रियालिटी चेक : द भ्वाइसकी चकचके अभया, आइडलको सेट फेरियो

शुक्रबार, ०५ असोज २०७५, ०६ : ३३ शुक्रवार
रियालिटी चेक :  द भ्वाइसकी चकचके अभया, आइडलको सेट फेरियो

द भ्वाइसमा क्लासिकको दबदबा
फ्रेन्चाइज म्युजिकल रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को पहिलो श्रृङ्खलाले अहिले नेपाली संगीतलाई तताइरहेको छ । ८ अंक प्रसारण भइसकेको यस सोको ब्लाइन्ड अडिसन सकिन अब दुई सो बाँकी छ । १० अंकसम्म ब्लाइन्ड अडिसन हुने यसमा ४८ जना गायकगायिका ब्याटल राउन्डमा प्रवेश गर्नेछन् । 

ब्याटल राउन्ड ६ ओटा अंकसम्म जानेछ । त्यसपछिका १२ अंक भने लाइभ भोटिङका आधारमा सम्पन्न हुनेछ । यही लाइभ भोटिङमा नकआउट राउन्ड र सेकेन्ड ब्याटल राउन्ड पनि सम्पन्न हुनेछ । 
यस रियालिटी सोलाई नेपाल आइडलको पहिलो सिजन निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गरिरहेका छन् । 

सुशील नेपालले सञ्चालन गरेको यस सोका कोच दीप श्रेष्ठ, प्रमोद खरेल, सनूप पौडेल र अभया सुब्बा छन् । विजेतालाई ‘भ्वाइस अफ नेसन’ घोषणा गरिनेछ । विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वल्र्ड टुरको अवसर पाउने छन् ।

ब्लाइन्ड राउन्ड आठौं अंकमा पुग्दा शास्त्रीय संगीतको पृष्ठभूमि भएकाहरुको दबदबा देखिएको छ ।

आइडलको सेट फेरियो
अहिले ‘नेपाल आइडल’ दोस्रो सिजन प्रसारण भइरहेको छ । पहिलोपल्ट नेपालमा भित्रिएको फ्रेन्चाइज रियालिटी सो ‘नेपाल आइडल’ले पहिलो सिजनबाट बुद्ध लामालाई नेपाल आइडल बनाइसकेको छ भने दोस्रो नेपाल आइडल बन्नका लागि प्रतिस्पर्धा जारी छ ।

अहिले सिजन २ को १२ औं अंकमा २० जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा चलिरहेको छ । पियानो राउन्ड नाम दिइएको यस राउन्डदेखि अघिल्लो सिजनको भन्दा राम्रो सेट तयार पारिएको र जजहरु पनि पहिलेको भन्दा केही परिपक्व भएको दर्शकहरुको प्रतिक्रिया छ । 

नेपाल आइडलले गायकगायिका मात्रै होइन, हास्य कलाकारसमेत उत्पादन गरेको केहीले प्रतिक्रिया दिने गरेका छन् किनभने आइडलले दोस्रो सिजनमा अहिलेसम्म तीन जनालाई निकै भाइरल बनाइदियो । नरेश पातली, झक्कड थापा र सन्ध्या बुढा उर्फ काउली बुढी यही सोबाट रातरात चर्चामा आए । 

चकचके अभया
रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’की कोच अभया सुब्बा हिजोआज सबैको नजरमा फरक परिचयका साथ पर्ने गरेकी छन् । यसको एक मात्र कारण हो, उनको चकचकेपन । ब्लाइन्ड अडिसन चलिरहेको समयमा उनीको ध्यान गीत सुन्नभन्दा चकचक गर्नमै बितिरहेको आरोप दर्शकहरुले लगाउने गरेका छन् । विशेष गरी सामाजिक सञ्जालमा उनलाई चकचके कोचको उपाधि दिइएको छ ।

हुन पनि उनी चुप लागेर बस्नै सक्दिनन् । बाजाको धुन सुनेदेखि उनी कहिलेकेही बोलिरहेकी हुन्छिन्, कहिले मुन्टो हल्लाइरहेकी हुन्छिन्, कहिले हात चलाउँछिन् भने कहिले कुर्सीमाथि चढेर उफ्रिन्छिन् । त्यतिले मात्रै नपुगेर कहिलेकाहीँ त खुट्टा कुर्सीमा चढाएरसमेत चिच्याउँछिन् । 
उनको यो हर्कतलाई दर्शकले रमाइलो पनि मानेका छन् तर धेरैले भने उनको चकचके हर्कत टिआरपी बढाउन मात्रै काम लाग्ने आरोप लगाउँछन् । 

आम दर्शक मात्र हैन, उनको आलोचना गर्नेमा केही संगीत क्षेत्रकै मानिसहरु पनि छन् । कोही खुलेरै आलोचना गरिरहेका छन् त कोही व्यंग्यात्मक शैलीमा । यसरी खुलेरै आलोचना गर्नेमा गायिका आस्था राउत अग्रपंक्तिमा छिन् । 

पहिलो गेस्ट आस्था
सामाजिक सञ्जालमा अर्को रियालिटी सो ‘भ्वाइस अफ नेपाल’की कोच अभया सुब्बाको खरो विरोधमा उत्रँदैआएकी गायिका आस्था राउत ‘नेपाल आइडल सिजन २’ को पियानो राउन्डमा भने पहिलो गेस्टका रुपमा उपस्थित भएकी छन् । साथै, नेपाल आइडलको प्रशंसा पनि उनले निकै गरिन् ।  

रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’लाई उनले इमोसनलाई स्क्रिप्टेड इमोसन भनी आरोप लगाएकी थिइन् । निर्देशकले यहाँनिर भावुक हुनु र यहाँनेर चकचक गर्नु भनी सिकाइएको भनी आस्थाको आरोप थियो ।
यसको पियानो राउन्डबाट चार जना प्रतिस्पर्धी बाहिरिइसकेका छन् । ती चारमा सिर्जना कार्की, विश्व उप्रेती, मिलन परियार र सम्राट न्यौपाने छन् । 

आस्थासँगै अर्का गायक हेमन्त शर्मा पनि आइडलमा गएका थिए । 
 

Leave A Comment