सेक्स सेल्फी : रहरले निम्त्याएकाे कहर

आइतबार, १४ असोज २०७५, ०१ : ३१ अनिल यादव
सेक्स सेल्फी :  रहरले निम्त्याएकाे कहर

(तस्बिर माेडलिगंमा अाधारित हाे । तस्विर: कृष्पा श्रेष्ठ, माेडल ः शाेभा पाैडेल र अनुप श्रेष्ठ )

प्रेमिका छाडेर आयुष बेलायत जानुपर्यो । डेढ वर्ष भइसकेको थियो, सरितासँग उनको मनसँगै देह साटिएको । भौतिक रुपमा टाढा भए पनि मानसिक रुपमा दुवै नजिक थिए । शरीर न हो, यौन सुख खोज्यो नै । दुवैले यौन सुख मेट्न भिडियो च्याटको सहारा लिए । आयुष आग्रह गर्थे, ‘सबै कपडा खोल न ।’ उनी राजी हुन्थिन् । उता आयुष उत्तेजित हुन्थे, यता सरिता ।

दुवै लामो समय रमाइरहे । मोबाइल क्यामराको सहाराले अन्तरंग दृश्यको सेल्फी खिचिरहे, एकअर्कालाई साटिरहे । वेब क्यामराका अगाडि नेपालमा रहेकी सरिता निर्धक्क सर्वाङ्ग बनिदिन्थिन् । युकेमा रहेका प्रेमी सेक्सिलो नजरले हेरिरहन्थे क्लिपहरु । उनीहरुले आफ्ना लागि खिचेका थिए सेल्फी । कहिल्यै सोचेनन्, आफ्ना लागि खिचेका यस्ता सामग्री सार्वजनिक पनि हुन सक्छन् । सेल्फी सुट आफ्नैलागि घातक होला भन्ने उनीहरुको कल्पनै थिएन । तर अकल्पनीय नै भयो ।

केही महिनामै आयुषलाई सरितामाथि शंका लाग्न थाल्यो । प्रेमिका अर्कै केटासँग हिँडेको भन्दै झगडा सुरु भयो । पाँच महिनामै ब्रेक अप भयो दुवैको । 
अनि सुरु भयो सरिताका काला दिन ।

उनको नाम गरेको फेसबुक पेजमा तिनै तस्बिर र भिडियो क्लिपहरु आउन थाले । उनी हुत्तिँदै महानगरीय प्रहरी अपराध महाशाखाको साइबर सेलमा पुगिन् । प्रहरीको सहयोगमा एउटा फेसबुक पेज निस्क्रिय त भयो तर रोकिएन । नयाँ–नयाँ पेज बनिरहे ।

महाशाखाका प्रहरीले इन्टरपोलमार्फत बेलायतको प्रहरीलाई घटनाबारे पत्राचार पनि ग¥यो । तैपनि समस्या सुल्झिएन । उताको प्रहरीले जवाफमा पीडितलाई यतै उजुरी दिन पठाउनु भन्यो तर निवेदन दिनकै लागि सरिता युके कसरी जानु !

उनको नाममा फेक फेसबुक अकाउन्ट बन्ने र बन्द हुने क्रम अझै जारी छ । 
‘दुई वर्ष भयो केटाले नयाँ–नयाँ आइडी खोलेर न्याकेड फोटो र भिडियो हाल्देको हाल्दै छ, एउटा ब्लक ग¥यो अर्को खोलिहाल्छ,’ अपराध महाशाखाको साइबर सेलमा कार्यरत सब इन्सपेक्टर राजेश महर्जनले भने, ‘यता पीडित युवती दिनदिनै फोन गर्छिन् । म त मरौँ जस्तो भइसक्यो भन्छिन् । हामी उताबाट केटा यता झिकाउने प्रयत्न गरिरहेका छाँै तर सकिरहेका छैनौं ।’

पहिला सहरी क्षेत्रमा पोर्न मुभी भिसिआर क्यासेटको आकारमा भित्रन्थ्यो । प्रविधिको विस्तार र सहजतासँगै यो कहिले फ्लपीमा आउन थाल्यो, कहिले भिसिडी प्लेयरको आकारमा त कहिले पेन ड्राइभमा । वल्र्ड वाइड वेभ (डब्लुडब्लुडब्लु)को विकाससँगै सिग्नलको माध्यमबाट सबको हातहातमा सहजै पुग्यो यौन दृश्य । 

हिजो त अरुका उत्पादन हुन्थे र हेरेर रमाइलो लिन्थे । हिजोआज इन्टरनेटका सामान्य प्रयोगकर्ता आफैँ उत्पादन गर्न थाले । कसैले शौखमा, कसैले व्यावसायिक रुपमै । फेसबुक, इमो, स्काइप, भाइबर, ह्वाट्स एपमार्फत विश्वको जुनसुकै कुनामा रहेकाहरुको कोठासम्म सहजै पुग्न थाले ती दृश्य ।

=========================================

-याे पनि

पाेर्न साइट प्रतिबन्ध : सम्भव छ !

=========================================

आफैँ संकट निम्त्याउँदै
कुनै गेस्ट हाउस जस्तो देखिने कोठामा अधबैंसे महिला र पुरुष नग्न छन् । महिला बेडमा सुतेकी छन् । पुरुष त्यसको दृश्य खिचिरहेका छन् ।
केटा मोबाइल अगाडि सार्दै नजिकैबाट यौनाङ्गका दृश्य खिच्छन् । उनको अनुहार देखिएको छैन दृश्यमा ।
‘नखिच है !’
‘अलिकति खिच्छु नि !’
‘नाइँ नखिच ।’
मोबाइलको घन्टी बज्छ । महिलाले मोबाइल उठाउँछिन् ।
‘तिमी कहाँ ?’
उताको स्वर नबुझिए पनि कल गर्ने व्यक्ति पुरुष हुन् भन्ने ठम्याउन सकिन्छ । युवती बोल्न थाल्छिन् ।
‘कहाँको बसपार्क ?’
‘आउनु भेटौँ, म चक्रपथमा हो ।’
पुरुषले महिलाको वार्तालाप खिचिरहन्छन् ।
अन्तिममा युवती आफैँ उठेर क्यामेरा अफ गरिदिन्छिन् ।
करिब ५ मिनेटको यो दृश्य पोर्न हबमा ८२ हजारले हेरिसकेका छन् ।

कोठाको दृश्य र वार्तालापले दृश्य खिच्ने र दिनेले जिस्केर खिचेको देखिन्छ तर त्यो पोर्न हबसम्म पुगिसकेको छ । पोर्न हबमा नेपालीको यस्तो सेक्स क्लिपको संख्या एक हजार ८ सय ५६ देखाउँछ ।
कुनै दृश्य काठमाडौँका चल्तीको स्कुलको नामसहित ‘.....स्कुलको सेक्स भिडियो’ भनेर हालिएको छ । कतिपय, पोखराकी युवतीको सेक्स भिडियो, चितवनको नर्स काण्ड’ लगायतको नाममा राखिएको छ । सेलिब्रेटीका लिक भएका नयाँ–पुराना सेक्स क्लिप सहजै भेटिन्छन् त्यहाँ ।

यस्तै अर्को एक २१ मिनेटको भिडियो छ जसमा युवा र युवती दुवैको नामै तोकिएको छ । सो सेक्स क्लिपमा रहेका दुवै जना प्रेमी–प्रेमिकाझैँ देखिन्छ ।
क्लिपमा रहेको सानो संवाद यस्तो छः
‘आठ बजिसक्यो राजा, ढिला भयो क्या !’
युवक भिजुअल खिच्नमै व्यस्त छ । युवती रिसाउँछिन् ।
‘यस्तो नाटक गरेपछि मन लाग्छ त गर्न ?’
‘पछि मज्जाले हेरौँला नि,’ भन्दै युवक खिचिरहन्छन् । 
यसको संवाद र दृश्यले पनि यो जिस्केरै खिचेको देखिन्छ तर बाहिरियो । उनीहरुको अन्तरंग दृश्य ३ लाख ५९ हजारले हेरिसके ।

अनलाइन साइटको लोकप्रियता देखाउने एलेक्साडटकमका अनुसार नेपालबाट हेरिने टप ५० साइटको सूचीमा पोर्न हब २७ औंमा पर्छ । अर्को टिएक्सएक्सएक्सडटकम ४४ औँ सूचीमा छ । 

अरुको हेर्ने मात्रै हैन, आफ्नो देखाउनेको संख्या पनि बढ्दो छ नेपालमा । लाइभ सेक्सक्यामिङ गर्ने पपुलर साइट लाइभज्यासमिन नेपालमा ३७ औं नम्बरमा छ भने अर्को पपुलर साइट बोङगाक्याम्पस् ४० औं सूचीमा । 

नेपालमा यसको लोकप्रियताले नेपालीबीच डिजिटल माध्यममार्फत अन्तरंग दृश्य प्रत्यक्ष हेर्ने र देखाउने क्रम कत्तिको बढ्दो छ भन्ने देखाउँछ । 


बढ्दो उजुरी
महानगरीय प्रहरी अपराध महाशाखाको साइबर सेलमा आएको अर्को एक घटना पढौँ ।
तीन महिनाअघि महाशाखाको साइबर सेलमा आइन्, सृष्टि । उनको उजुरी थियो, ‘मेरो एक्स ब्वाइफ्रेन्डले हामीले रमाइलो (सेक्स) गरेको भिडियो ट्विटरमा हाल्दिएछ, हटाइदिनुपर्यो ।’ 

भिडियो सहमतिमा खिचेको खुल्यो । पछि सृष्टिलाई प्रेमी मन पर्न छाडेछ । अर्कै केटासँग प्रेम सुरु भयो । धोका भएको झोँकमा उनका पूर्वप्रेमीले गलफ्रेन्डको अश्लील भिडियो ट्वीटरमा हाल्दिए । 
प्रहरीले लामो प्रयासपछि भिडियो हटाइदियो तर उनले घटनालाई अदालतसम्म पु¥याउन चाहिनन् । 
‘एक्स ब्वाइफ्रेन्ड हो, एकचोटीलाई छोड्दिउँ,’ भन्दै उनी फर्किइन् ।

‘यस्तो केस त सामन्यजस्तो भइसक्यो,’ महाशाखाका साइबर सेल प्रमुख इन्सपेक्टर लीलाराज डाँगी भन्छन्, ‘मन मिलेको बेला राजिसाथ फोटो र भिडियो खिच्छन् । सम्बन्ध बिग्रिएपछि त्यसैले तनाव दिन्छ ।’ 

रमाइलोका लागि लहडमा खिचिएको अति गोप्य व्यवहार आवेगमा सार्वजनिक हुने मात्रै हैन, प्रहरीका अनुसार आफूले सञ्जालमा राख्न खोजेकोमा अर्कैले राखेकोमा चित्त दुखाउँदै आउने पात्र पनि छन् ।

गएको वैशाखमा मोडल परी तामाङको आफ्नै ब्वाइफ्रेन्डसँग खिचेको सेक्स भिडियो युट्युबमा बाहिरियो । विदेशी पोर्न साइटमा समेत उक्त भिडियो अपलोड भयो । परी उजुरी बोकेर महाशाखाको कार्यालय टेकु पुगिन् । प्रहरीलाई लाग्यो– भिडियो अपलोड भएकाले उनलाई मानसिक तनाव भयो होला । 
प्रहरीको दाबीअनुसार उनको चिन्ता आफ्नो सेक्स भिडियो सार्वजनिक भएको भन्दा अर्काले सार्वजनिक गरिदिएकोमा रहेछ ।

‘भिडियो अर्कैले अपलोड गर्दिएपछि आफूले पैसा कमाउन नपाएकोमा  उनको चिन्ता थियो,’ सो केस हेरेका महाशाखाका इन्स्पेक्टर डाँगीले भने, ‘उनको कुरा सुनेर हामी नै चकित भयौं । हामीले भिडियो पोर्न साइटबाट हटाएर उनलाई पठाइदियौँ ।’ 

गृहिणीदेखि विद्यार्थीसम्म
यस्तो समस्या लिएर प्रहरीकोमा आउनेमा किशोर उमेरका विद्यार्थीदेखि पाका गृहिणीसम्म छन् । पछिल्लो समय स्कुल÷कलेजमा अध्ययनरत  युवायुवतीबीच सेक्रेट ग्रुप बनाएर अश्लील फोटो÷भिडियो सेयर गर्ने ट्रेन्ड बढेको देखिन्छ । त्यस्ता तस्बिर र क्लिप ओपन प्लेटफर्ममा बाहिरिएपछि मात्रै केस प्रहरीसम्म पुग्ने हो, नत्र गुपचुप सेयर भइरहन्छ । 

अधिकांश यस्ता सामग्री फेसबुकको ग्रुप च्याट बक्स, ट्वीटरको डिएममार्फत सर्कुलेट हुने गरेको देखिन्छ । प्रारम्भमा रमाइलोका लागि साथी–साथीबीच ग्रुपमा नग्न तस्बिर खिचेर पठाउने र पछि कसैले अरु ग्रुपमा पनि हालिदिएर हल्ला भएपछि प्रहरीसम्म आइपुग्ने घटना पनि उत्तिकै छ । यो समस्या अधिकांश किशोर उमेरका स्कुले विद्यार्थीमा देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।
साइबर क्राइम सेलका अधिकारीले यस्तै एक केस सुनाए ।

तीन महिनाअघि काठमाडौँकै एक स्कुलमा कक्षा ८ मा अध्ययनरत  युवतीको नाङ्गो फोटो र भिडियो भाइरल भएपछि प्रहरीकोमा आइन् । केटी स्वयम्ले यौन सम्पर्कका क्रममा भिडियो÷फोटो खिच्ने गरेकी रहिछन् । त्यो चर्तिकलाको तस्बिर र भिडियो स्कुलको क्लोज फेसबुक ग्रुपमा आएपछि भाइरल भयो । प्रहरीले केही ठाउँबाट त हटायो तर सबैतिरबाट अझै हटेको छैन ।

पछिल्लो समय फेसबकुमा यस्ता धेरै क्लोज च्याट ग्रुपहरु बनेका छन्, जहाँ विविध स्रोतबाट लिक भएका अश्लील फोटो र भिडियो सेयर हुन्छन् । व्यक्ति, स्कुल र ठाउँको नाममा यो काण्ड र त्यो काण्ड भन्दै भिडियो अपलोड भएका हुन्छन् । 

संवाददाता स्वयम् एउटा ग्रुपमा मेम्बर भएर नियाल्दा थुप्रै नेपाली युवा÷युवतीको न्याकेड फोटो÷भिडियो फेला प¥यो । कतिपय भिडियोमा युवतीले नाङ्गै भिडियो च्याट गरिरहेको भेटियो । जहाँ अश्लील हाउभाउसहित कसैलाई रमाइलो गराइरहेको देखिन्थ्यो । 

कतिपयले आपसी सहमतिमै यौन सम्पर्क गरेर खिचेको भिडियो भेटियो । कतिपय युवतीले नचाहँदा–नचाहँदै युवकले जबरजस्ती खिचेको जस्तो देखिने भिडियो पनि भेटियो । 
प्रभावशाली बन्दै गएको ट्वीटरमा पनि यस्ता नेपाली सेक्स क्लिपहरु प्रशस्तै भेटिन्छन् । केही ह्यान्डल सेक्स क्लिपको संग्रहालयझैँ छन् ।

यस्तो प्रवृत्तिबारे महाशाखाका इन्स्पेक्टर डाँगीसँग जिज्ञासा राख्दा उनले भने, ‘यस्तो प्रवृत्ति बढेको सुनिन्छ । स्कुले केटाकेटीले पनि ग्रुप बनाएर यस्ता अश्लील सामग्री सेयर गरेको पाइयो । आवेगमा आएर यस्तो फोटो÷भिडियो खिच्दा भोलि ठूलो मानसिक तनाव हुन्छ । त्यसैले खिच्नुअघि बेलैमा सचेत भएको राम्रो ।’
यो त भयो कुत्कुती लाग्ने उमेरका किशोर–किशोरीले होस नपु¥याई गल्ती गर्दाका घटना । केही घटना प्रौढका पनि छन् । महाशाखामा एउटा त्यस्तै घटना आइपुगेको रहेछ । 

महाशाखा अधिकारीका अनुसार श्रीमान्ले रमाइलोका लागि श्रीमतीसँगको आफ्नोे सहवासको दृश्य खिचेका रहेछन् । श्रीमतीलाई भिडियोबारे जानकारी त थियो तर पछि कता कताबाट भिडियो सार्वजनिक भइदियो । यसपछि त श्रीमती आफ्नै श्रीमान्विरुद्ध उजुरी बोकेर महाशाखा पुग्न बाध्य भइन् ।

सहमतिमै टुंगिन्छ उजुरी

महाशाखामा पछिल्लो समय यस्तो गुनासो बोकेर आउने क्रम बढे पनि अधिकांश केस अदालतसम्म पुग्दैन । प्रारम्भमा आवेगमा आएका उजुरीकर्ता पछि सहमतिमा आउने गरेका छन् । 
मुद्दा मामिला गर्दा बेइज्जत हुने भयले समेत उनीहरु सकेसम्म इन्टरनेट सञ्जालमा भएका आफ्ना तस्बिर र भिडियो क्लिप डिलेट गराएपछि ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा छाड्न राजी हुन्छन् । तस्बिरमा छेडखानी गरेर अर्काको नग्न शरीरमा टाउको जोडिदिने लगायतका केही घटनाका पीडित मात्र अदालत जान राजी भएका छन् । 
(पीडितको नाम परिर्वतन गरिएको छ )

‘इन्टरनेट शिक्षा चाहियो’
एसएसपी धीरजप्रताप सिंह
प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा
प्रेमी–प्रेमिका, श्रीमान् श्रीमतीसम्मले आफ्ना अन्तरंग गोप्य गतिविधिको तस्बिर र दृश्य खिच्ने ट्रेन्ड बढेको देखिन्छ । उजुरी दिनेहरु प्रेमीविरुद्ध प्रेमिका अनि श्रीमान्विरुद्ध श्रीमती पनि छन् । 
पहिला सहमतिमै खिच्ने, पछि सार्वजनिक भएपछि प्रहरीकोमा सहयोग माग्न आउने गरेका उजुरीको प्रकृतिले देखाउँछ । अधिकांश यस्ता उजुरीको अनुसन्धानमा झुक्याएर खिचेको भन्दा पनि सहमतिमै खिचेको देखिन्छ । पछि सम्बन्ध बिग्रिएपछि रिसइबीका कारण वा जिस्केर सार्वजनिक गरिदिन्छन् । त्यसपछि नै प्रहरीकोमा आउने हो ।
नेपालमा साइबर क्राइमको अनुसन्धान जटिल छ । फेसबुक, ट्वीटर, युट्युबजस्ता सेवा प्रदायकको नेपालमा कार्यालय छैन । हामीले दक्षिण एसिया हेर्ने कार्यालयमा सम्पर्क राख्ने हो । उनीहरुले संवेदनशीलताको आधारमा सहयोग गर्छन् । कतिपय केसमा पीडक पत्ता लगाउन गाह्रो हुन्छ तर हरसम्भव आएका उजुरीको समाधान गर्ने गरेका छौँ ।
प्रारम्भमा उजुरी गरे पनि उजुरीकर्ता मुद्दा प्रक्रिया अगाडि बढाउन नचाहनेहरु धेरै हुँदा प्रहरीमा आएका सबै उजुरी अदालतसम्म पुग्ने गरेका छैनन् । घटनाको प्रकृतिको आधारमा पनि उजुरी मिलेमतोमा पुगेर टुंगिन सक्छ । गम्भीर प्रकृतिको घटना छ भने सकेसम्म मुद्दा प्रक्रियामा जान पीडितलाई आग्रह गर्छौं तर थोरै मात्र सहमत हुन्छन् । अधिकांश हल्ला होला, झन् बेइज्जत होला भनेर डराउँछन् ।
यसको नियन्त्रणका लागि सचेतना बढाउन आवश्यक छ । मुख्य रुपमा विद्यालय तहमै इन्टरनेटको प्रयोग, कस्तो सामग्री सेयर गर्ने, कस्तो नगर्ने, यस्ता नितान्त व्यक्तिगत तस्बिर र क्लिप सार्वजनिक गर्दा हुने जोखिमबारे सम्झाउन सके यो क्रम घट्न सक्थ्यो ।

 

नखिचेकै राम्रो
गोपाल ढकाल,मनोविद् 

मान्छे जीवनमा फरक–फरक अनुभव खोज्छ । आफ्नो अश्लील फोटो र भिडियो खिच्ने पनि यही फरकपनको खाजीअन्तर्गत पर्छ । कतिपयले जोडीसँग रमाइलो गरेको, यौन सम्पर्क गरेको, यौन प्यास मेटेको फोटो÷भिडियोलाई पछि हेरेर आनन्द लिन खिचेर राख्छन् । जोडी आफूसँग नरहेका बेला त्यो भिडियो हेरेर आनन्द लिने उनीहरुको अभिप्राय हुन्छ । 

पोर्न फिल्म हेरेपछि कतिपयले त्यस्तै भिडियो बनाउने चाहना राख्छन् । मैले कत्तिको यौन सन्तुष्टि दिन सकेँ या सकिनँ, मैले यौन सम्पर्क गरिरहेका बेला पार्टनरको कस्तो व्यवहार थियो, कस्तो एक्सप्रेसन भन्ने बुझ्नका लागि पनि यस्ता फोटो÷भिडियो खिच्नेहरु पाइन्छन् । 
कतिपय अवस्थामा ब्ल्याकमेलिङका लागि पनि यस्तो काम गरिन्छ । जबर्जस्ती या थाहै नदिई भिडियो खिचेर पछिसम्म पार्टनरलाई आफूअनुकूल प्रयोग गर्न पनि त्यसरी फोटो÷भिडियो खिचेको हुनसक्छ । आपराधिक मानसिकता बोकेका मान्छेहरुले त्यस्तो गर्छन् । कोहीकोही भने आफ्नो प्रेम अर्थात् सम्बन्धको प्रमाण राख्नका लागि पनि यस्तो गर्छन् । 

पहिलेपहिले अंग देखिने लुगा लगाउनसमेत युवतीहरु लजाउँथे । समाज अहिले निकै खुल्न थालेको छ । सेक्स धेरै लज्जाको विषय रहेन अब । यसकारण पनि यस्ता फोटो र भिडियो खिच्नुलाई पार्टनरले ठूलो विषय ठान्दैनन् । 

कतिपयले जानीजानी आफ्नो अंगहरु देखाउने, नग्न तस्बिर सामाजिक संजालमा पठाउने गरेको पनि सुनिन्छ । त्यो सेक्स अपिलका लागि पनि गरेको हुनसक्छ । आफूतिर आकर्षित गर्न खोजिरहेको पनि हुनसक्छ । यौन चाहनाका लागि आग्रह गरेको पनि हुनसक्छ । 

अचेल अरुको यौन अंग हेरेर आफ्नो यौन सन्तुष्टि पूरा गर्ने शैली खुब फस्टाएको छ । अश्लील फोटो र भिडियो यौन सन्तुष्टि मेटाउने माध्यम बनिरहेका छन् । विदेशमा हुने प्रेमी या पार्टनरले स्वदेशमा भएकी आफ्नी श्रीमती या गर्लफ्रेन्डसँग सेक्स भिडियो च्याट गर्छ र यौन आनन्द लिन्छ । 

सम्बन्ध समुधुर भइञ्जेल त यो तरिका ठीकै हुन्छ तर जब बिग्रन्छ नि त्यसपछि सुरु हुन्छ– मान्छेमा बदलाको भावना, ब्ल्याकमेलिङ आदि इत्यादि । 

नग्न तस्बिर र भिडियो बाहिर आएपछि यसले मान्छेमा ठूलो मानसिक तनाव दिन्छ । कतिपयले आत्महत्यासम्म गरेका घटना छन् । कतिपय डिप्रेसनमा जान्छन् । आत्मग्लानि हुन्छ । वैवाहिक सम्बन्ध बिग्रन सक्छ । यस्ता कुराले मानिसक रुपमा ठूलो असर पु¥याउँछ । 
त्यसैले नखिचेकै राम्रो ।
 

 

Leave A Comment