प्राध्यापक डा. अभि सुवेदी : 'आफू नै सन्तुष्ट भइएन भने किन लेख्नु ?'

शुक्रबार, ०७ मङि्सर २०७५, ०४ : २३ प्रजु पन्त
प्राध्यापक डा. अभि सुवेदी : 'आफू नै सन्तुष्ट भइएन भने किन लेख्नु ?'

कवि, निबन्धकार, नाटककार, अनुवादक तथा समालोचक । प्राध्यापक डा. अभि सुवेदीको परिचय बहुआयामिक छ । उनको निबन्ध कविता र नाटक गरी २१ वटा कृति प्रकाशन गरेका छन् भने दर्जनौँ पुस्तक अनुवाद गरेका छन् ।  एघारवटा नाटक लेखिसकेका सुवेदीले केही नाटकमा अभिनयसमेत गरेका छन् । उनै प्रा.डा. सुवेदीसँग उनको साहित्यिक यात्रा र नेपाली साहित्यमा नाटकको उपस्थितिबारे शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानीः
 

नेपाली राजनीतिका हस्ती पुष्पकमल दाहालदेखि कमल थापासम्म, साहित्यमा सीमा आभाषदेखि रंगमञ्चका सुनिल पोख्रलसम्म धेरै प्रतिष्ठितहरुको प्रिय ‘अभि सर’ हुुनुहुन्छ । कस्तो लाग्छ ?
म अनिवार्य अंग्रेजीको प्राध्यापक भएर पनि होला सबै संकायका विद्यार्थीलाई पढाउने अवसर पाएँ । नेपाली राजनीतिका पुष्पकमल दाहाल, कमल थापा, साहित्यकारहरु सुनिल पोख्रेल, सीमा आभाष अनि सञ्जीव उप्रेतीलाई पनि मैले पढाएको हुँ । 
तेह्रथुम जिल्लामा जन्मिए पनि समकालीन नेपाली बालबालिकाले भन्दा राम्रो वातावरणमा शिक्षा पाउन सकेँ । मेरो बा र आमाको अनमेल विवाह हो । बुबा ४६ वर्षको आमा १० वर्ष हुँदा विवाह भएको थियो । बुबा राणाहरुको कर्मचारी हुनुहुन्थ्यो । लिम्बुवानमा सरकारको उपस्थिति गराउन बुबा तेह्रथुम जिल्लामा पुग्नुभएको थियो । त्यहीँको मान्छेसँग विवाह गर्दा काम गर्न सहज हुने भएपछि उहाँले मेरी आमासँग विवाह गर्नुभएको हो । म बुबाको २१ औँ र आमाको सातौँ सन्तान हुँ । 
यसै क्रममा मेरो बुबालाई घरमा केटाकेटीलाई अक्षर चिनाउन सहज हुने सोचेर आमालाई पढ्न लगाउनुभएछ । आमाले त्यो जमानामा पनि संस्कृत, बंगाली, नेपाली तथा हिन्दी पुस्तकहरु पढ्नुहुन्थ्यो । उहाँकै प्रभाव ममा पर्याे । आमाले मलाई औपचारिक रुपमा घरमै सबै कुरा पढाउनुभयो । यसकारण मैले भन्ने गरेको छु— मेरो शिक्षा ध्वनिबाट सुरु भएको हो । 

अंग्रेजीमा कसरी रस बस्यो ?
खै पछि के भएछ आमाको मन परिवर्तन भयो । उहाँले भविष्यमा संस्कृतको भन्दा अङ्ग्रेजीको स्कोप आउँछ भनेर अङ्ग्रेजीतिर लागेको हुँ । त्यतिबेला भारतबाट लिम्बुवानमा क्रिश्चियन धर्म प्रचार–प्रसारका लागि पादरीहरु आएका थिए । उनीहरुले अङ्ग्रेजी स्कुल खोले । त्यो स्कुलमा पढ्ने अवसर प्राप्त भयो । उनीहरु अङ्ग्रेजी मात्रै बोल्थे । उनीहरुकै सिको गर्दै अङ्ग्रेजीमा जग बस्यो । त्यसपछि मैले नेपाली साहित्य, हिन्दी अङ्ग्रेजी साहित्यका पुस्तकहरु पढ्न थालँे । शिक्षा भनेको ध्वनि, अक्षर अनि ज्ञानको जहाँ भेट हुन्छ त्यहीँ नै हो । एक प्रकारले भन्ने हो भने आमा बाउको अनमेल विवाहबाट म पनि साहित्यिक रुपमा शिक्षित हुने अवसर प्राप्त गरेँ । 

पढाउने सबै साहित्यकार हुँदैनन्, प्राध्यापनसँगै साहित्यकारमा कसरी जग बस्यो ?
मेरो घरमा अध्ययनशील वातावरण थियो । मेरी आमाको आफ्नै पुस्तकालय थियो । ती पुस्तकहरु अझै पनि म सँग छ । म ११ वर्षको हुँदा नै घरमा रहेको धार्मिक र साहित्यिक पुस्तक पढेको थिएँ । त्यतिबेला लेख्न मन लाग्यो । लेख्ने त लेख्ने तर के भन्ने थाहा थिएन । लेख्छु भनेर कलम कापी हातमा लिएर बसेपछि विषयवस्तु छनोटमा गाह्रो हुनेरहेछ । 

एक दिन म र मेरो भतिज विमल सुवेदी घरमा थियौँ । ऊ कोक्रोमा सुतेको थियो । ऊ उठ्यो घरमा उसलाई हेर्न सक्ने कोही थिएन । त्यसपछि मैले ‘कोक्रोभित्र नानी रोयो’ भन्ने कविता लेखेँ । पछि त्यो कविता भारतीय पत्रिकामा छापिएको थियो । त्यसपछि मैले पछाडि फर्केर हेर्न परेन । 

पहिलो कविताको प्रतिक्रिया कस्तो आयो ?
दिउँसो कविता लेखेको । साँझसम्म दंग थिएँ । के–के न लेखेँ भन्ने भएको थियो । आमा आएपछि मैले झ्याउरे लयमा भाका हालेर कविता पढेर सुनाएँ । आमा यति खुसी हुनुभयो कि सीमा नै रहेन । 
मैले कविता लेखेको केही महिनामा मलाई जीवन के हो ? आफ्नो अस्तित्व के हो ? भन्ने कुराको हुटहुटीले मलाई सताउन थाल्यो । यसै क्रममा आमाले यी सबै कुरा जान्न आकाश, बादल, खोला, जंगल चराचुरुङ्गीको आवाजमा मुग्ध बनाइदिनुभयो । अनि म शब्दमा रमाउन थालेँ । 

लेख्दा विषयवस्तुको चयन कसरी हुन्छ ?
जुन विषयले भित्रैदेखि हल्लाउँछ नलेखुञ्जेल हुटहुटी लागिरहन्छ अनि त्यही विषय नै छान्ने गरेको छु । मलाई विश्वेश्वरप्रसाद कोइरालाको प्रभाव पनि प¥यो । तर म कुनै पार्टीको सदस्य भने छैन । 
तपार्इंका समकालीन लेखकहरु प्रायः विश्वेश्वरप्रसाद कोइरालाको नाममा जोडिन चाहन्छन् त्यही भएर

तपाईंले ‘सान्दाजुको महाभारत’ नामक नाटक लेख्नुभयो भन्ने पनि छ, तपाईंहरुको पुस्तालाई बीपीप्रति धेरै मोह किन ?
मोह भन्ने होइन । नेपाली राजनीतिमा होस् या साहित्यमा बीपी कोइरालाको अग्रणि भूमिका छ । उहाँले लेख्नुभएको साहित्य नै हेर्नुस । उहाँले नारी पात्रलाई प्रमुखता दिनुभएको छ । त्यो बेलाको समयमा स्वतन्त्र नारीको कल्पनामा लेख्नु सानो कुरा हो र ? 

नाटक, निबन्ध, कविता तथा समालोचना लेख्नुहुन्छ, कुन विधा अली सहज लाग्छ ?
साहित्य मेरा लागि अभिव्यञ्जन हो । चाहे त्यो कविता, नाटक, निबन्ध वा समालोचना जे होस् सबैबाट काव्यिक रस आउँछ । 

मैले सुनेको, तपाईंको बेलाको समकालीन लेखकहरु लेखनलाई सहजतामा भन्दा पनि कसले गाह्रो, कमै सुनिने शब्द प्रयोग गर्न सकिन्छ भन्नेमा होडबाजी नै चल्थ्यो रे तपाईंमा नि त्यसैको प्रभाव हो ?
पाठकले कसरी बुझिदेलान् भन्ने चिन्ता प्रत्येक लेखकमा भइरहन्छ । तर, अलिकति बुद्धिजीवी, गुदी भएकाले बुझून् भन्ने  पनि हो । अरुले बुझ्नु त पर्यो तर आफू पनि सन्तुष्ट हुनुपर्याे । आफू नै सन्तुष्ट भइएन भने किन लेख्नु ? 

अब नाटकको प्रसंगमा जाउँ, नेपाली साहित्यमा अरु विधामा भन्दा नाटकमा कलम कम चलेको हो ?
तपाईंले ठिक भन्नुभयो । नाटकमा अनुवाद भएका छन् तर आफैँ नेपाली मौलिकतामा आधारित नाटकहरु भने कमै लेखिएका छन् ।

आजभन्दा १३ वर्षअघि एक अङ्ग्रेजी पत्रिकाको अन्तर्वार्तामा ‘१० वर्षपछिको नाटकको भविष्य के हुन्छ’भनेर सोधिएको प्रश्नमा तपाईंले १० वर्षपछि नाटकले ठूलो फड्को मार्छ भन्नुभएको रहेछ, अहिले १३ वर्षपछि फर्केर हेर्दा के पाउनुहुन्छ ?
नाटक सोचेजस्तो आएन । तर प्रविधिमा अगाडि छ । मञ्च कलात्मक बनेको छ । नाटक गुणवान् भएनन् तर प्रविधि मैत्री  भए । प्रस्तुतिमा सुधार आउनुसँगै नाटक लेखनमा भने सुधार आएको हैन । 

सोचेजस्तो नाटक नआउनुको कारण के होला ?
अरु त के हुनु र ? शिक्षाको कमी, त्यसमाथि कलाकारलाई टिक्न पनि गाह्रो छ । थिएटर शिक्षा पनि छैन अनि अर्काे डर लाग्दो कुरा मान्छेमा चाख पनि घट्दै गएको छ । 

अहिले आएका नाटकको विषयवस्तु कस्तो भेट्नुहुन्छ ?
अहिले बाहिरको एडप्ट गरेर नाटक प्रस्तुत गर्ने चलन मौलाएको छ । तर, मौलिकपना आएको छैन भन्न खोजेको हैन । अहिलेका नाटकमा महिला, जनजाति मुद्दामा कलम चलेका छन् । यो सकारात्मक पाटो मान्नुपर्छ । पिछडिएका समुदाय, अल्पसंख्यकलगायतका विषयवस्तु नाटकमा आएका छन् । यसले केही सन्तोष दिएको छ ।

एघारवटा नाटक लेखिसक्नुभएको तपार्इं नाटक लेख्दा कुन–कुन पक्षमा ध्यान दिनुहुन्छ ?
मैले कतिपय नाटक सञ्जोगले पनि लेखेँ । माओवादी युद्धताका अग्नि कथा लेखेँ । सुनिलले आएर भनेपछि पनि लेखेँ । लेख्दै जाँदा विषय धेरै आए आफँै पनि लेखेँ । रेडियो नाटक पनि लेखेँ । बुद्धिस्ट विषयमा पनि लेखेँ । महिलाको विषयमा पनि लेखेँ ‘आरुको फूलको सपना’, ‘मायादेवीको सपना’, ‘भृकुटी’बारे पनि लेखेँ । मैले लेखेका नाटकमा महिलालाई प्रमुख पात्र बनाएको छु । 

महिलालाई प्रमुख पात्र बनाउनुको विशेष कारण त छैन ?
महिलाको विषयले प्रभाव पार्दाे रहेछ । बीपी कोइरालाले पनि महिलालाई नै प्रमुख पात्र बनाउनुहुन्छ त्यसैको प्रभाव पनि हुन सक्छ । 
अनि अर्काे कुरा मलाई आमाको पनि छाप परेको हुन सक्छ । एउटा बालकको चेतना निर्माण गर्नुमा आमाको ठूलो भूमिका भएकोले पनि मैले महिला पात्रलाईं केन्द्रबिन्दुमा राखेको हुँ, यो कुनै सिद्धान्तबाट प्रेरित भएर होइन । 

तपाईंले लेख्नुभएको नाटकमा चित्त नबुझेको नाटक निर्देशन कुनै छ ?
त्यस्तो त छैन । 

नाटक सफल हुनुमा कलाकारको पनि धेरै भूमिका हुन्छ । तपाईंले लेखेका नाटकमा कलाकारको भूमिकालाई लिएर असन्तुष्ट हुनुभएको छ ? 
त्यस्तो त छैन । रंगमञ्चका कलाकार खारिएरै आएका हुन्छन् । कलाकारमा समर्पण भाव देखेको छु । 

अब नाटकको भविष्य के होला ?
मञ्चहरु बढ्छन् । भ्यालीभित्र मात्र भएका थिएटरहरु भ्याली बाहिर पनि पुग्छन् । म आशावादी छु । नाटकको गुणस्तर पनि बढ्नेछ ।
 
 

Leave A Comment