फेसबुकमा लाइभ सुसाइड 'गुडबाई गाइज'

मङ्गलबार, २३ असोज २०७५, १० : २४ शुक्रवार
फेसबुकमा लाइभ सुसाइड 'गुडबाई गाइज'

घटना आइतबारको हो ।
चितवनको कालिका नगरपालिकामा बस्ने २५ वर्षीय युवा निश्चल तामाङ बेलुका साढे ९ बजेतिर फेसबुक पेजमा झुल्किन्छन् । स्टाटस लेख्छन्, ‘समथिङ भेरी सिरियस गोइङ टु ह्यापन । आई विल बि लाइभ एट १२ । प्लिज डु रेकर्ड माइ लाइभ (केही गम्भीर हुन जाँदैछ । म १२ बजे लाइभमा आउँछु । कृपया मेरो लाइभ रेकर्ड गर्नुहोला ।)’

उनले ‘सङ् अफ ग्लोरी’ ह्यासट्याग प्रयोग गरेका थिए ।
पहिलो स्टाटसमा उनले के हुन गइरहेको छ भन्ने खुलाएका थिएनन् । धेरैले उनको यो स्टाटसलाई वास्ता पनि गरेनन् । केहीले मात्र लाइक गरे ।
करिब एक घण्टापछि १०ः१३ मा उनले अर्को स्टाटस लेखे, ‘टाइम  १२ः००’ ।
यसमा पनि त्यस्तो केही प्रतिक्रिया आएन । 
लगत्तै अर्को स्टेटस लेख्छन्, ‘स्टे ट्युन्ड’ । एक मिनेटपछि फेरि अर्को स्टाटस राख्छन्, ‘मेक स्योर, यु गाइज रेकर्ड द्याट लाइभ (लाइभ रेकर्ड गर्ने पक्का गर केटा हो !) ।’
त्यसको करिब एक घण्टापछि ११ः४७ मा उनी भिडियो लाइभमा आउँछन् । कोठा अँध्यारो छ । कालो हाफ टिसर्ट लगाएका छन् । अंग्रेजीमा बोल्दै कोकको बोलतमा भएको पेय पदार्थ पिउँछन् । उनको बोली लर्बरिएको सुनिन्छ ।

‘आई गन डु सुसाइडल थिङ्स टुडे, टुनाइट’ (आज म आत्महत्या गर्न जाँदैछु) भन्दै कोकको बोतल देखाउँछन् र गफ गर्न थाल्छन् ।

‘मैले केही ह्विस्की यो कोकको बोतलमा राखेको छु । ह्विस्की गाइज्, ह्विस्की । म ह्विस्की खाइरहेको छु । ७५ प्रतिशत ह्विस्की छ, २५ प्रतिशत कोक । म मेरो जीवनबाट फेडअप भएँ । म मेरो जीवन सिध्याउन चाहन्छु । त्यसैले यो भिडियो बनाइरहेको छु । अब आफूलाई आफैँ झुन्ड्याउन गइरहेको छु । यो मेरो बिदाइको क्षण हो ।’

उनी उठ्छन् र कोठाभित्र घुम्छन् । नजिकै रहेको कोठाको दराजमा रहेको सल निकाल्छन् र देखाउँदै भन्छन्, ‘यो सल म झुण्डिन काफी छ, हैन त !’ अनि घाँटीमा बेरेर आत्महत्या गरेकोझैँ अभिनय गर्छन् । हाँस्छन् र भन्छन्, ‘साथीहरु लाइभ सुसाइड हेर्न तयार छौ हैन त !’

उनको यो गतिविधिपछि लाइभ हेरिरहेकाहरुले उनीसँग कुरा गर्न सुरु गर्छन् । कसैले सोध्छ, ‘के भयो ब्रो ?’
उनी उत्तर दिन्छन्, ‘आइएम फक्डअप ब्रो ! एन्ड आई डन्ट केयर । म अहिले चितवनको गाउँमा छु र यो सलले आत्महत्या गर्दैछु ।’

उनलाई केही साथीले यस्तो नगर्न सुझाव दिन्छन् तर उनी मान्दैनन् । महिलाको बाबु–बाबु भनेको आवाज सुनिन्छ । उनी एकोहोरो लाइभमा बोलिरहन्छन्, ‘ओके साथीहरु यो मेरो परिचय हो । म अहिले नै आफैँलाई झुण्ड्याउँदिन । केही घण्टापछि हो । जब १२ बज्छ, त्यसपछि मात्र हो । केटाहरु तिमीहरु मेरो बारेमा के सोच्छौँ । म दिक्क भएँ । त्यसैले म बाँच्न चाहन्न अब ।’
र, ह्विस्की मिसिएको कोक पिउन थाल्छन् ।
४ मिनेट ४३ सेकेन्ड लाइभमा आएपछि उनी अफलाइन हुन्छन् र ११ः५७ मा पुनः लाइभमा आउँछन् ।
‘माई डेट लाइन इज नियर, थ्री मिनेट मोर’ भन्दै गोल्डेन ओक ह्विस्की बोतलबाटै पिउँछन् । उनले त्यहाँ दिएको जानकारीअनुसार त्यो चौथो क्वार्टर थियो ।

कसैले नेपालीमा बोल न भन्छन् । उनी भन्छन्, ‘नबुझोस् भनेर त अंग्रेजीमा बोलेको !’ 
एकजनाले भाइ के भयो तँलाई भनेर जिज्ञासा राख्दा भन्छन्, ‘दाइ पागल भएँ नि !’
उनको प्रतिक्रिया सुन्दा ती व्यक्ति उनले चिनेकोझैँ देखिन्थ्यो । करिब ६ मिनेटसम्म उनी एकोहोरो कुरा गरिरहन्छन् ।

केहीले उनलाई पैसाको अभावले आत्महत्या गर्न लागेको हो भने म जागिर दिन्छु त्यसो नगर भनेर आग्रह गर्छन् । कसैले प्लिज यस्तो काम नगर भनेर सम्झाउँछन् ।
चिनेजानेकाले आक्रोशित हुँदै सम्झाउँछन् ।
‘के पारा देखाइराखेको ? तँलाई हामी चाहिँदैन साले ! कसको लागि गरिरहेको छस्, यो सब ? आफ्नो मात्र नसोच् यार ! अरुका लागि ’नि कहिलेकाहीँ विचार गर ।’
तर उनी आफ्नै पारामा छन् । आमाको सल बेर्छन् । सुँघ्छन् र भन्छन्, ‘म मेरी आमालाई धेरै मिस गर्नेछु । म आफैँ आफ्नो बलिदान दिँदैछु ।’
डेढ मिनेटको तेस्रो लाइभ सकिन्छ । 

उनी पुनः १२ः२२ मा आइपुग्छन् लाइभमा र साढे १७ मिनेटसम्म लाइभमा हुन्छन् । 
‘केटाहरु म झुण्डिएको हेर्न तयार छौ हैन त ! अहिले यो लाइभ जो जसले हेरिरहेका छौ प्लिज यो रेकर्ड गर । भोलिका दिनमा मैले आत्महत्या गरेको हो भन्ने प्रमाणका लागि काम लाग्छ । तीन क्वाटर ह्विस्की खाइसकेँ । यो चौथो हो । यो सकिएपछि म आत्महत्या गर्छु । तिमीहरुले सोचेको भन्दा मेरो समस्या ठूलो छ । धेरै परिस्थिति छन्, जसलाई अब म सम्हाल्न सक्दिनँ । यसको उपाय मेरो जीवन समाप्त गर्नु मात्र हो ।’

तेस्रो भिडियोमा उनको बोली लर्बरिएको छ । मदिराको मात हुनसक्छ । संवाद अन्य भिडियोको भन्दा गम्भीर छ । उनी केही साथीहरुको नाम लिँदै उनीहरुलाई धन्यवाद दिन्छन् ।
‘तिमीहरुको मुटु बलियो छ भने मेरो भिडियो हेर्नु । १८ वर्षभन्दा कम उमेरकाले नहेर्नु । मुटु दह्रो छ भने हेरे हुन्छ ।’
यति नै बेला कमेन्टमा उनको नम्बर खोजेर फोन गर्ने, सम्झाउने विषयमा प्रतिक्रियामा कुरा भइरहेको हुन्छ ।

‘नम्बर छैन ? भन्ने जिज्ञासामा प्रतिक्रिया आउँछ, ‘मोटेको पनि छैन ।’
यो संवाद पढेर तामाङ भन्छन्, ‘मोटेको पनि छैन, के भन्छन् हो केटाहरु ? डन्ट डाई प्लिज रे ! को रहेछ यो ? (हाँस्दै) ए दार्जलिङको भाइ पो रहेछ ! मेरो भाइ म मर्न लागेको हैन, संसार छाड्न लागेको हो ।’
कसैले उनको आमालाई फोन दिन आग्रह गर्छ ।
‘छोड् दे, आन्टी फ्ल्याँट भएर सुतिसक्यो । मेरो आमा सुतिसक्यो । कोही पनि छैन । म मात्रै छु । त्यसैले त म यो गर्दैछु । आइएम ड्रङ्क एन्ड गोइङ टु डु दिस फकिङ थिङ्स् ।’
एक जनाले के भयो भनेर सोध्दा उनी उत्तर दिन्छन्, ‘के हुनु नि ? खसी, काट्न लागे अनि भाग्न लागेको । तँ पनि भाग, दसैँ आउन लाग्यो । काट्लान् तँलाई पनि ।’
अन्य कोठाबाट कोही बोलेको आवाज आउँछ ।
‘१२ बजिसक्यो, हल्ला गरेर सुत्न देको हैन ।’
‘ओ बाजे, हल्ला नगर्नु न,’ उनी भन्छन्, ‘यहाँ म साथीहरुसँग पैसाको कुरा गरिरहेको छु ।’
केहीबेर दुवैबीच विवाद हुन्छ ।
‘भोलिदेखि आनन्दले सुत्नु, भोलिदेखि कचकच केही पनि हुन्न । कसैले कराउँदैन ।’
लाइभमा प्रतिक्रिया आइरहेका हुन्छन् ।
धेरैले उनलाई सम्झाए पनि केहीले भने जिस्केकोझैँ सम्झेर ‘मर मर’ भन्ने प्रतिक्रिया दिइरहेको देखिन्छ ।
केहीले त्यस्ता प्रतिक्रिया दिनेलाई सम्झाउँछन्, ‘कमेन्टमा उक्साउने नगर्नु न तपाईंहरु । यो गम्भीर भयो भने ? ऊ धेरै मातेको छ । गलत निर्णय लिन समय लाग्दैन ।’उनको ध्यान अन्तै मोड्न केहीले तास खेल्न बोलाउँछन् । कसैले चितवनमा त धेरै गर्मी छ जस्तो छ भन्छन् तर उनी एकोहोरो आफ्नै कुरा गरिरहन्छन् ।

‘केही परिस्थिति छन्, त्यसैले म आफूले आफैँलाई झुन्ड्याउँदैछु । आइ लभ यु गाइज बाई ।’
राति साढे १२ बजेतिर उनी टेबलमा चढ्छन् र पासो लगाएर आत्महत्या गर्छन् । 
......................
उनी झुण्डिएझैँ देखिए लगत्तै लाइभ बन्द भएकाले धेरैले उनले नाटक गरेकोझैँ सम्झिरहेका थिए तर अवस्था त्यस्तो थिएन । उनले फेसबुकमा लाइभ गर्दागर्दै आत्महत्या गरेका थिए ।लाइभ बन्द भए पनि प्रहरीलाई मेन्सन गरेर जानकारी दिने, नम्बर थाहा भएकाले उनको बाबुलाई फोन गर्ने गरिरहेका थिए । एक बजेतिर फोनको घण्टीले उनको बाबुको निद्रा खल्बलियो । 

फोन गर्नेले छोराको कोठामा गएर हेर्नु त भनेपछि उनी हुत्तिदै पुग्दा छोरा शव बनिसकेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका  डिएसपी दयानिधि ज्ञवालीका अनुसार  तामाङ ट्याटु आर्टिस्ट हुन् । लागू औषधको लतमा परेका उनी एक महिनाअघि मात्र सुधार केन्द्रबाट घर आएका थिए । 

उनले तीन जनासँग विवाह गरेका थिए । दुई जनाले छाडेर गए भने तेस्री श्रीमती झापा माइतीमा गएकी थिइन् । घरमा उनी र उनका बाआमा मात्रै थिए । उनी माथिल्लो फ्ल्याटमा थिए भने उनको बाबुआमा तल्लो फ्ल्याटमा सुतेका थिए । उनका अभिभावकले आइतबार बिहान २ वजे फोन गरेर जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको डिएसपी ज्ञवालीले जानकारी दिए ।

सुसाइड नोटमा के छ ?
उनले फेसबुकमा लाइभ नै गरेर सुसाइड गरे पनि प्रहरीले उनको कोठामा सुसाइड नोट फेला पारेको थियो । सुसाइड नोट मदिरा सेवन अगाडि नै लेखेको हुनसक्ने प्रहरीको आशंका छ ।
२ पेजको सुसाइड नोटमा उनले आफू प्रतिको हीनताबोध उल्लेख गरेका छन् । 


‘म सुधार केन्द्र पनि गएँ । म सुध्रिनै सकिनँ । मैले  छोरो भएर जन्मिसकेपछि बुबाआमाका लागि जे गर्नु पर्ने हो त्यो गर्न सकिनँ । त्यसले गर्दा यो लाइफबाट म जाँदैछु । अर्काे जुनीमा यही आमाको कोखबाट जन्मिएर राम्रो काम गर्छु  । अर्काे जन्ममा राम्रो भएर जन्मिन चाहन्छु,’ सुसाइड नोट उद्धृत गर्दै प्रहरीले भन्यो ।


उनले सानीमालाई धेरै माया गर्ने र सानीमालाई यो कुरा सुन्दा सहन गाह्रो हुने भएकाले नभन्न लेख्दै श्रीमतीबारे लेखेका छन्, ‘मेरी श्रीमती रानीजस्ती छन् । उनलाई छोरी जसरी पाल्नु ।’

प्रविधिको दुरुपयोग
नेपालमा आत्महत्याको दर डरलाग्दो छ तर यसरी आत्महत्याको दृश्य सामाजिक सञ्जालमा लाइभ भएको यो पहिलो घटना हो । दुई वर्षअघि यता फेसबुकले सबै सदस्यलाई लाइभको सुविधा दिएसँगै विभिन्न देशमा आङै सिरिङ्ग पार्ने यस्ता धेरै घटना घटिसकेका छन् । 

प्रेमिकासँग ब्रेकअप भएको झोँकमा अमेरिकाको अलाबामा राज्यका जेम्स एफ जेफ्रीले फेसबुक लाइभ गर्दै आफैँलाई छातिमा गोली हानेर आत्महत्या गरेका थिए । गत वर्ष थाइल्यान्डको फुकेटमा प्रेमिकाले धोका दिएको भन्दै २० वर्षीय युवा वात्सान वाङताले ११ महिनाको बालकलाई झुण्ड्याएर हत्या गरेको दृश्य लाइभ गरेका थिए र पछि आफूले पनि आत्महत्या गरेका थिए ।

स्टिभ स्टेफेन्स नामक एक युवाले ७४ वर्षीय वृद्धलाई टाउकोमा गोली हानेर हत्या गरेको, छिमेकीले यौन दुव्र्यवहार गरेको झोँकमा १२ वर्षीया किशोरीले आत्महत्या गरेको दृश्यसमेत फेसबुक लाइभ भएका थिए ।
लाइभको दुरुपयोगसँगै फेसबुकको आलोचना बढेपछि उसले यसलाई रोक्न २०१७ नोभेम्बरमा सुसाइडलाई रोक्न आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलजीको प्रयोगमा ल्याएको घोषणा गरेको थियो । सो प्रविधिले प्रयोगकर्ताको आत्महत्या गर्नसक्ने व्यवहारलाई विश्लेषण गरेर साथीहरुलाई जानकारी दिने उल्लेख गरिएको थियो ।

रोक्न सम्भव छ त ?
आत्महत्या गर्ने मनस्थितिमा पुगेकालाई फेसबुकको यस किसिमको प्रविधि उपयोग गर्दै केहीको ज्यान जोगिएका उदाहरण पनि छन् । नेपालमै पनि २ वर्षअघि आत्महत्याको मोडमा पुगेका झापाका एक युवाको ज्यान जोगिएको थियो ।

ती युवाले फेसबुकमा ‘यो मेरो जीवनको अन्तिम क्षण हो । एक व्यक्ति मर्दैमा दुनियाँलाई केही फरक पर्दैन’ भनेर लेखेका थिए ।

उनको सो स्टाटस देखेलगत्तै आयरल्यान्डमा रहेको फेसबुक कार्यालयले महानगरीय प्रहरी अपराध महाशाखालाई अलर्ट पठाएको थियो । सो अलर्टको आधारमा प्रहरीले झापा प्रहरीमार्फत ती युवाको घरमा पुगेर काउन्सिलिङ दिएको थियो ।

निश्चल तामाङले फेसबुक लाइभमा आत्महत्याको समय तोकेर चार घण्टासम्म लाइभ बसुन्जेल धेरैले फेसबुकलाई जानकारी गराएका थिए । केहीले नेपाल प्रहरीको फेसबुक पेजमा मेन्सन गरेर घटनाबारे जानकारी गराए पनि समयमै उनको परिवारलाई जानकारी गराउन नसक्दा र प्रहरी उनको घरमा नपुग्दा उनको आत्महत्या रोक्न असफल देखियो ।

निश्चलले आत्महत्याको तयारी गरिरहेका बेला उनका बाबुलाई साथीहरुले फोन गरेर जानकारी दिने प्रयास गरेका थिए । उनी निद्रामा रहेकाले फोन आएको चाल पाउन सकेनन् । जुन समयमा उनले फोन आएको थाहा पाएका थिए, त्यतिञ्जेलसम्म निश्चलले आत्महत्या गरिसकेका थिए । 

दुई वर्ष अगाडिको घटनाझैँ यस घटनाबारे पनि कतै अपराध महाशाखालाई अलर्ट आएको थियो कि ?
‘यो बारे त्यस्तो केही अलर्ट आएन,’ महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने, ‘आत्महत्या गरिसकेपछि मात्र प्रहरीले जानकारी पाएको हो ।’


आत्महत्या गर्न हिँडेका पुलमा भेटिए
फेसबुक लाइभको केस हैन यो । एसएमएसको केस हो, जसबारे समयमै सूचना पाउन सक्दा प्रहरीले एक युवाको ज्यान जोगाएको थियो । 

घटना यही असोजकै हो । असोज ५ मा महाशाखामा एक युवतीले आफ्नो भाइले आत्महत्या गर्न हिँडेको म्यासेज पठाएर सम्पर्कविहीन भएको सूचना दिएकी थिइन् ।

ती १८ वर्षे युवकले दिउँसो ४ बजे म्यासेज पठाएर मोबाइल अफ गरिसकेका थिए । प्रहरीले उनको मोबाइल अफ भएको लोकेसनको आधारमा उनलाई खोज्दा करिब ३ घण्टापछि बालाजु पुलमा टोलाएर बसिरहेको अवस्थामा फेला पारेको थियो । 

प्रहरीले उनलाई आत्महत्या गर्नुको कारण खोज्यो । ती युवाले आफूलाई खासै पढ्न नआउने तर घरमा पढ् भनेर तनाव दिने गरेकाले मर्न मन लागेको बताएका थिए । 

टिप्पणी

देखाएर आत्महत्या, बाँच्ने आशा
गोपाल ढकाल,मनोविद्
घर, परिवार, साथीभाइ, समाज लगायत कसैले मलाई माया गरेको छैन भनेर पनि कतिपयले अरुलाई देखाएर आत्महत्या गर्न सक्छन् । कतिपय सेलिब्रेटी लगायतले आत्महत्या गर्दा चर्चा पाएको देखेर तथा सुनेर पनि सबैलाई देखाएर आत्महत्या गर्दा चर्चा पाइने रहेछ भन्ठानेर पनि अरुले थाहा पाउने गरी आत्महत्या गरेको पाइन्छ । म मर्दा सबैले थाहा पाउँछन् र म चर्चित हुन्छु भनेर कतिपयले सामाजिक सञ्जालमा लाइभसमेत गरेर आत्महत्या गरेको पाइन्छ । 

तर त्यसरी सामाजिक सञ्जालबाट लाइभ गरेर आत्महत्या गर्नु भनेको कसैसँग बाँच्नका लागि सहयोग मागिरहेको पनि हो । सामाजिक सञ्जाल लगायतबाट आत्महत्या गर्ने बारेमा अरुलाई पनि जानकारी दिएपछि मलाई कसैले बचाउन आउँछन् र म बाँच्छु भन्ने मानसिकता पनि हुन्छ । 

सबैलाई थाहा दिएपछि मर्नबाट मलाई रोक्छन् भनेर मद्दत मागेको हो । त्यसरी लाइभ गर्दा पनि कोही सहयोग गर्न नआाएपछि अब मलाई सहयोग गर्ने कोही पनि रहेनछ भनेर अन्त्यमा मर्ने निर्णय गर्न सक्छन् । कतिपयले रिसले मरेर देखाइदिन्छु भन्ने सोचेर पनि सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक गर्छन् । 

योजनाबद्ध आत्महत्या
कतिले सुटुक्कै आत्महत्या गर्छन् भने कतिपयले योजनाबद्ध रुपमा आत्महत्या गर्छन् । योजनाबद्ध आत्महत्याको प्रयास गर्ने वा आत्महत्या गर्ने व्यक्तिमा यो समयमा मर्छु भन्ने योजना हुन्छ । आत्महत्याको योजना बनाएका व्यक्तिको दिमागमा यो समयमा म यो काम गर्छु र यस किसिमको उपाय अपनाएर आत्महत्या गर्छु भन्ने हुन्छ । 

आत्महत्या गर्न खोज्ने व्यक्तिमा आत्महत्या गर्ने बारेमा मात्रै सोचेको हुन्छ । कतिखेर आत्महत्या गर्ने भन्ने योजना बनाएको हुन्छ । आत्महत्या गर्ने समयमा व्यक्तिको दिमागले सही काम गरेको हुँदैन । म मर्दैछु भन्ने पनि व्यक्तिलाई थाहा हुँदैन । मर्न हुँदैन भन्ने पनि थाहा हुँदैन । मैले जे  निर्णय गर्दैछु, त्यो सही हो भन्ने भ्रम हुन्छ । 

डिप्रेसनले आत्महत्या
सेरोटोनिन् र डोपामिन जस्ता हार्मोनको कमीले मानिसलाई डिप्रेसन हुन्छ । डिप्रेसन लगायतको मानसिक रोगका कारणले योजनाबद्ध तरिकाले मानिसले आत्महत्या गर्ने सम्भावना हुन्छ । डिप्रेसनमा मानिस दुःखी हुन्छ । आफ्नै जीवनदेखि दिक्क लाग्न थाल्छ ।

संसारमा एक्लो महसुस गर्छ र मानिसले आत्महत्याको बाटो रोज्छ । डिप्रेसन भएका व्यक्तिले मर्ने बारेमा पूर्वतयारी गर्नुका साथै योजना बनाएर आत्महत्या गर्छ । म मर्दैछु भन्ने निर्णय गरेको हुन्छ । 
मर्नुपूर्व योजना बनाएका व्यक्तिमा म आत्महत्या गर्ने समयमा कसैले मलाई देख्छ, थाहा पाएपछि मलाई बचाउन आउँछन् अनि म बाँच्छु भन्ने पनि हुन्छ । कतिपय आत्महत्याको योजना बनाएका व्यक्तिले पनि बाँच्ने अवसर पर्खिरहेका हुन्छन् । 

कसैलाई देखाउनका लागि आत्महत्याको नाटक गर्ने व्यक्तिले बाँच्ने आशामा अरुले देख्ने किसिमले आत्महत्या गर्न खोज्छन् र कोही बचाउन नआएका खण्डमा आत्महत्या हुन्छ । 

भ्रमले आत्महत्या
डिमेन्सिया बिर्सिने मानसिक रोग हो । डिमेन्सिया भएका व्यक्तिले पनि आफू मर्दैछु भन्ने कुरै बिर्सिएर आत्महत्या गर्न सक्छन् । त्यसैगरी मेनिया वा अन्य मानसिक रोगका कारणले मानिसमा एक किसिमको भ्रम पैदा हुुन्छ । मेनियाजस्तो मानसिक रोग भएका व्यक्तिमा कानमा कसैले केही भनिरहेको जस्तो भ्रम हुन्छ ।

कानमा तँ मर, मर्न डराउनु पर्दैन, म सँग नडरा, तँ मेरो उत्तराधिकारी होस्, अरुको कुरा नसुन्नु, जसरी पनि मर्नु भन्ने कुरा कसैले भनिरहेको जस्तो कानमा गुन्जिन्छ । त्यसरी कानमा गुन्जिएपछि मेनिया लगायतका मानसिक रोग भएका व्यक्तिले मर्ने योजना बनाउँछ । त्यस्तो भ्रम जतिखेर पनि आउन सक्छ । झुम्म भइरहेको हुन्छ । मर्ने निर्णयबाट पछि हट्दैन । 

आत्महत्या तयारीको लक्षण
आत्महत्या गर्ने व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मर्ने कुरा गर्न सक्छ । कसैसँग गुनासो तथा रोदन पोख्न सक्छ । मर्नका लागि आवश्यक सामग्री डोरी, विषादी, भीरको योजना लगायतको व्यवस्थापन गर्छ । 
आफूले गरेका व्यवहार तथा लेनदेन मिलाउनुका साथै आफन्त, साथीभाइ लगायतसँग बिदाबारी भेट गर्छ । डायरीमा केही कुरा लेख्न पनि सक्छ । 

आत्महत्या गर्ने व्यक्तिले जोखिमपूर्ण तथा अस्वाभाविक व्यवहार देखाउन पनि सक्छ । 
कतिपय मानिस आत्महत्या गर्नुअघि निराश हुने, टहलिने लगायतका व्यवहार देखाउँछन् भने कतिपय अन्य समयको भन्दा हाँसीखुसीको व्यवहार देखाउँछन् । 
 

Leave A Comment