ए डिभिजन लिग : विवादमा २ रेफ्री

शुक्रबार, ०७ मङि्सर २०७५, ०४ : ०६ शुक्रवार
ए डिभिजन लिग : विवादमा २ रेफ्री

रेफ्रीका कारण सहिद स्मारक ‘ए’ डिभिजन लिग विवादमा तानिएको छ । लिगको प्रारम्भमै एनआरटी र आर्मी क्लबबीचको खेलमा रेफ्री सुदिस पाण्डे विवादमा तानिएका थिए । सीएमजी संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेलमा  रेफ्री कविन व्यञ्जनकार विवादमा तानिएका छन् ।

सोमबार भएको खेलमा संकटा जाउलाखेलसँग २–० को नतिजा निकालेको थियो । खेलको दौरानमा संकटाका खेलाडी एलोन म्याक्सवेलले २ वटा पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले अफिसियलहरु (रेफ्री) ले लिगमा खराब निर्णय गरिरहेको बताएका थिए ।

आफ्नो खेलाडीले पहेँलो कार्ड पाइसकेको अवस्थामा चेतावनी दिनुको साटो पुनः दोस्रो पहेँलो कार्ड दिनु रेफ्रीको गलत निर्णय भएको र यही गल्ती रहिरहे लिग खेल्नु र खेलाउनुको अर्थ नरहेको उनले बताएका थिए । 
कुनै खेलाडीले पहेँलो कार्ड खाएपछि दोस्रोपटक उसलाई चेतावनी हुने भए पनि पहिलो पहेँलो कार्ड पाएको दुई मिनेटभित्र दुई पहेलो कार्ड देखाउनु अन्याय भएको उनको तर्क थियो ।  जावलाखेलका डिफेन्डर अडामा डुम्बियालाई फल गरेपछि रेफ्री कविन व्यञ्जनकारले म्याक्सवेललाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए  । 

गत असोज १३ गते सुरु भएको लिगको उद्घाटन खेलमा एनआरटी र विभागीय टिम त्रिभुवन आर्मी क्लबले २–२ गोलको बराबरी खेलेको थियो । अन्तिम समयमा गोलकिपरले धेरै समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले आर्मीलाई डिबक्सभित्र फ्रिकिक दिए पनि खेल बराबरीमा पुगेपछि एनआरटी रुष्ट भएको थियो ।
एनआरटीले रेफ्री पाण्डेविरुद्ध कारबाहीको माग गर्दै एन्फामा निवेदन दिए पनि कुनै सुनुवाइ भएको छैन । आफ्नो निवेदनको सुनुवाइ नभएको भन्दै उसले लिग नखेल्ने चेतावनी दिइरहेको छ ।
 

Leave A Comment