरस्वती गुरुङ । गुरुङ गाउँमा हुर्किएकी उनले बाल्यकालमा तीजको कुनै मेसो पाइनन् । गाउँमा छँदा बाहुन, क्षेत्री समुदायका महिलाले चौतारीमा बसेर गीत गाएको घुर्मैलो सम्झना मात्रै छ बाल्यकालको ।


तीज मनाउने त परकै अरु, रहर लागेर रातो गुन्युचोलो लाउँदा बाह्मणी भनेर जिस्काउँथे गुरुङ गाउँमा । 
यो पालि भने उनी साडीमा सजिएरै एउटा तीजे कार्यक्रममा भेटिइन् ।


‘रातो साडी लगाउँदा महिलाले आत्मबल बढेको आभास गर्छन्’ उनले भनिन्, ‘अहिलेसम्म १७ वटा तीजको कार्यक्रममा सहभागी भइसकँे ।’


तीजका कार्यक्रममा दिलमाया गुरुङ पनि धपक्कै बल्ने गरी रातो पहिरनमा आएकी थिइन् । उनी तीजे भाकामा छमछमी नाचिन् पनि । पवित्रा गुरुङको पहिरन पनि तीजमय थियो ।  


यी तीन पात्रले देखाउँदो बदलिँदो तीजको स्वरुप । यो कुनै जात र धर्म विशेषको पर्वभन्दा संस्कृति बन्दै गएको छ । त्यसैले सबै समुदायका महिलाले अहिले तीन स्वीकार गरेको देखिन्छ ।


‘गुरुङ  समुदायमा तीजका बेला दिदीबहिनीलाई दाजुभाइले दर खान बोलाउने चलन थिएन,’ सरस्वती भन्छिन्, ‘आजभोलि हामीलाई दर खान र थरिथरिका कार्यक्रममा जान भ्याइनभ्याई हुन्छ ।’


तीजलाई सबै समुदाय र वर्गको साझा संस्कृतिमा रुपान्तरण गर्न जातीय संगठन पनि सक्रिय छन् ।  गुरुङहरुको साझा संस्था तमु धीं नेपालले केही वर्षदेखि दर खाने कार्यक्रम नै गर्ने गरेको छ । 

तमु धींले सुरु गर्नुअघि आदिवासी जनजाति समुदायका अरु धेरै संघसंस्थाले तीजको दर खुवाउने कार्यक्रम सुरु गरिसकेका थिए । 


नेवार समुदायमा जन्मेकी समाजसेवी प्रमिला तज्याले दश वर्षदेखि तीज धुमधामसँग मनाउँदै आएकी छन् । केही सीमित जातिमा केन्द्रित तीज फराकिलो बन्दै जानु जातीयता र धार्मिक सहिष्णुताले काम गरेको बताउँछिन् उनी । 


‘तीज समावेशी चाड बन्दै गएको छ’ राष्ट्रिय सभा सदस्य बिन्द्रा रानामगर भन्छिन्, ‘अहिलेसम्म म १०÷१२ बढी कार्यक्रममा गइसकँे जहाँ गए पनि सबै जातजातिका महिला भेटिन्छन् । खुसी लाग्छ ।’


जातीय मात्रै होइन लैंगिक समावेशिता तीजमा देखिएको अर्काे नौलोपना हो । कुनै बेला महिलाको स्वर मात्रै हुने तीजे गीतमा अचेल पुरुष आवाज पनि थपिएको छ । लोकभाका होस् या तीजे देशमै पश्चिमाञ्चलले अगुवाइ गर्दै आएको छ । आदिवासी जनजाति मगर÷गुरुङका आवाजमा धेरै तीज भाका घन्किएका छन् ।
‘तीज अब हिन्दू नारीको मात्रै भन्न मिलेन । धर्म निरपेक्ष नेपालमा तीज सबै धर्म र जातिको भइसक्यो,’ अधिवक्ता जुनाकुमारी गुरुङ भन्छिन्, ‘हाम्रा बज्यै आमाहरुले तीज मनाएनन् । हामीले मान्न थाल्यौं अब तीज सबैको भयो ।’

तीजमा हुने तामसी गुण रंग रमाइलो र तामझामका कारण आदिवासी जनजाति महिलाको आकर्षण बढेको संस्कृतिविद् डा. जगमान गुरुङको ठहर छ । रमाइलो भने हुरुक्क हुन र अरुको संस्कृतिलाई पनि सहज स्वीकार्ने स्वभावका कारण जनजातिमा चाँडै तीज भित्रिएको उनको निष्कर्ष छ ।

‘आदिवासी जनजाति समुदायमा नाचगान, खानपिन भनेपछि हुरुक्कै हुने चलन छ । त्यसैले उनीहरु त्यतातिर गएका हुन्,’ उनले भने ।

Leave A Comment