रियालिटी चेक: फिक्का हुँदै द भ्वाइस

शुक्रबार, ०७ मङि्सर २०७५, ०३ : ४० पुष्पा थपलिया
रियालिटी चेक: फिक्का हुँदै द भ्वाइस

सुरुवाती चरणको तुलनामा सिंगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को क्रेज ओरालोमा छ । लाइभ राउन्डको अन्तिम चरणतिर पुग्दै गर्दा दर्शकको त्यत्ति ध्यान तान्न सकिरहेको छैन । यसको कारण भ्वाइसमा पप र रक जनराका गीतले पाएको प्रार्थमिकता अनि नोटिस्ड भएका गायकको बाहिरिनु हुनसक्छ ।
कोचहरु पनि लोक र आधुनिक जनराका गीतको साटो कडा खालका रक गीतमै घोत्लिएका देखिन्छन् । 
रक र पप गाउने राउन्डमा द भ्वाइसले गायक पशुपति शर्मालाई गेष्ट जजका रुपमा ल्याउँदा दर्शक भड्किएको देखियो । लोक गायकलाई निम्तो दिइसकेपछि कमसेकम लोक पप, लोक आधुनिक जनराको गीत गाएको भए राम्रो हुने सुझाव सामाजिक सञ्जालभरि छरिएका छन् ।

गायक शर्मा लोक दोहोरी क्षेत्रमा नाम र दाम दुवै कमाउन सफल गायक हुन् । उनले आफैँले गाएको ‘मलाई अमेरिका यहीँ’ बोलको गीत गाएर कार्यक्रमको सुरुवात गरेका थिए ।  लाइभ राउन्डकै २४ औं एपिसोडमा आएका गेष्ट जज दीपक खरेललाई भने स्वाभाविकै मानिएको छ । उनले तिम्रो त्यो हँसिलो मुहारले बोलको आफ्नै गीत गाएर कार्यक्रममा इन्ट्रि मारेका थिए । 

बाहिरिए तेजेन्द्र
लाइभ सो को २३ औं एपिसोड टिम प्रमोद र टिम सनुपको भोटिङ नतिजा सुनेसँगै सुरु भएको थियो ।  टिम प्रमोदको तर्फबाट तीनजना प्रतियोगीहरु तेजेन्द्र, सुरेखा र सुशीलले प्रस्तुति दिएकोमा सुशीललाई सेफ गर्दै तेजेन्द्र र सुरेखा भोटिङमा गएका थिए । जनताको भोटका आधारमा तेजेन्द्र आउट भएका छन् । पहिला लाइभ राउन्डमा सबैभन्दा धेरै भोट पाएका उनी दोस्रो राउन्डमा भने आउट भए । तेजेन्द्र आउट भएसँगै सुरेखा भने अर्को चरणमा पुगेकी छिन् । 

टिम अभयाको तर्फबाट गएको हप्ता कुशल, श्रेया र रितले प्रस्तुति दिएका थिए । जसमा अभयाले ओमन इम्पावरमेन्टको पावर देखाउँदै कुशललाई सेभ गरेकी थिइन् भने दुई युवती श्रेया र रितलाई भोटका लागि पठाएकी थिइन् । यी दुई ओमन पावरबाट अभयाले श्रेयालाई अर्को चरणमा पाइन् भने रित घर फर्किएकी छिन् । 

लाइभ राउन्डको २४ औं एपिसोडमा लाइभ राउन्डको दोस्रो चरणमा पुगेका प्रतिस्पर्धीमध्ये २३ औं एपिसोडमा प्रस्तुति दिएका प्रतिस्पर्धीको नतिजा सुनाइयो । जसमा टिम सनुपबाट सनिध्या थापा,  शैलु आरएल सिंह र सन्तोष रानाले प्रस्तुति दिएका थिए ।  गितार उपहारसँगै सन्तोषलाई  कोच सनुपले सेभ गरेका थिए भने शैलु र सनिध्यालाई भोटिङमा पठाएका थिए । जनताको भोटको आधारमा भारतकी सनिध्या आउट भइन् भने शैलु अर्को राउन्डमा प्रवेश गरिन् ।

टिम प्रमोदको तर्फबाट २३ औं एपिसोडमा प्रतिस्पर्धा गरेका  थिए, श्रृजय थपलिया, सुरज तामाङ र आशिष गुभाजुले । जसमा गितार उपहार सहित कोच प्रमोदले आशिषलाई सेभ गर्दै श्रृजय र सुजनलाई भोटिङमा पठाएका थिए । भोटिङमा सुरज आउट भए भने श्रृजय अर्को चरणमा पुगेका छन् । 

२४ औं एपिसोडमा टिम दीप र टिम अभयाको टिमले प्रस्तुति दिए । टिम दीपको तर्फबाट सिडी विजय अधिकारी, विवेक बाइवा लामा र यानी श्रेष्ठले प्रस्तुति दिएका थिए ।  जसमा कोच दीपले विवेकलाई सेभ गर्दै सिडी र यानी जनतालाई सुम्पेका छन् । कोच अभयाको टिमबाट आशा कुँवर, विवेक लामा र अनु शाक्यले प्रस्तुति दिएकोमा कोच अभयाले विवेकलाई सेभ गरिन् र दुई महिला आशा र अनुलाई भोटिङमा पठाइन् । 

लोकगीत जम्यो
सिंगिङ रियालिटी सो नेपाल आइडलको लोकगीत विशेष गाला राउन्डले  लोकगीत प्रेमी नेपालीको मन छोयो । उक्त एपिसोडलाई धेरैले प्रशंसा गरे । गेष्ट जज जयनन्द लामाले पनि लोक गीत विशेष उक्त सो खुब इन्जोय गरे । 

आठजना प्रतिस्पर्धीमध्ये सातजनाले रेस्पेक्ट पर्फमेन्सको उपाधि पनि जिते । भर्खर जीवनको उकालो लाग्दै गरेका युवाको मुखबाट गुन्जिएका पुराना सदावहार लोकगीतलाई सबैले मन पराए । ती लोक गीतहरु सामाजिक सञ्जालमा समेत भाइरल भए । 

भोटको नतिजा घोषणाको दिनमा भने गेष्ट जजका रुपमा दीपक जंगम आएका थिए । उनले प्रतिस्पर्धीका आवाजको निकै प्रशंसा गर्दै आफ्नो समयमा गीत रेकर्ड गराउँदाका अनुभूति कार्यक्रम अवधिभर बाँडे । 

रविलाई धेरै भोट
लोक विशेष राउन्डमा सुरिलो सुनिएका धनगढी अडिसनका रवि ओडले यो हप्ता सबैभन्दा धेरै भोट पाए । उनले लोकगीत विशेष अडिसनमा देउडा गाएर दर्शकको मनसँगै भोट पनि जितेका थिए ।  साथमा रविले लगाएको ड्रेसले पनि सबैको ध्यान तानेको थियो । उनले सुदूरपश्चिमको प्रतिनिधित्व गरेको भन्दै वाहवाही समेत बटुले ।

लोक राउण्ड क्रिसल कँडेललाई भने फापेन । सबैभन्दा सानो उमेरको भन्दै सबैको मायाँ पाएका कँडेल टप ८ बाट आउट भए  । लोक विशेष राउन्डमा दर्शक नचाए पनि मन जित्न नसक्दा उनी आउट भए । उनको गीत छनोट गर्ने कलालाई जजहरुले मन पराएका थिए । कँडेल आउट भएसँगै नेपाल आइडलमा निलिमा थापा, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, रवि ओड, अमित बराल र पवन गिरी बाँकी छन् ।

सकियो मिनकुमारीको ल्याङल्याङ
हिमालय रोडिज वाइल्ड वाइल्ड वेष्टले फाइनलसम्मको यात्रा तय गरेको छ । फाइनलमा तीनजना युवा प्रवेश गरेका छन्  । यो हप्ता रोडिजमा मनी टाक्स र इलिमिनेसन टाक्स दुवै भयो । मनी टाक्समा चारओटा टायरलाई पोलमा छिराउनुपर्ने थियो । जसमा तेजस, प्रिविर र अनिस चारवटै टायर पोलमा छिराउन सफल भए । साथै प्रत्येकले ६० हजारका दरले कमाए ।

तर जसोतसो भोटिङमा बच्दै रोडिजको चारजनामा पुगेकी मिनकुमारीले एउटा पनि टायर छिराउन सकिनन् । तीन जनामा पनि सबैभन्दा कम समयमा टायर पोलमा छिराएर वाहवाही कमाए अनिषले । उनी बिरामी पर्दा पनि टाक्स पूरा मात्रै गरेनन्, पहिलो पनि भए । 

दोस्रो चरणमा इलिमिनेसनका लागि टाक्स भयो । जसमा काँटीको धारिलो काँडामा सुतेर घन्टी बजाउने टाक्स थियो । उक्त टाक्समा सबैभन्दा राम्रो प्रदर्शन गर्दै तेजस फाइनलमा प्रवेश गरे । दोस्रो नम्बरमा धेरै घण्टी बजाएर अनिष पनि पछिपछि फाइनलमा प्रवेश गरे । यो पटक नियम परिवर्तन गर्दै तीनजना फाइनलमा जाँदा प्रिवेर नाफामा परे र फाइनल पुगे । मिनकुमारी भने यो राउन्डमा पनि सबैभन्दा नराम्रो पर्फमेन्स गर्दै खेलबाट बाहिर आइन् । 

आउट भएसँगै सधैँ टाक्स अघि आकाशको तारा झार्छु भन्ने, तर नतिजा लाजमर्दो ल्याउने मिनकुमारीको ल्याङल्याङ सकियो । भोटिङमा बच्दै आएकी उनी टाक्स गरेरै सर्भाइभ गर्ने बेला आएपछि भने सुरुमै बाहिरिइन् । उनको भनाइअनुसार, हिम्मत कहिल्यै हारिनन् तर हरेक टाक्स हार्दै बाहिरिइन् । 

Leave A Comment