खगेन्द्र संग्रौलाकाे तिहार अनुभव : दाजुभाइमा आश बढी, दिदीबहिनीमा स्नेह बढी

मङ्गलबार, २० कार्तिक २०७५, ०२ : ४१ शुक्रवार
खगेन्द्र संग्रौलाकाे तिहार अनुभव :  दाजुभाइमा आश बढी, दिदीबहिनीमा स्नेह बढी

-खगेन्द्र संग्रौला,लेखक 

मेरो परिवार निकै ठूलो थियो । मेरी आमाका १० जना सन्तान भए । जसमा पाँच भाइ छोरा र पाँच बहिनी छोरी । मेरो एक दिदी र चार बहिनी भए । एक हिसाबले भन्दा मैले दिदी र बहिनीले दिने दुवै प्रकारको माया, ममता र स्नेह पाएँ । बरु मैले दाजु अथवा भाइ हुनुको भूमिका निर्वाह गर्न सकेँ अथवा सकिनँ दुविधामा नै छु तर दिदी–बहिनीको निःस्वार्थ माया, प्रेम,  सद्भाव भने सदा पाइरहेँ । 

मलाई दसैंभन्दा तिहार बढी मन पर्छ । दसैंमा धेरै होहल्ला हुने अनि मैले  टीका थाप्ने भन्दा पनि मैले धेरैलाई लगाइदिनुपर्छ । देवीदेवताको नाममा  आशीर्वाद दिने चलन छ तर तिहारमा दाजुभाइको  सुरक्षाका लागि ओखर फुटाएपछि गरिने हरेक क्रियाकलाप मलाई औधि मनपर्छ । यो एकप्रकारको  रुढिवादी कम र हार्दिकता बढी भएको पर्व हो भन्ने मैले महसुस गरेको छु ।  

मेरी कान्छी बहिनी सानैमा बितिन् । अहिले त दिदी र माहिली बहिनी पनि बितिसक्नु भयो तर जति हामी छौँ, हामीहरु बीचको सम्बन्ध एकदमै हार्दिकता र स्नेह बढी छ । 

सम्पत्ति र सम्बन्ध
सम्बन्धहरु सम्पत्तिले पनि निर्धारण गर्छ भन्ने मलाई लाग्छ । प्रायः दाजुभाइसँग दिदी–बहिनीको सम्बन्ध धेरै राम्रो हुने कारण दिदीबहिनी सम्पत्तिको दाबेदार नहुने हुँदा पनि हो । 
हुन त मेरा केही मान्यताका कारण दाजुभाइसँग खटपट भए पनि सम्पत्तिको कारणले भने भएन किनभने मैले पैतृक सम्पत्ति कत्ति पनि लिइनँ । 

दिदी–बहिनीसँगको सम्बन्ध भने कहिले पनि नराम्रो भएन । उनीहरु  सम्पत्तिको दाबेदार भएनन् । त्यसकारण हरेकको दिदी–बहिनीसँगको सम्बन्ध राम्रो हुने गर्छ । 

म परिवारबाट अलिक टाढिएँ । एकप्रकारले घरमा नै टुरिस्ट जस्तो पनि भएँ । दिदीबहिनीसँग त्यही उच्च शिक्षा लिनुभन्दा अगाडिको सामीप्य पछि भएन ।  

भावुक सम्बन्ध 
तिहार फूलको पर्व, दिपावलीको पर्व, बच्चाहरुको देउसीको पर्व र दिदीबहिनीको पर्वको रुपमा मैले बुझेको छु । त्यसकारण पनि खुब मज्जा लाग्छ । तिहारमा बढी भावुकता महसुस हुन्छ । पहाडमा छँदा टाढाबाट दिदीबहिनीहरु आउँथेँ । आफैँ पनि गइन्थ्यो तर सहरमा अलि फरक छ । 

अहिले चार जनासँग टीका लगाउँछु । आफ्नै बहिनीहरु, ठूलाबा र सानोबाका छोरी एक–एक जनासँग टीका लगाउँछु । पहिले बाले अड्कलेर दिनुभएको दक्षिणा दिइन्थ्यो । अहिले अब आफ्नो खुसी हुने भयो । 

उमेर अनुसारको सम्बन्ध
हरेक सम्बन्धहरु उमेरअनुसार फरक हुन्छन् । सानोमा एउटै चुलोमा पाकेको खाइन्छ । सँगै खाइन्छ, खेलिन्छ, सुतिन्छ पनि । साथी भने पनि जे भने पनि उनै हुन्छन् । एकअर्काको बीचमा खासै फरक हुँदैन तर घरबार भइसकेपछि त्यस्तो पहिलेको जस्तो निकटता हुँदैन । जिम्मेवारी बेग्लै हुन्छ । थर नै बेग्लै भयो । परिवार फरक हुने भयो । दुरी त बढ्छ । दुरी बढे पनि माया त झनै बढ्ने हो कि जस्तो लाग्छ । 
घरमै सँगै भएको बेलामा भावुकता र स्नेह कमै होला । धेरैपछि भेट्दा अपूर्व रमाइलो हुन्छ । 

अहिले त अब म आफैँ पनि बूढो भएँ । उनीहरु मभन्दा बूढा देखिन्छन् । हामी भेट्दा बाल्यकालको याद गर्छाैं । गाउँमा जन्मिएको गाउँ पनि छुट्यो । पुरानो सम्झना मात्रै छन् । आमा–बालाई सम्झन्छौँ । उहाँहरुलाई हामीले के के ग¥यौँ, के के गर्न सकेनौँ भनेर कुराकानी गर्छाैं । 

बाल्यकालको सम्बन्ध 
बाल्यकालको बेलामा दिदीबहिनीहरु मेरो गाईबाख्रा हेर्ने साथी हुनुभयो । हामी १० जना दाजुभाइ र दिदीबहिनीबीच धेरै वर्षको फरक थिएन । त्यसकारण सबैसँग साथीसँगको जस्तो सम्बन्ध भयो । दिदीसँग पनि धेरै उमेरको फरक थिएन । १÷२ वर्षको मात्र फरक थियो । दिदीहरुसँग बाख्रा हेर्ने, गाईभैँसी चराउने, गट्टा खेल्ने, ऐंसलु टिप्न जाने, आरु चोर्ने, वनमा गएको बेला चराको फुल चोरेर आगोमा पोलेर खाने र खेल्ने खुब धेरै गरियो । बारी र खेतमा काम गर्न थालेपछि पनि सँगै खन्न जाने खेतमा दिदीहरु रोप्ने, म चाहिँ आली लाउने, बाउसे गर्ने गरेर एक भएर काम ग¥यौँ ।

म सानोमा धेरै नै छुच्चो थिएँ । छुच्चो भए पनि म पढ्नमा धेरै नै जान्ने थिएँ । त्यही भएर सबैले मलाई पुल्पुलाउँथे । स्कुलमा मैले विराम गरे पनि मैले गाली खाँदैनथेँ किनभने मेरा सारा बिराम मेरो पढाइ राम्रो भएको कारणले ओझेलमा पर्ने गर्थे । 

एकचोटी मेरो घरमा एक जना दिदी पर्ने बास बस्न आउनुभएको थियो । उहाँ माइतबाट घर जानलाई हाम्रो घर बाटो भएर जानु परेको कारण बास बस्नु भएको थियो । त्यतिबेला माइतबाट घर जाँदा कोसेली लाने चलन थियो । दिदीले पनि ल्याउनुभएको थियो । पेरुगोंमा कुराउनी राखिएको थियो । डोरीले सिएर ल्याएर एक कुनामा राखेर दिदी कतै जानुभएको थियो । मैले कुराउनी चोरेर खाएँ । दिदीले भोलिपल्ट हिँड्ने बेला भाँडो हेर्नुभयो । कुराउनी त मैले खाइसकेको थिएँ । उहाँ त रुन थाल्नुभयो । घरमा कसले खायो सोधीखोजी सुरु भयो ।

सबैको बयान लिन थालियो । मलाई पनि सोधियो । मैले साहिँली बहिनीलाई दोष लगाइदिएँ । ऊ अलि सोझी थिई । कुराउनी मैले खाए,ँ कुटाई उसले खाई । त्यो घटना सम्झँदा अहिले पनि मलाई पश्चताप लागिरहन्छ ।

दाजुभाइमार्फत् बुबासँग माग
हाम्रो समाज पितृसत्तात्मक हो ।  बाबु अनि छोरामा सम्पत्तिको अधिकारका साथै अन्य अधिकारहरु पनि हस्तान्तरण हुँदै जान्छन् । हाम्रो घर पनि त्यसबाट  बच्ने कुरै भएन ।
मेरो परिवारमा  बासँग कोही पनि बोल्दैनथ्यो । सबैलाई डर लाग्थ्यो । आमा पनि डराउनुहुन्थ्यो । हामी पनि डराउँथ्यौँ । झन् दिदीबहिनी नडराउने त कुरै भएन । बाले केही अह्राउँदा अथवा आफ्नालागि केही माग गर्दा मात्र बोलिन्थ्यो । दिदीबहिनीहरु बुबासँग केही माग्न प¥यो काकाकोमा बास बस्नु प¥यो भने मलाई भन्न लगाउँथे ।

सामन्ती समाजमा यो सधैँ हुन्छ, पुँजीवादमा हुँदैन । सम्बन्ध तलमाथि हुन्छ । त्यसले के स्पष्ट पार्छ भने महिलाहरुको परिवारमा के स्थान छ, कुन रुपमा हेरिन्छ भन्ने कुरा स्पष्ट हुन्छ । छोरीहरु मालिक्नी नभएकोले सम्पत्तिमा  स्वामित्व नभएकोले उनीहरुको अधिकार कम भयो । अधिकार कम भएपछि मनोबल कम भयो । त्यसैले डराए । म अलि छुच्चो थिएँ, झैँझगडा पनि गर्थें । त्यसकारण बासँग खासै डराइनँ । 

दाजुभाइमा आश बढी, दिदीबहिनीमा स्नेह बढी
दाजुभाइ बीचको सम्बन्धमा प्रतिस्पर्धा बढी हुन्छ तर दाजुभाइको दिदीबहिनीसँगको सम्बन्ध भावुकताको र स्नेहपूर्ण हुन्छ । मैले कहिलेकाहीँ अरुबाट सुन्ने गर्थें, यत्रो पढ्यो हामीले त्यत्रो लगानी ग¥यौँ, हामीलाई हेरेन भनेर दाजुभाइहरुले मेराबारे गुनासो गर्नुहुन्थ्यो रे ! तर दिदीबहिनीले गुनासो गरेको मैले कहिले पनि थाहा पाइनँ । उनीहरुको सामीप्यमा रहँदा पनि त्यो महसुस कहिले गरिनँ । 

मेरी माइली बहिनीले मलाई धेरै माया गर्थिन् । अलि अगाडिको कुरा हो, त्यतिबेला म लमजुङमा हेडमास्टर थिएँ । तिहारमा टीका लगाएपछि मैले दिएको भन्दा बढी पैसा उसले मेरो खल्तीमा राखिदिन्थी । म कमाउँथेँ, मेरो  विवाह पनि भएको थिएन, मलाई पैसाको अभाव पनि थिएन तर उसले मलाई त्यो प्रकारको व्यवहार गर्थी । त्यो बढो उदारता हो भन्ने लाग्छ । हुन त बहिनीले त मबाट आस गर्नुपर्ने हो, २०२८ सालतिरको हेडमास्टर भनेको ठुलो जागीर थियो । 

वामपन्थी विचारधारा र पर्व 
हुन त एकताका वामपन्थी विचारधारा राख्नाले चाडपर्व मान्ने चलन थिएन । मैले भने त्यस्तो गरिनँ । म एक पूरा भौतिकवादी हुँ । म ईश्वरमा विश्वास गर्दिनँ । देवीदेवतामा विश्वास राख्दिनँ । एकप्रकारले भन्दा म नास्तिक हुँ । पूर्वजन्म र पुनर्जन्ममा  विश्वास राख्दिनँ । तर के हुन्छ भने, यही समाजमा  बस्ने भएको कारणले यहाँको मूल्य–मान्यता, चाल–चलन नमानी धरै पाइँदैन । कि त जोगी हुनुप¥यो ! हैन भने यहाँको संस्कार त मान्नै पर्ने हुन्छ । जुनसुकै समाजको पनि नीति, विधि, नैतिक मूल्यमान्यता हुन्छ । केही न केही मान्नैपर्ने हुने रहेछ । म कर्मकाण्डमा विश्वास गर्दिनँ तर टीका लगाउँछु । 

धार्मिक दृष्टिकोणबाट चाडपर्वमा म संलग्न हुन्नँ तर सामाजिक रुपमा म संलग्न हुन्छु किनभने त्यसलाई पूर्ण रुपमा परित्याग गरेर समाजमा बस्न सकिन्न । अन्धविश्वास छ भने पनि त्यो तोडाउनु पर्छ । जस्तो कतिपयको  नराम्रो कुरा हामीले सहनुपर्ने हुन्छ, कतिपयले हाम्रो कुरा सहने गर्नुपर्ने हुन्छ । तब मात्र समाजमा हामी रहन सक्छौँ । खोटरहति र कमी–कमजोरी नभएको मान्छे हुँदैन । त्यो कुरालाई हामीले स्वीकार्नु पर्छ । त्यसरी नै पारस्परिक सम्बन्ध, सहअस्तित्वको सम्बन्ध रहन्छ जस्तो लाग्छ । 


आश्रित नभए सम्बन्ध बिग्रँदैन 
सम्बन्ध बिग्रने धेरै कारण हुन्छन् । तीमध्ये प्रमुख कारण सम्पत्ति पनि हो  । हाम्रो समाजमा परम्पराको, सम्पत्तिको मालिक ईश्वरको मालिक सबै पुरुष हो । नारी भनेको केही होइन भन्ने परिपाटी अझै पनि छ । 
उनीहरु संरक्षित हुन्छन् भन्ने मान्यता । हाम्रो घरमा त्यस्तो देखिने किसिमको विभेद थिएन । देखिने विभेद एउटै के थियो भने स्कुल खुल्यो, हामीले पढ्यौँ । म माथिकी दिदि र साहिँली बहिनीले पढ्न पाएनन् । दाजुभाइ स्कुल जान पाउनुभयो । दुई बहिनी शिक्षिका पनि भए । घरको काम पनि गरे । 

बहिनीप्रति मेरो गुनासो
मेरो कान्छी बहिनी यति धेरै धार्मिक भइन् कि उनलाई संसारको मान्छे प्रतिको पर्वाहभन्दा पनि ईश्वर प्रतिको पर्वाह बढी देख्छु । यो भगवान् प्रतिको भक्तिलाई अलिकति कम गरे हुने जस्तो लाग्छ । म माथिको स्नेह बढाइदिए हुने भन्ने लाग्छ । (हाँस्दै) अरु गुनासो छैन । 
आत्मनिर्भर छन् भने दाजुभाइ–दिदीबहिनीको सम्बन्ध जोगाउनलाई केही पनि गर्नुपर्दैन । 
तसर्थ दाजुभाइ दिदीबहिनी बीचको सम्बन्ध ममता, स्नेहपूर्ण र स्वार्थरहित हुन्छ । मेरो केसमा पनि त्यही रह्यो भन्ने मलाई लाग्छ । 
प्रस्तुतिः प्रजु पन्त 
 

Leave A Comment