‘मेन्टेन गर्नै गाह्रो’

आइतबार, ०२ मङि्सर २०७५, ०४ : १९ भोला अधिकारी
‘मेन्टेन गर्नै गाह्रो’

म्युजिकल रियालिटी सो ‘नेपाली तारा’ दोस्रो सिजनको विजेता भएपछि दर्शक–स्रोतामाझ निकै लोकप्रिय भए सन्तोष लामा । उनै लामासँग शुक्रबारका भोला अधिकारीले गरेको सुर संवादः 

अहिले केमा व्यस्त हुनुहुन्छ ? 
गीत–संगीतमा नै व्यस्त छु । भर्खरै चार वटा चलचित्रका गीत गाएर सकेँ । अब दसैँअघि दुई वटा आफ्नै गीतलाई बजारमा ल्याउने तयारी गरिरहेको छु । गीतको रेकर्डिङ भइरहेको छ । सके भिडियोसहित, नसके पनि अडियो बजारमा ल्याउने योजना छ ।  

अहिले त भिडियोको जमाना आइसक्यो । अडियो मात्र ल्याएर त के होला र ? 
एउटा गीतको अडियो भिडियो गर्न तीन लाख भन्दा बढी खर्च हुन्छ । यस्तो खर्चले कलाकार त खुत्रुक्कै हुन्छन् । त्यसैले भिडियो तत्काल ल्याउँछु भन्न सक्दिनँ । 

व्यस्त छु भने पनि गुमनामै हुनुहुन्छ त !
गुमनाम छैन । ‘नेपाली तारा’ हुञ्जेल पत्रपत्रिका, अनलाइन र टेलिभिजनमा छाइरहेँ । अहिले सञ्चार माध्यमबाट ओझल पर्न थालेँ । गीत निकाले पनि म मिडिया नजिक हुन सकिनँ । त्यही भएर हराएजस्तो देखिएको हो । तर म कतै हराएको छैन ।  मैले हिजो जति गीत गाउँथेँ, अहिले पनि उत्तिकै गाइरहेको छु । महिनामा ३÷४ वटा भन्दा बढी गीत बजारमा आइरहेको छ । 

कस्तो खाले गीत गाउन रुचाउनुुहुन्छ ? 
विशेषगरी मेलोडियस गीत आउन मन पर्छ तर जस्तो पनि गीत पनि गाउँछु । गायक भएपछि सबैखाले गीत गाउनसक्नु पर्छ नि, हैन र ?

पछिल्लो समयमा बजारमा ल्याउनु भएको बटुवा गीत कत्तिको चल्यो त ? 
धेरै हिट त भएन । मेरा नियमित स्रोतले भने मन पराएको प्रतिक्रिया पाएको छु । २÷३ महिना जति भयो होला रिलिज भएको । यो दार्शनिक प्रकारको गीत हो । यस्तो गीत युवापुस्तामा चाँडै भिज्दैन । 

आफूले गाएको गीतको म्युजिक भिडियोमा आफैँ मोडलिङ गर्नुहुन्छ । पैसा जोगाउन कि अभिनयको सोख हो ?
मोडल बन्ने कुनै सोख छैन । मलाई एक्टिङ गर्ने रहर पनि होइन तर कहिलेकाहीँ गीत रचनाकारले, निर्देशकले गीत रचना गर्दा होस् या निर्देशन गर्दा कसलाई यो गीतले मागेको छ भन्ने हुन्छ । उहाँहरुले तपाईंले गाउनु भएको गीतमा तपाईं आफैँ अभिनय गर्नुस् भन्नु भएकाले अभिनय गरेको हुँ । 

गायन क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
जुन उमेरमा गीतसंगीतको भाव बुझ्न थालेँ, त्यही बेलादेखि यसप्रति आकर्षित भएँ । जतिलाई मैले गीत गाएर सुनाउँथेँ सबैले गायक नै बन्छस् भनेर हौसला दिनुहुन्थ्यो । यही प्रेरणाले काम ग¥यो ।

नेपाली तारा जितेपछि जीवन कत्तिको सहज भयो ?
केही समयसम्म सजिलो नै थियो तर मेन्टेन गर्दै जान गाह्रो हुँदै गयो । अहिले जेनतेन जीवन चलाइरहेको छु । बाहिरबाट हेर्दा जति सजिलो देखिन्छ, भित्र जीवन धान्न गाह्रो छ । सन्तोष भनेपछि धेरैले चिन्नुहुन्छ । साधारण भएर हिँड्न पनि गाह्रो, मेन्टेन गर्न पनि गाह्रो । 

हिट भइसकेका गायकको हालत पनि यस्तो ! किन हो ?
पहिलो पटक भएको सोहरु निकै हिट हुन्छन् । उसका फ्यानहरु पनि प्रसस्तै हुन्छन् । दोस्रो हुँदा मान्छेको मन अलिक मर्दै गएको हुन्छ । यस्तै त हो नि भन्ने पर्ने रहेछ । नेपालमा नेपाली तारा भयो । सबैको वाहवाही पायो । दोस्रो भयो ठीकै जस्तो माने । तेस्रो भयो, वास्तै गरेनन् । अब नेपाल आइडल पहिलो हुँदा जति आममानिसको क्रेज थियो । अहिले दोस्रोमा त्यस्तो पाइन छोड्यो । नेपाल टेलिभिजनबाट आउने पहिलो ‘छमछमी’मा कति क्रेज थियो । ‘बुगीबुगी’ चल्यो, ‘छमछमी २’ लाई दर्शकले त्यति महङ्खव दिएनन् । अहिले ‘भ्वाइस अफ नेपाल’ निकै हिट छ । त्यसैले पहिलो भनेको पहिलो नै हुने रहेछ ।
 
 

Leave A Comment