राजेश हमालको तिहार : वरिपरी डाक्टरै डाक्टर

मङ्गलबार, २० कार्तिक २०७५, ०१ : ५९ शुक्रवार
राजेश हमालको तिहार : वरिपरी डाक्टरै डाक्टर

राजेश हमाल, अभिनेता 

म परिवारमा प्रेग्नेन्सीका हिसाबले दोस्रो क्रममा जन्मिएको बच्चा हुँ तर सन्तानको हिसाबले म तेस्रो हुँ । कसरी भन्नुहुन्छ भने मेरा दुईजना दिदीहरु जुम्ल्याहा हुन् । 

बुबा चूडामणि हमाल, आमा रेणु हमाल । आमाको नाम ‘र’बाट सुरु भएकाले मेरो बुबाले सबै सन्तानको नाम ‘र’ बाटै राखिदिनुभयो । जुम्ल्याहा दिदीहरुको नाम रीता र रेखा राख्दिनुभयो । भाइको नाम राकेश । अनि कान्छी बहिनीको नाम रुपा भयो । त्यसैले पनि मलाई लाग्छ, मेरो परिवार नै महिलाप्रधान हो (हाँस्दै) ।  

मेरी दिदी रीता ओम नर्सिङ होम, चाबहिलमा पेडेस्ट्रियन (बच्चाको डक्टर) छ । ऊ अहिले सिंहसँग बिहे गरेर रीता सिंह भएकी छ । अर्की दिदी रेखा अमेरिकामा छ । ऊ जिसीसँग बिहे गरेर रेखा जिसी भएकी छ । ऊ त्यता गाइनोकोलोजिस्ट छ । उसको श्रीमान् मेरो भिनाजु खगेन्द्र जिसी त्यहाँको इमिग्रेसन लयर हुनुहुन्छ । त्यस्तै अर्की बहिनी रुपा पनि अमेरिकामै छ । ऊ भने दाँतको डाक्टर । उसले अमेरिकी नागरिकसँगै बिहे गरेकी हो । 

दिदी–बहिनी सबै मेडिकल फिल्डमा छन् । उनीहरु सबै डक्टर । ‘टर’ त म पनि ‘टर’ नै हो तर ‘एक्टर’ । भाग्यवश, ‘कन्डक्टर’ भइनँ (लामो हाँसोसहित) । नत्र त्यहाँ पनि ‘टर’ त ‘टर’ नै आउथ्यो नि !

हामी पाँच जनाको परिवारमा एकआपसको माया र आत्मियता भयंकर छ । तर त्यो हुँदाहुँदै पनि हामी पाँच जनामा चार जना एकातिर म अर्कोतिर जस्तो छ । हातमा त म पनि हातमै छु तर चार वटा औँला पूरै जोडिएका छन् भने म बूढी औँलाजस्तो छु । यसको अर्थ मायाप्रेम र स्नेह कम होइन ।  तर उनीहरु चार जनाबीच जति संवाद हुन्छ, त्यति मसँग हुन्न । कारण, म फाल्तु गफ गर्न रुचाउँदिनँ । चार जनाबीच के छ, कसो छ जस्तो गफ चलिरहेको हुन्छ । कम्युनिकेसन बढ्ता गर्छन् उनीहरु । म आवश्यकतामा मात्रै गर्छु । 

सानोमा उनीहरुले मलाई एकदमै बदमास ठान्थे । चार–पाँच कक्षा पढ्दासम्म अलिकति जिद्दी ठान्थे मलाई । म आफ्नै तालको मान्छे थिएँ । उनीहरु चार–जना एउटा स्कुलमा पढ्दा म अर्कोमा पढ्थेँ । त्यही भएर पनि घर फर्कदा उनीहरुको गफ मिल्थ्यो । १–२ कक्षा पढ्दासम्म चारैजना  महाराजगञ्जको भानुभक्त स्कुलमा पढ्दा म सेन्ट जेभियर्स जावलाखेलमा जान्थे । त्यसैले गफ गर्ने कुरा उनीहरुको कमन हुन्थ्यो । मेरो दिनभरिको लोकेसन, अनुभव र वातावरण अर्कै हुन्थ्यो, उनीहरुको अर्कै हुन्थ्यो । त्यही भएर पनि उनीहरुबीच बढी संवाद हुन्थ्यो । 

तर फेरि पारिवारिक हिसाबले हामी सबै निकै क्लोज थियौँ । घरमा एक जना सदस्य छैन भने हामी खानपिन गर्दैनथ्यौँ । पर्खेर भए पनि सबै सँगै बसेर खान्थ्यौँ । घुम्न पनि सँगै जान्थ्यौँ । बरु कहिलेकाहीँ आमाबाउले संख्या धेरै भयो भनेर एक चोटी तीन जना, एकचोटी दुई जना गरेर लानुहुन्थ्यो । 

प्राइमेरी लेभलसम्म पढ्दा अलिअलि झगडा पनि भइरहन्थ्यो दिदीबहिनीसँग । केही कुरा चित्त बुझेन भने झगडा हुन्थ्यो । म कराइदिन्थेँ  अनि ‘ममी मलाई यसले यस्तो ग¥यो’  भन्दै कम्प्लेन गर्न पुगिहाल्थे उनीहरु । बच्चाबच्चीको पारा यस्तै त हो (हाँस्दै) ! बच्चाको झगडा पनि खुब गथ्र्यौं रे हामी ! खाटमा राख्दा चिथोराचिथोरी खुब हुन्थ्यो रे !

मेरी आमाले ६ वर्षको अन्तरालमा हामी पाँच जनालाई जन्म दिइसक्नुभएको थियो । त्यसैले हामी सबै उस्ताउस्तै देखिन्थ्यौँ । उमेरको अन्तर थाहा हुँदैनथ्यो । अहिले पनि हामीलाई हे¥यो भने को जेठो, को कान्छो छुट्ट्याउन गाह्रो हुन्छ । बरु सबैभन्दा कान्छो मै देखिन्छु होला ! (हाँस्दै) 

दिदीबहिनीमा मेरो कान्छी बहिनी रुपा एकदमै भर्सटायल छ । रुपा हमालबाट अमेरिकी नागरिकसँग बिहे गरेपछि उ अहिले रुपा स्मिथ भएकी छ । भर्सटायलको मतलब ऊ अलि बढ्दा मान्छेहरुसँग घुलमिल गर्न सक्छ । उसकोमा जाँदा ऊ अलि व्यवहारिक जस्तो पनि देखिन्छे । 

न्युयोर्कमा बस्ने रेखा दिदी अलि व्यवहारिक छैन । मेडिकल लाइनतिर लागेकाले कुकिङ–सुकिङमा त्यति परिपक्व छैन । जुन गुण मेरी आमामा थियो । अहिले रुपामा त्यो गुण देखिन्छ । रेखाकोमा गयो भने त्यति व्यवहारिक देखिँदैन ऊ तर त्यो उसको नेचर हो । 

तर हाम्रो परिवारमा सबैको नेचरको सम्मान छ । कोही यस्तै हुनुपर्छ भन्ने छैन । भए पनि ठीक छ, नभएपनि ठिकै छ । जस्तो, मेरो नेचर यस्तै हो । म त्यति च्याटिङ गर्न रुचाउँदिनँ । फाल्तु गफ गर्न रुचाउँदिनँ तर मेरो नेचर सबैलाई स्वीकार्य भइसक्यो । परिवारमा मलाई सबैले राजु भनेर बोलाउँछन् । उनीहरु सबैलाई थाहा छ, राजुको नेचर यस्तो छ । त्यसैले गुनासो भन्ने हुँदैन । 

म दसैँतिहार प्रायः समय बाँडेर मनाइरहेको हुन्छु । कहिले भाइटीका लाउन अमेरिका पुग्छु, कहिले नेपालमै लगाउँछु । यस पटक दसैँमा अमेरिका गइनँ, यतै दिदीकोमा गएँ । यसपालि भाइटीका यतै रीतासँग लगाउँछु । अस्ति दसैँमा टीका लाउन पनि गएको थिएँ, उसको घर बालुवाटार । रीताभन्दा पनि मेरी भाञ्जी आस्थासँग बढी भेटघाट हुन्छ मेरो । ऊ पनि डाक्टर बन्दैछ । एमडी पढ्न फिलिपिन्स गएकी छ अहिले । 

अमेरिकामै जाँदा पनि मलाई कहिलेकाहीँ दिदीबहिनी भेट्न मुस्किल पर्छ । टाढा–टाढा छ दुईजना बस्ने लोकेसन । तैपनि गएको बेलामा दुवैतिर जाने प्रयत्न भने गर्छु । यसपालि दसैँतिहारमा म नजानुको कारण, यही वर्षको मार्चमा म अमेरिका गएको थिएँ । दिदीसँगै बसेको थिएँ न्युयोर्कमा । बहिनी पनि त्यहीँ आएकी थियो । रमाइलो भेटघाट भएको थियो ।

यो सिस्टर्स र ब्रदर्स बीचको सम्बन्ध बडो अजिबको हुन्छ । घरमा सँगै बस्दा, सँगै हुर्कंदा सबै एक ढिक्का हुन्छौँ । हाम्रो रहनसहन परिवारकै रहनसहन हुन्छ तर जब सिस्टरहरुको बिहा हुन्छ, त्यसपछि सुरुमा हामीलाई के लाग्छ भने एउटा रहनसहन, एउटा परिवारबाट अर्कोमा जाँदा उनीहरुलाई कस्तो फिल भइरहेको होला ! तर बिस्तारै उनीहरु उताकै कुरामा अभ्यस्त हुँुदै जान्छन् । बिस्तारै उतैको वातावरण, उतैको रहनसहन, उतैको स्वादमा घुलमिल हुन्छन् ।  

सुरुसुरुमा आफ्नो घर छोडेर गएजस्तो लाग्छ, पछि १०–१५ वर्षपछि त्यही घरमा आउँदा पाहुना आएजस्तो लाग्छ । उनीहरुको आफ्नै वातावरण, आफ्नै किसिमको मनस्थिति भइसकेको हुन्छ ।  

म त जीवनको एउटा विन्दुमा पुगिसकेको मान्छे हो । उमेरले २०–२२ वर्ष को मात्रै भए पनि संसारमा त्यो भन्दा बढी भोगेको छु (हाँस्दै) । यो सब नोस्टाल्जियाहरु सुरुमा एउटा लाग्छ पछि समयले ‘डिक्टेट’ गर्दै लान्छ । अनि त्यो ‘वन्स अपन अ टाइम’ जस्तो लाग्न थाल्छ । 

कुनैबेला म बस्ने घरमा सबै दाजुभाइ र दिदीबहिनी सँगै बसेर खान्थ्यौँ ।  अहिले त्यो इतिहासजस्तो लाग्छ । सायद मलाई मात्रै होइन यस्तो दिदीहरुलाई पनि हुन्छ । 
अमेरिका बस्ने दिदीबहिनी कहिलेकाहीँ नेपाल आउँछन् । आउँदा पनि बढी उनीहरु भाइकोमै बस्छन् । कारण, मैले अघि नै भनिसकेँ, खानपिनमा पनि मेरो आफ्नै तरिका छ । किचनमा के–के पाक्यो, त्यही–त्यही खाने भन्ने हुन्न मेरो । राजु यस्तै छ भन्ने सबैलाई थाहा छ । 

दिदीबहिनीसँगको मेरो सम्बन्ध कस्तो हो भनेर सोध्नुहुन्छ भने एकदमै आत्मिय हो । उहाँहरुलाई मेरो आवश्यकता परेको बेला म सधैँ तयार हुन्छु तर दिदीबहिनी भन्दैमा फजुलमा ‘के छ दिदी, ल दिदी म आएँ, त्यो परिकार मीठो बनाउनुहुन्छ ल खुवाउनुस् त, के छ, कसो छजस्तो गफ म गर्दिनँ । 

मलाई चिन्ने सबैलाई थाहा छ । म फोनमा आधा मिनेटभन्दा बढी गफ गर्दिनँ । मिडियासँग कुराकानी नै गर्नुप¥यो भने अर्कै कुरा । अरु त अरु मधु (श्रीमती)सँग पनि त्यस्तै हो । आज मौसम यस्तो, आज मैले यस्तो गरेँ, मेरो मुड खराब भयो जस्ता गफ म फोनमा गर्दिनँ । 

दिदीबहिनीसँग मेरो एकखालको अन्डस्टुड प्रेम छ । जस्तो दिदीहरुले कहिलेकाहीँ फोन गर्नुहुन्छ, फलानो मान्छेले तिमीसँग भेट्न चाहेको छ, मेरो साथी हो, भेटिदेऊ है ! त्यसपछि म भेटिदिन्छु । 

पहिले–पहिले फिल्म सुटिङका बेला कहिलेकाहीँ चोट लाग्थ्यो । घाइते भइन्थ्यो । त्यतिबेला सुटिङ लोकेसनबाटै म रीता दिदीलाई फोन गर्थें । त्यसपछि उपचार गराउन सिधै उहाँ काम गर्ने ओम हस्पिटल पुग्थेँ । रीता मेरो डाक्टर पनि हो । 

दिदीबहिनीसँग भेट हुँदा हामी बितेका कुरा त्यति गर्दैनौँ । नयाँनयाँ कुरा नै हुन्छ । म फेरि कोठे राजनीतिक गफ गर्न पनि रुचाउँदिनँ । बसेर चर्काचर्की गफ ग¥यो तर त्यसले कुनै परिणाम ल्याउँदैन । परिणामविहीन गफ म रुचाउँदिनँ । मेरो भाइ त्यस्तो गफ गर्न अलि रुचाउँछ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनमा ऊ अध्यक्ष छ । 

परम्परा, रीतिरिवाजलाई म कहिल्यै भुल्न हुँदैन भन्ने मान्छे हो किनभने त्यो तपाईंको संस्कृति, भावनासँग जोडिएको कुरा हो । हरेकलाई आफ्नो रीतिरिवाज र संस्कृति प्यारो लाग्छ । यस्तै कुराले त हो नि, मान्छेलाई अस्तित्व, बेग्लै परिचय दिने । हामी उभिनलाई दह्रो बनाउने जड त्यही त हो नि !

मलाई दसैँतिहार मनपर्छ किनभने योसँग पारिवारिक सम्बन्धको इतिहास छ । संस्कृतिको इतिहास छ । परम्पराको इतिहास  छ । रीतिरिवाजको इतिहास छ तर दुःखलाग्दो कुरा के भने अहिले पर्वलाई औपचारिकताको रुपमा मात्रै मनाउन थालिएको छ । 

तर यो मनाउनलाई मात्रै मनाउने होइन । यसका केही गतिविधिले त साँच्चिकै केही माने राख्छन् नि, बुझ्ने हो भने । बरु नेपाली मूलका विदेशीहरुले यसलाई बढी ठेट रुपमा मनाउँछन् । मैले धेरै देखेको छु । 

अहिले भाइटीका पनि त्यस्तै भइसक्यो । मलाई त्यस्तै फिल हुन्छ । आमा हुँदाको जस्तो ठेट रुपमा मनाउँदैनौँ । पहिले त जानेको मान्छे छेउमैै हुन्थ्यो । यसो गर, उसो गर भनेर सबै सिकाइरहेको हुन्थ्यो । पुरै रनिङ कमेन्ट्री नै चल्थ्यो तर अहिले त्यस्तो हुन्न । 

अमेरिकामा दिदीबहिनीसँग भाइटीका लाउँदा अहिले त पूरै रमाइलो हुन्छ । ‘अब यस्तो गर्नुपर्ने हो क्यारे, ए तिम्ले बिर्सेऊ, जाँदाखेरी ओखर फोडेर जानुपथ्र्यो क्यारे’ जस्तो कुराहरु हुन्छन् । अरे र होला बढी चल्छ अचेल । त्यतिबेला आमा हुँदाको भाइटीका खुब मिस हुन्छ । 

अर्को रमाइलो कुरा के भने पहिले दिदीबहिनीबाट गिफ्ट पनि पाइन्थ्यो । मीठा खानेकुरा पनि पाइन्थ्यो । अनि पैसा दिनेबेलामा पनि आफ्नो खल्तीको जाँदैनथ्यो, आमाले लुकाएर खाम दिनुहुन्थ्यो । आफ्नो ड्युटी त्यो खाम पास गर्ने मात्रै हुन्थ्यो । अहिले त आफ्नै खल्तीबाट दिनुपर्छ । हरेक साल बजार र महँगीलाई मध्यनजर गर्दै अलिकति बढाउनु पनि पर्याे ! तिहारको रमाइलो क्या ! (हाँस्दै)

(शुक्रवारकर्मी अनिल यादवसँगको कुराकानीमा आधारित)
 

Leave A Comment