लाजमर्दो अवार्ड

मङ्गलबार, ०९ असोज २०७५, १२ : २८ शुक्रवार
लाजमर्दो अवार्ड

एउटा उपदेश खुब सुनिन्छ, ‘जे छ बाँडीचुँडी  खाएको राम्रो ।’ अन्त त थाहा भएन तर नेपाली फिल्म क्षेत्रमा वितरण हुने अवार्डमा यो उपदेश ठ्याक्कै  कार्यान्वयन भइरहेको छ । 

नपत्याउनु भएको ?
एउटा कार्यक्रम काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको थियो, अर्को जापानको टोक्योमा । एउटा एलजी सिने सर्कल अवार्ड, अर्को सूर्य इन्टरनेसल अवार्ड । 

दुवै अवार्डको क्षेत्र, विषय र विधा उही थियो तर नतिजा आयो फरक–फरक । नतिजा फरक भए पनि दुवै आयोजकको नीति उही रह्यो– ‘बाँडीचुँडी खाऔँ ।’

संसारमै फिल्म अवार्ड मूलतः दुई कारणले प्रभावित देखिन्छन् । एउटा कलामात्रै हेरेर, अर्को व्यापारिक सफलता तौलिएर तर ‘एलजी सिने अवार्ड’को नतिजा त उदेकलाग्दो नै देखियो । समीक्षा र व्यापार दुवै हिसाबले खस्किएको ‘तिमीसँग’ २०७४ सालमा रिलिज भएका फिल्महरुमध्येमा सबैभन्दा उत्कृष्ट ठहरियो । उता जापानमा भने ‘म यस्तो गीत गाउँछु’ उत्कृष्ट फिल्म बन्यो । 

दुई अवार्डबीच कतिसम्म दुरी देखियो भने जापानमा उत्कृष्ट ठहिरएको ‘म यस्तो गीत गाउँछु’ यता एलजी सिने सर्कलको उत्कृष्ट सात फिल्मको सूचीमा समेत परेको थिएन । अब आफैँ अनुमान गर्नुस्, नेपाली फिल्म अवार्डहरुको हालत कस्तो रहेछ ! 

प्रतिस्पर्धामा थोरै अंकको फरकले एउटामा उत्कृष्ट भएको फिल्म अर्कोमा उत्कृष्ट नहुनु स्वभाविक हो तर एउटा अवार्डमा वर्षकै उत्कृष्ट ठहरिएको फिल्म अर्को अवार्डमा उत्कृष्ट सातको मनोनयनमै नपर्ने पनि हुन्छ त ? 

हुन त यी अवार्डको मनोननयन नै विवादस्पद थिए । कथावस्तु, प्रस्तुति र अभिनयका हिसाबले वर्षभरि रिलिज भएकामध्ये बढी अब्बल ठानिएका फिल्म ‘तान्द्रो’, ‘देश खोज्दै जाँदा’, ‘गाजाबाजा’ र  ‘घामपानी’ उत्कृष्ट सात फिल्मको मनोनयन सूचीमा समेत पर्न सकेनन् । जति परेका थिए, सबै समीक्षागत हिसाबले कमजोर फिल्म थिए । 

कम्तीमा फिल्मको प्रस्तुति र गुणस्तरलाई बिर्सिएर व्यापार र चर्चाकै आधारमा पुरस्कारको मापन हुँदा पनि ‘तिमीसँग’भन्दा अगाडि ‘शत्रुगते’, ‘६क्कापञ्जा–२’ नै आउँथे । 

पुरस्कार कमजोर धरातलमा टेकेर दिएको प्रमाण अन्त खोज्न जानै परेन । आयोजकले नै दिए । उत्कृष्ट फिल्मको अवार्ड पाएको ‘तिमीसँग’ले फिल्मको मुटु मानिने निर्देशन र छायांकन दुवै विधामा अवार्ड पाएन । 

उत्कृष्ट निर्देशक र छायांकनको अवार्ड फिल्म ‘भुँइमान्छे’ले पायो । र, यो पनि गतिलो फिल्म भने हैन । समीक्षा र व्यापार दुवै हिसाबले कमजोर फिल्म थियो । 

२०७४ सालमा रिलिज भएका फिल्मको गुणस्तर हेर्दा ‘तान्द्रो’लाई बिर्सन सकिन्न । अभिनेता दयाहाङ राईले यो फिल्ममा गरेको अभिनय उनको करिअरकै उत्कृष्टमध्येमा पर्छ तर यो पुरस्कारको दौडमा उनी हराए । ‘तिमीसँग’मा सहायक अभिनेताको भूमिका निभाएका नाजिर हुसेन एलजी सिने अवार्डमा उत्कृष्ट अभिनेता ठहरिए । 

आयोजकले सार्वजनिक गरेको उत्कृष्ट सात अभिनेताको सूचीमा परेका अन्य दुई अभिनेता पुष्पल खड्का र प्रदीप खड्कालाई एक–एकवटा विधामा पुरस्कार दिइयो । पुष्पलले ‘मंगलम’ फिल्मबाट उत्कृष्ट क्रिटिक्स अवार्ड पाए भने प्रदीपले ‘लिलिबिली’ फिल्मबाट वर्षकै पपुलर अभिनेताको अवार्ड पाए । यति हुँदा पनि आयोजकले दयाहाङको अभिनयलाई सम्झिएन । 

‘बाँडीचुडी नीति’को योभन्दा अनुपम उदाहरण के हुन सक्छ र ?

एलजीमा प्रदीप र प्रियंका कार्की पपुलर अभिनेता÷अभिनेत्री भए भने उता जापानमा अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाह भए । यही नतिजाले देखाउँछ– हामीकहाँ प्रतिस्पर्धात्मक विधा मात्रै नभएर पपुलर विधामा पनि आयोजकै पिच्छेको हेराई फरक छ ।

जापानमा भएको सूर्य इन्टरनेसनल अवार्ड विधागत हिसाबले प्रस्ट अवार्ड होइन । ६ संगीत र ६ फिल्मका विधा राखेर जम्मा १२ विधामा अवार्ड गरेको छ । निर्णयको आधार पनि अनलाइन भोटिङ सिस्टम भनिएको छ । विजेताले कति भोट ल्याएर उत्कृष्ट ठहरिए ? सार्वजनिक गरिएको छैन । 

नामले सूर्य इन्टरनेसनल अवार्ड भनिए पनि यो कार्यक्रमको मुख्य ध्येय केही पपुलर कलाकारलाई जापान लगेर स्टेजमा चढाउने र दर्शकलाई टिकट कटाएर हेराउने मात्रै देखियो । यसलाई पुष्टि गर्न अवार्डमा राखिएका विधाहरु हेरे पुग्छ । 

संगीत र फिल्म दुवै विधामा अवार्ड बाँड्दा कलाकारलाई मात्रै फोकस्ड गरिएको छ । न त फिल्ममा महङ्खवपूर्ण पक्ष मानिने पटकथा, छायांकन, सम्पादनका विधा यो अवार्डमा समावेश भए न त संगीतमा संगीतकार, गीतकार आदि विधा समावेश थिए । 

बरु सपोर्टिङ कलाकार भने दुई विधामा राखिएको थियो । प्राविधिकको विधा नै छैन । त्यसैले यो अवार्डको सूचीमा पर्ने कार्यक्रम नै हैन ।

निर्णायक मण्डलमा जुरी संख्या जोर भयो भने मत विभाजन भएका बेला नतिजा निकाल्न असहज हुनसक्छ । त्यसैले जुरी प्रायः बिजोर नै राख्ने गरिन्छ तर सिने सर्कल अवार्डको जुरीमा दुई जनालाई मात्रै चिनाइयो । ती थिए पत्रकार कृष्ण भट्टराई र संगीतकार महेश खड्का । पत्रकार भट्टराई फिल्मसम्बन्धी समीक्षा लेख्ने समीक्षक होइनन् । खड्का संगीत सिर्जना गर्छन् तर उनीहरुले नै फिल्मको निर्देशन, सम्पादन, छायांकन, अभिनय लगायत विधामा उत्कृष्ट छानिदिए ।

प्रायः नेपाली फिल्म अवार्डमा वितरण हुुनुअघि नै नतिजाका विषयमा विजेता जानकार हुन्छन् । जापान र एलजीले यो प्रथालाई कायमै राखे । जो–जो कलाकार जापान गए, उनीहरु एलजी अवार्डमा पुरस्कृत भएनन् । जो–जो एलजीमा गए, उनीहरु जापानमा पुरस्कृत भएनन् । जापान जानलाई पक्का भइसकेका अभिनेता प्रदीप खड्का अन्तिम समयमा एलजी अवार्डका लागि बसे । 

किन बसे यतै ? उनले उत्कृष्ट पपुलर अभिनेताको अवार्ड पाएपछि प्रस्ट भयो । 

अवार्ड उपस्थितिका आधारमा भन्दा पनि कामका आधारमा पाउने सम्मान हो । यो निष्ठा र योग्यताका आधारमा दिइने सम्मान हो तर निजी फिल्म अवार्डहरुले यसो गरेको देखिन्न । 

अवार्ड बाँड्ने आयोजकले त गति छाडेछाडे, अवार्ड लिनेको हालत पनि यो भन्दा फरक देखिन्न । औकात बाहिरको पुरस्कार थाप्न होडबाजी देखिन्छ कलाकारमाझ । जसले अवार्ड पाएको हुन्छ, उसलाई कुन आधारमा अवार्ड पाउनुभयो होला ? भनेर सोध्दा ‘खै आयोजकलाई सोध्नुस्’ भन्ने उत्तर आउँछ प्रायः ।

अवार्डकाे नौटंकी
भारतको चर्चित ‘जि सिने अवार्ड’ नेपालमा हुने चर्चा चलिरहेका बेला नेपाली फिल्म अवार्डहरु भने विदेशतर्फ आकर्षित भइरहेका छन् । 

सबै आयोजकले विदेशमा अवार्ड आयोजना गर्नुको कारण नेपाली फिल्मको प्रवद्र्धन र बजार विस्तार रहेको बताउँछन् तर त्यसको ठोस नतिजा भेट्न निकै मुस्किल पर्छ । 

नेपालमा त अवार्ड फेसनकै रूपमा विकास भइरहेको छ । फिल्म र संगीतमा गरी तीन दर्जन बढी अवार्ड भइरहेका छन् तर विवादित नबनेको अवार्ड कार्यक्रम भेट्न गाह्रो छ । 

अचेल अवार्डलाई कलाकारको ‘कदर’को रूपमा हेरिएको पाइँदैन । ‘कदर’को ‘क’ हटिसकेजस्तो छ, ‘दर’ले प्राथमिकता पाइरहेको छ । नतिजा देख्दा लाग्छ, अवार्डको वितरणभन्दा पनि खरिद–विक्री भइरहेको छ । 

फिल्म अवार्डहरु निष्पक्ष लाग्न छाडेपछि अवार्ड नलिने घोषणा गरेका अभिनेता दीपकराज गिरी विदेशमा अवार्ड कार्यक्रमको आयोजना गर्नुको कुनै विशेष कारण नभएको बताउँछन् । 

‘त्यहाँ आयोजक प्रशस्त मात्रामा पाइन्छन् र उनीहरु जति पनि पैसा खर्च गर्न तयार हुन्छन्, त्यसैले त्यताको अयोजक खोजेर अवार्ड कार्यक्रम विदेशमा गरिन्छ,’ उनले भने, ‘फेरि विदेशमा कार्यक्रम भएपछि घुमघाम गर्न र फ्रेस हुन पनि त पाइयो । ’

नेपालमा कतिपयले संस्थागत र कतिपयले व्यक्तिगत ढंग (कम्पनीमार्फत)ले अवार्ड आयोजना गरिरहेका छन् । चलचित्र प्राविधिक संघको नेफ्टा फिल्म अवार्ड र नेपाल चलचित्र संघको नेम्पा पपुलर फिल्म अवार्ड विदेशमा हुने गर्छ । नेफ्टा अवार्ड हङकङ, मलेसिया, कतार र दुबईमा भइसक्यो । 

नेम्पा अवार्ड भर्खरै अमेरिकामा सम्पन्न भयो तर नेपालबाट एक दर्जनमात्रै कलाकार लगियो । उक्त अवार्ड अमेरिकामा रहेका नेपालीहरुको संगठनको आयोजनामा अगस्त ३१ देखि सेप्टेम्बर २ सम्म भएको ‘नेपाली नेसनल कन्भेन्सन २०१८’मै नेम्पा पपुलर फिल्म अवार्ड २०१८ वितरण गरिएको थियो । विदेशमा भएका अवार्डमध्ये नेफ्टा अवार्ड अलि व्यवस्थित देखिन्छ  । तापनि विवादरहित भने छैन । 

‘हामीले विदेशमा अवार्ड गर्दा नेपाली फिल्मको प्रवद्र्धन र विकासमा टेवा पुग्ने गरी नै गर्छौं,’ चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने, ‘त्यसैले अघिल्लो वर्ष हामीले गरेनौं । दुई वर्षको एकैपल्ट गर्ने तयारीमा छौं । गरेपछि अरुले जसरी झारो टार्ने तरिकाले गर्दैनौं ।’

फिल्म प्राविधिक मनोज केसी विदेशमा अवार्ड गर्नेमध्येमा कहलिएका आयोजक हुन् । उनी चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष पनि हुन् । प्राविधिक संघमा रहँदा संघबाट अवार्ड गरेका उनी पदावधि सकिएपछि व्यक्तिगत रुपमा अवार्ड गर्न सुरु गरे । दुईपल्ट लगातार युएईमा म्युजिक अवार्ड गरेका उनले हालै मलेसियामा ‘तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड’ आयोजना गरे । 

यसअघि इन्टरनेसलन नेपाली फिल्म एकेडमीको आयोजनमा ‘इन्फा फिल्म अवार्ड’ हङकङमा र ‘खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा भएका थिए । 

तर जसले जुन देशमा अवार्ड गरे पनि त्यसको विश्वसनीयता भने छैन भन्ने हालै जापानमा आयोजित अवार्डले देखाएको छ । आयोजकले निम्त्याएका पाहुनाहरुलाई जापानले पत्याएन । यसले आयोजकको साख नाङ्गियो भने निम्तालुको मुहार रातो भयो ।

साख बिनाका पुरस्कार

निजी अवार्ड आयोजकहरुले अवार्डमा सहभागी हुनका लागि फिल्महरुलाई दर्ताका लागि आह्वान गर्ने गर्छन् तर क्रिटिक्स अवार्ड प्रदान गर्दै आएको चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञश यो प्रक्रियालाई त्यति ठीक ठान्दैनन् । 

‘अवार्ड लिनु र दिनु आ–आफ्नो अधिकारको कुरा हो,’ उनी भन्छन्, ‘तर, फिल्मको मूल्यांकन हुन पाउनुपर्छ ।’ उनी विश्वका ठूला अवार्ड ओस्कार र कान्सको उदाहरण दिन्छन् । भन्छन्, ‘यी अवार्डमा निर्मातासँग साक्षात्कार हुनु पर्दैन । प्रदर्शन भएका फिल्म स्वतः प्रतिस्पर्धामा हुन्छन् तर छिमेकी मुलुक भारतमा दर्ता गर्ने ट्रेन्ड छ । यसलाई नेपालमा अनुसरण गरिएको छ ।’

उनी नेपालको सन्दर्भमा अवार्डले मौलिक स्वाद बोकेको नेपाली फिल्मलाई त्यति प्राथमिकता नदिएको बताउँछन् । ‘हामीकहाँ अवार्डले त्यस्ता फिल्मलाई पनि प्राथमिकता दिने गर्छ, जसको अरू कुनै भाषामा उल्था गर्दा त्यो नेपाली फिल्म हो भन्ने महसुस हुँदैन,’ उनले भने ।

‘जुरी नै फेयर हुन्नन्’
दीपकराज गिरी,अभिनेता
मैले पहिले अवार्ड लिएँ । अहिले लिन छाड्नुको कारण भनेको नेपालमा हुने अवार्डको विवाद नै मुख्य कारण हो  । अवार्डको गरिमा घट्नु र सधैँ थरीथरीका विवादमा फँस्नुको कारण जुरी हुन् । जुरीका सदस्यहरु व्यक्तिगत इन्ट्रेस्टका कारण फेयर भएर जज गर्दैनन् र विवादास्पद नतिजा निकाल्छन् । 

विदेशमा अवार्ड कार्यक्रमको आयोजना गर्नुको कुनै विशेष कारण छैन । त्यहाँ आयोजक प्रशस्त मात्रामा पाइन्छन् र उनीहरु जति पनि पैसा खर्च गर्न तयार हुन्छन् । त्यसकारण त्यताको आयोजक खोजेर अवार्ड कार्यक्रम विदेशमा गरिन्छ । फेरि विदेशमा कार्यक्रम भएपछि घुमघाम गर्न पनि पाइयो, फ्रेस हुन पाइयो ।

 

‘अवार्डको गलत प्रयोजन भइरहेको छ’
राजकुमार राई
पूर्व अध्यक्ष, चलचित्र विकास बोर्ड

अहिले देश तथा विदेशमा जति पनि नेपाली फिल्म अवार्डहरु भइरहेका छन्, म त लगभग यिनीहरुको औचित्य सकिएको देख्छु । जति संख्यामा फिल्म बनिरेका छन्, त्यसको तुलनामा बढी अवार्ड आयोजना भइरहेका छन् कि भन्ने मलाई लाग्छ । 

राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने अथवा नेपाली सिनेमाको विकास गर्ने भन्दा पनि व्यक्तिगत व्यापार–व्यवसाय गर्ने हिसाबले अवार्ड आयोजना भइरहेका छन् । जब अवार्डजस्तो गरिमामय कामले व्यवसायको रुप लिन्छ, त्यसपछि यो कसरी फेयर हुन सक्छ ? केही प्रतिशत फेयर होलान् तर बढी त फाइदाकै कुरा हुन्छ । विदेशमा अवार्ड हुनु नराम्रो होइन किनभने यसले नेपाली भाषा, संस्कृति र फिल्म बजार विस्तार गराउन मद्दत गर्छ । तर हामीकहाँ हुने अवार्ड भने त्यतातर्फ उन्मुख देखिएनन् । अवार्डको नाममा व्यवसाय गर्नेतिर नै बढी उन्मुख भएको देख्छु । यसले सधै असल सर्जकको अपमान गर्छ । 

संसारमा कहीँ पनि पुरस्कार सतप्रतिशत स्वीकार्य त हुँदैन तर कम विवादित हुनुपर्छ । नेपालमा भने विवाद मात्रै होइन लाजमर्दो नै हुन्छ । अवार्डको गलत प्रयोजन भइरहेको छ । नजिकका मान्छेलाई खुसी बनाउने, पैसा कमाउनेदेखि भिसा लगाइदिनेजस्ता काममा बढी केन्द्रित देखिन्छ । यो डरलाग्दो विकृति हो । यसले नेपाली फिल्म क्षेत्रको उन्नति गर्दैन । 
 

 

Leave A Comment