‘कमजोर लेखक पुरस्कार नपाउँदा रुन्छ’

शुक्रबार, २९ भदौ २०७५, ०६ : ०१ प्रजु पन्त
‘कमजोर लेखक पुरस्कार नपाउँदा रुन्छ’

लू, उलार, घामकीरी, निदाएँ जगदम्बा लगायतका चर्चित पुस्तकका लेखक नयनराज पाण्डेको २०७४ सालमा प्रकाशित संस्मरणात्मक पुस्तक ‘यार’ले दुई लाख रुपैयाँ राशिको पद्यश्री पुरस्कार पाएको छ । पुरस्कारको घोषणापछि उनीसँग प्रजु पन्तले गरेको कुराकानी ।

मदन पुरस्कारको उत्कृष्ट ८ मा परेको ‘यार’ ले पद्यश्री पुरस्कार पो पाया है, सुन्दा कस्तो लाग्यो ?
पुरस्कार पाउँदा खुसी नै छु । पुरस्कार पायो भनेर उत्ताउलो भने हुनुहुँदैन । पुरस्कार पाउनु भनेको पाठकको माया स्नेह प्राप्त गर्नु हो । पुरस्कारले ऊर्जा नै प्रदान गर्छ । मदन पुरस्कारमा परेको पद्यश्रीले पायो भन्ने कुरामा केही अनौठो जस्तो लाग्दैन । दुवैको  निणार्यक कमिटी  छुट्टै हुन्छ । कुन कमिटीलाई कुन किताब मन पर्छ भन्ने कुरा हो । तराजुमा सुन जोखे जसरी किताब तौलिइन्न क्यारे, यो २४ क्यारेट यो २२ कयारेट भन्नलाई । निर्णायक मण्डललाई कुन मन पर्छ भन्ने कुरा हो । 

पुरस्कार पाउँदा र नपाउँदाको अनुभव ?
सही लेखकलाई पुरस्कार पाउँदा–नपाउँदा कुनै फरक पर्दैन । ऊ निरन्तर साहित्यिक साधनामा  लागिरहन्छ । जो कमजोर र कमसल लेखक हो  उसले पुरस्कार नपाउँदा गुनासो गर्छ, रुन्छ । 

‘यार’ तपाईंको अन्य पुस्तकमध्ये अलि बढी आलोचना भएको पुस्तक पनि हो । यसैबाट पुरस्कार पाउनुभयो । आफैँलाई ‘यार’ कस्तो लाग्छ ?
म कुनै किताब निकाल्दा आफू सन्तुष्ट नभई निकाल्दिन । आफू सन्तुष्ट नभइञ्जेल  पुनर्लेखन गरिरहेको हुन्छु । यो किताब लेख्दा आख्यानमा जस्तो परिकल्पना गर्नु थिएन । के लेख्ने होला भन्ने पनि थिएन । गैरआख्यान भएकाले सकेसम्म सुन्दर शैली दिने प्रयास गरेँ । मलाई मन नपर्ने कुरै भएन । 

अलि बढी नकारात्मक टिप्पणी भएको त हो नि ?
हैन । मैले नकारात्मक टिप्पणी पाएको छैन । मेरो फेसबुक ट्वीटरतिर हेर्नु भयो भने पाठकको प्रतिक्रिया देख्नुहुन्छ । 

धेरै पाठकको मन जितेको ‘लू’ले मदन पुरस्कारै पाउने चर्चा भएको थियो तर पाएन । अन्य पुस्तक पनि सूचीमा मात्रै परेका थिए । ‘यार’ र ‘लू’मध्ये तपाईंलाई चैं कुन मनपर्छ त ?
उलार, घामकीरी मनपराउने  पाठक पनि उत्तिकै हुनुहुन्छ । यसले पुरस्कार पायो उसले पायो भन्ने हुँदैन । त्यो त निर्णायक कमिटीको हातको कुरा भयो । कृतिका रुपमा मलाई त सबै राम्रो लाग्छ । त्यसैले कुनै एउटा मन पर्ने नपर्ने भन्ने हुन्न । ‘लु’ र ‘यार’मा तुलना हुनै सक्दैन । ‘लु’ आख्यान भयो, ‘यार’ गैरआख्यान ।

आफ्नै कृतिमध्ये कुनैमा राम्रो गरियो वा कुनै अलि कमजोर भएछ भन्ने त हुन्छ होला नि ?
लेखेर अहिलेसम्म म सन्तुष्ट हुन सकेको छैन । लेखेर सन्तुष्ट भएको दिन म लेख्नै छाड्छु । 

आफ्नो स्तुति गाएको भन्दै संस्मरणहरु प्रायः आलोचित हुन्छन् । तपाईंको संस्मरण यो पाटोमा भनेजोगियो । ‘यार’मा आफूलाई पूरै खुलाउनुभएको हो ?
संस्मरण भनिसकेपछि ढाँट–छल गर्ने भन्ने कुरै हुँदैन । जस्ताको त्यस्तै  नलेख्ने भए कथा बनाए भइहाल्यो । संस्मरण भन्ने अनि झूटको पुलिन्दाले किन भर्ने ?

यसमा धेरै मान्छेसँग भएका तीतामीठा सम्बन्धलाई उल्लेख गर्नुभएको छ । जसको बारेमा लेख्नुभयो, उनीहरुबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
मैले यस पुस्तकमा आफैँलाई खुलाएको छु । आफ्ना कमी–कमजोरीलाई उल्लेख गरेको छु । ‘यार’मा कसैको व्यक्तिगत कुरामा दख्खल पुग्ने गरी  उल्लेख गरेको छैन । नाम उल्लेख गर्न मिल्नेको गरेको छु, नमिल्नेको गरेको छैन । ज–जसको उल्लेख गरेको छु, उहाँहरुले राम्रो लेखिस् भन्नुभएको छ । 

तपाईंको लगातार निस्किएका कृतिमध्ये कुनै हिट, कुनै मध्यम किन ?
हाम्रा हातका पाँच औँला पनि बराबर कहाँ छन् र ? यस्तै हो, पाठकको रुचिअनुसार फरक हुन्छ । कसैलाई ‘सल्लीपिर’ धेरै मन पर्यो, कसैलाई ‘घामकीरी’ । पाठकले दिनुभएको प्रतिक्रियालाई स्वभाविक रुपमा लिन्छु । तर्क–वितर्क झैँ–झगडा गरेर हुन्न ।

अहिले के लेखिरहनुभएको छ ?
अहिले नयाँ उपन्यासको काममा लागिरहेको छु । 

कस्तो प्रकारको भन्न मिल्छ ?
तराई–मधेसको विषयवस्तुलाई उल्लेख गर्न खोजिरहेको छु ।  

Leave A Comment