‘रातो साडी लगाएर नाच्दैमा तीजे भाका हुन्न’

बुधबार, २७ भदौ २०७५, ०५ : ०२ शुक्रवार
‘रातो साडी लगाएर नाच्दैमा तीजे भाका हुन्न’

हरिदेवी कोइराला

गीत संगीत र मनोरञ्जन । भक्तिभावसँगै तीज मिठो पर्व पनि हो । तीज भन्नेबित्तिकै माइती सम्झन्छौं । जन्मेको घर आँगन, आमाबुवा, दाजुभाइ, मावली साथीसङ्गी सम्झन्छौं । तीजका बेला घरको सबै काम छाडेरे महिला जसरी पनि माइत जान्थे । 

तीज नभइदेएको भए फूपू र भदाको साइनो अहिलेजस्तो सुमधुर हुने थिएन । यसले पारिवारिक सम्बन्ध पनि जोडेको छ । बाबु आमा, दाजुभाइ सम्बन्ध उत्तिकै जोडेको छ । अघिपछि जेजस्तो भए पनि तीजमा मिठो खाने गरिन्थ्यो । तीजको बेग्लै अपनत्व थियो । 

म बुझ्ने हुँदा पोखराका हालको टेलिकम नजिक, मालेपाटन, रामघाट, बाटुलेचौरलगायतमा ठूल्ठूला चौर थिए । ती चौरमा बसेर दिदी बहिनीले तीजमा गीत गाउँथे । छोरी बेचेका, सासूले दुःख दिएका, पराई घर जाँदा पाएको दुःख, श्रीमान्ले नपढेका लगायत विषयका गीत तीजे भाकामा गाउँथे । त्यतिबेला पुरुषहरुले हेर्थे । मादल बजाउन सहयोग गर्थे । यस्ता कार्यक्रम टोलटोलमा हुन्थे । 
दिदी बहिनी गाउँथे, दाजुभाइले चिया पकाएर दिन्थे । कति रमाइलो हुन्थ्यो ।

तीज समाचारवाहक चाड पनि हो । त्यतिबेला माइतीले तीजे गीतमार्फत छोरीका पीडा, दुःख पाएका, श्रीमान्ले नपढेको, दुःख पाएको सबै कुरा बाहिर आउँथे । अघिपछि भन्न नपाएका कुरा, वेदनामार्फत तीजे गीतमा निर्धक्क भन्ने अवसर थियो । 

अझ त्यो भन्दाठूलो महŒव चेली र माइती सम्झने प्रक्रिया हो । त्यतिबेला वर्षमा एकपटक भए सासूसँग बिदा मागेर दिदी÷फूपूलाई अघि लाएर लिने चलन थियो । अहिले आएर ठ्याक्कै उल्टो भयो । कहिले तीजमा मायाप्रीति लाउने, घुम्न जाने भन्नेजस्तो भयो  

तीज महिलाको स्वतन्त्र पर्व पनि हो । वर्षभरिका कुरा तीजमा भन्ने हो । बाबुलाई मेरो जोवन जान लाग्यो बिहे गरिदेऊ भन्ने कुरा पनि आउँथे गीतमा । तीज विशुद्ध महिलाको चाड हो । तीजको सांगीतिक पाटो पनि उत्तिकै छन् । यसको सबैभन्दा बलियो पाटो संगीत हो । 

म सानै छँदा नाग पञ्चमी आउने बित्तिकै यो पटक तीजमा के गीत गाउने हो ? के विषयवस्तु छान्ने हो ? गाइँगुइँ सुरु हुन्थ्यो । बेलुका कुन घरमा तीज गीत गाउँदै नाच्ने भन्ने सल्लाह एक साताअगाडि नै हुन्थ्यो । तर, अहिले त्यो अवस्था छैन । 

अहिले त कुन गीत गाउने ? कसको घरमा तीजमा नाचगान गर्ने भन्ने जमाना त हरायो । बजारमा तीजका नाममा असाध्यै छाडा गीत आएका छन् । हरेक पर्वका गीत हुन्छन् । तीजमा गाइने भनेको पर्व गीत हो । यसको महत्व धेरै छ । 

तीजमा गाइने गीतका अनेकन भाका छन् । मालश्री र देउसीरे, सोरठी, रत्यौली जसरी पर्व गीत हुन्, तीजमा गाइने गीत पनि ठ्याक्कै त्यस्तै पर्व गीत हुन् । अरु पर्व गीत फेरिएनन् । तर, तीजे गीत पूरै फेरियो । 
व्यवसायिकताको नाममा तीज गीतमा असाध्यै विकृति भित्रिए । अहिले तीजे गीत यति डामाडोल भए कि छायाङ्कन गरिएका गीतमा रातो साडी राखेकै भरमा तीजे गीत भए । 

तीज गीत भनेर निकालिने गीतका भिडियोबाट रातो साडी हटाइदिने हो भने ती गीत रत्यौली जस्ता लाग्छन् । रातो साडी लगाएर दुई चारजना नाच्दैमा ती तीज गीत हैनन् । 

तीजमा गाइने गीतका बरिलै, निराजाले, मिर्मिजालैमा, हम्क्याइलो कठै लगायतका थेगोहरु छन् । तीनले विशुद्ध नारी भावना समेट्थे । यस्ता गीत आजभोलि आउनै छाडे । कसले खोज्ने यस्ता तीजका भाका ? कसले गाउने यस्ता मर्मस्पर्शी गीत ?

पछिल्लो धारमा गाइएका गीतले तीजलाई खाली मायाप्रीति लाउने चाडको रुपमा विकास गरेका छन् । समयसँग संस्कृति परिवर्तन त हुन्छ । तर, मूल मर्म त मर्न दिनु भएन । 

कलाकार भइसकेपछि आफ्नो धर्म सम्झेर गीत आउनुपर्छ । निर्देशक, संकलक, रचनाकारले पनि विचार गर्नुपर्छ । जे पायो त्यही सुन्नेले पनि कलाकारलाई औंला ठड्याउनुपर्छ अनि बल्ल सुधार हुन्छ । 
धर्मछाडा प्रवृत्ति हावी भयो । तीजको नाम लिएर जस्ता गीत गाए पनि भयो । जे बनाए पनि भयो । तीजे गीत भन्दियो सकियो । चिन्ताको विषय यही हो । 
प्रस्तुति ः मनोज घर्तीमगर


 

Leave A Comment