‘रियालिटी सोहरुमा इमोसन्स पनि रियल हुनुपर्छ, देखाउनलाई मात्रै हैन ।’
दुई साताअघि गाईजात्राको अवसर पारेर गायिका आस्था राउतले आफ्नो फेसबुक पेजमा यस्तो टिप्पणी गरिन् । बजारमा दुई गायन रियालिटी सो ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’को चर्चा गर्माइरहेको बेला उनको यो टिप्पणीले हलचल ल्यायो ।
पर्दामा देखिएजस्तै रियल हुन्छन् त रियालिटी सोका दृश्यहरु ? कि दर्शकको मन पगाल्नलाई पहिल्यै लिपिबद्ध भएका हुन्छन् ?
‘अहिले त अटो ट्युन्ड भएर आउन थाले रे ट्यालेन्टहरु,’ रियालिटी सोमाथि व्यंग्य गरेर आस्थाले फेसबुकमा थप लेखेकी छन्, ‘राम्रो/राम्री बनाउनलाई मेकअप गरिदिएजस्तै हो कि क्या हो स्वरलाई पनि नक्कल पारिदिएको ?’
रियालिटी सोको रियालिटी छाम्दा उनको यो टिप्पणी फगत टिप्पणीका लागि मात्रै देखिएन ।
बेसुराको चर्चा
एक वर्षअघि नेपाल आइडलको अडिसन राउन्डमा सहभागी भएका दैलेखका झक्कड थापा अहिले सेलिब्रटी भए । युट्युबरहरुलाई उनको इन्टरभ्यु लिन भ्याई–नभ्याई छ । संगीत प्रतिभा खोज्ने थलो ‘नेपाल आइडल’ले उनलाई सेलिब्रिटी बनाएकोमा कुनै दुविधा छैन तर उनी सेलिब्रिटी हुनुको कारण अत्यासलाग्दो छ । उनी मन्त्रमुग्ध पार्ने गीत सुनाएर सेलिब्रिटी भएका हैनन्, बेसुरा गीत गाएर चर्चा पाए ।
एक वर्षअघिको पहिलो नेपाल आइडलको अडिसन स्टेजमा उनी तीनजना जज न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीका अगाडि कमेडी पारामा देखापरेका थिए । बेसुरको स्वरमा ‘सोल्टिनी मलाई आँखा मा-यौ नि’ बोलको गीत गाउँदै, हात हल्लाउँदै र नाच्दै उनी स्टेजमा आइपुगेका थिए । उनलाई देख्नासाथ जजहरुले आश्चर्यको हाँसो देखाएका थिए । कालीप्रसादले सोधेका थिए, शुभ नाम के हो ? जवाफ आएको थियो, ‘संसारमै नभा’को झक्कड थापा’ । त्यसपछि उनले गीत सुनाएका थिए, बेसुरा तालमा ।
बेसुरो गीतलाई पनि जजहरुले खुब रमाइलो मानिरहेका थिए । अर्को सुनाउनु त, फेरि गाउनुस् त जस्ता प्रस्ताव राखियो । जो लाजमर्दो थियो । अनि अन्त्यमा इन्दिराले भनेकी थिइन्, ‘तपाई एकदमै रमाइलो मान्छे, निर्दोष मन भएको मान्छे लाग्यो ।’ न्ह्युले त्यसमै थपेका थिए, ‘नेक्स्ट टाइम तपाईं अलिकति तयार भएर आउनुस् ।’ त्यसपछि उनी नाच्दै/गाउँदै स्टेजबाट फर्किए ।
थुप्रै प्रतिस्पर्धीको स्वरलाई कम प्राथमिकता दिएर भए पनि नेपाल आइडलको उनको प्रस्तुतिलाई कार्यक्रम निर्देशकले लामो समय दियो । यही कमेडी प्रस्तुतिका कारण झक्कड चर्चामा आए । बेसुरा स्वरको विम्बका रुपमा उनको नाम आउन थाल्यो ।
यस बीचमा उनी हराए । भारततिर मजदुरी गर्न गएका रहेछन् ! नेपाल आइडलको दोस्रो सिजन सुरु भयो । अहिले जारी नेपाल आइडल सिजन २ को दोस्रो अडिसनमा झक्कडजस्तै अर्का नमुना प्रतिस्पर्धी देखापरे, नरेश पातली । उनको बेसुरा स्वर र कमेडी पाराले दर्शकको ध्यान खिँच्यो र दर्शकले फेरि मिस गरे– झक्कड थापा ।
युट्युबरहरुले झक्कडलाई खोजे । परिवार पाल्न सामान्य मजदुरी गर्न भारत पुगेका झक्कड नेपाल फर्किए । मलिन स्वरमा आफ्नो मजदुरीका कथा सुनाउने उनी युट्युबरका लागि भ्युअर्स तान्ने मसला बने । इन्टरभ्युको सिलसिला सुरु भयो । सामाजिक सञ्जालमा चर्चा पनि उत्तिकै भयो । मजदुर झक्कड सेलिब्रिटी भए । यत्तिसम्म भयो कि घट्दो टिआरपी बढाउन नेपाल आइडलको सिजन–२ को थिएटर राउन्डमा उनलाई पुनः इन्ट्री गराइयो, जोकरका रुपमा । दोस्रो सिजनमा आउनु झक्कडको बाध्यता थियो, मजदुरीको ।
यसपल्ट प्रतिस्पर्धीका रुपमा होइन, अतिथिका रुपमा आए उनी । त्यो पनि नेपाल आइडल आफैँले निम्ता गरेर । कारण नेपाल आइडल नै बन्यो । स्वरको खोजी गर्ने नेपाल आइडल, बेसुराको चर्चामा अल्मलियो ।
दर्शकहरु टिप्पणी गरिरहेका छन्, ‘हे भगवान्, नसकिने भो !’
झक्कडको रि–इन्ट्रीपछि युट्युबमा एकजना दर्शक राजुको घतलाग्दो कमेन्ट छ, ‘नेपाल त्यस्तो देश हो जहाँ नेपाल आइडल हुने बुद्ध लामाभन्दा अडिसन राउन्डबाट फ्यालिने झक्कड थापा बढी फेमस हुन्छन् । पैसाले किनेको उपाधिभन्दा हाँसीहाँसी स्वीकार गरेको लज्जाको चर्चा हुन्छ यहाँ । लभ यु झक्कड !’
यता ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले भने यस्ता पात्रहरुको प्रस्तुति रमाइलोका लागि राख्ने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको धारणा मिडियालाई दिइरहेका छन् ।
कारण जे होस्, चल्तीका संगीतकर्मी स्वयं संगीत रियालिटी सोको यो शैलीबाट खुसी देखिएका छैनन् ।
‘अहिले भइरहेको रियालिटी सोमा केही मान्छेहरुलाई कार्यक्रममा ल्याएर हास्य पात्र बनाइएको छ,’ संगीतकार अर्जुन पोखरेलले नेपाल आइडलप्रति व्यंग्य गर्दै भने, ‘सोझा मान्छेहरुलाई रियालिटी सोमा हावाको भरमा ल्याएर हाँसो र मजाकको पात्र बनाइएको छ । यसरी न त प्रतिभाशालीको प्रतिभाको कदर हुन्छ न त सोझाको सोझोपनको कदर ! यो त कार्यक्रम हिट गराउने काइदा मात्रै भएन र ?’
विडम्बना, जब प्रतिस्पर्धी कार्यक्रम आयो, उनीहरुको सस्तो लोकप्रियता स्वात्तै घट्यो ।
नेपाल आइडल भर्सेस द भ्वाइस अफ नेपाल
अन्तर्राष्ट्रिय फ्रेन्चाइजी नेपाल आइडलका निर्माण समूहमा मनमुटाव भएपछि अर्को सो ‘द भ्वाइस’ नेपाल भित्रियो । बलिउड फिल्म र भारतीय टिभी च्यानलको चर्को प्रभावमा परेका नेपाली दर्शकहरु पहिल्यैदेखि इन्डियन आइडल र भ्वाइस अफ इन्डियाका पारखी थिए । त्यसैले नेपालका थुप्रै रियालिटी सोहरु फ्लप भइरहेका बेला ‘नेपाल आइडल’को आगमनले यहाँ ठूलो ख्याति कमायो । यसले दर्शकहरुले विदेशी सोको जस्तै स्तर नेपाली सोमा खोजिरहेका छन् भन्ने बनायो ।
बेलायतबाट सुरु भएको ‘आइडल’को कन्सेप्ट बेलायतका साइमन फुल्लेरले जन्माएका हुन् । उनले सन् २००१ मा यही फम्र्याटमा पहिलो पप आइडलको आयोजना गरेका थिए ।
त्यस्तै यही वर्षबाट सुरु भएको ‘द भ्वाइस’को जन्मदाता भने जोन डे. मोल हुन् । उनले सन् २०१० मा ‘द भ्वाइस हल्यान्ड’ आयोजना गरेका थिए । पछि उनले सन् २०११ मा ‘द भ्वाइस अमेरिका’मा कार्यकारीका रुपमा काम गरेपछि यो सो पनि चर्चामा आयो ।
पहिलो संस्करण ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौड्यालकै टिमले ‘द भ्वाइस’ नेपाल भित्र्यायो । पहिलो संस्करणको नेपाल आइडल होस्ट गरेका सुशील नेपाल अहिले ‘द भ्वाइस’का कार्यकारी निर्माता र होस्ट दुवै छन् ।
अहिले नेपाल आइडलको निर्देशन लोकेश बज्राचार्य, सुरेश पौडेल र एलिन श्रेष्ठले मिलेर गरिरहेका छन् भने निर्णायक मण्डलीमा तीनै जना पुराना निर्णायक छन्, न्ह्यु, कालीप्रसाद र इन्दिरा ।
विहीबार र शुक्रबार राति प्रसारण हुने नेपाल आइडल तथा शनिबार र आइतबार राति प्रसारण हुने द भ्वाइस अफ नेपालबीच अहिले तुलनात्मक टिप्पणी बढिरहेको छ । तुलनात्मक रुपमा प्रोगामको सेट, शैली र स्ट्यान्डर्डअनुसार दर्शकहरुले द भ्वाइसलाई राम्रो भनिरहेका छन् । प्रत्येक हप्तामा युट्युबमा कसको कार्यक्रम ट्रेन्डिङ आउने भन्ने प्रतिस्पर्धा चलेको छ ।
मंगलबार साँझ यो स्टोरी लेख्दासम्म द भ्वाइसको ब्लाइन्ड अडिसन युट्युब नेपाल ट्रेन्डिङको तेस्रो नम्बरमा थियो भने नेपाल आइडल थिएटर राउन्ड–३ को एपिसोड २६ नम्बरमा थियो ।
जुरीमाथि नै प्रश्न
दुवै सोको आ–आफ्ना विशेषता छन् । नेपाल आइडल गाउँ–गाउँ पुगेर प्रतिस्पर्धी खोज्छ, द भ्वाइस डिजिटल अडिसनमार्फत गाउँ–गाउँका प्रतिस्पर्धी लिन्छ । नेपाल आइडलमा जज अनुहार हेरेरै, प्रतिस्पर्धी छान्छन् । उता द भ्वाइसमा गीत मनप-यो भने मात्र कोचले ‘बज’ गर्छन्, कुर्सी घुमाउँछन् र प्रतिस्पर्धीको अनुहार हेर्छन् ।
नेपाल आइडलमा जुरीहरुले प्रतिस्पर्धीहरुलाई टेक्निकल रिजनभन्दा पनि बढी अरु कारणले छनोट गरिरहेको आरोप लागिरहेको छ । करिब २५ दिनअघि नेपाल आइडलको अडिसन राउन्ड हेरेपछि पत्रकार स्वेच्छा राउतले ट्विटरमा ट्विट गरेकी थिइन्, ‘नेपाल आइडलका लागि प्रतियोगी छानेको कि बिग बोसका लागि ? कसैलाई रमाइलोका लागि, कसैलाई दया गरेर, कसैलाई जिस्किदै छानेर पनि हुन्छ होला त ? संगीतबारे जानकार छैन तर केही प्रतियोगी छनोटमा परेको देखेर राम्रो गर्नेहरुका लागि ठीक भयोजस्तो लागेन ।’
उता ‘द भ्वाइस’ले भने कार्यक्रममा कमेडी घुसाउने प्रयत्न गरेको देखिँदैन । बेसुरा गायकहरु अडिसन राउन्डमा देखिएका छैनन् । सो हेर्दा स्टेजमा गाउने प्रतिस्पर्धी भन्दा कुर्सीमा बस्ने कोचको परीक्षा भइरहेजस्तो लाग्छ । कोचमा छन्, चारजना गायक दीप श्रेष्ठ, सनुप पौडेल, प्रमोद खरेल र अभया सुब्बा । दीप नेपालको आधुनिक संगीतमा परिचय दिनै नपर्ने गायक हुन् । सनुप क्लासिकल–पप विधामा पकड जमाएका गायक हुन् । अभया रक–पपकी आइकन हुन् भने प्रमोद लोक–आधुनिक संगीतका पपुलर फेस हुन् ।
भ्वाइस अफ नेपालमा एकभन्दा बढी कोचले बटम दबाएपछि प्रतिस्पर्धीले ब्याटल राउन्डका लागि आफूलाई मनपर्ने कोच रोज्नुपर्ने हुन्छ । प्रतिस्पर्धीले कोच रोज्ने बेलामा ‘मलाई, मलाई’ गर्दै कोचले गर्ने आग्रह कहिलेकाहीँ अस्वभाविक र नाटकीय देखिन्छ । बटम नथिच्ने तर आहा कति राम्रो स्वर भन्ने प्रतिक्रिया दिएको पनि पच्दैन । भ्वाइसमा दीपको प्रतिक्रिया कहीँकतै बनावटी देखिँदैन र उनले प्रशंसा पनि चाहिँदोभन्दा बढी गरेको पाइन्न ।
दुःखीका कथा, सुखीका रोनाधोना
प्रतिस्पर्धीहरुलाई स्टेजमा उतार्नुअघि दुःखी देखाइन्छ, संघर्षशील देखाइन्छ । कहिलेकाहीँ त क्यामेराअघि रुवाउँदै बोल्न लगाइन्छ । यतिमात्रै होइन उनीहरुको प्रस्तुति सुनेर अगाडि बस्ने निर्णयकहरु, कोचहरुको मुहार अचानक खुसीबाट बदलिएर आँखाबाट आँसुका थोपाहरु झर्न थाल्छन् । रियालिटी सोमा देखिने विश्वव्यापी दृश्य हुन् यी । नेपाल आइडल र द भ्वाइस अफ नेपालमा अहिले यस्तो खुब देख्न पाइन्छ ।
भारतका अधिकांश डान्सिङ रियालिटी सो गरेका सुशान्त खत्री भन्छन्, ‘रियालिटी सोमा ट्यालेन्ट मात्रै हैन, ब्याकग्राउन्ड, पर्सनालिटी पनि उत्तिकै चाहिन्छ ।’
द भ्वाइस अफ नेपालमा दुई साताअघि प्रतिस्पर्धी डम्बर हिङमाङले प्रस्तुति दिएको एपिसोड हिट भयो तर उनको प्रस्तुतिका कारण यस्तो भएको थिएन । प्रस्तुतिपछि स्टेजमा भएको रुवाबासीका कारण थियो । चारैजना कोचले उनको स्वरमा बटन दबाउन सकेनन् । अर्थात्, उनलाई छनोट गर्न चाहेनन् । कसैले छनोट नगरेपछि उनका आँखा स्टेजमै रसाए ।
त्यसपछि कोचले उनीसँगै आएका उनकी आमालाई स्टेजमा बोलाउन लगाए । सबै कोचहरुले आमाकै अघि उनको तारिफ गरे । कोच अभया अचानक पहिला अंकमाल गर्न पुगिन् स्टेजमै । त्यसपछि अरु कोच पनि पुगे । अचानक अभया कुर्सीमा बसेपछि ग्वाँग्वाँ रोइन् ।
डम्बरले आस्था राउतको ‘खोइ त मलाई झुम्के बुलाकी’ गीत गाएका थिए । धेरै दर्शकले कोचको रोनाधोनालाई स्वाभाविक ठानेनन् । आफ्नै गीत गाएका डम्बरप्रति कोचहरुले गरेको व्यवहार सायद आस्थालाई पनि नाटकीय लाग्यो । भोलिपल्टै उनले फेसबुकमा स्टाटस ठोकिहालिन्, ‘रियालिटी सोहरुमा इमोसन्स पनि रियल हुनुपर्छ, देखाउनलाई मात्रै हैन ।’
नयाँ प्रतिभा खोई ?
नेपाल आइडलको पहिलो संस्करणमा दोस्रो र तेस्रो भएका निशान भट्टराई र प्रताप दास दुवै गायनमा नयाँ थिएनन् । दुवैले रियालिटी सोमा आउनुअघि नै गीत रेकर्ड गराइसकेका थिए । यसपल्ट पनि दुवै सोमा धेरै गीत रेकर्ड गराइसकेका प्रतिभाहरु देखापरेका छन् । यस्ता प्रतिभाहरु नेपाल आइडलभन्दा बढी द भ्वाइसमा सहभागी छन् ।
प्रतिस्पर्धीको सहभागितालाई लिएर चल्तीका संगीतकार वसन्त सापकोटा खुसी छैनन् । ‘यसपालि पनि दुवै रियालिटी सोमा नयाँ स्वरले खासै प्रवेश पाएनन्,’ उनले भने, ‘नेपालमा हुने आइडल धनीको आइडल हो, गरिबका लागि होइन । जति आइडलमा भिडेका छन् त्यहाँ गरिबका स्वर सायद कमै सुनिन्छन् । भ्वाइस अफ नेपाल होस् या नेपाल आइडल दुवैले नयाँ र प्रतिभावान् आइडल जन्माउन सक्छन् जस्तो लाग्दैन ।’
उनले नेपाल आइडलमा यसपल्ट भिडिरहेका पोखराका विक्रम बराल, सुमीत पाठक लगायत पहिल्यै नेपाली तारा, नेपाल आइडलबाट आउट भएकाहरु सहभागी रहेको बताए ।
ठगिन्छन् प्रतिस्पर्धी
केही पुराना उदाहरण हेर्दा रियालिटी सोको आवरणमा देखिएजस्तो प्रतिभा खोज्ने नियतमा मात्रै हुन्न । धेरै रियालिटी सोमा आयोजकले विजेतालाई पुरस्कार दिएका छैनन् । भाग लिएकाहरुको उपलब्धि पनि खासै देखिन्न ।
एक वर्षअघि महानगरीय अपराध प्रहरी महाशाखाको टोलीले रियालिटी सोको नाममा ठगी धन्दा चलाउने गरेको आरोपमा विक्रम अछामीलाई पक्राउ गरेको थियो । उनीमाथि केही वर्षअगाडि ‘डान्स नेपाल डान्स’ रियालिटी सो सञ्चालन गरी विजेतालाई पुरस्कार नगद नदिएको आरोप थियो ।
अछामीले भि एन्ड भाइरस नामको नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरी ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी सो पहिलो सिजनका नाममा २०६८ जेठ २७ गतेबाट देशभर अडिसन लिएका थिए । दोस्रो सिजन भने २०७३ साल साउन २६ गतेबाट सुरू भएको थियो ।
पहिलो सिजनमा प्रथम हुनेलाई ३ लाख रुपैयाँ, दोस्रो हुनेलाई २ लाख ५० हजार रुपैयाँ, तेस्रोलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो । त्यही पुरस्कार नपाएको उजुरी परेपछि उनलाई प्रहरीले त्यतिबेला पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।
यस्तै ‘नेपाली तारा’ सिजन २ का विजेता सन्तोष लामालाई विजयी हुनेबित्तिकै एल्बम निकालिदिने भनेर आयोजकले दिएको वचन तीन वर्षपछि मात्रै पूरा गरिएको थियो ।
त्यस्तै गायन रियालिटी सो ‘नेपाल आइडियल २०६९’का विजेता बादल लिम्बुले अझैसम्म पनि पाउनुपर्ने पुरस्कार पाएनन् । उनलाई विजेता भएपछि अढाई लाख नगद पुरस्कारसहित गायन अवसरको घोषणा गरिएको थियो । अवसर दिने आयोजक नै त्यसपछि गायब भए । ‘सञ्चालक फरार भएपछि रकम अहिलेसम्म पाएको छैन,’ उनी भन्छन्, ‘तैपनि म दुःखी छैन । त्यतिबेला नेपाल आइडियल बन्नु नै मेरा लागि ठूलो उपलब्धि थियो ।’
उनको यो अभिव्यक्तिले नै छर्लङ्ग पार्छ, पुरस्कार नपाएका विजेताहरु कसरी मन बुझाउँछन् ।
अब ‘नेपाल आइडल’को कुरा गरौं । बुद्ध लामा विजेता हुँदा नै विवाद भएको थियो । उनले जिते ठीकै छ तर उनी आफैंले विजेता हुँदाको कार पुरस्कार नपाएको सार्वजनिक गर्दा रियालिटी सोमाथि प्रश्न उठ्ने नै भयो । उनको सम्झौता अनुसारको म्युजिक भिडियो पनि दोस्रो सिजनमा मात्र आयो ।
बुद्ध लामा खुसी छैनन् भन्ने नेपाल आइडलले नै पुष्टि ग-यो, जब सेकेन्ड र थर्ड रनरअप स्टेजमा आए तर बुद्ध भने गायब थिए ।
०००
‘अहिले जन्मिएका प्रतिभा खहरेजस्तै भए’
शम्भुजित बाँस्कोटा
संगीतकार
२०४५ सालमा नेपाल टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो ‘प्रतिभाको डबली’ लाई साउथ एसियाकै पहिलो रियालिटी सो भन्ने गरिन्छ । त्यो समयमा सबै कुरा लिएर जानु पर्ने हुन्थ्यो । अहिले जस्तो सजिलो थिएन । टिभीको पहुँच पनि कम थियो । अहिले जस्तो जताजतै रियालिटी सोको प्रचार–प्रसार पनि हुँदैनथ्यो । सीमित मात्रामा हुन्थ्यो । जतिले थाहा पाउँथ,े उनीहरुले सहभागिता जनाउँथे । त्यसबेला रियालिटी सोबाट जन्मिएका कलाकारहरु सदाबहार भएर उदाउँथे । अहिलेका रियालिटी सोबाट जन्मिएका कलाकारहरु खहरेजस्तो आए अनि गए । धेरै समयसम्म टिक्न सकेका छैनन् ।
‘हावाको भरमा आएका हुन्छन्’
अर्जुन पोखेल
संगीतकार
रियालिटी सोमार्फत गाउँघरमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नु र सबैमाझ प्रस्तुत गर्नु धेरै राम्रो काम हो । यस्ता कार्यक्रममा कतिपय संगीत बुझेर आएका हुन्छन् भने कतिपय हावाको भरमा आएका हुन्छन् ।
अहिले भइरहेको रियालिटी सोमा केही मान्छेहरुलाई ल्याएर हाँस्यपात्र बनाइएको छ । सोझा मान्छेहरुलाई मजाकको पात्र बनाइएको छ । यसले उनीहरुको प्रतिभाको कदर कसरी हुन्छ ? प्रसारण भइरहेका रियालिटी सो व्यापारिक हिसाबले अगाडि बढेकाले आफ्नो कार्यक्रम हिट बनाउन यसो गरिएको मेरो बुझाइ छ ।
‘नयाँ स्वरले प्रवेश पाएनन्’
वसन्त सापकोटा
संगीतकार
नेपालमा रियालिटी सोले धेरै राम्रो काम गरेको छ । जनमानसमा छरिएर रहेको प्रतिभालाई स्टेजमा ल्याउन काम गरेको छ । पोहोर साल नेपाल आइडलबाट फालिएका र अगाडि भएका नेपाली तारा लगायतमा भिडेकाहरु रियालिटी सोमा देखिएका छन् तर यसपालि पनि दुवै रियालिटी सोमा नयाँ स्वरले खासै प्रवेश पाएनन् ।
नेपालमा हुने आइडल भनेको धनीको आइडल हो, गरिबका लागि होइन । जति आइडलमा भिडेका छन्, त्यहाँ गरिबका स्वर सायद कमै सुनिन्छन् होला । भ्वाइस अफ नेपाल होस् या नेपाल आइडल नेपालमा हुने दुवै आइडलले नयाँ र प्रतिभावान् आइडल जन्माउन सक्छ जस्तो लाग्दैन । यहाँ भोटिङका आधारमा जोसँग पैसा छ, जोसँग जनशक्ति छ । उसैले आइडल जित्ने छ ।
Leave A Comment