‘मृत्यु’को खुला व्यापार

बिहिबार, ११ असोज २०७५, ०२ : ३७ शुक्रवार
‘मृत्यु’को खुला व्यापार

दोब्बर बढी उमेरका छिमेकीको प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड आक्रमणमा परेकी संगीता दासको दुई साता लामो संघर्ष खेर गयो । घरमै सुतिरहेका बेला उनीसँगै घाइते भएकी बहिनी भाग्यमानी रहिछन् । दुई साता लामो संघर्षबाट संगीताले विश्राम लिए पनि धन्न सुस्मिता दासको अवस्था खतरामुक्त छ ।
संगीताको त्रासद मृत्युको शोक उस्तै रहँदा कावासोती नगरपालिकामा २७ वर्षिया बशन्ती परियारमाथि एसिड आक्रमण भयो । उनी भरतपुर अस्पतालमा संघर्षरत छिन् ।

करिब दुई वर्षअगाडि सीमा बस्नेत र संगीता मगरमाथि एसिड आक्रमण भएको थियो । धन्न दुई वर्ष अगाडिको घटनामा कसैको ज्यान गएन तर सीमा बस्नेत र संगीता मगरझैँ भाग्यमानी हुन सकिनन्, संगीता दास । एसिडले गलाएको उनको ज्यानले साथ छाड्यो । 

सम्बन्धमा आएको सामान्य उतारचढावको आवेगमा सहजै फेला पर्ने खतरनाक रसायन एसिड हतियार बन्ने गरेको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको झोँक वा प्रेममा धोका दिएको आवेग सबैमा हतियार बन्ने गरेको छ एसिड । जसको सिकार बनिन् संगीता । 

आवेगमा अबोध बालकसमेत एसिडको सिकारमा पर्ने गरेका छन् । असोजमा ६ महिने बालक मुस्कान बयकको मृत्युको कारण एसिड नै देखिएको थियो । पारिवारिक झगडाको रिसमा काकीले उनलाई एसिड खुवाउँदा संसार पनि राम्रोसँग देख्न नपाउँदै बालकको ज्यान गएको थियो । यसैले देखाउँछ एसिडको कहर । एसिडको प्रयोगबाट गम्भीर आपराधिक घटना भइरहे पनि नियन्त्रणमा जिम्मेवार पक्ष गम्भीर देखिएका छैनन् ।

सन्तपुरको घटनापछि एसिडको सहज खरिदबारे राष्ट्रिय बहस भएको थियो । ल्याब र रसायनसम्बन्धी सामग्री बिक्री गर्ने पसलबाट सहजै खरिद गर्न सकिने एसिडको बिक्री नियन्त्रण गर्न अपनाउनुपर्ने विधिबारे गृह मन्त्रालयले समेत चासो देखाएको थियो तर चासोले मूर्त आकार लिन सकेन । सामान्य सामग्रीझँै एसिडको बिक्री भइनै रह्यो र भई नै रहेको छ । जसको परिणाम हरेक वर्ष सीमाहरु एसिडको आक्रमणमा परिरहेका छन् । 

एसिड ल्याबमा हुने परीक्षणमा प्रयोग हुने सामान्य रसायन मात्रै हैन, यसको दुरुपयोगबाट व्यक्तिको मृत्युसमेत हुन्छ । त्यसैले यो खतरनाक हतियार पनि हो । एसिड आक्रमणका अधिकांश घटना महिलामाथि हुने भएकाले यो रसायन महिला अस्मितासँग समेत जोडिएको छ । 

अहिले जसरी सहजै रुपमा एसिडको बिक्री भइरहेको छ, त्यसमा अंकुश लगाउन आवश्यक छ । यसको आयातमा निश्चित मापदण्ड अपनाउँदै बिक्रीमा समेत कडाई गर्न आवश्यक छ । 

एसिड आयात र बिक्रीको अवस्था यस्तै हुने हो भने आक्रमणबाट ज्यान गुमाउने संगीता दासहरुको संख्या बढ्नेछ । आक्रोशको सिकार भएर सुन्दरता गुमाउने संगीता बस्नेतहरुको सख्या बढ्नेछ । त्यसैले एसिडलाई सामान्य झोलको रुपमा लिने प्रवृत्तिको अन्त्य गरी आयात र बिक्रीमा कडाई गर्न ढिला भइसकेको छ । मृत्युको खुला बिक्रीको नियन्त्रणमा गृह मन्त्रालय गम्भीर होस् । 
 

Leave A Comment