लेखिका आन्विकाकाे निचाेड ‘बजारको हौवामा लाग्ने लेखक टिक्दैनन्’

शुक्रबार, ३० कार्तिक २०७५, ०४ : ४१ प्रजु पन्त
लेखिका आन्विकाकाे निचाेड ‘बजारको हौवामा लाग्ने लेखक टिक्दैनन्’

पूर्व पत्रकार तथा लेखिका आन्विका गिरीको ‘कम्युनिस्ट’ कथा सङ्ग्रह, ‘मान्छेको रङ’ उपन्यास र बालकथा सङ्ग्रह ‘हाम्रा पनि कुरा सुन्नुस्’ पुस्तक प्रकाशित छन् । उनै गिरीसँग शुक्रवारका लागि प्रजु पन्तले गरेको कुराकानी । 

हिजोआज धेरै भयो तपाईंको कुनै कृति आएको छैन । केमा व्यस्त हुनुहुन्छ ?
अँ, त्यस्तै भएको छ । अफिसको कामले अलि व्यस्त छु । अब चाँडै नै मेरा तीनवटा बालकथा सङ्ग्रह एकैपटक प्रकाशनमा ल्याउँदैछु । 

लामो लामो कथा तथा उपन्यास लेख्ने तपाईं, एकैपटक लेख्न छोड्नुभयो नि ?
यसलाई  लेख्नै छाडेको त नभनौँ । म अहिले  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालसाहित्यको अनुसन्धानमा छु । लेख्न छोडेको छैन । केही ग्याप भने  भएकै हो । 

बाल साहित्य लेखिरहेका कतिपय लेखकहरु बालसाहित्य छोडेर  युवामैत्री कथा उपन्यासमा लाग्छन्, तपाईं भने उल्टो किन ?
अबको केही समय म बालबालिकाका लागि लेख्छु । सुरुमा मैले बालसाहित्य नै लेखेकी हुँ । बालसाहित्यमा रुचि राख्ने अन्य लेखकलाई समेत बालसाहित्य लेख्न प्रेरित गर्ने मेरो सोचाइ छ । बालसाहित्यलाई साह्रै हलुका तरिकाले लिइन्छ । बालसाहित्य लेख्नेलाई लेखकसमेत नठान्ने प्रवृत्ति पनि छ तर आज हाम्रा बालबालिकाले राम्रो किताब पढ्न पाएनन् भने लेखकका रुपमा मलाई ग्लानि हुनेछ । 

बालसाहित्यकार शान्तदास मानन्धरले एक अन्तर्वार्तामा बाल साहित्यलाई बालबालिकाकै भावनाबाट लेखिनुपर्छ भन्नुहुन्थ्यो । यसमा तपाईंको विचार के छ ?
बालसाहित्य लेखनीमा म उहाँबाट धेरै प्रभावित छु । उहाँले नै मलाई बालसाहित्य लेख्न प्रोत्साहन गर्नुभएको हो । मेरो पहिलो पुस्तक बालकथा संग्रह ‘हाम्रा कुरा पनि सुन्नुहोस्’ बालसहभागिताको दृष्टिकोणबाट लेखिएको पुस्तक हो । बालबालिकालाई हामी विशेष स्याहार, सुरक्षा र अभिभावकत्वको आवश्यकता छ त भन्छाँै तर उनीहरुले के सोचिरहेका छन्, कुनै कुरालाई लिएर उनीहरुको कुरा के छ भन्ने कुरा भने सधैँ बेवास्ता गर्छाैं। पुस्तकले त्यस्तो बेवास्ता नगर्न सचेत गराउँछ । 

अब फरक प्रसंगमा जाऊँ है, अहिले बजारमा आइरहेका पुस्तकलाई कसरी लिनुभएको छ ?
मैले त्यसरी यस्तै छ भनेर ठोकुवा गरेर भन्न सक्ने गरी अध्ययन गरेकी छैन तर अहिले आएका पुस्तक राम्रै आइरहेका छन् । फिक्सन मात्रै हैन ननफिक्सन पुस्तकहरु पनि आइरहेका छन् । तर जति आउनु पर्ने हो, ननफिक्सन त्यति धेरै आइरहेको छैन । 

अहिले ‘अनुसन्धानमा आधारित’ भनेर धेरै उपन्यास आउने गरेका छन् त्यसलाई कसरी लिनुभएको छ ?
अनुसन्धानमा आधारित पुस्तक आउनु राम्रो हो । पिछडिएको समुदायको मुद्दा चाहे त्यो महिलाको होस् या जात विशेषको होस्, उनीहरुको  वास्तविक कुरा आउनु राम्रो हो तर अहिले जुन समुदायको मुद्दा भनेर उठाइएको पुस्तक भनिएको छ, ती पुस्तकहरुले पूर्णरुपमा मुद्दा उठाउन सकेको जस्तो लाग्दैन । उनीहरुको दृष्टिकोणबाट लेख्नुपर्छ । त्यो समुदायलाई १÷२ महिना अध्ययन गरेर यो त तिमीहरुको गीता नै हो भनेर ठोकुवा गर्नु त भएन नि !

कुन पुस्तकलाई भन्न खोज्नुभएको हो ?
मैले यही पुस्तक भनेर ठोकुवा गरेर भन्दिनँ तर  निस्केका पुस्तकहरु पुरै अनुसन्धानमा आधारित भने छैनन् । अस्ति भर्खर बजारमा आएका बादी समुदायका पुस्तक पढौं न ! ती पुस्तकहरु अलि बढी भावानात्मक छन् तर नागरिकताको विकराल समस्यालाई दुवै पुस्तकमा प्रभावशाली तरिकाले  उठाइएको छैन । जग्गाजमीनबारे उठाइएको छैन । अनुसन्धानमा आधारित भनिसकेपछि त उनीहरुको पूरै समस्या लेख्नुपर्यो नि ! 

तपाईंले भनेजसरी लेख्दा त त्यो ननफिक्सन होला नि त ? उपन्यासमार्फत् त्यति भए पनि मुद्दा उठाउनु राम्रो हैन र ?
मैले नराम्रो कहाँ भनेँ र ? अपुग मात्रै भनेको हो । फेरि उदाहरणको रुपमा ती पुस्तकहरुलाई लिएकी हुँ, ठ्याक्कै यही हो भन्न खोजेकी पनि होइन ।  जति पनि फलानो समुदायको भनेर आएका पुस्तकहरु छन्, ती पुस्तकमा उनीहरुको पूरै समस्या आएको छैन मात्र भन्न खोजेकी हुँ । 

अनि रह्यो मैले भनेजसरी लेखेँ नन्फिक्सन हुन्छ भन्ने कुरा, अध्ययन अनुसन्धान गरेर लेखेको पनि भन्ने त्यो समुदायको लागि यो पुस्तक गीतासरह नै हो पनि भन्ने अनि उनीहरुको पूरै समस्या नउठाउने ! यो त पुरै अन्याय भएन र ?

पाठकप्रतिको अन्याय भन्न खोज्नुभएको हो ?
पाठकलाई पनि अन्याय भयो । त्यो सम्बन्धित समुदायप्रति पनि अन्याय भयो । लेखकले लेख्दा सबै मुद्दा समेट्नु पर्छ भन्ने मेरो बुझाइ हो । 

विषय भन्दा बजार हेरेर लेख्ने प्रवृत्ति अहिले मौलाएको हो ?
लेखकहरु  धेरै प्रकारका  हुन्छन् । कोही बजार हेरेर लेख्लान्, कोही विषयवस्तुको महङ्खव  बुझेर लेख्लान् । नेपालमा पनि धेरै प्रकारका लेखक हुनुहुन्छ । बजारको हौवामा लाग्ने लेखक हुनुहुन्छ भने धेरै टिक्नुहुन्न । आफूले उठाएको विषयवस्तुको औचित्य, त्यसको प्रभाव र आफूलाई सन्तुष्ट पार्नुपर्छ भन्ने मेरो भनाइ हो । मेरो कुरा गर्नुहुन्छ भने म बजारमुखी छैन । मलाई बजारले के माग्छ भन्दा पनि समाजमा आवाज नउठेको समुदाय कुन हो ? कसलाई न्याय गरेर लेख्न सकिएको छैन भनेर हेर्ने गर्छु । 

अहिले पुस्तक बजारमा आउनुभन्दा अगाडि ट्रेलर सार्वजनिक गर्ने तथा आक्रमक प्रचारशैली अपनाएको देखिन्छ । पुस्तकको हकमा यस्तो आवश्यक पर्छ र ?
यसलाई सकारात्मक रुपमा लिएकी छु । सधैँ प्रचारको शैली एकै प्रकारको हुनुपर्छ भन्ने पछि छैन । समयअनुसार परिर्वतन हुनु आवश्यक छ । नयाँ नयाँ प्रविधि अपनाउनु स्वाभाविक पनि हो । 

कन्टेन्टको गुणस्तरभन्दा प्रचारमा ध्यान दिए जस्तो लाग्दैन ?
मैले त्यति विधि ध्यान दिएर यसबारे अध्ययन गरेकी छैन तर अलिअलि प्रचार हुनु स्वाभाविक हो । 

महिलाले रचना गरेका सामग्री सीमित घेराबन्दीमा बसेर लेखिएको र उत्कृष्ट नभएको भन्ने आरोप छ । यसमा के भन्नुहुन्छ ?
यो आरोपका पछाडि पनि एउटा ठूलो स्वार्थ छ । महिलाहरु कसरी लेखिरहेका छन् ? उनीहरु कति कुरा छाडेर, कति कुरा सम्हालेर, कति कुरासँग जुधेर लेखिरहेका छन् भनेर खोजी नगरी महिलाले लेखेका रचना कमजोर छन् भनेर आरोप कसले केका लागि लगाउँदैछ ? ख्याल गर्नुभएको छ ? के पुरुषले लेखेका सबै रचना उत्कृष्ट छन् ? पुरुष हुने बित्तिकै उत्कृष्टताको प्रमाणपत्र पाइहालिने हो ? कसले यो उत्कृष्टताको कुरा उठाइरहेको छ ? महिला लेखकका रचनाहरु उत्तिकै गम्भिरताका साथ पढिन्छन् । महिला लेखकको रचनाको पहुँच कति पाठकसम्म पुर्याइएको छ ? देश दौडाहामा आफ्नो पुस्तक बोकेर को दौडिन्छ ? पत्रपत्रिकामा, रेडियोमा, टेलिभिजनमा आफ्ना पुस्तकको प्रचारमा को हिँडेको छ ? महिला लेखक र पुरुष लेखकले लेख्नका लागि पाइरहेको सुविधाको तुलना गर्नुभएको छ ? महिला लेखक र पुरुष लेखकसँग प्रकाशकले गर्ने ‘डिल’ का बारेमा कसैले चासो राखेको छ ? साहित्यिक महोत्सवहरुमा महिला लेखकको सहभागिताका लागि जुलुस निकाल्नु पर्ने अवस्था छ । महिला लेखकका सवालमा प्रगतिशील भनिएकाहरु समेत चुप लागेर बस्छन् । नेपालमा महिला लेखकहरु जसरी थुप्रै कुरासँग जुधेर लेखिरहेका छन्, त्यो कुनै क्रान्तिभन्दा कम छैन । 
विदेशमा भएको एक अनुसन्धानले ५० वर्षमा सबैभन्दा ठूलो पुरस्कार पाउने कृतिको पात्र केलाएको थियो, त्यसमा अधिकांश पुरुष पात्र अब्बल र महिला पात्र निम्छरो रुपमा प्रस्तुत गरिएको पुस्तकले पुरस्कार हात पारेको अनुसन्धानबाट खुलेको थियो । पुरुष पात्र अब्बल देखाउने महिला स्वयंले लेखेका कृति पनि थिए ।

अहिले नेपालमा आएका पुस्तकले लैङ्गीक समानतालाई कत्तिको ध्यान दिएको पाउनुभएको छ ?
यी पुस्तक भनेर त अहिले नाम लिन्नँ तर हिजोआज पनि महिलालाई सीमित घेराबन्दीमा राखेर पुरुष पात्रलाई प्रमुख बनाएर लेख्ने चलन उस्तै छ । केही महिला तथा पुरुष लेखकहरुले यसमा ध्यान पनि दिएको देखिन्छ । धेरै महिला लेखकहरु आइरहनुभएको छ । उहाँहरुको लेखनमा समानता आउन थालेको छ । बिस्तारै समाज परिर्वतन हुँदैछ । सामाजिक संरचना अनुसार नै साहित्य सिर्जना हुने हुन्, त्यहीअनुसार भइरहेको छ । 

साहित्यले परिर्वतन सम्भव छ  ?  
साहित्यले आजको आजै परिवर्तन हुँदैन । साहित्यले समाज नै बदल्यो भनेर किटान नै गरेर भन्न नसक्ने अवस्था छैन पनि । साहित्यले मनोभावना प्रतिविम्बित गर्ने हो । मान्छेको सोचमा साहित्यले गहिरो प्रभाव पार्छ । त्यो प्रभाव दीर्घकालीन हुन्छ । कुनै कालखण्डमा भने साहित्यको प्रभाव तत्काल हुन्छ । नेपालमै पनि आन्दोलनका समयमा कविताको प्रभाव प्रभावशाली देखिन्छ । 
 

Leave A Comment