ऋषिपञ्चमी र तीज एकै हैन

बुधबार, २७ भदौ २०७५, ०५ : १० शुक्रवार
ऋषिपञ्चमी र तीज एकै हैन

प्रियंवदा काफ्ले,सह–प्राध्यापक,वाल्मीकि विद्यापीठ 

तीज पौराणिक चाड हो । विभिन्न भू–भागमा बसोबास गर्ने मानिसले आ–आफ्नै तरिकाले तीज मनाएको पाइन्छ । वर्तमान कालसम्म आइपुग्दा यसले धेरै काल खण्ड पार गरेको छ ।

विभिन्न पुराणमा पार्वतीले शिवलाई पति पाऊँ भनेर व्रत बसेको कथा उल्लेख छ । पुराणमा तीज यही दिन र यही समयमा बस्ने भन्ने उल्लेख भने छैन । 

पौराणिक शिव–पार्वतीको कथाको आधारमा नेपालका सुदूर पश्चिममा गौरा पर्व मनाइन्छ । तराईमा साउनमा मनाइन्छ ।  काठमाडौं उपत्यका तथा पहाडी भेगमा भदौको तृतीयामा तीज मनाइन्छ  । यो दिनमा ठ्याक्कै यसरी तीजको व्रत बस्ने भन्ने पुराणमा विधि विधान उल्लेख  छैन । ‘वार्षिक व्रत रत्नावली’मा भने तीजको विधानका बारेमा उल्लेख छ ।  

पार्वतीको नाम अपर्णा पनि हो । पात पनि टिपेर नखाई व्रत बसेकी थिइन् उनी । रुखबाट खसेको पात खानु उत्तम मानिन्छ । वनस्पतिमा पनि प्राण हुने भएकाले बिरुवाको पात टिप्नु पनि हिंसा गर्नु हो । रुखको पातसमेत नखाई व्रत बसेको हुनाले पार्वतीलाई अपर्णा भनिएको हो । लौकिक भाषामा अपर्ना पनि भनिन्छ । 
पावर्तीले रूखको पात पनि नखाई व्रत बसेको हुनाले निराहार त भयो नै निर्जल अर्थात् जल पनि नखाई व्रत बस्ने भन्ने परम्परा बस्यो । 

तिथि सँगसँगै पेरेको हुनाले एउटै चाड जस्तो देखिए पनि तीज, गणेश चतुर्थी तथा ऋषिपञ्चमी फरक हुन् । तीज पनि महिलाले व्रत बस्ने र ऋषि पञ्चमीमा पनि महिला नै व्रत बस्ने भएकाले एउटै जस्तो देखिएको मात्र हो ।  

व्रत बस्नुमा धार्मिक, सांस्कृतिक, शारीरिकलगायतको महŒव छ । हिमालय पर्वतकी छोरी पार्वतीले महादेव स्वामी पाऊँ भनेर व्रत बसिन् । महादेव प्रसन्न भएपछि व्रत सफल भएको मानियो । पार्वतीले महादेव स्वामी पाइन् । 

त्यसैले तीजमा विवाहिता महिला श्रीमान्को दीर्घायु तथा सुस्वास्थ्यलगायतका लागि व्रत बस्छन् । अविवाहिता किशोरीले असल पति पाइयोस् भनेर व्रत बस्छन् । 

तीजको व्रत महिला पुरुष जसले वा दुवैले पनि बस्न सकिन्छ । शास्त्रमा महिलाले मात्रै व्रत बस्ने भनेर लेखिएको छैन । तीजमा महादेव र पार्वतीको पूजा गर्ने हो । पुरुषले व्रत बस्दा महिलाको संरक्षण तथा सुरक्षाका लागि बसिन्छ । 

दर लोकले चलाएको चलन
भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन अडिलो भोजन गर्नुपर्छ भनेर दर खान थालियो । दर खाने चलन पौराणिक हैन , लोकले शुरु गरेको हो । पार्वतीले दर खाएर व्रत बसेकी हैनन् । शास्त्रमा दरको बारेमा उल्लेख पनि छैन । 

पहिले–पहिले सधैँ मिठो मसिनो खाने अवस्था नभएकाले शरीरमा बोसोलगायत भिटामिनको कमी हुन्थ्यो । तीजमा घीउ, दूध, दहीलगायत चिल्लो तथा अडिलो भोजन गर्ने चलन सुरु भयो । तीजमा छोरी चेलीलाई  माइत बोलाएर मिठो मसिनो खुवाउने चलन पनि थालियो । छोरी चेलीलाई लुगा, कपडा गरगहना दिने चलन पनि पौराणिक हैन लोकले थालेको हो । 

पूजा गरिसकेपछि मन्दिर तथा पूजास्थलमा पार्वती तथा देवी देवताका गीत गाउने चलन आयो । माइतमा दिदी बहिनीको भेटघाट भएर गीतको भाकामा रोधन पोख्ने क्रममा लोक गीतको प्रचलन सुरु भयो । 
शास्त्रका अनुसार व्रत लिँदा तन मन शुद्ध हुनुपर्छ । त्यसैले व्रतको अघिल्लो दिन दर खाँदा सात्विक भोजन गर्नुपर्ने मान्यता छ । 

व्रत माछा, मासु खाइँदैन, जसलाई तामसी भोजन भनिन्छ । व्रतमा तामसी भोजन गरिँदैन । दर खाँदा माछामासु नखानुको अर्थ शुद्धीकरण हो । तामसी भोजनले विचारमा पनि तमोभाव ल्याउँछ भने व्रतले सात्विक अर्थात् शुद्ध भावको विकास हुन्छ । सत आनन्द ल्याउँछ । शान्त र दीर्घ आनन्द हुन्छ । मन शुद्ध हुन्छ । मानसिक पीडाबाट मुक्त हुन्छ । 

द्वितीयाका दिन दर खाइन्छ । धर्म शास्त्रमा दर खानेबारेमा उल्लेख छैन । आधारातसम्म दर खाने भन्ने शास्त्रमा कतै उल्लेख छैन । भोलिपल्ट व्रत बस्न सकिँदैन कि भनेर आधा रातसम्म (१२ः०० बजे राति) दर खाने लौकिक चलन हो । तर भोलि व्रत बस्नु छ भने अघिल्लो दिन ठिक्कै खाँदा राम्रो । 

श्रद्धाको व्रत
भदौको शुक्ल तृतीयाको दिन हरितालिका तीजको व्रत बस्छन् । यस व्रतको विधि विधान वर्तमान कालमा पाइने अठार महापुराणमा पाइँदैन । निर्णयसिन्धु, धर्मसिन्धुलगायतमा भने तीजका बारेमा उल्लेख छ । 
व्रतको दिन महिलाले नुहाउने चलन छ । नङ काटिन्छ । वर्षमा एकपटक भए पनि चनाको पीठो, धानको भुसको पीठो, जौँको पीठो, बेसारलगायतको पीठोको पाउडरलाई दूधमा फिटेर शरीरमा लेपन गर्दा तथा घस्दा मरेको छालासमेत बाहिर निस्केर छाला स्वस्थ तथा सफा हुने शास्त्रमा उल्लेख छ । 

नुहाइँ–धुवाइँ गरेर भए नयाँ बस्त्र नभए पुरानो बस्त्र लगाउनु पर्छ । नुहाइँ–धुवाइँपछि शिव–पार्वतीलाई सके घरैमा र नसके मन्दिरमा गएर चन्दन, अक्षता, धुप, दीप, नैवेद्य तथा शौभाग्य द्रव्य लगायतका सामान चढाइन्छ । 

दीप, कलश, गणेश स्थापना गरेर पूजा गरिन्छ । शिव–पार्वतीको मुख्यरूपमा पूजा गरिन्छ भने देवीदेवतालाई आह्वान गरिन्छ । देवी देवताको अंग पूजा गरिन्छ । घर वा मन्दिरमा गएर पनि पूजा गर्न सकिन्छ । 

पूजा समापन गरेपछि नाचगान तथा भजन कृतन् हुन्छन् । व्रतका दिन सक्नेले रातभरि भजन कृतन गर्छन् भने नसक्नेले सुत्न सकिन्छ । भजन कृतनको दुईवटा अर्थ हुन्छ । भगवान्को भजन कृतन गर्नाले मन शान्त हुन्छ । शास्त्रमा पानी खाँदा व्रत सफल नहुने भन्ने छैन । 

शास्त्रअनुसार हिन्दू महिलाले चौथीको दिन बिहान तीजको व्रत समापन गर्दा पूर्णपात्र, गोदान गरिन्छ अनि संकल्प गरिन्छ । संकल्प गर्दा ब्राह्मणलाई भोजनसमेत गराइन्छ । 

कसैकसैले पतिको पाउको जल शिरमा लगाएर खाने चलन पनि छ । यो करकापको कुरा होइन, आफ्नो स्वेच्छाको कुरा हो । 

चौथीमा चोर्दा दोष लाग्दैन
१२ बजेको समयलाई समय निर्धारण गर्ने तरिका पश्चिमा पद्धति हो । पश्चिमा मुलुकमा राति १२ बजेबाट अर्को दिन सुरु भएको मानिन्छ । हिन्दू धर्म शास्त्रअनुसार सूर्योदयदेखि अर्को सूर्योदयसम्म एक अहोरात्र हुन्छ । 

तृतीयाको दिनदेखि भोलिपल्ट बिहानसम्म तृतीया नै हुन्छ । भोलिपल्ट बिहानको सूर्योदयदेखि चौथी लाग्छ । बिहानको ३ बजे राति जन्मिएको बच्चा तृतीयाकै मानिन्छ । चौथीको मानिँदैन । 
त्यसैले सूर्योदयसँगै चौथीको तिथि सुरु हुन्छ । गणेश चौथीको दिन गणेशको पूजा आराधना गरिन्छ । भारतमा गणेश चौथीको विशेष उत्सव मनाइन्छ । नेपालको तराईक्षेत्रमा पनि गणेशको मूर्ति बनाएर पूजा गरेर विसर्जन गर्ने चलन छ । 

शास्त्रअनुसार गणेश चौथी तीजसँग सम्बन्धित छैन । यो छुट्टै पर्व हो । पौराणिक कथाअनुसार चौथीमा चोरेको पनि दोष लाग्दैन भन्ने छ । भविष्य पुराणमा पनि चौथीको बारेमा उल्लेख छ । 

दत्तिउन किन ?
पारायण गरेपछि तीजको व्रत समाप्ति हुन्छ । पञ्चमी पनि तीजसँग सम्बन्धित हैन । भदौको शुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भनिन्छ । वैदिक धर्मशास्त्रअनुसार यस पञ्चमीमा राजोदर्शन (रजश्वला) भैसकेका स्त्रीहरुले व्रत बसेर सप्तर्षिको पूजा गर्ने उल्लेख छ । पद्यमपुराणमा पनि ऋषिपञ्चमी बारेमा उल्लेख छ । 

महिलाले ऋषि पञ्चमीमा अपामार्ग नामक वनस्पतिको दत्तिउन बनाउने भन्ने शास्त्रमा उल्लेख छ । दत्तिउन भन्नाले दाँत माझ्ने काठ भनिएको हो । दत्तिउन जुनै वनस्पतिको पनि हुन्छ । तर दाँत माझ्न अपामार्ग प्रयोग गरिन्छ । 

३६५ वटा दत्तिउनले दाँत माझ्ने भन्ने परम्परा छ । जसको अर्थ प्रत्येक दिन एउटा दत्तिउनले दाँत माझ्नुपर्छ भन्ने हो । प्रत्येक दिन माझ्न नसक्दा एकैदिन विधान पूरा गरिएको हो । सामान्यतयाः १२ वटा वा एउटालेनै माझ्ने भन्ने विकल्प पनि छ । अपामार्ग नामक दत्तिउनले दाँत माझ्दा सय वर्षसम्म पनि दाँत बिग्रिँदैन, मजबुत भैरहन्छ भन्ने आयुर्वेदमा उल्लेख छ । 

ऋषि पञ्चमीका दिन नुहाइँ–धुवाइँ गरेर सबैभन्दा पहिले अपामार्ग भाँचिन्छ । महिलाले अपामार्ग टिपेपछि त्यसले दाँत माझिन्छ । पवित्र स्याम्पुले नुहाइन्छ । माटोले नुहाइन्छ । धर्म शास्त्रअनुसार शुद्ध माटोले नुहाउँदा छालालाई स्वस्थ, चम्किलो बनाउनुका साथै एलर्जी हुनबाट पनि बचाउँछ । मन्त्र पढेरै स्नान गरिन्छ । 

पञ्चमीका दिन मुख्यरुपमा सप्तऋर्षिको पूजा गरिन्छ । महिला रजश्वला हुँदा कुनै किसिमको जुठो बिटुलो भएको छ भने पनि क्षमा याचनास्वरुप सप्तर्षिको पूजा गर्छन् । रजश्वला भएको समयमा नकारात्मक ऊर्जाबाट बचाउनका लागि पनि पूजा आराधना गरिन्छ । ऋषिपञ्चमीको दिन आफू र वरिपरिको वातावरणको शुद्धीकरणका लागि महिलाले व्रत लिन्छन् । ऋषि ज्ञानका प्रतीक हुन् । त्यसैले पनि सकारात्मक ऊर्जा मिलोस् भनेर व्रत बसी पूजा आराधना गरिन्छ । 

ऋषि पूजापछि व्रत समापन हुन्छ । व्रतालुुले एक छाक भोजन गर्छन् । जुन भविष्य पुराणमा उल्लेख छ । घिउ हालेर फालिधानको चोखो भात पकाई कर्कलोको तरकारीसँग खाइन्छ । शास्त्रमा शुद्धताका लागि सुइरो भएर उम्रिएको कन्दमूल खाने भनिएकाले कर्कलाको तरकारी चलाइएको हो । धर्मशास्त्रमा भने कर्कलो नै खानुपर्छ भन्ने उल्लेख छैन ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment