छक्कापञ्जा ३ : गम्भीर विषय, हल्काफुल्का ‘ट्रिटमेन्ट’

सोमबार, २९ असोज २०७५, ०३ : १५ अनिल यादव
छक्कापञ्जा ३ : गम्भीर विषय, हल्काफुल्का ‘ट्रिटमेन्ट’

फिल्म दृष्टिः

‘छक्कापञ्जा’ का अघिल्ला दुई सिरिजहरु हेर्दा लाग्थ्यो, दिपकराज गिरी र दीपाश्री निरौलाको फिल्म निर्माण फर्मुला भनेकै ‘एनि  हाउ दर्शक हसाउँ र एनि हाउ पैसा कमाउ’ हो । सायद चर्को आलोचनको प्रभावले होला यसपाली उनीहरु थोरै गम्भीर देखिएका छन्, ‘छक्कापञ्जा–३’ मा । 

यसपटक उनीहरुले दर्शक हँसाउन द्विअर्थी संवाद र भद्दा मजाकको सहारा लिएका छैनन्, बरु नेपालका सरकारी विद्यालयमा देखिने बेथितिलाई फिल्मको विषय बनाएका छन् । सरकारी विद्यालयलाई कसरी राजनीतिले गाँजेको हुन्छ ? शिक्षकहरु विद्यालयमा पढाउन छाडेर बाहिर कसरी ‘खेलकुद’ गर्छन ? त्यो देखाउन खोजेका छन् । फिल्ममार्फत थोरबहुत परम्परागत शिक्षा प्रणालीमाथि व्यंग्य गर्ने प्रयत्न गरेको समेत देखिन्छ । र, फिल्ममेकर्सका रुपमा यही नै उनीहरुको सबैभन्दा प्रशंसनीय पक्ष हो । 

तर ,यति भनिरहँदा गम्भीर विषय उठाउँदैमा फिल्म उत्कृष्ट हुँदैन भन्ने यथार्थलाई पनि कहाँ भुल्न मिल्छ र !  ‘छक्कापञ्जा–३’ यही यथार्थको ताजा उदाहरण हो । फिल्म हेरिसकेपछि लाग्यो,  यो एउटा गम्भीर विषयमाथि गरिएको हल्काफुल्का ‘ट्रिटमेन्ट’ हो । 

फिल्मको कथा एउटा झुलेवस्तीमा रहेको खानीडाँडा सामुदायिक विद्यालयको सेटिङ वरपर घुमेको छ । त्यो विद्यालय जसका व्यवस्थापन समिति  अध्यक्ष अर्थात् गाउँका काजी (निर शाह) त्यसकै आडमा राजनीति गर्छन् । त्यो विद्यालय जसका पाले (केदार घिमिरे) घन्टी बजाउन छाडेर गाउँघरका बिहेमा सनही फुक्न जान्छन् । त्यो विद्यालय जसका शिक्षकहरु (बुद्धि तामाङ, जितु नेपाल) कोही कक्षामा हिसाब पढाउन छाडेर तासको हिसाबमा रमाउँछन्, कोही फित्ता बोकेर घडेरी नाप्न पुग्छन् । अनि, कोही बिरामीको बहानामा सधैँ स्कुल ढिला पुग्छन् । यी  सबैका कारण स्कुल आफै बिरामी छ । 

तैपनि स्कुलका हेडसर (शिवहरी पौैड्याल) केही पनि एक्सन लिन सक्दैनन्, सिवाय मौन हुन । स्कुलभित्र छिरेको फोहोरी राजनीतिले उनलाई तर्साएको छ । उता हक्की र क्रान्तिकारी स्वभावका वाङ्देल (शिशिर वाङ्देल) छन् जो काजी (निर शाह)का राजनीतिक प्रतिष्पर्धी हुन् । काजीसँग राजनीतिक द्वन्द्वले उनको राजनीतिक यात्रा संकटमा पर्छ  ।  त्यही संकट दुर गर्न उनी छोरा राजा (दीपकराज)लाई गाउँ बोलाउँछन् । त्यही बेला गाउँमा आइपुग्छिन्, सहरमा बसेर टिभीमा अंग्रेजी समाचार वाचन गरिरहेकी हेडसरकी छोरी उजेली (दीपिका प्रसाईं) । उता काजीकै भाइले गाउँमा निजी स्कुल पनि चलाएको छ, जो चाहन्छ सरकारी विद्यालयको हविगत सधैँ कमजोर होस् । 

यही बिरामी स्कुललाई सद्दे बनाउने अभियान वरपर केन्द्रित छ फिल्मको कथा । पात्रहरुका यस्तै अनेक स्वार्थहरुले स्कुललाई समस्यैसमस्याले गाँजेको छ । यी समस्याहरुबाट स्कुलले कसरी मुक्ति पाउला ? फिल्मको कथा यसकै निष्कर्षसहित सकिन्छ  । तर , निष्कर्ष दर्शकलाई चमत्कारिक लाग्छ । वर्षभरी समस्यैसमस्याले गाँजेको स्कुलका सबै विद्यार्थी एसइईमा परीक्षा उतीर्ण हुनु, अझ जिल्ला टप पनि त्यही स्कुलबाट हुनुले निर्देशकको विचारमै अलमल देखाउँछ । निर्देशकले फिल्ममार्फत सरकारी विद्यालयको बेथिति देखाउन खोजेकी हुन् भने अन्त्य चाहिँ  किन चमत्कारपूर्ण गरिन् ? निजी होस् या सामुदायिक केही गरे जहाँ पनि सफलता सम्भव छ भन्ने देखाउन खोजेकी हुन् भने पनि उनले देखाएको सफलता र परिवर्तन त्यति छोटो समयमा हासिल गर्न सकिँदैन भन्ने यथार्थबारे उनी जानकार हुनुपर्ने थियो । 

यो फिल्मको विषयवस्तु गम्भीर भए पनि उठान र प्रस्तुति यति सतही छ कि त्यसको गम्भीरताले दर्शकलाई कमै छुन्छ बरु हल्काफुल्का र अनुप्रास मिलेका संवादले दर्शक बेलाबेला हाँसिरहन्छन् । भनिरहनु नपर्ला, दीपकराज गिरीले लेख्ने फिल्मको बलियो मेरुदण्ड नै संवाद हो । भलै ,फिल्म दृश्यभाषाको माध्यम हो तर उनका फिल्ममा दर्शक हँसाउने बलियो सहारा दृश्यभन्दा पनि संवाद हो । यही कारण उनी रेडियो नाटकको पृष्ठभूमिबाट कलाकारितामा जमेको यथार्थलाई दर्शकले सम्झिइहाल्छन् । जे होस्, फिल्म रेडियो नाटकभन्दा विल्कुलै फरक माध्यम हो र यहाँ संवादमार्फत दृश्यको कल्पनाभन्दा पनि दृश्यमार्फत संवादको कल्पना बढी गरिन्छ भन्ने सत्य उनले भुल्नुहुन्न । 

तर,विडम्बना  यो पटक  पनि उनले आफ्नो त्यही विशेषतालाई लादेका छन् ।  फिल्मको संवाद र पात्रहरुको भीड व्यवस्थापनमै आफ्नो ध्यान बढी दिएका छन् । जसकारण फिल्मको विषयले न गहिराई चुम्न सकेको छ, न पटकथा चुस्त हुन सकेको छ । फलस्वरुपः फिल्म उत्कृष्ट हुने अवसरबाट चुकेको छ । 

अझ महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बनाएको सिरियल ‘शिक्षा’ हेरेका दर्शकलाई त यो फिल्मको विषय फिटिक्कै नौलो लाग्दैन । बरु फिल्मभन्दा त्यो सिरियल नै बढी स्तरीय र उत्कृष्ट महसुस हुन्छ । त्यो सिरियल पनि सरकारी विद्यालयकै बेथितिमा केन्द्रित थियो, यो फिल्म पनि त्यसमै छ । सिरियल हेरेका दर्शकलाई धेरै दृश्यहरु त्यहाँबाट प्रभावित महसुस हुन्छ । नपत्याए, सिरियल अझै पनि युट्युबमा खोजेर हेर्न सकिन्छ । 

‘छक्कापञ्जा’का अघिल्ला सिरिजहरुले फिल्ममार्फत महिलालाई होच्याएको आरोपमा चर्को आलोचना खेपेका थिए । अझ निर्देशक दीपाश्री निरौलामाथि त ‘महिलाले नै बनाएको महिला विरोधी फिल्म’सम्मको टिकाटिप्पणी  भएको थियो । त्यो टिकाटिप्पणीले पोलेर होला, यसपल्ट दीपाश्रीले फिल्ममा दिपिकाको भूमिका बलियो देखाउन खोजेकी छिन् । स्कुलको मुहार परिवर्तन गर्ने अभियानमा महिला पात्रको सहारा लिएकी छिन् । सुरुमा बलियो आभाष गराए पनि अन्त्यमा उनैले दीपिकाको पात्रलाई कमजोर बनाएर उभ्याइदिएकी छिन् । 

फिल्मको अन्त्यमा स्कुल शुद्धिकरणका लागि दिपिकाले जुन उपाय अपनाउँछिन् त्यसको सुझाव दिने चाहिँ दिपकराज भइदिन्छन् ।  जबकी त्यो काम उनले दिपकराजको सुझाव र सहयोग विना पनि गर्न सक्थिन् । र, यसरी देखाइदिएको भए महिलाको चरित्र चित्रणलाई लिएर उनलाई धाप मार्न सकिन्थ्यो । तर, यो अवसरबाट पनि उनी चुकिन् ।  सायद यो अवसरबाट चुक्नमा दीपकराजकै पटकथाले बढी काम ग-यो । किनभने दीपकराजले फिल्ममात्रै लेखेका होइनन्, आफ्नो भूमिका पनि आफै लेखेका हुन् । 

यो फिल्मभित्र सतहीमा भए पनि सरकारी विद्यालयका जति समस्याहरु देखाइएका छन्, दर्शकलाई प्रायःजसो यथार्थ नै महसुस हुन्छ । गाउँघरमा देखे–सुनेको जस्तो नै लाग्छ । समस्याको संकलनमा दीपकराजले मेहनत गरेको प्रष्टै भान हुन्छ । यसका लागि उनी प्रशंसाका हकदार हुन् । तर, केही केही दृश्य भने हदै लाग्छन् ।  जस्तो, छोराको साटो बाउ स्कुल पढाउन जानेसम्मको दृश्य चाहिँ अस्वाभाविक नै लाग्छ । 

सरकारी विद्यालयमा बेथितिहरु छन्, समस्याहरु छन् तर यो पढ्नै नहुने र पढाउनै नहुने ठाउँ पनि होइन । फिल्मले दर्शकको मनोविज्ञानमा गहिरो प्रभाव पारिरहेको हुन्छ । त्यसैले यस्ता गम्भीर विषयमाथि फिल्म बनाइरहँदा निर्देशकले दर्शकमा सिर्जना हुने मनोविज्ञानको पनि ख्याल गर्नुपर्छ । फिल्मको अन्त्य जसरी देखाइएको होस्, ‘छक्कापञ्जा–३’ हेरेर हल बाहिर निस्किँदा सरकारी स्कुल भनेको पढ्नलाई अनुपयुक्त र खत्तम हो भन्ने भान पनि दर्शकलाई हुन्छ । दर्शकले यस्तो महसुस गर्नुको कारण चाहिँ  विषयवस्तुलाई गहिराईमा नपु-याइ  प्रस्तुत गर्नु नै हो । 

‘छक्कापञ्जा’ ब्राण्डका प्रशंसकहरुलाई कमजोरीका बाबजुद पनि यो फिल्म हेरुन्जेल ‘बोरिङ’ लाग्दैन । भलै कमेडीको अभाव खड्किएला तर केदार घिमिरे, बुद्धि तामाङ, जयनन्द लामा र विल्सनविक्रम राईको ‘कमिक टाइमिङ’ले दर्शकलाई इन्गेज गराउँछ । दीपकराजको अभिनय पहिलेजस्तै औसत छ, माथि उक्लिएको छैन । दीपका प्रसाईको अभिनय नेपाली बोल्दा स्वाभाविक देखिन्छ, अंग्रेजी बोल्दा अस्वाभाविक । शिशिर वाङ्देल पनि चरित्रमा फिट छन् । फिल्ममा रहेका दुवै गीत मिठा छन् तर उनीहरुको प्रयोग कथाको आवश्यकता विनै भइदिन्छ । पुरुषोेत्तम प्रधानको क्यामेरामा फिल्मको सेटिङ सुन्दर देखिएको छ । 

तुलनात्मक रुपमा ‘छक्कापन्जा–३’ यसअघिका दुई सिरिजभन्दा सुधारिएको छ तर उत्कृष्ट होइन । फिल्ममेकिङका हिसाबले यसपल्ट दीपक–दीपा गम्भीर देखिएका छन् तर सफल होइन । भद्दा मजाक र चेतहीन कमेडीको कुलत पनि छाडेजस्तो छ । आशा छ, अब राम्रो फिल्म बनाउने लत बसाल्नेछन् । यसपटक  चुके पनि ‘छक्कापन्जा–३’ले संकेत भने यस्तै गर्छ । 
 

Leave A Comment