पिरामिड योजना

बिहिबार, ११ असोज २०७५, ०२ : ४४ प्रकाश जंग थापा
पिरामिड योजना

असफल  बन्न चाहने को होलान् ? सबैको चाहना सफलता प्राप्ति नै हो । ग्रोथ नै हो । समाज र राष्ट्रलाई सकेको योगदान दिनु हो । यसो भन्दैमा सबै सफल भएका छन् त ? तथ्याङ्क हेर्ने हो भने एक प्रतिशत भन्दा कम छ । यस्तो अवस्था सिर्जना हुनुको रहस्य सन् १९४३ मा अमेरिकी मनोवैज्ञानिक डा. अब्राहम मास्लोले प्रतिपादन गरेको सिद्धान्तबाट बुझ्न सकिन्छ । उनले त्यो सिद्धान्तमा मानिसभित्र विभिन्न आवश्यकता हुने औँल्याएका थिए । ती आवश्यकता परिपूर्तिका लागि मानिस मरिमेटेर लाग्ने कुरा प्रस्ट्याएका थिए । उनले हाम्रो आवश्यकताहरुलाई पिरामिड शैलीमा वर्गीकरण गरेका थिए, जुन चित्रमा देख्न सकिन्छ ।

आवश्यकतासम्बन्धी सामान्य जानकारीपछि पिरामिड र एक व्यक्तिको जीवनबीच तुलना गरेर हेरौं । जो कोही व्यक्तिको जीवन आवश्यकताहरुको पिरामिड हो । सबै आवश्यकता पूरा हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । एक व्यक्तिको जीवनमा खाना पानीको कुनै समस्या नभए पनि सेक्समा समस्या हुन सक्छ । उनले राम्रो जागिर पाए पनि अत्यधिक व्यस्तताका कारण स्वास्थ्य सुरक्षा सुनिश्चित नहुन सक्छ । त्यसैगरी एक व्यक्तिमा धेरै संख्यामा भित्र भए पनि यौन घनिष्टताको कमी नहोला भन्न सकिन्न । आत्मविश्वासको कुनै कमी नहोला तर उपलब्धि शून्य हात लाग्न सक्छ ।

नैतिकवान भए पनि शर्तहीन प्रेम पाइन्छ नै भन्ने आधार के ? यसरी हेर्दा एक व्यक्तिको जीवन प्वाल परेको पिरामिड जस्तै देखिन्छ । अधिकांशको जीवन यस्तै हुन्छ । पिरामिडको हरेक तहमा प्वाल । भन्नुको अर्थ एक चिज प्राप्ति हुन्छ तर अर्को हुँदैन । जीवनमा धेरै साथी बनाइन्छ तर योगदान गर्न असक्षम भइन्छ । भरपूर सेक्स गरिन्छ तर प्रेम पाइँदैन । कतिले भौतिक सुखसुविधालाई नै सफलता मान्छन् ।

कस्तो लगाउने, कस्तो खाने, कहाँ घुम्न जाने जस्ता कुरालाई नै व्यक्तित्व विकासको अंश ठान्छन् । उनीहरु आधारभूत आवश्यकता भन्दा माथि उठ्न सक्दैनन् । पिरामिडको तल्लो भागमा नै जीवन कटाइदिन्छन् । कोही पिरामिडको उच्च भागमा हुन्छन् तर सोच तलको हुन्छ । मान सम्मान पाएको, परिवार भएको, आत्मवल भएका हुन्छन् तर आकर्षक महिला देखेपछि उनीहरु भित्रको सैतान जाग्छ ।

यसैले समाजमा अराजकता फैलाउन ठूलो भूमिका खेल्छ । पिरामिडको मध्य स्थानमा रहेर पनि सेक्सप्रति आशक्ति राख्नु वा नीच मानसिकता राख्नु समस्याको जड हो । आवश्यकताको एउटा स्तर हासिल गरेपछि अर्को स्तरमा जान कसरत गर्नु नै व्यक्तित्व निर्माण वा सफलता यात्रा तय गर्नु हो । 

प्रायः व्यक्तिहरु आफ्नो अन्तर्निहित प्रतिभा चिन्न सक्दैनन् । ९ देखि ५ को जागिर गर्नु ठूलो उपलब्धि ठान्छन् । चाहेको जीवन बाँच्न जान्दैनन् । घिसिपिटी जीवन चलाउँछन् । करिअर र प्यासनमा कुनै तालमेल हुँदैन जसकारण उनीहरु कुनै विषयगत विज्ञ बन्न सक्दैनन् । उनीहरु केवल कामदारको हैसियतमा रहिरहन्छन् । यसको प्रभाव करिअरमा पर्न जान्छ । उनीहरु स्वप्न भविष्य निमार्ण गर्न सक्दैनन् । अर्थहीन जीवन बाँच्न विवश हुन्छन् । कुनै ठूलो उद्देश्य भन्ने हुँदैन ।

यसर्थ उनीहरु महङ्खवपूर्ण काम गर्न प्रति त्यत्ति उत्साहित हुन सक्दैनन् । चुनौती लिनु त परको कुरा हो । उनीहरु सुखसयलमा मात्र रमाएका हुन्छन् । जीवनमा चढ्नु पर्ने अरु सिंढी पनि छन् भन्ने भेउ पाउँदैनन् । दुःखकष्ट पन्छाइरहन्छन् । जीवनको डोमेनमा विज्ञता हासिल गरेको हुँदैनन् । यदि कुनै विषयमा महारत प्राप्त छैन भने उसले के योगदान दिन सक्छ ? के परिवर्तन ल्याउन सक्छ ? उसो भए सफलता प्राप्तिको लागि गर्ने के ? पहिलो, मास्लोले डिजाइन गरेको आवश्यकतासम्बन्धी पिरामिडमा आफ्नो स्थान पत्ता लगाउने । जुन चिजको कमी जीवनमा खड्किएको छ, त्यसलाई टिपोट गर्ने ।

दोस्रो, आफूले त्यो कमी पूर्ति गर्न के कदम चाल्न सकिन्छ, त्यसमा ध्यान दिने । कसरी त्यो रिक्तता मेटाउन सकिन्छ त्यसमा मन्थन गर्ने । उदाहरणका लागि मानौं तपाईं पिरामिडको भावनात्मक आवश्यकताको स्तरमा हुनु हुन्छ रे ! परिवार छ, मित्र पनि छन् तर प्रेम हुन सेकेको छैन भने ? यस्तो अवस्थामा तपाईंले एक चिज गर्न सक्नु हुन्छ ।

कसरी प्रेमिल वातावरण बनाउनेतर्फ केन्द्रित हुन सक्नु हुन्छ । सुमधुर सम्बन्ध कसरी कायम गर्ने भन्ने विषयमा विज्ञबाट सुझाव एवं वर्क सप लिन सक्नु हुन्छ । पे्रम समस्या समाधानपछि अनि मात्र अर्को स्तरमा जान सक्नुहुन्छ । पिरामिडको एक स्तरबाट अर्को स्तर हुँदै जानु नै जीवनको उद्देश्य हो । सेल्फ ट्रान्सेन्डेन्सको स्तरमा पुग्न पूरा जीवन लाग्न सक्छ । यदि पिरामिडको उच्च विन्दुलाई जीवनको लक्ष्य बनाइयो भने विकृति, विसंगति र समस्यारहित समाजको परिकल्पना गर्न सकिन्छ । 
 

Leave A Comment