कलाकार सम्झना बुढाथोकीकाे नाइट अनुभव ‘पिउने मान्छे भएन भने ल्याङ लाग्छ ’

बुधबार, २४ असोज २०७५, ०५ : ३० भोला अधिकारी
कलाकार सम्झना बुढाथोकीकाे नाइट अनुभव ‘पिउने मान्छे भएन भने ल्याङ लाग्छ ’

डान्सबारमा नाचेर कलाकारितामा लागेकी कलाकार तथा मोडल हुन् सम्झना बुढाथोकी । उनले अहिलेसम्म १५ सयभन्दा बढी गीत र आधा दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । डान्सबारमा गइरहने सम्झनाले आफ्नो नाइट लाइफबारे शुक्रवारकर्मी भोला अधिकारीसँग साटेको अनुभव । 

डान्सबारमा ६ वर्ष 
डान्सबारबाटै मेरो किरियर सुरु भएको हो । म सानैबाट नाच्नमा माहिर थिएँ । जुन डान्सबारमा नाचे पनि मेरो डान्स हेर्न धरै गेष्टहरु आउने गरेका छन् । मैले लैनचौरमा रहेको मल्ल होटलमा नाच्दा विदेशीहरु मेरो डान्स हेर्न आउँथे । त्यहाँ हप्तामा २ पटक नाच्नु पथ्र्याे ।

अहिलेको जस्तो विकिनीमा नाच्ने भन्ने थिएन । टिपिकल नेपाली कल्चरका डे«स लगाएर नाच्नु पर्ने हुन्थ्यो । नेपाली पहिरनमा नाच्दा विदेशीहरु रमाइरहेका हुन्थे । एकजना विदेशीले मेरो डान्स मन पराएर नेपाली २० हजार रुपैयाँ टिप्स दिएका थिए । मल्ल होटलमा नाच्दा तलब २ हजार मात्र थियो । २० हजार टिप्सले साथीभाइलाई पार्टी दिएँ । 

ननाचेको डान्सबार छैन
म ननाचेको डान्सबार कमै होलान् । गोरखा पार्टी प्यालेस, रोयल गोर्खा, ताज महल, रोयल किचनलगायत थुपै्रमा नाचे‌ । म जुन डान्सबारमा जान्थेँ त्यहाँ लिडर हुन्थेँ । 

प्रेम प्रस्ताव कति–कति 
डान्सबारमा नाच्दा प्रेम प्रस्ताव धेरै आए । त्यो बेलामा मन पराएको छ भन्ने थाहा पाउन सजिलो तरिका थियो । डान्सबारमा अहिले जस्तो गेष्टसँग जाने बस्ने भन्ने हुँदैनथ्यो । मलाई यसले मन पराएको छ भन्ने बुझ्नका लागि जसले बढी टिप्स दिन्छ उसले मलाई मन पराउँदो रहेछ भनेर जान्नुपथ्र्योे । त्यतिबेला मोबाइल कम थियो । अलिक पहँुचवाला मान्छेको मात्रै मोबाइल हुन्थ्यो । मलाई भेट्न, बोल्न डान्सबारको ल्यान्ड लाइनमा फोन आउँथ्यो । 

अहिलेको माहौलै फरक

जतिबेला म डान्सबारमा नाच्थेँ । त्यो बेला कसैले नराम्रो भनेनन् । बिग्रनका लागि त ढोका थुनेर राखे पनि मान्छे बिग्रन्छन् । मलाई परिवारबाट कुनै रोकतोक थिएन । राति १२, १ बजे घर पुगे पनि आमाबुबाले ढोका खोलिदिनुहुन्थ्यो ।  घरबेटीले कुनै कचकच गर्दैनथ्यो । अहिलेको जस्तो गेष्टसँग जाने बस्ने, खाने त्यो बेला थिएन ।

कुनै गेष्टसँग भेट्न निकै मुस्किल हुन्थ्यो । भेटै हुँदैनथ्यो भन्दा नि फरक नपर्ला । अहिले त गेष्टसँग बस्ने सँगै खाने, मोबाइल नम्बर माग्ने जमाना आए । प्रविधिले फड्को मारेको छ । त्यही भएर अहिले अलि विकृति जस्तो देखिएको हो । डान्सबार जाँदा प्रायः २, ४ हजार टिप्स दिएकै हुन्छु ।  

डान्सबार अहिले नि जान्छु 
म प्रायः डान्सबार गइरहेकी हुन्छु । हरेक दिन जान्छु । डान्सबार गइनँ भने त निद्रा लाग्दैन । ठमेलको डान्सबार प्रायः गइरहेकी हुन्छु । दरबारमार्गमा पनि जान्छु । एक्लै जानुभन्दा नि रश्मी तामाङको ग्रुप र म हुन्छौँ । डान्सबार गएर हल्का पिउने हो रमाइलो गर्ने हो । डान्सबारमा जाँदा पिउने मान्छे भएन भने ल्याङ लाग्छ  ।  पिउनेसँग नै गफ मिल्छ । आफैँ ड्राइभ गर्नुपर्ने भएकोले मातेर लड्ने गरी भने पिउँदिन । 

साथी मातेर बाटैमा सुत्यो
२,३ महिना जति भयो होला । साथीभाइ मिलेर दरबारमार्गमा रहेको एउटा गजलबारमा गएका थियौँ । रातिको १०, ११ बजेको थियो क्यार । हामी अल्कोहल पिएर रमाइरहेका थियौँ । एकजनाले भर्खर अल्कोहल पिएर आफ्नै तालमा नाच्न थालेको थियो । अब डान्सबार जाने भनेर हिँडेका थियौँ । ऊ त ठमेलको रोडमै सुतिदियो । उसलाई ट्याक्सीमा हालेर घर पुर्याएका छाै‌ ।  रमाइलो गर्न नपाई राति ट्याक्सी लिएर घर आउँदा लास्टै नमज्जा लाग्यो   । 

गेष्टले सजाएको डान्सबार
मैले नाच्ने एउटा डान्सबारमा आएको एक गेष्टले ३० हजारभन्दा बढी खर्च गरेर फूलको गेटदेखि डान्सबारभित्रसम्म सजाएर राखेको रहेछ । त्यति बेला मैले त्यो गेष्टलाई देख्न त पाइनँ म आउनुभन्दा अगाडि नै हिँडिसक्नु भएछ । मलाई भेट्ने इच्छा लागेको थियो । किनभने मलाई यति धेरै माया गरेर मेरो डान्स मन पराएर यत्रो खर्च गरेको पहिलोपटक थियो । 

बेलुका डान्सबार जाँदा बाटोबाट डान्सबारसम्मको ढोकामा फूलै फूल थियो । अचम्म लाग्यो । मेरो बर्थडे पनि होइन । सम्झना तँलाई एउटा गेष्टले दिएको उपहार भनेर भने । म त अचम्ममा परेँ । 
 

Leave A Comment