बतासिएको काठमाडौंको कथा [फिल्म दृष्टि]

बिहिबार, १८ असोज २०७५, १२ : २७ अनिल यादव
बतासिएको काठमाडौंको कथा [फिल्म दृष्टि]

अधिकांश नेपाली फिल्म निर्देशकहरु परम्परागत कथ्य शैली र संरचनाबाट बाहिरिन नसकिरहेका बेला ‘कथा काठमाडौं’ एउटा फरक प्रयत्नका साथ आएको छ । यसमा निर्देशक नयाँ छिन् । कथ्य शैली पनि नयाँ नै छ तर नतिजा निराशाजनक । 

सन् २००७ तिर बलिउडमा अनुराग बासुले मुम्बईको कथामाथि एउटा फिल्म बनाएका थिए ‘लाइफ इन अ...मेट्रो’ । ९ जना पात्रमार्फत उनले मुम्बईको फरक फरक पृष्ठभूमिका कथा भन्ने प्रयत्न गरेका थिए त्यो फिल्ममा । 

करिब यस्तै–यस्तै कथ्य शैली र संरचनामा आधारित छ, डेब्यु निर्देशक संगीता श्रेष्ठको ‘कथा काठमाडौं’ । मुख्य ६ पात्रमार्फत उनले सपनाको सहर काठमाडौंको कथा भन्न खोजेकी छन्, ‘लाइफ इन अ...मेट्रो’मा जस्तै । 
फरकफरक पात्रमार्फत उनले फरकफरक तीन जोडीका कथा पस्किएकी छन् तर तीन फरक कथालाई केन्द्रीय कथासँग जोड्न नसक्दा उनी चुकेकी छन् ।

‘लाइफ इन अ मेट्रो’ मा कथाको पृष्ठभूमि मुम्बई भएझैँ संगीताको फिल्ममा काठमाडौं ब्याक ड्रपमा छ तर यसलाई निर्देशकले फिल्ममार्फत जोड्न सकेकी छैनन् । आफैँ न्यारेटर बनेर जबर्जस्ती जोडेकी छन् । यही कारणले फिल्मलाई कमजोर बनाएको छ । अन्ततः एउटा फिल्म हेर्न हल गएका दर्शकलाई हलबाहिर निस्कँदा ‘दुई घन्टा पाँच मिनेटमा तीन ओटा छोटाछोटा फिल्म हेरेझैँ लाग्छ ।’ 

फिल्मको कथा र पटकथा दुवै उनको आफ्नै हो । तीन फरक कथालाई केन्द्रीय कथासँग जोड्न नसक्दा लेखक र निर्देशकको रुपमा संगीता चुकिन् ।

फिल्मभित्र क्रमशः तीन कथा देखा पर्छन् । पहिलो सौरम (प्रमोद अग्रहरी) र नोरा (प्रियंका कार्की) को कथा । लागूऔषधको दलदल फँसेको सौरम नोरालाई मोडल बनाउँछ, अवसर दिलाउँछ र पछि उसैलाई प्रयोग गरेर पैसा कमाउन थाल्छ । -याम्पमा हिँड्दा मुस्कुराइरहने नोराको मुहार घर पुग्दा भने एकाएक अँध्यारो हुन्छ । 

बाहिरबाट देख्दा मोडलिङ दुनियाँमा जति चमकदमक छ, भित्रबाट हेर्दा मोडलहरुको दैनिकी उति नै अन्धकारमय छ । निर्देशकले सौरम र नोराको कथाबाट काठमाडौँको यही यथार्थ देखाएकी छन् । 

दोस्रो कथा छ, राकेश (संजोग कोइराला) र काव्या (सन्ध्या केसी)को । पढेर ठूलो मान्छे बन्ने सपनासहित गाउँबाट भर्खर सहर छिरेका राकेशले कलेजमा भेट्छन्, आँटी र साहसी काव्यालाई । सोझा राकेश काव्यालाई मनपराउन थाल्छन् । कलेजका फ्लटर्रहरु राकेशको सोझोपनको फाइदा उठाउन खोज्छन् । तैपनि राकेश र काव्याको प्रेम कसरी फक्रिन्छ ? फिल्मको दोस्रो कथा यसैको तानाबानामा सकिएको छ । 

तेस्रो कथा छ, आयुष (आयुषमान देशराज जोशी) र शिखा (प्रेक्षा अधिकारी) को । दुवै बिरामी छन् । दुवै एकअर्काको  प्रेममा छन् । एउटै अस्पतालमा उपचार गराइरहेका छन् । आफू कतिखेर मर्छु थाहा छैन तर आयुष शिखालाई बेहद प्रेम गर्छन् । उनीहरूको प्रेमको गन्तव्य कहाँ गएर टुंगिन्छ, फिल्मको तेस्रो तथा अन्तिम कथा यसैमा केन्द्रित छ । 
संगीताले छानेका तीनवटै कथा बिल्कुलै नयाँ होइनन् तर प्रस्तुतिले तिनलाई बासी हुनबाट जोगाएको भने छ । तीनवटै कथालाई निर्देशकले सलल बगाएकी छन् । एउटा सकिएपछि क्रमशः अर्को कथा सुरु हुन्छ । दर्शक कथामा कन्फ्युज हुँदैनन् । कथाका हिसाबले सौरम र नोराको पहिलो कथा सबैभन्दा बलियो लाग्छ । दर्शकले पहिलो कथाको फ्लोलाई इन्जोय गर्छन् तर अन्त्य छाडेर । अन्त्य भने नाटकीय लाग्छ ।  

यही नाटकीयता दोस्रो कथा राकेश र काव्याको कथामा पनि अनभूत हुन्छ ।  राकेशमा जुन स्तरको सोझोपन देखाइएको छ, त्यो दर्शकलाई स्वाभाविक लाग्दैन । लभस्टोरी फिल्म हेरिरहने दर्शकलाई कलेजको त्यो प्रेम नौलो पनि लाग्दैन । 

आयुष र शिखाको अस्पताल प्रेमले भने केही हदसम्म दर्शकको मन छुन्छ । क्लाइमेक्स टची छ तर आयुष र शिखा ग्वाँग्वाँ रुने दृश्यले भने दर्शकलाई छुँदैन । 

फिल्मभित्रको इमोसनलाई दर्शकसम्म पु-याउन नसक्नु निर्देशकको कमजोरी लाग्छ । हलिउड फिल्म ‘फल्ट इन आवर स्टार्स’ हेरेका दर्शकलाई त यो कथाले झनै ‘सरप्राइज’ गर्दैन जबकि निर्देशकले यो कथामा ‘सरप्राइज’ दिने मनसुबा राखेको स्पष्ट देखिन्छ ।  

निर्देशकले तीन कथा टिप्नुको साटो मोडलिङ दुनियाँसँग जोडिएका रहर, बाध्यता र पर्दापछिका यथार्थमा मात्रै फिल्म बनाएको गज्जब हुन सक्थ्यो । 

निर्देशकले फिल्म चलाउन नाच गाना, फाइट र कमेडीको जबर्जस्ती प्रयोग गरेकी छैनन्, यो उल्लेखनीय पक्ष हो । त्यसमा गीतको प्रयोग सुनमा सुगन्ध छ । 

निर्देशकले कथाको प्रवाहलाई रोक्ने गरी कहीँ पनि गीत राखेकी छैनन् र गीत छनोटमा पनि उनको परिपक्वता देखिन्छ । हलबाहिर निस्कँदा गुनगुनाउन नमिले पनि पर्दामा हेरुञ्जेल मजा दिन्छन् । पृष्ठभूमिमा बज्ने सङ्गीत कथाको लय अनुसार नै छ । सिनेमाटोग्राफीले कथालाई न्याय गरेको छ । 

दुई फरक हुलियामा देखिने प्रमोदको अभिनयले दर्शकलाई लोभ्याउँछ । प्रियंका पनि फिट देखिएकी छन् । आयुष्मान र शिखाको अभिनय पनि ठीकै छ । कथा कमजोर लागे पनि कलाकारका हिसाबले संजोग र सन्ध्याको प्रयत्न पनि इमान्दार देखिन्छ । 

काठमाडौंमा अनगिन्ती कथाहरु छन् । उज्याला–अँध्यारा पाटाहरु छन् । संगीताले केही पाटाहरु उजागर गर्न त खोजिन् तर त्यसमा प्राण भर्न सकिनन्  । 

नाम ‘कथा काठमाडौं’ भनिए पनि फिल्मले काठमाडौंको चरित्रलाई पर्दामा प्रस्तुत गरेको छैन । जति घटना घट्छन्, चरित्रको आन्तरिक तथा बाह्य गुणअवगुणका कारण घट्छन् । काठमाडौंको साटो पोखरा वा धरानलाई सेटिङ बनाएर यो कथा प्रस्तुत गरेको भए पनि भिन्नता देखिँदैनथ्यो ।

कथा भन्ने मामलामा संगीताको अन्योल यहीँबाट सुरु भएको छ किनभने हरेक सहरका आफ्ना विशेषता हुन्छन् र काठमाडौंका पनि छन् । काठमाडौँको खास विशेषता के हो भनेर संगीताले फिल्ममा समेट्न सकेकी छैनन् । 

संगीतासँग काठमाडौँको सुन्दर/कुरुप कथा भन्ने एउटा प्रचुर सम्भावना थियो तर आफैँले लेखेको स्क्रिन–प्लेका कारण संगीता त्यो सम्भावनामा चुकेकी छन् । चकलेटमा नयाँ फ्लेबर त उनले दिन खोजेकी थिइन् तर स्वादिलो बनाउने खुराक हाल्न इन्ग्रेडिएन्ट अझै नपुगेको भान हुन्छ । यस फिल्ममार्फत उनले आफुलाई भने सम्भावना भएको निर्देशकको सूचीमा उभ्याउन सफल भएकी छन् । 
 

Leave A Comment