पाेर्न साइट प्रतिबन्ध : सम्भव छ !

आइतबार, १४ असोज २०७५, ०२ : १५ शुक्रवार
पाेर्न साइट प्रतिबन्ध : सम्भव छ !

 

 

‘पूरै रोक्न सम्भव छैन’
सागर लामिछाने
साइबर सेक्युरिटी एक्सपर्ट,
रिगो टेक्नोलोजी

सरकारले १० वर्षअघि यौनजन्य अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रसारणमा बन्देज लाउने निर्णय गरेकै हो । यो सम्भवै नहुने कुरा त हैन । धेरै देशमा प्रयास भएको पनि छ तर फुत्किरा’को छ । सेन्सरसिपका मामिलामा सबैभन्दा कडा मानिएको चीनमा त पुरै रोकिन सकेको छैन । म आफैँ चीनमा जाँदा पनि त्यस्तो फेला पारेको थिएँ । 

कन्टेन्ट ब्लक दुई तरिकाले हुन्छ । एउटा एक्टिभ ब्लक र अर्को प्यासिभ ब्लक । प्यासिभ ब्लकभित्र पोर्न साइटको लिस्ट पठाएको आधारमा गरिन्छ । त्यो त साध्य नै छैन । किनभने संसारमा कति अश्लील र पोर्न साइट छन्, त्यसको कुनै तथ्यांक अहिलेसम्म बन्न सकेको छैन । अर्को एक्टिभ ब्लकको तरिका हो । यो कन्टेन्टमा आधारित र कि–वर्डका आधारमा ब्लक गरिन्छ । जस्तो, सेक्स शब्द नै ब्लक हुने भयो भने लन्डनको प्रख्यात र चल्तीको मिडलसेक्स युनिभर्सिटीको वेबसाइट पनि खोल्न मिल्दैन । यौनसम्बन्धी शिक्षा दिने हिसाबले प्रकाशित गरिएका कन्टेन्ट ब्लक हुन सक्छन् । 

एक त इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)को काम कन्टेन्ट ब्लक गर्ने हैन । उसको काम त इन्टरनेट सर्भिस दिने मात्रै हो । तैपनि सरकारले ल, रोक्न लगायो रे ! तर गाह्रो छ किनभने एक्टिभ ब्लकका लागि चाहिने डिभाइस नेपालमा दुई तीन वटा आइएसपीभन्दा बढीले ल्याउन सक्छन् भन्ने लाग्दैन । करोडौँ रकम पर्छ । झन्डै १० वर्षअघि एउटा आइएसपीले दुई करोड तिरेर त्यो डिभाइस ल्याएको थियो । त्यतिबेलै उक्त आइएसपी यो ब्लक सम्भव छैन भन्ने निष्कर्षमा पुगेको थियो । 

आइएसपीले ब्लक गरे पनि पुअर नेटवर्क, प्राइभेट भिपिएनबाट त्यस्तो कन्टेन्ट खोल्न सकिन्छ । त्यसैले सरकारले यसरी ब्लकतिर ध्यान दिनुभन्दा पनि सेक्स एजुकेसनमा पैसा लगानी ग¥यो भने बढी फाइदा होला भन्ने लाग्छ । 
 

‘अश्लील भनेपछि अश्लील’
रामचन्द्र ढकाल,
प्रवक्ता, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय

सरकारले यौनजन्य अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रसारणमा बन्देज लाउने निर्णय त ग¥यो तर कार्यान्वयन भएको छैन नि ?
वाग्मती सरसफाई गर्नुपर्यो भनेको भोलिपल्ट वाग्मती सफाइ भइसक्छ र ?  एकैदिनमा कहाँ हुन्छ त ? समय त लाग्छ नि ! हामीले दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छौं । उनीहरुले काम गरिरहेका छन् । अलिकति त घटेको छ । युट्युब खोल्नुभयो भने अहिले पहिलेजस्तो नाङ्गा भिडियोहरु आउँदैनन् । गुगलतिर जानुभयो भने पनि खोज्न टाइम लाग्छ । 

अहिलेसम्म कति त्यस्ता साइटहरु हटाइसक्नुभयो, केही डाटा छ ?
छैन । कतिवटा थियो भन्ने डाटा पनि छैन, कति हटे भन्ने पनि थाहा छैन । 

कस्ता सामग्रीहरुलाई तपाईंहरु अश्लील मान्नुहुन्छ ? अश्लीलताको मापन कसरी गरिरहनुभएको छ ?
अश्लील भनेपछि अश्लील । मापदण्ड बनाएर काम हुन्छ । 

अहिलेसम्म मापदण्ड छैन ?
बनाउँदै होलान् । इन्टरनेट सर्भिस प्रोभाइडरसँग छलफल गरेर निर्देशन दिएका छौं । उनीहरुले बनाइरहेका होलान् । 

सरकारले बनाउँदैन ?
सरकारले दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

सम्भव छ त यसरी बन्देज लाउन ? 
विस्तारै हुन्छ ।  

सरकारले यस्तो निर्णय गर्नुको खास कारण के हो ?
त्यस्ता सामग्रीहरुले समाजमा अश्लीलता फैलियो । अपराधमा प्रोत्साहन भयो । 

अब अपराध रोकिएला त ? 
अपराधको एउटा कारण यो पनि हो । पूरै त होइन । अलिअलि प्रभाव त पारिहाल्छ नि !
 

Leave A Comment