सोमबार साँझ ७ः३० बजे ठमेलको टर्टल लाउन्ज एन्ड बार पुग्दा जिउमा दौरा सुरुवाल, आसकोट र शिरमा ढाका टोपी पहिरिएर ठाँटिएका एक अधवैंशे हातमा धुप बोकेर मन्त्र वाचन गर्दै थिए । बारको अफिस रुममा राखिएको सानो मन्दिरबाट पूजा गर्न सुरु गरेका उनी धुप बोकेर पूरै क्लब परिसर घुमे ।
उनको हुलिया र व्यवहार देखेपछि सहजै ठम्याइयो, पुजारी रहेछन् । तैपनि ठमेलको डिस्कोमा राति–राति पुजारीलाई देखेपछि जिज्ञासा त हुने नै भयो ।
उनी त ठमेलका प्रख्यात पुजारी पो रहेछन् ! जो ठमेलका दर्जनौं रेस्टुराँ, डिस्को, क्लब, डान्सबार र होटलमा दिनहुँ पूजा गर्न पुग्छन् । धुप बाल्छन् । मन्त्र जप्छन् । अनि सुखद् व्यापारको कामना गर्छन् ।
०००
‘तपाईंको नाम के हो ?’
‘रामहरि धिताल, सर्टकर्टमा आरएच शर्मा पनि भन्छन् ।’
‘घर कता प-यो ?’
‘अहिले चाबहिल, होटल हयात अगाडि कुमारीगालमा हो । पुरानो घर सिन्धुपाल्चोकको चौतारामा हो तर १२ वर्षदेखि यतै छु ।’
कानुनी संकायका विद्यार्थी उनी जिजु हजुरबुबाको पालादेखिको खान्दानी पेशालाई अँगाल्दै पण्डित्याइँमा लागेका रहेछन् । ‘हामी सात दाजुभाइमध्ये कर्मकाण्डमा लाग्ने मै हो,’ उनले भने, ‘वकिल नै बनौं भन्ने पनि लागेको हो तर फेरि झुट पनि बोल्नुपर्छ भन्ने थाहा भएर त्यता लागिनँ । शास्त्रविपरीत लाग्नुपर्ने अवस्था आउँछ भनेर यतै लागेँ ।’
००००
ठमेलका व्यस्त क्लबहरु टर्टल, इबिजा, फायर, सर्कलदेखि नगरकोटी दोहोरी साँझ, ब्लु बार, बियर बार, डान्स बारलगायत थुप्रै स्थानमा उनी साँझ पूजा गर्न पुग्छन् । उनी ठमेलकै ट्रेकिङदेखि अन्य पसलमा पनि बिहानै पुग्छन् । दरबारमार्गमा रहेको पाँचतारे होटल ‘याक एन्ड यति’को रोयल क्यासिनोको पनि उनी पुजारी हुन् ।
उनको कामको कुनै रेट छैन रे ! सुनाउँदै थिए, ‘मेरो रेट नै छैन । ब्राह्मणलाई दक्षिणाको रुपमा जति दिनुहुन्छ त्यसमै ह्याप्पी हुन्छु । कसैले महिनामा पाँच हजार दिन्छन्, कसैले तीन हजार । महिनाको ३५ हजार जति कमाइन्छ ।’
हातले चारैतिर धुप घुमाएर माग्न चाहिँ के माग्नुहुन्छ ? उनीसँग जिज्ञासा राखियो । ‘यहाँको सर्भिस राम्रो होस् । खाना डेलिसियस होस् । चुम्बकले फलाम तानेजसरी ग्राहक तानोस् ,’ उनले सुनाए, ‘सर्भिसले ग्राहकलाई खुसी बनाओस् । दारुले लोभ्यायोस् । पूरै टेबल प्याक होस् । अनि ग्राहकलाई यहाँको सेवाले एकदमै मोहित बनाओस् । यस्तैयस्तै त माग्ने हो !’
पूजाले व्यापारमा काम गर्छ त ? उनी मुस्कुराए । त्यसपछि संस्कृतमा श्लोक सुनाए । अनि नेपालीमा प्रस्ट पार्न थाले, ‘यो त मालिकले मूल्यांकन गर्ने कुरा हो । ६० प्रतिशत उहाँहरुको मिहिनेत नै हो । ४० प्रतिशत चाहिँ पूजाको भूमिका हुन्छ । व्यापारमा प्लसपोइन्ट भने पक्का हुन्छ । त्यही भएर त मलाई बोलाइराछन् नत्र किन बोलाउँथे र !’
ठमेलमा प्रवेश कसरी ?
१८ वर्षअघि ठमेलको ग्रिन हिल टुरका साहुले धिताललाई पूजा गर्न बोलाए । त्यहाँ पसलको बिजनेस राम्रो हुँदै गएपछि उनलाई दिनहुँ पूजाका लागि बोलाइयो । उनकै देखासिकी गर्दै अरु व्यापारीले पनि बोलाउन थाले । ठमेलमा उनको माग बढ्दै गयो ।
यत्तिकैमा उनको भेट कमल सिंह सुवालसँग भयो जो ठमेलमा मोटरसाइकल सर्भिस र हायर सेन्टर चलाउँथे । त्यही पसलमा पूजा गर्न उनलाई बोलाइयो । पछि कमलले ठमेलमा डान्सबार खोल्ने निधो गरे । पुजारी धितालले नै उनको साइत हेरिदिए । नाम जु¥यो– ब्लु बार (अहिले पनि सञ्चालनमा छ) । उद्घाटनमा पूजा पनि गरिदिए । डान्सबार चम्कँदै गयो । पुजारीको माग पनि बढ्दै गयो ।
‘नाइट बिजनेसमा पूजा गर्न थालेको डान्सबारबाटै हो । जीवनमा पहिलोपल्ट डान्सबार पसेको नै ब्लु बारमा हो,’ उनले सुनाए ।
‘डान्सरको हाउभाउले छुँदैन’
धितालले सधैँ देख्छन्, डान्सबार र डिस्कोमा छोटा र ग्ल्यामर पहिरनमा सजिएका युवतीहरु । तर त्यसले आफूलाई कुनै आनन्द नदिने बताउँछन् । ‘डान्सरको हाउभाउले मलाई कहिल्यै असर गरेन,’ उनी भन्छन्, ‘मलाई यस्ता कुराले कहिल्यै उत्तेजनामा ल्याएन । भएको आँखालाई छोप्न त सकिन्न तर मैले कहिल्यै त्यस्ता केटी देखेर इन्जोय गरिनँ । नत्र म किन आइरहन्थेँ र ?’
कुराकानीका क्रममा रामहरि पटक–पटक संस्कृत, भागवत र शास्त्रका कुरा जोड्थे । शास्त्रमै भगवान्सँग युवतीका कुरा जोडिएका छन् भनेर सम्झाउँथे । तर आफू भने कहिल्यै आकर्षित नभएको बताए । ‘पूजाआजा मेरो कर्म हो, मैले गर्ने त्यति मात्रै हो,’ उनले भनिरहे ।
युवतीको प्रसंग निस्किएपछि उनी रोकिएनन् । ‘अहिलेसम्म युवतीको अंग नदेख्या भनौं भने घरमा मेरो दुईटा लाइसेन्स छन्, छोरा र छोरी । डान्सबारमा पूजा गर्न जाँदा यसो कहिलेकाहीँ ५, १० मिनेट डान्स हेर्छु । तर त्यस्तो कुनै फिल हुँदैन, जस्ट इन्जोय न हो ।’
डिस्को–डान्सबारमा देखेपछि कसैले त ‘बाजे नाचौं न’ भनेर प्रस्ताव त राखे होलान् नि ! उनले जवाफ दिए ‘यस्तो कपडा लगाएर आएपछि कसैले त्यस्तो प्रस्ताव राख्न सक्दैन । डियुटी म आफ्नो तरिकाले गर्ने हो । कसैको मतलब गर्दिनँ । मलाई अट्रेक्सन कहिल्यै भएन ।’
त्यो अजिब प्रश्न...
पुजारी धितालले एकपल्ट बडो अजिबको प्रश्न सामना गरेका रहेछन् । भनिरहेका थिए, ती बहिनीको त्यो प्रश्न म कहिल्यै भुल्दिनँ । के रहेछ त्यस्तो अविस्मरणीय प्रश्न ?
‘म एउटा बर्थडेको पूजामा गा’को थिएँ,’ उनले सम्झिए, ‘खाना–साना खाएपछि ती बहिनीले ‘एउटा कुरा सोध्न मन लाग्यो गुरु’ भनिन् । मैले ‘हुन्छ’ भनेँ । त्यसपछि उनले सोधिन्, म अहिले तपाईंको अगाडि न्याकेड भएर आएँ भने तपाईंले मलाई कस्तो सोच्नुहुन्छ, तपार्ईंको मन कस्तो हुन्छ ?’
प्रश्न सुनेर एकछिन उनी अवाक् भएछन् । त्यसपछि उनले सुरुमा मन्त्रमार्फत जवाफ दिएछन्, ‘सत्यम् व्रतम्, सत्यम् परम्, सत्यंच योनि, मृत्यु सत्य...’ अनि नेपालीमा बुझाएछन्, ‘मलाई केही थाहा छैन भनौँ भने मेरा दुइटा लाइसेन्स छन् । थाहा छ भनौं भने मलाई अरु केटीको चासो छैन । सबै मान्छेको उही त हो ।’
फरक पार्टनरसँग फरक स्वाद पाइएला कि ! ‘त्यस्तो नहोला,’ उनले हाँस्दै जवाफ फर्काए ।
‘मलाई कसले आँट गर्छ र ?’
एक दसक भयो रामहरिले ठमेलको नाइट बिजनेसका लागि प्रार्थना गर्न थालेको । उनको आँखाबाट हेर्दा के परिवर्तन भएछ त ? ‘पहिलेको तुलनामा अहिले ग्राहक कम छन् । पहिला खाँदाखाँद हुन्थ्यो, अहिले शून्यशून्य देख्छु,’ उनले भने ।
भनेपछि तपाईंको पूजाले अचेल काम गर्न छाड्यो कि ? उनलाई प्रतिप्रश्न गरियो । जवाफ यस्तो आयो, ‘होइन, कस्टमर नै छैन भने पूजाले कसरी काम गर्छ र ? ६० प्रतिशत त कामले नै गर्ने हो । कस्टमर, काम, सबै कुरा चाहियो नि ! टिमवर्कको भूमिका हुन्छ क्या !’
ठमेलको इमेज खराब छ नि भन्ने जिज्ञासामा उनले गीतमार्फत जवाफ दिए, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ।’
तर वरिपरि छरछिमेकमा उनलाई कुरा काट्नेहरु भने हुँदा रहेछन् । सुनाउँदै थिए, ‘परिवारबाट त केही कुरा आउँदैन तर वरिपरि कतिपयले यो कति रातिराति ठमेल गइरहन्छ, केही न केही माइनस पोइन्ट छ भनेर कुरा काट्दा रहेछन् । तर मान्छेको भावना शुद्ध छ भने कसैले भनेर केही हुँदैन ।’
Leave A Comment