बक्स अफिस: कसैलाई खात , कसैलाई पूर्पुरोमा हात

आइतबार, ०२ मङि्सर २०७५, ०४ : २४ पुष्पा थपलिया
बक्स अफिस: कसैलाई खात , कसैलाई पूर्पुरोमा हात

चार महिना अघिसम्म ताल न तुलका फिल्मले पनि करोडौं कमाउँथे । कहिल्यै नाम नसुनेका फिल्मले सफलताको सेलिब्रेसन गर्थे । तर जब बक्स अफिस लागू भयो, त्यस दिनदेखि फिल्मले यति करोड नघायो भन्न निर्माताहरु डराए । फिल्मले बल्लतल्ल एक करोडको ग्रस कलेक्सन ग¥यो भने पनि तीन करोड लगानी गरेर बनेको फिल्म सफल भएको मान्न थालियो । 

फिल्म सबै फ्लप हुन थाल्यो कि भन्ने डर फिल्मवृत्तमा चल्नुअघि नै ‘छक्का पन्जा तीन’ले गरेको व्यापारले अहिले माहोल तताइरहेको छ । कति कमायो भन्ने एकिन तथ्यांक सार्वजनिक नभए पनि फिल्मले पैसा भने कमाइरहेको छ । एक महिना कटिसक्दा पनि हलबाट फिल्म उत्रिएको छैन ।

अहिलेसम्म फिल्मले कति कमायो त भन्ने प्रश्नमा ‘छक्का पन्जा तीन’की निर्देशक दिपाश्री निरौलाले १६ करोड कटाएको बताइन् । उनले भनिन्, ‘यति नै कमायो भनेर त भन्दैनौं तर छक्का पन्जाको आफ्नै पहिलो संस्करणलाई भने जितेको छ ।’ 

फिल्मका वितरक गोपाल कायस्थ भने फिल्मको कमाइमा पक्का छन् । उनका अनुसार अहिलेसम्म फिल्मले १९ करोड ग्रस कलेक्सन गरिसकेको छ । उनले यो रिपोर्ट बक्स अफिसबाट लिएको समेत दाबी गरे । 

बक्स अफिस रिपोर्ट
अहिले फिल्मवृत्तमा बक्स अफिस लागू भएको छ या छैन भन्ने बहस चलिरहेको छ । केही निर्माताले रिपोर्ट नपठाएको भन्दै बक्स अफिसको अस्तित्वमा औंला उठाइरहेका छन् भने केहीले बक्स अफिसको नाम लिनै छाडेका छन् । 

फिल्म ‘चङ्गा चेट’का निर्माता माधव वाग्लेका अनुसार उनले अहिलेसम्म बक्स अफिस रिपोर्ट पाएका छैनन् । फिल्म ‘मालिका’की निर्माता तथा निर्देशक रेखा थापालाई भने रिपोर्ट आएको छ तर उनले हेरेकी छैनन् । 

केही लगानीकर्ता तथा निर्माता निर्देशक बक्स अफिसले तथ्यांक नदिएको आरोप लगाइरहँदा केही निर्माता निर्देशक भने बक्स अफिसको रिपोर्ट आफूले पाइरहेको बताउँछन् । उनीहरु उक्त रिपोर्ट देखाउन भने चाहँदैनन् । यसरी बक्स अफिसको रिपोर्ट पाइरहेको तर देखाउन नचाहने कलाकार हुन् दीपकराज गिरी । अहिले उनको फिल्मले करोडौं कमाएको खबर मिडियामा आइरहेको छ । 

माधव वाग्ले भने बक्स अफिसले कसैलाई पनि रिपोर्ट नपठाएको दाबी गर्छन् । उनले भने, ‘यदि दीपकजीहरुलाई रिपोर्ट पठाएको छ भने किन सार्वजनिक गर्नुहुन्न ? यदि पठाएको छ भने पनि सही रिपोर्ट पठाएको छैन । उहाँहरु २० करोड कमायो भन्नुहुन्छ, रिपोर्ट पठाएको भए १० करोडको पठायो होला । 
कसैलाई बक्स अफिसको रिपोर्ट दिने अनि कसैलाई भने नदिने किन भन्ने प्रश्नमा चलचित्र विकास बोर्डकी अध्यक्ष नीकिता पौडेल भन्छिन्, ‘हामी रिपोर्ट माग्नेलाई मात्रै दिन्छौं, नमाग्नेलाई दिँदैनौं ।’ पौडेलका अनुसार ज–जसको बक्स अफिस रिपोर्ट आएको छैन, उनीहरुले बक्स अफिसलाई इमेल गरेर रिपोर्ट मागेका छैनन् । 

कतिपय निर्माता निर्देशक भने रिपोर्ट नै नचाहनेसमेत भएको उनको भनाइ छ । उनले भनिन्, ‘कसैले मेरो रिपोर्ट ले भनेर मागेकै छैनन् भने कसरी दिनु । यदि कसैले मागेर पनि पाएका छैनन् भने भन्नुस्, नत्र हामीले रिपोर्ट माग्ने सबैलाई उपलब्ध गराएका छौं । ’ 

नीकिताका अनुसार बक्स अफिसमा हाल कुनै प्रकारको प्राविधिक समस्या छैन र डाटा माग्ने सबै वितरक, निर्माता र निर्देशकलाई खाली हात पठाएको छैन । उनले भनिन्, यदि कसैले मागेका छैनन् भने हामीले पनि पठाएका छैनौं । 

मिडियामा आएका डाटामा सत्यता छैन
बोर्ड अध्यक्ष निकिता पौडेलका अनुसार मिडियामा भनिएको ग्रस कलेक्सन भने गलत छ । उनले भनिन्, ‘कतिपय फिल्म निर्माताले अहिले मिडियामा जति कमायो भनिरहेका छन्, त्यसमा सय प्रतिशत सत्यता छैन, म यति मात्रै भन्न सक्छु । यति नै कमायो भनेर भन्ने अधिकार भने मेरो छैन ।’

उनका अनुसार यदि साँचो रिपोर्ट थाहा पाउन चाहनेले निर्माता निर्देशकको अनुमति लिएर बक्स अफिसको कार्यालयमा जान सक्नेछन् । संकलित रकम बारेको रिपोर्ट फिल्म निर्माण युनिट या वितरकले नै सार्वजनिक गर्छन् । बक्स अफिस सञ्चालन टिम वा चलचित्र विकास बोर्डसँग संकलन सार्वजनिक गर्ने अनुमति छैन । 

नेपाली फिल्म उद्योगमा बक्स अफिस लागू भएको लगभग ४ महिना पुग्यो । साउन १ गते बक्स अफिस सञ्चालनमा आउनुअघि भएको सहमतिअनुसार निर्माताले चाहेको खण्डमा मात्र बक्स अफिस कलेक्सनको जानकारी दिन पाइनेछ । पौडेलले भनिन्, ‘केही निर्माताहरु डाटा सार्वजनिक गर्नुहुन्न, केहीले आफ्नो तरिकाको हिसाब देखाउनु हुन्छ अनि केही भने हिसाब पाईपाई नि पाइनँ भनेर मिडियामा बोल्नुहुन्छ ।’ हामी भने सधैं बीचमा पर्छौं ।

सहमतिअनुसार हरेक फिल्मका निर्मातालाई हरेक सो पछिको एक घण्टामा बक्स अफिसको रिपोर्ट निर्माण युनिटलाई दिनुपर्ने हो । तर अहिलेसम्म पनि प्राविधिकका कारण एक घण्टापछि नै कलेक्सनको जानकारी दिन नसकेको भने उनले स्विकारिन् । तुरुन्तै दिन नसके पनि रिपोर्ट मागेको खण्डमा भने दिने गरेको उनको भनाइ छ । 

बक्स अफिस लागू भएपछि प्रदर्शनमा आएका केही फिल्मलाई भने प्राविधिक समस्याका कारण रिपोर्ट दिन नसकिएको उनको भनाइ छ । अहिले भने कुनै प्राविधिक समस्या नभएको र रिपोर्ट पनि पठाइरहेको निकिताको दाबी छ । सिंगल थिएटर र मोफसलमा पनि ई–टिकेटिङ सुरु भएपछि भने एक घण्टापछि नै रिपोर्ट पठाउन सकिने पनि उनले बताइन् ।  

बक्स अफिस लागू भएकै छैन ः माधव वाग्ले
अहिलेसम्म मेरो फिल्म ‘चङ्गा चेट’ले उपत्यकाबाट करिब ९५ लाख र उपत्यका बाहिरबाट ७५ हजारभन्दा बढीको कमाइ गरेको छ । यो मेरो आफ्नो हिसाबकिताब हो । निर्मातासँगै वितरक पनि भएकाले मैले यो हिसाब राख्न सकेको हुँ । मलाई बक्स अफिसले अहिलेसम्म कुनै रिपोर्ट पठाएको छैन । 
हुन त मैले रिपोर्ट देऊ भनेर छुट्टै निवेदन दिएको छैन । त्यो भन्नुको तुक पनि छैन । मैले मेरो सम्पत्तिको हिसाबकिताब माग्न पनि चिठी लेख्नुपर्ने ?  सुरुमै हाम्रो इमेल आइडीलगायत सम्पूर्ण कागजपत्र लिइसकेको छ भने फेरि प्रत्येक फिल्मका लागि निवेदन दिनुपर्ने पनि कहीँ हुन्छ र ? यो सब बकबास हो, वाइयात हो । 
फेरि बक्स अफिसमा काम गर्ने मान्छे पनि छैन, अमेरिका गयो । अहिले त्यहाँ एकजना महिला बस्छिन्, उनलाई बक्स अफिसको रिपोर्ट हेर्नै आउँदैन । त्यही भएर म बक्स अफिस लागू भएको नै मान्दिन । बक्स अफिस लागू भएकै छैन । 
 

Leave A Comment