कथा : रिसको उमेर

आइतबार, ११ कार्तिक २०७५, ०६ : १२ शुक्रवार
कथा : रिसको उमेर

संसारमा हर चीजको एउटा निश्चित आयु हुन्छ । उमेर हुन्छ । हरेक कुराको यात्रा एउटा ठाउँमा गएर टुङ्गिन्छ । संसारमा जन्मिएको हर चीजले जवानीको बाटो हुँदै बूढ्यौलीमा गएर बिसाउनै पर्छ । 
हामीमात्र बूढो हुँदैनौँ, हामीसँगै हाम्रा हर भावहरु बूढो हुने गर्छ । 

दुई वटा सम्बन्धलाई नजिकबाट नियालेर ल्याउँछु । बूढो हुँदै जाने रिसका विभिन्न अनुहारहरु देख्छु । भलै ती दुई सम्बन्धलाई कुनै योजनाअनुरुप वा सचेत भएर व्यवस्थापन गरेको थिइनँ । अञ्जानबस् नै गरिएका कतिपय कामहरु पनि जीवनका लागि ठूलो पाठ हुने रहेछन् । 

कहिलेकाहीँ जानेर, बुझेर पनि केही जानिँदोरहेनछ । कहिले नजानेरै, नबुझेरै धेरै थोक जानिएको हुँदोरहेछ । 

                                           ०
एउटा साथी हुने गथ्र्यो । माने, त्यो साथी त अहिले पनि छ । यसरी बुझे पनि भो, एउटा सम्बन्ध हुने गथ्र्यो । सम्बन्ध अहिले पनि छ तर दुरुस्तै छैन । साथीसित सारै मिल्ती थियो । साथी भनेकै त्यस्तै त हुन् ! मिल्ती भएन भने त्यो साथी, साथी कहाँ हुन्छ र ?

सस्याना झगडा त छिचोलियो, पचाइयो । आज झगडा पर्छ, भोलि मिल्यो । यही त मित्रताको अनुभव हो । यही त मित्रताको धर्म हो । यही त मित्रताको परिचय हो । 

कथाकार सुविन भट्टराई

तर एकपटक यस्तो पनि भयो । त्यो साथीले मेरो बारेमा अन्यत्र गरेको केही नराम्रो कुरा कुनै तेस्रो व्यक्तिले मेरा सामु केही झिनो प्रमाण लिएर उपस्थित भयो । म मूर्ख ! मलाई रिसले मूर्ख बनाइहाल्यो । मेरो रिस मेरो शान्त स्वभाव भएको व्यक्तित्वको कोठाको ढोका फोरेरै, मलाई नै नटेरेर निस्क्यो । मभित्रको रिस विष बनिसककेको थियो । 

म साथी भएका ठाउँमा गएँ । उसलाई एक शब्द पनि बोल्न नदिएर आफ्नो मनभित्र भएको विष जम्मै निकालेँ । स्पष्टीकरणमा उसका पनि केही शब्दहरु थिए होलान् । मौका उसलाई पनि एकपटक दिन जरुरी हुँदो हो । सत्य के हो, शान्त चित्तले उसलाई सोधे म आफैँ केही कन्भिन्स हुँदो हुँ । तर रिसले मेरा नैतिक मूल्य र मान्यता केही भनेन । रिसले मेरो स्वरुपै बदल्दियो ।

मेरो रिसको जवाफमा मेरो साथी पनि नरिसाई बस्न सकेन । ऊ अझ एक कदम अघि बढेर रिसायो । म दुई कदम अघि बढेर रिसाएँ । एउटा सम्बन्ध रिसको आगोमा परेर नष्ट भयो । 

तर वर्षौँपछि त्यै साथीसित भेट हुँदा आँखा जुध्यो । रिस उस्तो उठेन । तर बोलिहाल्न आफ्नै अहम्ले दिएन । 
अर्कोपटक भेट हुँदा हात मिलाउनेसम्म त भइयो तर ठीकसँग आँखा जुधाउन सकिएन । औपचारिकताको बाक्लो तुवाँलोभित्र अल्मलिएको जस्तो सम्बन्ध हाम्रो रह्यो । रिस त बूढो भयो, गल्यो, थाक्यो तर तातो रिसमा डामिएको उसबेलाको सम्बन्धको घाउ अझै कहीँकतै दुखेर बसेको थियो । 

                           ०
एक जना आफन्त हुने गर्थे । रिस तिनले पनि खूब उठाए । मन तिनी पनि खूब नपरेकै भए । रिस ओकल्नु मात्र होइन, तिनलाई गएर भकुर्नु नै जस्तो पनि हुन्थ्यो । केही गरी बदला लिन पाए हुन्थ्यो जस्तो हरबखत लागिरहन्थ्यो । मनमनै तिनको कुभलो पनि खूब चिताइयो । 

लामो समय तिनीसँग भेट भएन । करिब एक वर्ष । त्योबेला भेट्दा उनलाई कुट्नुजस्तो लागेन । अघिजस्तो रिस पनि उठेन । राम्रोसित हाँसेर, खुलेर बोल्न चाहिँ मन लागेन । बोलिनँ पनि । 
तिनै मान्छेसित फेरि दुई वर्षपछि भेट भो । रिस अझै कम भयो ।

अर्को दुई वर्षपछि भेट भो । अब रिस करिब–करिब शून्यमा झरिसकेको थियो । हिजोआज मलाई ती व्यक्तिसित रिसै उठ्दैन । यत्रो वर्षमा म मात्रै बूढो भएको होइन रहेछु, मेरो रिस पनि बूढो भएछ । मेरो रिस लाचार भएछ । अशक्त भएछ । थला बसेछ । अवसानको संघारमै पुगिसकेछ । 

यी दुई सम्बन्धबीचको फरक यही भयो, उतिबेलै रिस नपोखिएकाले यो सम्बन्ध त्यै रिसको तातोमा डामिन पाएन । केही समयको अन्तरालपछि सम्बन्धले सामान्यै आकार पायो । 

ती व्यक्ति जसले मलाई खूब रिस उठाएका थिए, रिस उनलाई कहिल्यै पोखिनँ । नातामा आफूभन्दा सिनियर थिए । रिसाउन उमेरले पनि दिँदैनथ्यो । रिसाइनँ । रिसाएको भए रिस एकचोटीलाई हुन्थ्यो तर पटक पटकको भेटमा उनका अगाडि पर्दा मुन्टो बटारेर हिँड्ने स्थिति मेरो हुन्थ्यो । उनीसँग मात्र होइन, उनका परिवारसित पनि रिसाउनुपर्ने हुन सक्थ्यो । उनका परिवार मेरा परिवारसित रिसाउने स्थिति पनि हुन सक्थ्यो । एक जनाको मनैभित्र मात्र उब्जेको रिसको फैलावट नजाने कहाँकहाँसम्म हुन्थ्यो !
यो मैले परिणामहरु जानेर, बुझेर गरेको व्यवहार थिएन । नजानेरै, अथवा विवशतामै आफैँबाट अञ्जानवस भएको व्यवहार थियो । 

मान्छे जतिसुकै रिसाहा होस्, जतिसुकै इगोइस्ट होस्, दसौँ वर्ष अगाडिको रिसलाई पालेर पोसेर बस्न सक्दोरहेनछ । हरेक दिन मानिसका नयाँनयाँ सम्बन्धहरु बन्छन् । टुट्छन् पनि उत्तिकै । नयाँ परिवेश, नयाँ संसारसित परिचत हुने क्रम दिनहुँले चलिरहन्छ । उसको स्वभाव, उसको मनोदशा सबै हरदिन परिवर्तित भइरहँदो रहेछ । भन्ने हो भने, ऊ स्वयम् एउटा नयाँ मान्छेमा रुपान्तरित भइसकेको हुने रहेछ । यस्तोमा पुरानो रिसलाई चाहिँ काखी च्यापेर ऊ बसिरहन कहाँ सक्दोरहेछ ?

रिस आगोमा परेको फलाम हो, जसमा च्वास्स छोइयो भने मात्रै पनि सिँगै सम्बन्धलाई डाम्छ । यहाँ तातो रिसमा हाम्फाल्ने हुँदा कतिपय सम्बन्धहरु डामिएरै सिद्धिएका छन् । 

यस्ता कतिपय सम्बन्धहरु मेरा छन्, जोसित ऊबेला रिसाइएको थियो । दुई, चार, पाँच, दस वर्षमा त रिस पनि थाक्दो रै’छ । यतिञ्जेलसम्म त रिस पनि मनबाट कुम्लो कुटुरो बोकेर बसाइँ हिँड्दो रै’छ । उतिखेर जतिसुकै चिच्याएको होस्, यतिका समयसम्म त रिसको घाँटी पनि बसिसकेको हुँदोरहेछ । रिस पनि सधैँभरि रिसाइरहन नसक्दोरै’छ । 

रिस चियाजस्तै हो, यदि यसमा मिठास अनुभूत् गर्न सक्नुहुन्छ भने, तातोमै मीठो हुन्छ । सेलाएपछि त रिसको चुस्की पनि नमिठो, खल्लो । पुरानो हुँदै गएपछि त रिसको रङ पनि कपडा पसलमा वर्षौदेखि नबिकेर रहेको कपडाको रङजस्तो हुँदोरहेछ । आँखै नलाग्ने । पन्ध्र वर्षअघि रिस उठेको मान्छेलाई आज बाटोमा देख्दा मुटुको कुनै कुनो पनि उत्तेजित हुन मान्दैन । बरु तीन चार वर्षअघि रिसाइएकोलाई देखेर मुटु उत्तेजित हुन्छ । रिस पनि त आखिर एकदिन बूढो हुने नै रै’छ । त्यो पनि गल्ने नै रै’छ । कसैको पनि रिस सधैँ जवान भएर बस्न सक्तैन ।

उतिबेला रिसाएका कतिपयलाई मैले यतिबेलासम्म माफी दिइसकेँ । उतिबेला मसित रिसाएकाहरुले सायद मलाई यतिबेलासम्म माफी दिइसके होलान् । 

लाग्छ, कसैसित नरिसाऊँ । कसैको रिसको कारण नबनूँ । तर यो पनि सम्भव त कहाँ हुँदोरै’छ ? बस्, यही सोचेर अलिअलि रिसाइन्छ, कि यो रिस पनि एकदिन पुरानो हुनेछ र बूढो भएर गल्नेछ । 
 

Leave A Comment