हरिवंशकी बिन्दु दिदी

मङ्गलबार, २० कार्तिक २०७५, ०२ : ३० शुक्रवार
हरिवंशकी बिन्दु दिदी

-हरिवंश आचार्य

मेरो जिन्दगीमा दिदीको भूमिका निकै ठूलो छ । सानो उमेरमा बिन्दु दिदीले मलाई नसम्हाल्नुभएको भए, सायद आज म यहाँसम्म आइपुग्न सफल पनि हुने थिइनँ होला । 

मेरा पाँच दिदीहरुको नाम गायत्री भुर्तेल, गीता ढकाल, सत्यरूपा शर्मा, जानुदेवी अर्याल र बिन्दु अधिकारी हो । मलाई सबैभन्दा धेरै याद भएको संगत भनेको बिन्दु दिदीसँगको नै हो । ऊ र मबीच डेढ वर्षको मात्रै फरक भएकाले पनि हुनसक्छ । हाम्री आमा बित्दा मलाई सम्हाल्ने उनी नै भएकाले पनि मलाई बिन्दु दिदीको सम्झना बढी आउँछ । 

त्यसो त जानुदेवी दिदीले पनि हामीलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नुहुन्थ्यो तर उहाँको बिहे भइसकेकाले हामीले दुःख पाएको समयमा बिन्दु दिदी र म मात्रै भयौँ । 

जब आमाको मृत्यु भयो, मैले स्वतन्त्रकाको अनुभूति गरे पनि दुःख पनि सँगै आयो । काठमाडौंको गैह्रीधारामा हाम्रो घर थियो तर दुःख परेकाले बेच्नुपर्यो । पछि हामीले अर्कै ठाउँमा घर र जग्गा किन्न पैसा हाल्यौं तर त्यहाँ विभिन्न समस्या आएर उल्टै मुद्दा नै खेप्नुपर्यो । 

मेरो रमाइलो गर्ने, हाँस्ने, खेल्ने उमेर मुद्दामामिला झेल्दै सकियो । त्यो बेलामा बिन्दु दिदीको साथ नपाएको भए मेरो जिन्दगी सडक बालकको जसरी बित्थ्यो होला । हामीले ११ वर्षसम्म त्यो मुद्दा खेप्यौँ ।
हुन त मेरो बाल्यकाल निकै रमाइलोसँग बित्यो । बुढेसकालमा जन्मिएकाले सबैले माया गर्थे तर मेरा चार जना दिदीहरुको बिहे म सानो हुँदैमा भइसकेकाले बिन्दु दिदीसँग मात्र्र धेरै घुलमिल हुन पाएँ । उहाँले नै मेरो हेरचाह गर्नुभयो ।

आमाको ठाउँमा दिदी भएकाले मैले दिदीभाइको जस्तो भूमिका निभाउन भने पाइनँ । अरुको जस्तो दिदीभाइ झगडा गरेको, खेलेको सम्झना मसँग छैन । 

बिन्दु दिदी टिचर हुनुहुन्थ्यो । उहाँको त्यही टिचिङ पेसाले नै हामीलाई खान पुग्थ्यो । अझै मुद्दा खेपिरहेको समयमा त झन् हामीले काभ्रेपलान्चोकको शंखु, जुन मेरो पुर्खौली थलो हो, त्यहाँदेखि गहुँ, चामल ल्याएरसमेत खाएका छौँ । 

मैले कमाएको पहिलो तलब दिदीलाई नै दिएँ । त्यसैले पनि मेरो लागि तिहारले निकै महङ्खव राख्छ । 
तर मैले दिदीहरुसँग तिहार नमनाएको धेरै भइसक्यो । कहिलेकाहीँ दिदीसँग तिहार मनाए पनि सबै दिदीहरु भेट भएको याद छैन । सबै दिदीहरु आ–आफ्नो घर व्यवहारमा व्यस्त भएकाले पनि हुनसक्छ, हामी तिहारमा खासै भेट्दैनौँ ।

अझ म हास्यकलाकार भएदेखि त झनै चाडपर्वमा अरुका दिदीबहिनीलाई खुसी बनाउनमै समय बित्छ । कहिले कहाँ, कहिले कहाँ पुगिने हुँदा तिहारमा मेरी आमाले जन्माएका दिदीहरुसँग भन्दा आमाले नजन्माएका दिदीबहिनीहरुसँग हुन्छु । 

आफ्नो पेसा नै यही भएपछि काम पनि गर्नैप¥यो । जब चाडबाड सुरु हुन्छ, हामीलाई पनि देश–विदेशबाट निम्ता आउँछ । हिजोआज त झनै नेपालमा दसैँतिहार नमनाएको वर्षौं भइसक्यो । अहिले त छोराबुहारी पनि नेपालमा नहुने भएकाले चाडबाड मनाउन अमेरिकातिरै जान्छौँ । 

तापनि तिहार मेरा लागि निकै विशेष पर्वमध्ये एक हो । तिहारका बेला म मेरा दिदीहरुलाई सम्झन्छु, फोनमा कुरा गर्छु । केही दिदीहरु त हिँडडुल गर्नसमेत नसक्ने भइसक्नु भएको छ । अब म कान्छो भाइ त यत्तिको भइसकेँ, म सानै हुँदा बिहे भएका दिदीको हालत के होला !
(पुष्पा थपलियासँगको कुराकानीमा आधारित)
 

Leave A Comment