सेलिब्रेटीको  तिहार : ‘कुकुर फुकाएको घरमा सराप्दै हिड्थ्यौं’

आइतबार, १८ कार्तिक २०७५, ०५ : २१ शुक्रवार
सेलिब्रेटीको  तिहार : ‘कुकुर फुकाएको घरमा सराप्दै हिड्थ्यौं’

‘कुकुर फुकाएको घरमा सराप्दै हिड्थ्यौं’
दीपा श्री निरौला अभिनेत्री÷निर्देशक 

मेरो तिहारको तयारी खासै भएको छैन । मेरालागि दिदी–बैनीहरुले तिहारको तयारी गरिदिन्छन् । मेरा दुई दाजुभाइ छन् । उनीहरुलाई मनपर्ने लुगाकपडा दिदी–बैनीहरुले नै किनिदिन्छन् । टीकाको अघिल्लो दिन विराटनगर पुग्छु । 

तिहार भन्नेबित्तिकै मनमा रमाइलो महसुस हुन्छ । जताततै फूलैफूल देख्न पाइन्छ । झलमल्ल बत्ती बलेका घरहरु देखिन्छन् । 

पहिला हामी देउसी–भैलो खेल्न जाँदा एकदम रमाइलो लाग्थ्यो । घरैपिच्छे देउसी–भैलो खेल्न जाँदा दान दिने गर्छन् । कसले कति पैसा दिए भनेर हतार–हतार हेरिहाल्थ्यौँ ।  देउसी खेल्दै जाँदा अबेर हुन्थ्यो । पर कतै कुकुर भुकेको मात्र सुनिन्थ्यो । ‘कस्ता खाल्का मान्छे रहेछन्, देउसी–भैलो आउँदा पनि कुकुर फुकाएर राखिदिने’ भनेर जतातिर कुकुर भुकेका हुन्थे त्यता तिरको घरमा सराप्दै कराउँदै हिँड्थ्यौँ । 

‘काँक्रा चोर्ने मौका’
दीपकराज गिरी अभिनेता÷निर्देशक  
बच्चाको बेलामा देउसी–भैलो खुब रमाइलो हुन्थ्यो । साथीहरु देउसी–भैलो खेल्न थाल्थे  । म र मेरा साथी अर्काका बारीमा पसेर काँक्रा चोर्न निस्कन्थ्यौँ । त्यो बेला त प्रायः हामीले चोरेर नै गाउँलेलाई सताएका थियौँ ।  

देउसी–भैलो अहिले पनि हेर्छु खेल्छु । पहिलाको जस्तो रमाइलो त हुँदैन तर पनि अरुको रमाइलो देख्दा मलाई पनि लाग्छ । मलाई तिहारका सबै कुरा मन पर्छन् । आफ्नो कल्चरमा रमाउन पाइन्छ । तिहारका गीतले नेपाली मौलिकता झल्काउने गर्छ । 

‘देउसी–भैलो नै रमाइलो’
कृष्ण काफ्ले, गायक 
तिहार मनाउन मन आतुर छ । गएका वर्षहरुमा जस्तै दिदी–बहिनीहरुको हातबाट टीका लगाएर सातै रङले सजिएर भाइटीका सेलिब्रेट गर्दैछु ।

तिहार आउँदा गाउँघर, सहर चारैतिर झिलिमिली बनाइन्छ । राति पनि उज्यालो देख्न पाइन्छ । देउसी–भैलोको रमाइलो नाचगानमा हुन्छ । तिहारै आयो लौ झिलिमिली भन्ने गीत बज्दा मनमा आनन्द लाग्छ । 
वर्ष दिनमा साथीभाइ, छरछिमेक मिलेरसँगै देउसी–भैलो खेली नाच्ने–गाउने गरिन्छ । धेरै जनाको घरमा देउसी–भैलो खेल्दै आशीष दिँदै हिँडिन्छ । अरुलाइ दुःख नदिई देउसी–भैलो खेल्दा रमाइलो हुन्छ । 

‘काग र कुकुर तिहार मनपर्छ’
सञ्चिता लुइँटेल,अभिनेत्री 
मेरा दाजुभाइ छैनन् । भाइटीकामा हामी दिदी–बैनीले एकअर्कालाई मिलेर नै भाइटीका मनाउने गरेका छौँ । एकअर्कालाई गिफ्ट साटेर भाइटीका मनाउँदै आएका छौँ । 

लक्ष्मीपूजा गर्नु, देउसी–भैलेहरु आएका बेला घरैमा रमाइलो गर्ने, सेलरोटी खाने, पटाका पड्काउने र झिलिमिली बत्ती बालेर घरै उज्यालो बनाइने भएकाले गर्दा मलाई तिहार खुब मनपर्छ । 

सानो छँदा त टोल र आफन्त सबैको घरमा भैलो खेल्न गइन्थ्यो । रमाइलो हुन्थ्यो । देउसी खेल्दा भट्याउने, आशीष दिने गरिन्थ्यो । सानोमा हातमा राखेर पटका पड्काउने हुँदा मेरो हात पूरै जलेको थियो । त्यो साल चाहिँ साह्रै बोर लागेको थियो । मेरो टिसर्ट जलेको थियो । तिहारको बेला मलाई यसैको झल्को आइरहन्छ । आफू जनावरप्रेमी भएर होला काग तिहार, कुकुर तिहार पनि उत्तिकै मन पर्छ ।

‘भैलो खेल्न मेकअपमै २ घण्टा’
बेनिशा हमाल,अभिनेत्री 
यसपालि मलाई तिहार लागेको छैन । मेरो दिजुमा खस्नुभएको कारण दसैँ तिहार मनाउन मिलेन । यसका कारण र कामको सिलसिलामा मुम्बई जाँदैछु । तिहार मनाउने भइदिया भए यतै हुन्थेँ होला । 

सानोमा देउसी भैलो खेल्न १÷२ घण्टा गइन्थ्यो होला तर मेकअप गर्न दुई घण्टाभन्दा बढी समय लगाइन्थ्यो । आफूलाई भैलो खेल्न भन्दा बढी मेकअप गर्न रमाइलो लाग्थ्यो ।  म सानैदेखि नाच्न माहिर नै मानिन्थेँ । सबैले नाच नाच भनेर गीत बजाइदिने गर्नुहुन्थ्यो ।  आफन्तकोमा देउसी खेल्न जाँदा पैसा अलिक बढी नै पाइन्थ्यो । हाम्रो चितवनमा दसैँ तिहारका बेला कार्यक्रम नै कार्यक्रम हुने गर्छन् । त्यस्ता कार्यक्रममा म सहभागी भै हाल्थेँ । 

‘असमको तिहार रमाइलो’
मिलन अमात्य,गायिका 
तिहारको सामग्री किनमेल गर्न थालेकी छु । आफ्ना लागि नयाँ कपडा किन्छु । मेरो घर असम, इन्डिया हो । त्यहाँ नेपाली भाषी नेपालीहरुले तिहार निकै राम्रो तरिकाले मनाउँछन् ।

मलाई नाच्न गाउन निकै मन पर्छ । म राम्रो नाच्थेँ पनि । त्यो बेलामा नेपाली ड्रेस लगाएर नेपाली गीतमा नाचिन्थ्यो । हाम्रो एउटा क्लब थियो, हिमालभात्री गोष्ठी भन्ने । यो क्लबबाट हामी नेपालीहरुको बस्तीमा गाडी लिएर नाच्न गाउन गइन्थ्यो । 

अलिक ठूलो हुँदै गएपछि पढाइको बोझ पनि बढ्दै जान थाल्यो । फेरि यही समयमा हाम्रो परीक्षा आउने भएकाले देउसी–भैलो खेल्न जान पाइएन । अरुले देउसी–भैलो खेलेको देखेर मन कटक्क खान्थ्यो । यो बेला पढ्नु नपरे नि हुन्थ्यो तर के गर्नु पढ्नै पर्ने भएकाले सारै नरमाइलो लाग्थ्यो । 

मेरो भाइ अस्ट्रेलियामा छ । त्यसैले यो पाला भाइटीका लगाइदिन पाइएला जस्तो छैन । ऊ धेरै टाढा भए पनि उसको भागको मसला चैँ राखिदिन्छु । अर्को तिहारमा हाम्रो भाइटीका हुन्छ, त्यो बेला दोब्बर मसला दिन्छु । 

‘बुबाको लुगा लगाएर देउसी खेलेँ’
शिल्पा पोखरेल 
अभिनेत्री 
मेरो तिहारको किनमेल ममीले नै गरिदिनुभएको छ । मैले ममीलाई असन बजार लगेर के के किन्ने भन्नुहुन्छ त्यो किनिरहनुभएको छ । 

जताततै झिलिमिली हुन्छ । फूलहरु जताततै ढकमक्क फुलेका हुन्छन् । मनै फुरुङ्ग हुन्छ यो बेला । सानोमा देउसी–भैलो खेल्न एकदमै मनपर्ने मान्छे । देउसी–भैलो खेल्दा भट्याउन खुब सोखिन थिएँ । भैलो खेल्ने भनेको केटीहरुको लागि भन्ने थियो । केटाहरुको लागि  देउसी भइहाल्यो ।

केटीहरुले देउसी खेल्न हुँदैन भन्ने गर्थे । मलाई देउसी खेल्न खुब पर्ने अनि भोलिपल्ट पनि केटाहरुसँग देउसी खेल्न जाने गर्थें । राति बुबाको लुगा लगाएर केटा बनेर नै म देउसी खेल्न जान्थेँ । मलाई केटा नै हो भन्ने गर्थे । कसै–कसैले मेरो फुली देखेर यो त केटी पो रै’छे भनेर भन्नु हुन्थ्यो । नत्र कसैले थाहा पाउदैनथेँ । देउसीभरि बुबाको कपडा लगाएर देउसी खेल्दा रमाइलो लाग्थ्यो । देउसी खेल्दा पैसाभन्दा पनि चामल धेरै हुन्थ्यो ।  

‘फुच्चे भनेर पैसै नदिने’
जीतु नेपाल 
हास्यकलाकार 
हामी ६ जना दाजुभाइ हौ । म कान्छो भाइ हुँ । मेरो एकजना दिदी मात्रै हुनुहुन्छ । बैनी छैनन् । मलाई ऊर्जा अधिकारीले दाइ मानेकी छन् । उनले मलाई भाइटीका लगाइदिने गरेकी छन् । मैले पनि उनलाई बैनी मानेको छु । 

त्यो समयमा हामी साना–साना फुच्चेहरु ठूला मान्छेको देउसी भैलोमा मिसिएर खेल्थ्यौँ । ठूला मान्छेको पछि लाग्दा धेरै दक्षिणा पाइन्थ्यो । तर भोलि बाँढ्ने बेलामा केटाकेटी भनेर कम पैसा दिन्थे । ठूला मान्छेले धेरै पैसा पाउने गर्थे । जसले भट्यायो उसले अलिक बढी पाउँथे । 

ठूलो मान्छेले थोरै रकम दिएका कारण अर्को सालदेखि हामीले आफ्नै ग्रुप बनाएर देउसी खेल्न हिँड्यौ । देउसी खेल्न गयो । मान्छे कोही उठ्दै नउठ्ने । रिस उठेर आगो भइन्थ्यो । 

‘भट्याउन खप्पिस’
डेबिड शंकर 
गायक 
देउसी–भैलो खेल्दा साथीहरुले भट्याउने मलाई नै छान्थे । तेरो स्वर पनि राम्रो छ भनेर उक्साउँथे र म आफैं भट्याउँथेँ । भट्याउँदा राम्रो आशिक दिन जान्दछ, यो केटाले भन्ने गर्नुहुन्थ्यो । म आशिक राम्रो दिन माहिर नै थिए । जसले भट्यायो उसैले पैसा राख्न पाइन्थ्यो ।  

यसरी देउसी खेलेको पैसाले स्कुलका पुस्तकालयमा किताब किनेर राखिदिने गरेका थियौँ । कहिलेकाहीँ पैसा मिलाएर पिकनिक जाने गरेका थियौँ । तिहारमा देउसी खेल्न जाँदा पटका पड्काउने होडबाजी जस्तै चल्थ्यो । एकपटक पटका पड्काउँदा केही साथीहरु घाइते भए र लुगासमेत जल्यो ।

सायद खोर्सानी बम लहरै राखेर पड्काएका थियौँ । उनीहरु अगाडी थिए । जसले गर्दा उनीहरुलाई पटाकाले भेटेको थियो । सधैँ गाउँमा नै टीका लगाउने गरिन्थ्यो तर यसपाला मेरो बैनी काठमाडौंमै छिन् । मेरो दुईजना दिदी–बैनी हुन । दिदी विदेशमा हुनुभएकाले यसपालि बैनीले मात्रै टीका लगाउने भएकी छन् । 
 

Leave A Comment