हरेक वर्ष दर्जनौँ तिहारे गीत रेकर्ड हुने गरेको भए पनि सन् १९९१ मा तुलसी घिमिरेले बनाएको ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ बोलको गीतले अझै बजार तताइरहेको छ । हरेक वर्ष हरेक नाचगानमा यही गीतले राज गर्दै आएको छ । आशा भोसलेले गाएको यस गीतलाई तुलसी घिमिरेले नै लेखेका थिए भने रञ्जीत गजमेरले संगीत भरेका थिए ।
तिहारमा नाच्नुपर्यो भने अझै पनि ‘तिहारै आयो लौ झिलिमिली’ बोलको गीत नै बजाइन्छ । यस गीतलाई जित्ने गीत अझै बजारमा आउन सकेका छैनन् । जब तिहार आउँछ, रेडियो–टेलिभिजनदेखि मोबाइलमा रिङटोनसम्म यही गीत घन्कन थाल्छ । देउसी–भैलो खेलाउने क्लबहरुले यसै गीतमा नाच सिकाइरहेका हुन्छन् । गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ ।
यस फिल्ममा नीर शाह, गौरी मल्ल, पवन मैनाली, भीमबहादुर थापा लगायतले अभिनय गरेका छन् । फिल्मका निर्देशक शम्भु प्रधान हुन् । त्यसयता जति पनि चलचित्र निर्माण भए, तिनमा तिहारका गीत राखिए तर यिनलाई उछिन्न भने सकेनन् ।
श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनुर’मा ‘देउसी–भैलो’ बोलको गीत समावेश गरिएको छ तर तिहारको बेला यो गीत खासै बज्दैन ।
फिल्म मात्र होइन, फिल्मबाहिर पनि फिल्मी भैलोलाई मात दिन गायिका पुस्तका खड्का, रञ्जना गुरुङ, आभा मुकारुङ, अमि खड्का, प्रेम लामाले २०७१ मा गाएका थिए । ‘भैलिनी आयौ आँगन गुन्यूँ–चोली माग न’ जस्तै भाकाको सो गीत बजारमा ल्यााएका थिए तर त्यो गीतले पनि खासै चर्चामा आएन ।
पूर्वेली तिहार गीत
अहिले पूर्वेली लोकभाकामा थुप्रै तिहारका गीतहरु बजारमा आएका छन् । अरुण उपत्यकाको लोकभाकामा गायक नवीन खड्काले ‘तिहारै आयो लौ झिलिमिली’ बोलको गीत अझै पनि पूर्वमा देउसी खेल्दा गाउने गरिन्छ । नवीन खड्काका अलावा पुस्तका खड्का, बलराम समाल र अञ्जना गुरुङले गाएको यो लोक भाका पुरानो भए पनि अहिले पनि पूर्वमा खेलिने देउसी–भैलोमा प्रमुख रुपमा घन्कने गरेको छ ।
विशेषगरी पूर्वको अरुण उपत्यकामा गाइने लोकभाका ‘छक्का बरी लैलै’लाई पुस्तका खड्काले गाएकी छन् । तिहारको बेलामा यस्तो लोकभाका पूर्वमा गाउने गरेको पाइन्छ तर पछिल्ला समयमा पूर्वेली लयमा तिहारमा गीत विरलै मात्रामा बजार आउने गरेका छन् ।
पश्चिमेली तिहार गीत
‘नेपाल आइडल २’ बाट बाहिरिएपछि सन्ध्या बुढाले तेजस रेग्मीसँग मिलेर ‘तिहारै आयो’ बोलको गीत हालै बजारमा लिएर आइन् । यस गीतलाई पनि पुरानै लयमा उनीहरुले गाएका छन् । गीत गाउने व्यक्ति मात्र फरक तर लय र शब्द भने पुरानै देखिन्छ । शब्द–संगीत तेजस रेग्मी आफैँले दिएका छन् ।
रोइला भाकामा पनि तिहारका गीतहरु प्रशस्तै सुन्न सकिन्छ । लोकप्रिय गायक पशुपति शर्मा र गायिका देवी घर्तीले गाएको ‘तिहारै रमाइलो’ रोइला लोकभाका यतिखेर ट्रेन्डिङमा नै परेको छ ।
देवी र पशुपतिले ‘तिहारै रमाइलो’ भन्दै दोहोरीमा घम्साघम्सी गरेका छन् ।
अर्का लोकप्रिय गायक खुमन अधिकारी, सीता थापा, अमृता लुङ्गेली मगर, मञ्जु गौतम, सावित्री भुजेल बस्नेतले गाएको तिहार गीत ‘फूलमाला’ पनि चर्चामा छ । भाइटीकालाई आधार बनाएर यो गीत निर्माण गरिएको छ ।
गायक तथा संगीतकार सन्तोष केसीले ‘देउसु रे’ बोलको तिहार गीत बजारमा ल्याएका छन् । यो तिहारको गीत अरुको भन्दा अलिक फरक खालको छ । ‘भन भन भाइ हो, देउसु रे’ भन्ने भाका सन्तोष केसीले बजारमा ल्याएका छन् । उनलाई शर्मिला गुरुङले स्वरमा साथ दिएकी छन् ।
तिहारलाई लक्षित गरेर गायिका निशु ढकालले आफ्नो नयाँ गीतका रूपमा ‘आयो तिहार लिएर देउसी’ बोलको गीत ल्याएकी छन् । त्यस्तै लोकगायक रोशन कुताल क्षेत्रीले नाचौँ नाचौँ लाग्ने तिहार गीत ‘लाहुरे दाइ’ ल्याएका छन् । क्षेत्री आफैँले भाका भरेको यसको शब्द सतीश अधिकारीले शब्द कोरेका छन् । रोशनका अलवा गीतमा शान्ति सुनारको आवाज सुन्न सकिन्छ ।
गायक दिपेश श्रेष्ठले पनि यही बेला ‘आयौँ हामी’ बोलको देउसी गीत बजारमा लिएर आएका छन् । तिहारको बेला देउसी भैलो खेल्न आयौँ है भन्दै घरघरमा जाने देउसेहरुले बोल्ने शैली नै यो गीतको विशेषता बन्न पुगेको छ । गीतमा रोशनमान श्रेष्ठको शब्दरचना रहेका छन् ।
Leave A Comment