रियालिटी सोको ऋण

शुक्रबार, ०५ असोज २०७५, ०७ : ०८ शुक्रवार
रियालिटी सोको ऋण

सामाजिक सञ्जाल फेसबुकमा नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराईका बाबुको भनाइ हेर्दा जो कसैको मन चसक्क हुन्छ । प्रतियोगीमध्ये अन्तिम तीनमा पुगेका भट्टराई प्रतिभावान भए पनि विजेता बन्न सकेनन् । प्रसंग यो हैन । प्रसंग हो, छोरालाई प्रतियोगिताको विजेता बनाउन भोटिङ गर्न लिइएको ऋण । निशानका पिताका अनुसार छोराका लागि उनले भोटिङमा खर्च गरेको ३० लाख अझै तिर्न सकेका छैनन् । एक त प्रतिभावान व्यक्ति पहिलो हुनबाट प्राविधिक रुपमा चुक्यो, दोस्रो सफल हुन परिवारले खर्च गरेको रकम तिर्न अझै सकेका छैनन् उनले ।

प्रतिभा भएको तर पहुँचको अभावमा अवसर नपाएकाहरुलाई प्लेटफर्म दिनु रियालिटी सोको पहिलो लक्ष्य हुनुपर्ने हो । नेपाल भित्रिएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज कार्यक्रमको लक्ष्य पनि यही हुनुपर्ने हो । तर भट्टराईका बाबुको भनाइले यस्ता कार्यक्रमहरु पनि प्रतिभालाई अवसर दिनेमा भन्दा आर्थिक उपार्जनमै बढी केन्द्रित भएको देखियो । जुन निकै दुखद् पक्ष हो । 

विजेता हुन नसके पनि उनी दोस्रो भए । दोस्रो भए पनि उनी पहिलो भएका बुद्ध लामा भन्दा कम प्रतिभाशाली भने थिएनन् । उनले नेपाल आइडलमार्फत पहिचान पनि पाएकै हुन् तर त्यत्रो अवसर पाउँदा पनि उनको आर्थिक हैसियत भने उस्तै छ । उनी बाबुको ऋण तिर्नसमेत सक्षम बन्न सकेनछन् । यसबाट नेपाली संगीत क्षेत्रको हैसियत पनि थाहा हुन्छ भने संगीत क्षेत्रले उनलाई दिएको ‘अवसर’ पनि थाहा हुन्छ । यो अर्को दुखद् पाटो हो ।

नेपालको मनोरञ्जन क्षेत्रमा लगानी कम छ । कर्पोरेट क्षेत्रको मनोरञ्जन क्षेत्रमा बिस्तारै आकर्षण बढ्दै छ । जसका आधारमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज आइडल, द भ्वाइस, बुगीबुगी र रोडिज् नेपाली टेलिभिजनका पर्दामा आउन सफल भएको छ ।

तर यसमा अझै सिन्डिकेट बलियो छ भन्ने नयाँ प्रतिभाको दयनीय आर्थिक अवस्थाले देखाउँछ । त्यसैले यस्ता प्रकृतिका कार्यक्रम प्रसारणमा आर्थिक पाटोसँगै आयोजकले उनीहरुलाई सम्बन्धित क्षेत्रमा स्थापित गराउने कार्ययोजनामा समेत उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ ।

यस्ता कार्यक्रमबाट सार्वजनिक भएका प्रतिभा सफल भएको खण्डमा यस्ता कार्यक्रमको साख बढ्नुका साथै यसको क्रेज पनि ह्वात्तै बढ्छ । त्यसैले यस्ता कार्यक्रमले आफ्नो साख बढाउन आयोजक र प्रायोजक गम्भीर हुन आवश्यक छ । आशा गरौं भोलिका दिनमा निशानका बाबुझैँ कुनै पनि प्रतिभावान् कलाकारका बाबु आफ्नो छोरालाई विजेता बनाउन लागेको ऋण कसरी तिर्ने होला भन्ने चिन्तामा डुब्न नपरोस् ।
 

Leave A Comment