‘पचास लाख पारिश्रमिक हल्ला मात्रै हैन’

आइतबार, ०७ असोज २०७५, ०३ : २२ शुक्रवार
‘पचास लाख पारिश्रमिक हल्ला मात्रै हैन’

नेपाली दर्शकमाझ परिचित र प्यारो नाम हो– अनमोल केसी । उनी अहिले नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी पारिश्रमिक लिएर अभिनय गर्ने अभिनेतामा पर्छन् । बर्सेनि एउटा मात्रै फिल्म खेल्दै आएका उनले यो वर्ष चार वटा फिल्म साइन गरेको चर्चा छ । भर्खरै ‘क्याप्टेन’ फिल्मको सुटिङ सकेका उनीसँग शुक्रवारकर्मी अनिल यादवले काठमाडौं, पुरानो बानेश्वरस्थित उनकै घरमा पुगेर गरेको अन्तरंग संवाद :

यो साल तपाईं निकै व्यस्त हुनुभयो है ?
अँ, त्यस्तै भयो । दुई–तीन वटा विज्ञापन पनि साइन गरेँ । नयाँ फिल्म ‘क्याप्टेन’ आउँदैछ । त्यसलगत्तै ‘ए मेरो हजुर ३’ को सुट छ ।  मिलन चाम्सको ‘ब्याचलर बन्टी’ पनि प्लानिङमै छ ।  

वर्षमा एउटा फिल्म खेल्ने कुरा थियो । यो वर्ष त एकैचोटि चार वटा मुभी साइन गर्नुभएछ । स्तरभन्दा पनि संख्यातिर ध्यान गएको त होइन नि ? 
राम्रो प्रोजेक्टमा अफर आएकोले रिजेक्ट नगरेको हुँ तर रिलिज ग्यापिङमै हुन्छ । तीन वटा फिल्मको सुटिङ यो साल हुनसक्छ तर रिलिज एकैपल्ट हुँदैन । मेरो सालमा दुइटाभन्दा बढी फिल्म रिलिज हुन्न । यो साल ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ रिलिज हुन्छ । 

कस्तो रह्यो ‘क्याप्टेन’को सुटिङ अनुभव ?
‘फुटबल प्लेयर’को रोल गरेको छु । प्लेयर हुन स्टामिना एकदमै चाहिन्थ्यो । पिक समरमा झापाजस्तो ठाउँमा सुटिङ भएको थियो । रिंगटा लागेर त कति ढलियो, ढलियो ! 

भनेपछि खेलाडी बन्न गाह्रो रै’छ है ?
अँ, लभरब्वाई बन्नजस्तो सजिलो रै’नछ । फेरि मैले हरि खड्काजस्तो लिजेन्ड्री प्लेयरसँग ट्रेनिङ लिने मौका पाएँ । बिहानदेखि बेलुकासम्म सुटिङ हुन्थ्यो । दौडाई त्यस्तै हुन्थ्यो । रिटेक पनि त्यस्तै । कति खटियो, खटियो ! 

बलिउड मुभी पनि खेल्दै हुनुहुन्छ हैन ?
त्यो अर्को वर्ष हो । त्यो खेल्नुअघि ८–९ महिना तालिम नै लिनुपर्ने हुन्छ ।

कस्तो मुभी हो त्यो ?
लभस्टोरी नै हो । ट्रेकिङबेस्ड फिल्म हो । टे«करको कथा हो । 

त्यो फिल्ममा कसरी अफर आयो ?
उहाँहरु घरैमा आइपुग्नुभएको हो । मलाई मुम्बईबाटै स्टडी गरिरहनुभएको रहेछ । अदिति (बुढाथोकी) मुम्बईमा संघर्ष गरिरहेको छ । अदितिलाई पनि थाहा रहेछ, त्यहाँको मोडलिङ एजेन्सीमा मेरो एकखालको हल्ला भइरहेको रहेछ । सायद युट्युबले गर्दा होला । उहाँहरुले नेपालको क्रेज देखेर बलिउड मुभीका लागि खेल्ने अफर लिएर आउनुभएको हो । मौखिक सम्झौता भएको छ तर लिखित भइसकेको छैन । 

थोरै प्रसङ्ग बदलौं । अनमोल केसीले मिडियामा आउने फिल्म समीक्षालाई कसरी लिन्छ ? 
सबै रिभ्यु करेक्ट हुँदैनन् तर ९० प्रतिशत करेक्ट नै हुन्छन् । १० पर्सेन्ट चाहिँ हुँदैन । कतिपय राम्रो चिताउने हुँदैनन्, इगोमा लेख्ने गर्छन् ।  नत्र ९० प्रतिशत सही नै हुन्छन् । म फिल्म रिभ्युहरु पढिरहन्छु । रिलिज भएको मुभी कस्तो रहेछ भनेर जानकारी लिनका लागि यसले मद्दत पु¥याउँछ । 


तपाईंको पछिल्लो फिल्म ‘कृ’ रिभ्यू भएपछि धेरै फिल्म समीक्षकले अभिनयमा ग्रोथ नदेखिएको टिप्पणी गरेका थिए । सहमत हुनुहुन्छ ?
त्यो त म मान्दिनँ । धेरैले अडियन्सले मलाई ग्रोथ भएको नै भने । मलाई लाग्दैन, अहिलेको जमानामा कुनै एक्टरले यहाँ ९ महिना लगाएर सिक्स प्याक बनाउँछ र फेरि तत्कालै खेलाडी बन्नलाई तौल घटाउँछ । अब यति गर्दा पनि राम्रो रिभ्यु दिँदैनन् भने त म के भनुँ र ? म आफूलाई कहिल्यै पर्फेक्ट हुँ त भन्दिनँ तर यति भन्छु, आफूमा पर्फेक्सन ल्याउन म हरदिन प्रयास गरिरहेको छु । नेगेटिभ कमेन्ट्सहरुलाई मेटाउने कोसिस जारी छ 

अहिले तपाईंले लिने फिल्मको पारिश्रमिकले बजारमा ठूलै चर्चा कमाइरहेको छ । एउटा फिल्मको ५० लाख लिनुहुन्छ रे, सही हो ?
त्यो फेक न्युज होइन, सही नै हो । मिलन चाम्सको ‘ब्याचलर बन्टी’ र झरना थापाको ‘ए मेरो हजुर ३’बाट मैले ५० लाख नै लिएको हो । अहिलेको अवस्थामा मैले एउटा फिल्म साइन गर्दा निर्माताले इन्टरनेसनल राइट्सबाट मात्रै डेढ–दुई करोड पाइरहेको अवस्था छ । अहिलेसम्म कोही निर्माताले घाटा ब्योहोरेका छैनन् । त्यस्तो अवस्थामा उहाँहरुले मलाई मलाई ५० लाख दिनु कुनै ठूलो कुरा पनि त रहेन । 

हलिउड÷बलिउडतिर जति कलाकारको पारिश्रमिकको चर्चा हुन्छ, उति उनीहरुले तिरेको करको पनि चर्चा हुन्छ । कुन कलाकारले बढी कर ति¥यो भन्नेमा प्रतिस्पर्धै भएको सुनिन्छ । यहाँ त्यस्तो किन हुँदैन ?
अरुको त म जान्दिनँ तर मेरो केसमा मैले जुन पारिश्रमिक पाउँछु त्यो कर कटाएर नै हुन्छ । कर प्रोडक्सन हाउसले नै बुझाउने सम्झौता गरेको हुन्छु । डिरेक्ट्ली नतिरे पनि इन्टडिरेक्ट वेमा मेरो पारिश्रमिकको कर राज्यमा गइरहेको हुन्छ ।

एक्टर आफैँले बुझाउँदा झन् राम्रो हुन्थ्यो कि, छल्ने सम्भावना पनि रहन्थेन कि ?
कर भनेको तिर्नु पर्ने चिज नै हो । राज्यले कसैलाई पनि त्यत्तिकै छोड्दैन । सायद निर्माताहरुले पनि तिरिरहनु नै भएको छ । मलाई फेरि, यो कर भनेको फोटो खिचेर पब्लिसिटी गर्नु पर्ने चिज हो जस्तो पनि लाग्दैन । यो मान्छेको सामान्य र अनिवार्य दायित्व नै हो ।  

अनमोलको नजरमा सुपरस्टार हुनु भनेको के हो ?
जसको फिल्म फ्लप हुँदैन, जो ब्याक टु ब्याक हिट हुन्छ, जसले डाउनफल देख्नुपरेको छैन, ऊ नै सुपरस्टार हो । एक्टर र सुपरस्टारबीच के फरक हुन्छ भने एक्टर अभिनयले मात्रै हुन्छ भने सुपरस्टार विविध कारणले हुन्छ । ऊ अलराउन्डर हुनुपर्छ । समाजमा उसले पु¥याएको भूमिका, उसको लुक्स, उसको अभिनय सबै कारणले उसलाई सुपरस्टार बनाएको हुन्छ । 

अहिले यहाँ कतिपय तपाईंलाई पनि सुपरस्टार भनिरहेका छन् । तर तपाईंलाई आफू सुपरस्टार भइसकेँ भन्ने लाग्छ ?
लाग्दैन । केही दर्शक र पत्रकार दाजुले मलाई त्यो ट्याग दिनुभएको छ । त्यो ट्याग पाउन धेरै कुरा गर्न जरुरी छ भन्ने लाग्छ । आफूलाई जेन्युन एक्टर हो भन्ने लाग्छ । फेरि यो सुपरस्टार आफूले भनेर बन्ने चिज पनि होइन । यो अडियन्सले बनाउने चिज हो । कसैले मलाई यो टाइटल चाहियो भनेर पाइँदैन ।

भर्खरै एउटा अनलाइनको स्मारिकामा अभिनेत्री रेखा थापाले तपाईंलाई सुपरस्टार भनेर गरिने सम्बोधनमा असहमति जनाउनुभएको थियो । अनमोललाई अहिले नै सुपरस्टार भनेर नउचालौँ भन्ने उहाँको आशय थियो । यस विषयमा के भन्नुहुन्छ ?
त्यो उहाँको विचार हो तर जुन अडियन्सले मलाई ट्याग दिनुभएको छ, उसलाई मैले कसरी नभन्नू भनुँ ? मान्छेले भन्छ त म के गरुँ ? म आफूले त भनेको छैन नि !

अचेल फिल्म कत्तिको रिजेक्ट गर्नुहुन्छ ?
पहिला धेरै अफर आउँथ्यो, अचेल आउँदैन किनभने म सेलेक्टिभ छु भन्ने थाहा भइसक्यो । मकहाँ राम्रो स्क्रिप्ट नबोकी आउने आँट गर्नै छाडिसके । 

कस्तो स्क्रिप्टले छुन्छ तपाईलाई ?
‘वन लाइन’मा त जसले पनि राम्ररी नै सुनाउँछ । पूरै पढेपछि हो झुर लाग्ने । म विशेषगरी क्यारेक्टर र फिल्मभित्रका डायलगमा ध्यान दिन्छु । मैले सुरुसुरुको फिल्म गर्दा आफ्नो क्यारेक्टरमा फरकपन दिने चाहना नराखेकै हो । प्रियंका चोपडाले पनि सुरुमै ‘मेरी कोम’ अर्थात् सलमान खानले सुरुमै ‘बजरंगी भाइजान’जस्तो फिल्म गरेको भए सायद आजजस्तो चर्चा हुँदैनथ्यो होला । त्यसैले पहिला आफूलाई चिनाउने हो, त्यसपछि मात्र एक्सपेरिमेन्ट गर्नुपर्छ भन्छु । 

मतलब, पहिला बजारले जे खोज्छ त्यो दिने, त्यसपछि बजारलाई डो¥याउने भन्न खोज्नुभएको हो ? 
हो । आफ्नो मार्केट बनाइसकेपछि नै हो, एक्सपेरिमेन्ट गर्ने । सुरुमै एक्सपेरिमेन्ट ग¥यो भने आफैँ एक्सपेरिमेन्ट भइन्छ ।  

तपाईं अभिनेता नबनेको भए के बन्नुहुन्थ्यो भन्ने लाग्छ ?
स्कुलमा कमजोर विद्यार्थी थिएँ । फेल नभए पनि कम माक्र्स लिएर पास हुन्थेँ । म्युजिकमा रुचि थियो । स्कुल छँदै ब्यान्ड चलाउँथे । सायद म्युजिसियन हुन्थेँ होला । 

तपाईं पहिलो तलब र कमाई कति हो ?
पहिलो फिल्म ‘होस्टेल’ नै हो पहिलो काम । त्यतिबेला मैले डेढ लाख रुपैयाँमा फिल्म साइन गरेको थिएँ । 

पहिलो मुभी डेढ लाखमा साइन गरेका अनमोलको रेट सातौं फिल्मसम्म आइपुग्दा ५० लाख पुग्यो है ?
हजुर । त्यस्तै भन्नुपर्ला (हाँस्दै) । 

तपाईंले अघि मेरा सबै निर्माता नाफामा गए भन्नुभयो तर केही निर्माता व्यापारबाट पूरै सन्तुष्ट नभएको सुनिन्छ नि । नाम नभनौं तर कतिपयको त लगानी पनि उठेन रे !
मेरो मार्केटमा कम चलेको फिल्म भनेको ‘गाजलु’ हो । ‘गाजलु’को निर्माताले त्यही फिल्म चलेपछि गाडी किनेको छ । फिल्मबाट कमाई भएन भन्दा अब म कसरी पत्याउँ ? 

तपाईंका डेब्यु निर्देशक हेमराज बिसीसँग तपाईँले दुई फिल्म खेल्नुभयो ‘होस्टेल’ र ‘जेरी’ । ट्युनिङ राम्रै मिलिरहेको थियो । तेस्रो फिल्म ‘ग्याङस्टर ब्लुज’मा पनि उहाँ तपाईलाई खेलाउन चाहनुहुन्थ्यो तर तपाईले खोजे जति पारिश्रमिक दिएर फिल्मको लगानी उठ्नेमा ढुक्क नभएपछि तपाईलाई फिल्ममा नलिएको चर्चा सुनिन्छ नि ?
उहाँले मलाई नलिएको होइन, मैले नगरेको हो । स्क्रिप्ट मन नपरेर नगरेको हो । नत्र फिल्म त साइन नै गरिसकेको हो नि ! तर पछि साइनिङ अमाउन्ट रिर्टन गरेर छोडेको फिल्म हो । यसको अर्थ गलत नलगोस् किनभने उहाँ गुड मेकर हो । फ्युचरमा म उहाँसँग काम गर्छु ।

अभिनेता भइसकेपछि तपाईं सबैभन्दा बढी के कुरा मिस गर्नुहुन्छ ?
फ्रिडम । साथीहरुसँग खुलेर रमाउन पाइँदैन । बाहिर हिँड्दा आफू भएर हिँड्न सकिँदैन । नयाँ–नयाँ फिल्म हेर्न पनि युट्युब कुर्नुपर्छ । हलमै गएर हेर्न गाह्रो हुन्छ । 

किन नि ? 
फिल्म हेर्न जाँदा सेल्फी बढी खिच्नुपर्छ । पहिलाजस्तो पर्सनल लाइफ छैन । सबैले घुरेर हेर्दा खुलेर घुम्ने वातावरण नहुने रै’छ । आफूलाई धेरै प्रिटेन्ड गर्नुपर्दो रै’छ । त्यो भन्दा बरु म घरैमा बस्न रुचाउँछु । बाहिर त्यति देखिन मन लाग्दैन । खासगरी मेरो चाहना फिल्म खेल्ने त हो तर फेमस हुने कहिल्यै थिएन । मलाई अहिले पनि फिल्म हिट होस् तर मान्छेले मलाई नचिनिदिए हुन्थ्यो भन्ने लाग्छ । कमाई मात्रै गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । सुपरस्टार भन्दा अर्डिनरी मान्छे भएर जिउन पाए हुन्थ्यो भन्ने लाग्छ । 

यो फिल्म क्षेत्रको के कुराले चित्त दुख्छ ?
नचाहिने दुस्मन कमाइने रै’छ । सायद म नर्मल अडिनरी मान्छे भएको भए कमाउँदिन थिएँ होला तर कलाकार भएपछि सबै राम्रो चिताउने मान्छेमात्रै पाइँदैन रै’छ । यसलाई कसरी तल झारौँ भनेर सोचिरा’का हुँदारै’छन्, प्रतिस्पर्धीहरु । आरिस गर्ने मान्छेहरु बढ्ने रै’छ । यस्तो कुराले चित्त दुख्छ । 

कस्तो कुराले खुसी बनाउँछ त ?
जहाँ जाँदा पनि रोयल ट्रिटमेन्ट पाइन्छ, रेस्पेक्ट पाइन्छ । बाटोमा ट्राफिकले रोक्दा पनि केही गर्नुपर्दैन, हेल्मेट खोल्दिए पुग्छ । त्यसपछि चिन्नुहुन्छ । यही विश्वास त हो, कलाकारले कमाउने । 

प्रायः बाइकमै हिँड्नुहुन्छ है तपाईं ? 
हो ।  काम पनि छिटो हुन्छ । काठमाडोैँमा गाडी चढेर त एउटा ठाउँ पुग्न पनि दुई घन्टा लाग्छ । 

लाखौं फ्यानका धनी अनमोल केसी काठमाडौं बाइकमा घुम्छन् तर दर्शकलाई थाहा हुँदैन है ?
अँ । खासगरी मसँग तीन वटा बाइक छ । एउटा एकदमै पुरानो बाइक छ जुन म फलफूल पसल, जिमसिम जाँदा प्रयोग गर्छु । ठिक्क, सुहाउँदो भएर हिँड्नलाई अर्को बाइक छ । अनि सुपरस्टार अर्थात् हिरोजस्तो भएर हिँड्नलाई अर्को बाइक छ । समय र परिस्थितिअनुसार बाइक प्रयोग गर्छु । 

तपाईंको कमजोरी के हो ?
म खासै डिमान्ड गर्दिनँ । म सबैलाई बुझ्न खोज्छु । र, त्यो चिजको मान्छेले फाइदा लिन खोज्छन् । म आफ्नो स्टारडम देखाउन चाहन्नँ । ‘डाउन टु अर्थ’ छु । कहिलेकाहीँ त्यही कमजोरी भइदिन्छ । 

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ? 
म पोजिटिभ छु । स्पिरिच्युअल छु । पूजा गर्न रुचाउँछु । त्यसैले मलाई नेगेटिभ न्युजले त्यति असर गर्दैन । 

पाँच वर्षको अभिनय यात्रापछि एक्टर हुनु भनेको के रहेछ भन्ने लाग्छ ?
एक्टर हुनु भनेको लाइफ बुझ्नु रहेछ । जसले लाइफ बुझेको हुन्छ, त्यो नै राम्रो एक्टर हो । जसले दुःख भोगेको छैन, उसले दुःखको एक्टिङ कसरी गर्छ ? जसले राम्रोसँग जीवनका विविध भोगाइहरु भोगेको छ, उसैले राम्रो अभिनय गर्न सक्छ । 

युवतीहरुले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
खुसी लाग्छ । 

कस्तो रेस्पोन्स दिनुहुन्छ ?
सबैलाई थ्याङ्क यु भन्दिन्छु । भर्खरै बुटवलमा कन्सर्ट भएको थियो । पानी परेर पुरै हिलैहिलो थियो । तैपनि पैसा तिरेर अडियन्स मलाई हेर्न आउनुभएको थियो । खुसी लाग्छ, यो सब देख्दा । 

एक्टर भइसकेपछि तपाईंले कुनै युवतीलाई प्रस्ताव राख्नुभएको छ ?
छैन । अहिले म लभको चक्करमा लाग्नु मेरा लागि राम्रो होइन । अहिले म सबैको हुनुपर्छ क्या ! त्यसैले म कोही  एकजनाको भएर धेरैको मन टुक्राउन चाहन्नँ । 

भनेपछि अहिले तपाईं सिंगल ?
हो, म सिंगल छु । 

यसो भन्दा अडियन्सले पत्याउँछन् त ?
रिलेसनमा भएको भएँ कहीँकतैबाट न्युज लिक भइहाल्थ्यो नि ! यति सानो ठाउँ छ, लुकाएर लुक्ने कुरै हुन्न (हाँस्दै) ।  

तपाईंको प्रायः फिल्मका हिरोइनसँग नाम जोडिन्छ । साम्राज्ञी, आनादेखि अदितिसम्म नाम जोडियो । यसको कारण के हो ? 
खोई ? आफैँ जोडिन्छ तर प्रमोसनमा हेल्प गर्दोरै’छ । अहिले फेरि जोसँग पनि नाम जोडिने ट्रेन्ड नै रै’छ । एकछिनको लागि जोडिनु त राम्रै हो नि (हाँस्दै) । त्यसैले म नेगेटिभ सोच्दिनँ । बरु हिरोइनहरुलाई आफ्नो फेमिलीमा गाह्रो पर्न सक्छ । मेरो फेमिलीले त कुरा बुझ्छ ।

अर्को कुरा, तपाईंको कुनै पनि फिल्ममा एक्ट्रेस नदोहोरिनुको कारण के हो । कतै नयाँ–नयाँसँग काम गर्ने तपाईंकै चाहनाले त होइन ? 
होइन तर खोई निर्माताले नै न्यु फेस खोजिरहनुभएको हुन्छ । यसमा मेरो कुनै संलग्नता छैन ।

को–एक्टरको सेलेक्सनमा तपाईंको भूमिका हुन्न ?
होइन, त्यो त हेर्छु तर नयाँ नै हुनुपर्छ भन्ने लाग्दैन ।

अहिलेसम्म आफूले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
जति ट्राई गर्दा पनि मैले मेरो ड्याड–ममलाई मिलाउन सकिनँ । अलग भएरै छाड्नुभयो । सायद यो नै हो मैले चाहेर पनि गर्न नसकेको अधुरो काम । 

दर्शकमाझ तपाईं लभस्टोरी फिल्मबाटै चिनिनुभयो । प्रेमप्रति तपाईंको आफ्नो बुझाई के छ ? 
मेरा फिल्मको डायलगजस्तै छ, ‘लभ इज लाइक अ चाइनिज मोबाइल विथ नो ग्यारेन्टी ।’ बच्चै पाएर त मान्छेहरु डिभोर्स गर्छन् । एकछिनको लभको के भरोसा !

आफ्नै फेमिलीलाई रिलेट गरेर पनि यस्तो धारणा बनेको हो ?
त्यो पनि हो । बाहिरको देखेर पनि हो । त्यसैले म भन्छु, मान्छेले अरुलाई भन्दा पनि आफूलाई माया गर्नुपर्छ । मान्छेहरु अरुलाई बुझ्दाबुझ्दै आफ्नो लाइफ खेर फाल्छन् क्या ! तर पहिला अरुलाई होइन, मान्छेले आफूलाई बुझ्न जरुरी छ । 

तपाईंको जीवनमा ड्याडी भुवन केसीको कन्ट्रोल कत्ति छ ?
कन्ट्रोलभन्दा पनि बढी गाइडेन्स छ । सायद उहाँ नभइदेको भए मलाई निकै गाह्रो हुन्थ्यो । 

अहिलेसम्म ड्याडीले नचाहेको तर तपाईले साइन गरेको कुनै फिल्म छ त ?
छैन । फिल्म साइन गर्दा उहाँ र मेरो म्युचअल अन्डरस्ट्यान्डिङमै गर्छौं । हामी दुईलाई चित्त नबुझ्ने चिज नराम्रो नै हुन्छ । मैले सुरुमा न्यु जेनरेसनलाई फोकस गरेर फिल्म खेलेँ । उहाँले मासमा जानलाई सबैले रुचाउने फिल्म खेल्नुपर्छ भन्नुभयो । अहिले म त्यसलाई ध्यान दिइरहेको छु । 

नेपालमा स्पोट्र्स जान्रको मुभी नचलिरहेको बेला तपाईंले फुटबलको स्टोरीमा आधारित ‘क्याप्टेन’ खेल्नुभयो । यस्तो रिस्क किन ? 
च्यालेन्ज त लिनैपर्छ । च्यालेन्जलाई स्वीकार गरेर जित भयो भने ट्रेन्ड सेट हुन्छ । र, मलाई ट्रेन्ड सेटर हुन मन छ । 

निकट भविष्यमा गर्न मन लागेको कुनै रोल ? 
मलाई हिस्टोरिकल मुभी गर्न मन छ । अझै कृष्णको रोल गर्न पाए हुन्थ्यो भन्ने छ । 

भनेपछि अनमोललाई कृष्णको रोल गर्न मन छ ? 
(हाँस्दै) हेडलाइन्स नै यही आउने हो कि क्या हो ! 

त्यस्तो होइन तर कृष्ण भन्नेबित्तिकै गोपिनीको कुरा आउँछ नि त ?
त्यो चैँ तपाईं आफैँ अन्दाज गर्नु न । म त्यस्तो गोपिनी लिएर त हिँड्दिनँ तर लेडिज फ्यानहरु धेरै हुनुहुन्छ । 

सेलिब्रिटीका विषयमा बन्ने गसिपहरुलाई कसरी लिनुहुन्छ ? 
राम्रै हो, यसले फाइदै गर्छ । आफ्नोबारे चर्चा चलिरहनु त राम्रै कुरा हो नि (हाँस्दै) । आफूले केही बोलिएको हुँदैन, अरुले आफैँ लेखिदिनु त राम्रै हो नि ! गसिप भनेको अर्डिनरी मान्छेको बन्दैन, चिनिने मान्छेकै त बन्ने हो ! इट्स अ पार्ट अफ लाइफ, पार्ट अफ वर्क । 
 

Leave A Comment