प्रेमको पासो : डेटिगंमा बढ्दाे हिंसा

आइतबार, ०९ मङि्सर २०७५, ०४ : ४६ पुष्पा थपलिया
प्रेमको पासो : डेटिगंमा बढ्दाे हिंसा

सिन्धुपाल्चोक चौताराकी १९ वर्षीया रोजिना बल्खुमा बसेर म्यानेजमेन्ट पढिरहेकी छन् । उनी र उनका प्रेमी प्रायः डेटिङमा गइरहन्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई रमाइलै लाग्थ्यो । एक दिन उनका प्रेमीले कीर्तिपुरतिर घुम्न जान प्रस्ताव गरे । उनले सहजै स्वीकार गरिन् ।

कीर्तिपुरको जंगलमा दुवै जना पुगे । अन्य प्रेमिल जोडी पनि थिए त्यहाँ । उनले मानिसहरु आउजाउ गर्ने ठाउँमै बसौं भनिन् तर प्रेमीले एकान्तमा बस्न रुचाए । प्रेमीले जंगलको केही पर झाडीमा बसौं भने । अप्ठेरो लागे पनि उनी बस्न तयार भइन् । दुवै टाँस्सिएर बसेका थिए । प्रेमीले अंकमाल गरेको हात बिस्तारै उनको शरीर सुम्सुम्याउन आयो । संवेदनशील अंगतिर हात आएपछि उनले हुत्याइदिइन् । सरी भन्नुको साटो प्रेमीले ‘धेरै नखरा नपार्’ भन्दै उल्टै थर्काए । अहिले उनको ब्रेकअप भइसक्यो ।
............
काठमाडौंका रामेशलाई फेसबुकमा रिना नाम गरेकी केटीको फ्रेन्ड रिक्वेस्ट आयो । भर्खरै २१ टेकेका रामेश केटीको फ्रेन्ड रिक्वेस्ट देखेर दंग परे र तु ुन्तै एक्सेप्ट गरिहाले । 

एक महिनासम्म रामेश र रिनाको अवस्था संवादहीन थियो । फ्रेन्ड रिक्वेस्ट उताबाटै आएकाले रामेशले हाइहेल्लो पनि उतैबाट आउला भनेर कुरेर बसे तर आएन ।

‘धेरै कुर्दा पनि कुराकानी नभएपछि आफैंले हाई भनेर म्यासेज पठाएँ,’ रामेशले भने, ‘तर दुई हप्तासम्म कुनै रिप्लाई आएन ।’ २०७२ पुस ३ मा  उनको हाईको उत्तरमा हेल्लो आयो । 

बेलुका १० बजेतिर उत्तर आएको थियो । त्यो रात दुवैबीच कुराकानीमै कट्यो । त्यसपछि दिनकै कुरा हुन थाल्यो । च्याटमा मात्र कुरा गरेर रमेशको मायाको धित मरेन, भेट्न बोलाए । चोभारमा भेट्ने पक्का भयो । च्याटमा मज्जाले खुलेका दुवैको पहिलो डेट भने सोचेजस्तो रोमान्टिक भएन तर त्यो भेटले च्याटमा भने अझ खुले दुवै ।

रिनाले ‘लभ यु, मिस यु, किस यु’ भन्दै लाइन क्रस गर्न थालिन् म्यासेजमा । ‘तिम्रो नेकेड फोटो पठाऊ न’ रिनाको म्यासेज देखेर रामेश अक्क न बक्क भए । टिसर्ट मात्र खोलेर पोज पोजमा फोटो खिचेर पठाए तर त्यत्तिमै मात्र रिनाले चित्त बुझाइनन् । 

नाङ्गो फोटो पठाउन रिनाले फोर्स गर्न थालेपछि भने रामेशलाई नराम्रो लाग्न थाल्यो र बिस्तारै गफ कम गर्न थाले । उत्तरमा ‘तिमी त नामर्द हौ कि क्या हो’ भन्ने सन्देश पो आउन थाल्यो ! उनले रिनालाई फेसबुकमा ब्लक गरिदिए ।

‘प्रेम भएको होला भनेको त ममाथि हिंसा पो भएको रहेछ !’ ती दिन सम्झँदै रामेश भन्छन्, ‘अहिले बुझेपछि त सम्झियो कि उसप्रति रिस उठ्छ ।’
..............
पार्क, फिल्म हल, रेष्टुरेन्टको कुनाकाप्चा, एकान्तस्थानमा बसेर प्रेमभाव साटासाट गरिरहेका जोडी देखिनु सामान्य नै हो । प्रायः एकान्त स्थानमा बसेर खुसुरफुसुर गर्दै आफ्नै मायाको संसारमा रमाउने यस्तो गतिविधि डेटिङको रुपमा परिचित छ । 

तर माया साटफेर गर्न हुने डेट पार्टनरको गलत नियतले जीवनभरका लागि बिझाउने काँडा बन्न सक्छ ।
युवालय नामक एक संस्थाले गरेको एउटा अध्ययनको तथ्यांक हेर्ने हो भने सुखद् पल बिताउन एकान्तमा पार्टनरसँग पुगेका करिब ७० प्रतिशत युवा–युवती हिंसामा पर्ने गरेका छन् । त्यसमध्ये १५ प्रतिशत त यौनजन्य हिंसाको सिकार बन्ने गरेको सर्वेक्षणले देखाएको छ । यो तथ्यांकले मायाको आवरणमा विशेष गरी किशोर–किशोरीमा भइरहेको हिंसाको डरलाग्दो पाटो देखाउँछ । माथिको दुई वटा घटना यही हिंसाको प्रतिनिधि मात्र हो ।

सर्वेक्षण गर्ने युवालयका उपाध्यक्ष सन्तोष महर्जन आफूलाई मन नपर्ने व्यवहारमा ‘नाइँ’ भन्न हिच्किचाउँदा अधिकांश युवा–युवती हिंसाको सिकार बन्ने गरेको देखिएको बताउँछन् ।

‘आफूलाई साँच्चै माया गर्नेले इच्छाविपरीत केही गर्दैन । उसले तपाईंको इच्छा बुझेर मात्रै अगाडि बढ्छ,’ महर्जनले भने, ‘तपाईंले नो भन्दा भन्दै पनि कसैले तपाईंमाथि जबरजस्ती गर्छ भने उसले माया गर्छु भनेर झुट बोलिरहेको छ भन्ने बुझ्नुपर्छ । यस्तोमा ‘नाइँ’ मात्रै भन्न सक्यौं भने पनि धेरै हिंसा कम हुन्छ ।’  
यस्तो हिंसामा युवती मात्रै हैन, पीडित युवाको संख्या पनि उत्तिकै बढी रहेको देखिएको छ । शुक्रवारकर्मीको खोजीको क्रममा एक यस्तै पीडित युवा फेला परे ।

त्रिचन्द्र क्याम्पस पढिरहेका सुजन लामा निकैपटक बडी सेमिङमा परे । उनी आफ्नै प्रेमिकाबाट पीडित भएका थिए । ख्यालख्यालमै उनकी प्रेमिकाले उनलाई नाङ्गो फोटो म्यासेजमा सेन्ड गर्न लगाइन् । उनले यसलाई सामान्य रुपमै लिए तर अवस्था सामान्य थिएन । प्रेम पासोमा पारेर उनकी प्रेमिकाले उनलाई मनोरञ्जनको साधन बनाइरहेकी थिइन् । केही समयमा उनकै साथीबाट प्रेमिकाको पोल खुल्यो । उनी मरेतुल्य भए ।

‘फेसबुक च्याटमा कुराकानी हुँदा फोटो पठाऊ भन्थिन्,’ सुजन भन्छन्, ‘मैले पनि केही पनि नसोची फोटो पठाइरहेँ । उनले त मेरो फोटो उनका केटी साथीहरुलाई पनि देखाउँदिरहिछन् । एकपटक उनकै एकजना साथीले तिम्रो त नाइटोभन्दा माथि कोठी पो रै’छ भन्दै हाँसेपछि म त छाँगाबाट खसेझैँ भएँ ।’

अनलाइन डेटिङ झनै जोखिम

( तस्बिर माेडलिगंमा अाधारित हाे । तस्बिरः कृष्पा श्रेष्ठ, माेडल: अञ्जशा शाही र सन्नि श्रेष्ठ )

सूचना प्रविधिको सहजताले फिजिकलसँगै डिजिटल डेटिङलाई सजिलो बनाइदिएको छ । यसले कुनियत भएकालाई समेत सजिलो बनाइदिएको छ ।

काठमाडौंको एक कलेजमा प्लस टु पढ्दै गरेकी छात्रा मनिषाको अनुभव पनि कम छैन ।
ललितपुरको एउटा कलेजका आइटी–शिक्षकले उनलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए । फोटो हेर्दा सुन्दर देखेपछि उनले एसेप्ट गरिन् । अनलाइनमा कुरा हुँदै जाँदा दुवै प्रेममा परे । केटाले भेट्न बोलाए । पहिलो डेटका लागि उनी उत्साहित हुँदै भेट्न गइन् तर सोचेजस्तो उत्साहजनक भेट भएन । 

लक्का जवानलाई भेट्न पुगेकी मनिषाको अगाडि एक जना अधवैंसे पो देखापरे । ती व्यक्तिले अर्कै व्यक्तिको फोटो प्रयोग गरेर प्रोफाइल बनाएका रहेछन् । 

‘फोटो एउटाको अनि मान्छे भने अर्कै देखेपछि मज्जाले झपारेर घर फर्किएँ,’ मनीषाले शुक्रवारसँग भनिन्, ‘तै पनि पछि लाग्न छाडेनन् । निकैपछिसम्म पनि फेसबुकमा के–के म्यासेज पठाइरहे । पहिले च्याटमा भएका कुराकानीमार्फत गरेका कुरा बाहिर ल्याइदिन्छु भनेर धम्क्याए । एक जना केटा साथीको सहयोगले बल्ल बल्ल छुट्कारा पाएँ ।’

अनलाइन डेटिङ गर्नु नराम्रो नभए पनि बढी सजग हुनुपर्ने आइटी विशेषज्ञ आश्विन थपलिया बताउँछन् । अनलाइन डेटिङ गर्न चाहनेले आफ्नो फोन नम्बर, घरको ठेगाना लगायतका विवरण प्रोफाइलमा नराख्न उनको सुझाव छ ।

‘अनलाइनमा भएका कुराकानीलाई असली दुनियाँ ठानेर सिरियस रूपमा लिनु हुन्न,’ उनले भने, ‘कुरा गर्दा आफूलाई स्मार्ट रूपमा प्रस्तुत गर्नुपर्छ । पहिलो पटक भेट्दा एकान्तमा हैन, सार्वजनिक स्थलमा भेट्नुपर्छ ।’

सरप्राइज भन्दै कोठामा लगेपछि
कलंकीस्थित नेपालय कलेजमा कक्षा १२ पढ्दै गरेकी सुशीला आफूसँगै पढ्ने क्लासमेटको प्रेममा परिन् । सुरुमा एकोहोरो मायामा परेकी उनी, भ्यालेनटाइन्स डेको दिन मन पराएको केटोले नै उनलाई प्रेमप्रस्ताव गरे ।

उनीहरु बीच उपहारहरु साटासाट सुरु भयो । कहिले चाँदीको सिक्री, कहिले औँठी उपहार पाउन थालिन् उनले । उनले पनि घरबाट किताब किन्न दिएको पैसा खर्चेर  प्रेमीलाई उपहार दिन थालिन् ।

प्रेम सुरु भएको दुई महिनापछि शनिबार पारेर उनीहरु डेटिङ गए, सिनेमा हलमा । फिल्म हलमा अंगालो मार्दै चुम्न खोज्ने प्रेमीको व्यवहारलाई उनले सहज रुपमै लिइन् । फिल्म हेरिसकेपछि प्रेमीले उनलाई सरप्राइज दिने भन्दै कोठामा लगे । त्यसपछि बल्ल उनले प्रेमीको नियत चाल पाइन् ।

‘गर्लफ्रेन्ड लिएर आउँछु, तिमीहरु बाहिर जाओ भनेर सेटिङ मिलाएर उसले मलाई साथीको कोठामा लगेको रहेछ,’ उनले भनिन्, ‘उसले जबरजस्ती सेक्स गर्न खोजेपछि म जसोतसो उम्केर घर गएँ । त्यो दिनदेखि उसको र मेरो ब्रेकअप भयो ।’ 

‘ब्रेकअपपछि पनि ऊ पछि लाग्न छाडेन,’ सुशीलाले भनिन्, ‘अहिले पनि कहिलेकाहीँ मेरो उपहार फिर्ता दे भन्दै हैरान बनाउँछ । कतिपय उपहारहरु प्रयोग भइसकेका थिए । केही हराइसकेका थिए । बाँकी बचेका त फिर्ता नै दिएँ ।’

(केही पीडितको नाम परिर्वतन गरिएको छ ।)

 

‘नो भन्न सक्नुपर्छ’
सन्तोष महर्जन,उपाध्यक्ष, युवालय

असल बन्नुपर्छ भन्ने शिक्षा पाएका हामी नेपालीमा प्रायः ‘नो’ भन्ने बानी छैन । राम्रा नलागेका कुरामा पनि हामी ‘नो’ भन्न नसकेर हिंसा सहिरहेका हुन्छौं । हामीले एउटा कुरा के नभुलौं भने, कोही मानिसले आफूलाई साँच्चै माया गर्छ भने, इच्छाविपरीत केही काम गर्दैन । उसले तपाईंको इच्छा बुझेर मात्रै अगाडि बढ्छ । 
तपाईंले नो भन्दाभन्दै पनि कसैले तपाईंमाथि जबरजस्ती गर्छ भने त्यो मानिसले तपाईंसँग माया गर्छु भनेर झुट बोलिरहेको छ भन्ने बुझ्नुपर्छ । 

हुन त ‘नो’ भन्दाभन्दै कसैले तपाईंलाई जबरजस्ती गर्छ भने त्यो नै हिंसा हो तर नेपाली सोसाइटीले, ‘नो’लाई ‘एस्’ मान्छ । उनीहरुलाई ‘नो’ भनेको ‘एस्’ होइन, ‘नो इज नो’ भन्नेबारे बुझाउन जरुरी छ । 
अझै किशोर–किशोरीमा ‘नो’ भन्यो भने पाटर्नर रिसाउला कि भन्ने धारणा घनीभूत हुन्छ ।  त्यसैले हामी ‘नो’ भन्ने आँट गर्दैनौं ।  कतिपय अवस्थामा भने पाटर्नरले ब्ल्याकमेल गरिरहेका पनि हुन्छन् । त्यस्तो अवस्थामा पीडित झनै बढी हिंसामा परिरहेका हुन्छन् । 

यसरी ब्ल्याकमेल गरेर हिंसामा परेका घटना धेरै छन् । यस्तो हिंसा विशेष गरेर कलेज पढ्ने केटाकेटीमा बढी हुन्छ । बिहान कलेज पढ्ने अनि दिउँसो डेटिङ जाने यो उमेरका किशोर–किशोरी अभिभावकसँग धेरै कुरामा झुट बोलिरहेका हुन्छन् । 

त्यही झुटलाई ब्ल्याकमेलका रुपमा उपयोग गरेर पनि हिंसा गर्ने गरेको समेत देखिन्छ । त्यसैले आफ्ना किशोरावस्थामा पुगेका छोराछोरी के गर्दैछन्, कस्ता साथीको संगतमा छन् भन्ने कुरा अभिभावकले सधैं याद गरिरहनुपर्ने हुन्छ । 
\

सर्भेका क्रममा ब्ल्याकमेलसँगै, सम्बन्ध टुट्ने डरका कारण डेटिङका समयमा हिंसा भोगिरहेका प्रेमी–प्रेमिका पनि धेरै हुने गरेका छन् । पुरुषको तुलनामा महिलामा सम्बन्ध टुट्ने डर बढी भएको सर्भेले देखाएको छ । 

हाम्रो समाजले पुरुषले जे गरे पनि छुट दिने तर महिलालाई हरेक कुराको दोष दिइने भएकाले सम्बन्ध टुट्ने डर महिलामा बढी भएको हुनसक्छ । त्यसैगरी पुरुषकै कारण सम्बन्ध टुटे पनि दोष महिलामा लाग्ने भएकाले पनि यस्तो बढी भएको हुनसक्छ । 

सर्भेमा प्रेमी वा प्रेमिकाले गाली गर्ने, सामान फालिदिने, धकेलिदिने लगायतका कार्य गर्ने गरेको  देखिएको छ । सर्भेक्षणमा सहभागीमध्ये करिब १५ प्रतिशतले आफूलाई प्रेमीप्रेमिकाले चुम्बन लगायतका यौनजन्य क्रियाकलाप गर्न दबाब दिएको बताएका थिए । काठमाडौं उपत्यकाका ८५ युवती÷किशोरी तथा ७० युवक÷किशोरबीच गत चैत्र महिनामा सर्भेक्षण गरिएको थियो । 

 

हिंसाका प्रकार
भावनात्मकः
अन्य कसैसँग कुरा गर्दा आवेगमा आउने, भावनाको कदर नगर्ने, साथीभाइका अगाडि होच्याउने, आफ्नो निर्णय लाद्ने, परिवार र साथीभाइसँग हुँदा फोन गरेर इरिटेट गर्ने, इच्छा नलागेको लगाउन, खान र घुम्न जान दबाब दिने ।

अवस्थाः सर्भेक्षणमा सहभागी भएकामध्ये ४६ प्रतिशतले आफ्नो प्रेमी–प्रेमिकाले दिक्क बनाउने गरेको बताए । यसमा दिक्क लगाउनेमा युवतीको प्रतिशत बढी देखियो । ५० प्रतिशत युवाले प्रेमिकाले दिक्क बनाउने गरेको बताए भने ४३ प्रतिशत युवतीले । ३२ प्रतिशतको धारणा आफ्नो साथीहरुसँग बोल्दा पार्टनरले ईष्र्या गर्ने गरेको बताए ।

ईष्र्या गर्नेमा पुरुषको प्रतिशत बढी देखियो । आफूसँग नहुँदा कोसँग भेट्यो, के–के ग¥यो भनेर चियो गर्नेमा युवती बढी देखिए । रिस उठ्दा आफूले आफैँलाई पीडा दिनेमा युवती अगाडि देखिए । रिस उठ्दा आफैँलाई दुःख दिने गरेको स्वीकारेका २१ प्रतिशतमध्ये युवाको संख्या १८ र युवतीको संख्या २३ प्रतिशत थियो । निर्णयमा युवाले बढी हस्तक्षेप गर्ने गरेको देखियो ।

शारीरिकः कुट्ने, लडाउने, चिमोट्ने, धम्क्याउने, शारीरिक शक्ति प्रयोग गरेर चोट पु¥याउने 
अवस्थाः सर्भेक्षणको नतिजाअनुसार धम्क्याउनेमा युवतीको संख्या बढी देखियो । १९ प्रतिशतले धम्क्याउन गरेको स्वीकार गरेका थिए, जसमा प्रेमीले धम्क्याउँछन् भन्ने १ प्रतिशत र प्रेमिकाले धम्क्याउँछन् भन्ने युवा १७ प्रतिशत थियो ।

रिस उठेपछि सामानले हिर्काउनेमा प्रेमिका नै अगाडि देखिए । रिस उठ्दा धकेल्ने, लडाउनेमा पनि प्रेमिकाको संख्या बढी छ । डेटिङमा जाँदा विवाद हुने गरेको र विवादमा धकेलेर लडाएको १० प्रतिशतले स्वीकारेका थिए । यसमा धकेल्ने प्रेमिकाको संख्या १५ प्रतिशत र प्रेमीको संख्या ५ प्रतिशत देखिएको छ । कुटाई खानेमा पनि प्रेमी नै बढी रहेको पाइएको छ ।


यौन हिंसाः असहज रुपमा शरीर सुम्सुम्याउने, यौनाङ्गमा हात लैजाने प्रयास गर्ने या छुने, जबरजस्ती यौन सम्बन्ध राख्न प्रयास गर्ने, अनिच्छा हुँदाहुँदै अश्लील कुरा गर्ने, अश्लील तस्बिर देखाउने, नाङ्गो तस्बिर खिचेर पठाउन दबाब दिने ।


अवस्थाः सर्भेक्षणमा सहभागी १३ प्रतिशतले यौन सम्बन्ध राखेको स्वीकारे । ३६ प्रतिशतले यौन भावना व्यक्त गर्ने गरेको तर सम्बन्ध नभएको खुलाए । यौन भावना व्यक्त गर्नेमा युवतीको संख्या बढी छ । यौन सम्बन्धको बेला ओरल सेक्सका लागि दबाब दिनेमा युवती बढी देखिए । ७ प्रतिशत युवा–युवतीले जबरजस्ती यौन सम्बन्ध राखेको बताए । यसमा पनि पीडकका रुपमा प्रेमी नै बढी रहेको देखिएको छ । ११ प्रतिशत युवतीले इच्छा नहुँदानहुँदै यौन सम्बन्ध राख्नुपरेको बताएका थिए भने ४ प्रतिशत युवाले इच्छा नहुँदा पनि प्रेमिकाका कारण यौन सम्बन्ध राखेको बताएका थिए ।

१३ प्रतिशतले इच्छा नहुँदानहुँदै किस खाएको स्वीकार गरे । यसमा पीडित हुनेमा प्रेमिकाको संख्या बढी छ । १८ प्रतिशत युवतीले प्रेमीले जबरजस्ती किस खाने गरेको बताए भने ९ प्रतिशत युवाले यस्तो बताएका थिए । 

परिणाम
-अस्वस्थ गतिविधिमा संलग्नता (सुर्तीजन्य पदार्थको प्रयोग, लागू औषध प्रयोग, मदिरा सेवन), चोरी गर्ने, -ढाँट्ने लगायतका गैर सामाजिक गतिविधि गर्ने
-डिप्रेसन हुने
-आत्महत्याको सोच बढ्ने
 

Leave A Comment